19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मेरो रुवाइमा तिम्रो हाँसो

निबन्ध डा. गणेशप्रसाद भट्टराई November 14, 2025, 10:24 am
डा. गणेशप्रसाद भट्टराई
डा. गणेशप्रसाद भट्टराई

रुवाइ र हाँसोको संवेग सायद सृष्टि कालदेखि सुरु भयो । संवेगभित्रको संवेदना कहिले सुरु भयो थाहा छैन तर हाँसो र रुवाइ दिन र रातझैँ लाग्छन् । अरुको रुवाइमा आफ्नो हाँसो वा आफ्नो रुवाइमा अरुको हाँसो पीडादायी हुन्छ । रुवाइ र हाँसो दुवैको मापो सायद रुवाइसँग नै हुन्छ, हाँसो त्यसमा बेखबर रहन्छ ।

म अरुको दुःख सम्झन्छु, तिनको दुःख र पीडा छिर्नेबित्तिकै मेरा आँखामा बादल मडारिन थाल्छ । एकछिन मडारिनासाथ वर्षा सुरु हुन्छ र गहमा भेल आउँछ । परको घाउ हेर्दा पनि मेरो मनमा चरक्क चिरिएर पुरानो चिरा फाट्न थाल्छ । कानको काम आवाज सुन्ने हो । कसैको आँसुको आवाज सुन्नेबित्तिकै मेरा कानमा ज्वालामुखी विष्फोट हुन्छ र मेरो मुटु सानामा हाम फालेर दौडँदा आफैँ ढलेको जस्तै गरी ढल्छ । त्यही बेला पराई दुःखको छाया मेरो कपालमा बसेर केशराशि भिजाइदिन्छ । न्यानो घामले केश नसुकुन्जेल म भिजिरहन्छु । सानामा म लड्दा उठाउने कोही हुन्थ्यो, अहिले म लड्दा उठाउनेभन्दा सुताउने धेर देख्छु । मानिस बदलियो कि मन, जमाना दोधारमै छ ।

अरूका सपना फुट्दा मेरो मन पनि काँचका ससाना चिरामा परिणत हुन्छ । ऐनाले अनुहार देखाउनै छाड्छ । साना चिरामा ठुलो वह भित्रिन्छ । कसैका अभागी दिन हेर्दा मेरा उज्याला बिहान आफैँ ओझेल पर्न थाल्छन् । अरूको रुवाइ देख्दा मेरो मनमा हरेक पटक पोखरी जम्छ र छाल उरालेर छचल्किन थाल्छ । परको चोट भित्र पस्यो भने त आत्माले समेत आफ्नै धड्कन बिर्सन्छ र म प्रश्वासको खोजीमा भौँतारिन्छु । खै किन अरूका आँसुले सधैँ मेरो मनको सागरमा ज्वारभाटा ल्याइदिन्छन् र भन्छन् के तेरो आँसुमा पनि कसैले पोखरी खनेको होला ? के आँसुको बजार मूल्य निर्धारण गर्ने कुनै निकाय होला ? लाग्छ आँसुको विश्वकोश लेखिनै बाँकी छ ।

कसैको जिन्दगी ढलेको देख्दा मेरो मनको भग्नावशेष भासिन्छ । पराई चोटले आग्लो खटखट्याउँदा मेरो मनको झ्याल मच्चिएर बन्द हुन्छ । अरूको पीडा मनले सुन्नेबित्तिकै मेरो नजिकका पहाडले समेत ढुक्क भएर धुलो झार्छन् । किन रोयौ भन्ने साहस मेरा ओठमा आउँदैनन् र आँसुले नै जवाफ दिन थाल्छन् । मानिसको रुवाइका चार तह हुन्छन् । पहिलो तहमा मन रुन्छ, देखिँदैन । दोस्रो तहमा मुखाकृति रुन्छ, देखिन्छ । तेस्रो तहमा आँसु रुन्छ, अनुभूत हुन्छ अनि चौथो तहमा डाँको रुन्छ र संवेदना बन्छ । म अरुको संवेदना बुझ्छु तर मेरो संवेदनको बजारभाउ खस्केको खस्क्यै छ । यसप्रति कसैको समालोचनात्मक चेत खुलेको छैन ।


पीडाको सुगन्ध कसैको हावामा मिसियो भने मेरो हृदय पहिले नै गन्हाउन थाल्छ । अरूका दिनलाई अन्धकारले छोप्दा मेरो उज्यालो बत्ती बल्न हिच्किचाउँछ । म छिमेकीको अभाव देख्छु, मेरो पेट आफैँ भरिएर टन्न हुन्छ । अरूका घाउमा औषधि खोज्दै जाँदा आफ्नै दिमागका चोट बिउँझिन्छन् । परको रोदन सुन्छु, मनको छाल नदीजस्तै उक्लिने ओर्लिने गरिरहन्छ । अरूले अन्धकार भोगको देख्छु, मनको बत्ती धिपधिपाउन थाल्छ । पराईको निन्द्राविहीन रातले समेत मेरा आँखामा चिरा पारिदिन्छ । उनका फुटेका खुट्टा देख्दा मेरो नङमा उचेरा फाट्छ । खै किन हो, पराई दुःखले मायाको भित्तो छुँदा दिलको भित्तो आफैँ भत्किन्छ । पराईको पीडामा आफूलाई मानिस सावित गर्र्ने अवसर भएर हो कि आजभोलि अरूका स्वप्न ढल्दा मेरो निद्रा लुटिन्छ । अरुका पीडा घोलिएर मेरो आँसुको भँगालो कढेको बढ्यै हुन्छ ।

जब म बाटामा पाइला राख्छु, अरूका तिरस्कृत दृष्टि मेरो छातीमा धमिलो पानीका छिटा बनेर छ्यापिन्छन् । यति बेला म पराई हाँसोमा ताली बजाउन सक्दिनँ अनि पराई रोदनमा आँसु रोक्न पनि सक्दिनँ । अरूका साँझले माझिँदै गएको मेरो मनको दियो नजलाउन पनि सक्दिनँ । कसैको मन भत्किएको आवाजले मेरा नसा काप्छन् । सायद पराई पीडाको चोट उसैसँग हुन्छ तर धड्कन मेरो अत्तालिन्छ । खै किन चोट उसलाई लाग्छ तर मलाई च्वास्स देख्छ ।

मनको अर्को पाटो खोलेर हेर्छु, मेरो पीडाको भित्तो पनि चिरा परेको छ । यो थाहा पाउनासाथ कसैको हाँसो हाम फालेर त्यही चिराबाट भित्र पस्छ । मेरा आँसुको तालमा गायकहरू रमाइलो गीत गाइदिन्छन् र नर्तक छमछमी नाच्छन् । मेरो ढलेको मनमा अरू हास्यप्रहसन गर्छन् र टिकट बेचेर थैली भर्छन् । म अन्धकारमा डुब्दा तिनले टर्च देखाउँदैनन्, टर्चजस्तै हाँसोले चवmव्यूह देखाउँछन् । म जति निस्कन खोज्छु, त्यति नै भित्र पसेर हराउँछु ।

सुनेको थिएँ कसैको चिहान खनिएको मौन दिन अरूको मनोरञ्जनको पात्रो फेरिने दिन बन्छ । आगामा छ्याप्दा झ्वाइँ गर्ने पानीले चिसा ढुङ्गामा छ्याप्दा आवाज लुकाउँछ । जमिनले नधान्ने गरी म ढल्दा तिनका हाँसोले आकाश ढाक्छ । मेरो चिसो आँसुमा अट्टाहास उर्लिन्छ । मानिस छ तरिकाले हाँस्छ रे । म मृत्युशैय्यामा चढ्न लाग्दा अट्टहास पाल्नेहरूले मलाई स्मित मुस्कान पैँचो दिँदैनन् । मेरो पीडा सडकमा चिच्याउँदा जीवनको विचित्र व्यङ्ग्यको प्रहसनमा हाँसो र ताली सुनिन्छ । मैले बोकेको पहाडले अरूका लागि बिनामूल्य मनोरञ्जन दिन्छ । यसैलाई जमानाको असली रूप मानिन्छ । आखिर जमाना पनि त बहुरूपी छ ।

अरूका आँखामा मेरा रातमा ताराको चमचमाहट देखिन्न, चिसो चन्द्रमाले परैबाट हेरिरहन्छ । मेरो घाउको रङ समीक्षकको जिब्राको हास्यरस बन्छ । म वर्षे भेलमा डुब्दै गर्दा किनारामा मानिसहरू चियापान गरिरहन्छन् । नशालाई शान ठान्नेहरू महमा रत्तिँदैनन् । अनुभूति परिवेशसापेक्ष हुन्छ । यसमा संवेदना घुल्दैन ।

म हारेको दिन तिनका लागि मौसम सफा बनेर घाम लाग्छ । मेरो विफलता उसलाई मिठो लाग्छ, ऊ मलाई नसोधी फिस्स हाँस्छ । मेरा पखेँटा झर्दा ऊ उड्दै हुन्छ । मैले कठोर समय भोग्दा ऊ मलाई पृष्ठभूमिमा राखेर सेल्फी खिच्दै हुन्छ । आँसु बगेका मेरा आँखालाई उसले भिजेको डोब देख्छ र मलाई हटाएर सेल्फी दोहो¥याउँछ । मेरो मौनतामा ऊ मेरै आवाज छोपेर वनभोजमा रमाउँछ । म कागजको पाना च्यातिएझैँ च्यातिन्छु, खै किन ऊ ढुङ्गामा ढुङ्गा बज्रिएझैँ हाँसो निकाल्दै डुङ्गा दौडाउँछ ।

सपना उस्तै हुनुपर्ने हो तर मेरा अपूर्ण सपना तिनका मनमा पूरा हुन्छन् र फव्रmन्छन् । मेरो घाउको पिप र गन्धमा अरूले मनोरञ्जनको सुगन्ध भेट्छन् । म भत्किएको पुल हुँ, मैलाई टेकेर अरु हिँड्न चाहन्छन् तर मैले नहिँड्न सम्झाउँदा अरू किनारामा उभिएर हाँस्छन् । मेरा आशा क्षणक्षणमा फुटिरहन्छन्, यो देखेर कतिपय विशिष्टताधारी उत्कृष्ट शैलीमा चहकिलो हाँसो फाल्छन् । मेरो चर्किएको आवाजमा तिनले व्यङ्ग्यको धुन घोलेर सङ्गीत भर्छन् । मेरा आँसुका थोपाले तिनका ओठमा बास्नादार फूल फुलाउँछन् । मेरो सहाराको त्यान्द्रो सुक्दा तिनका करेसामा हास्य बगैँचा लहलहाउँछ । मेरो आँसुले कसैको हृदय पग्लँदैन तर हाँसोको बगैँचा तयार हुन्छ । मेरो मौन पीडा र कहालीलाग्दो मनोरञ्जनसँग के सम्बन्ध होला र म छायाजस्तै हराउँदा ती प्रकाशजस्तै चम्किन्छन् ? के कुनै काव्यमा विरोधाभाषी सुन्दर घाउको वर्णन छ ?

रुवाइलाई हाँसोले हेप्नुहुन्न । रुवाइको पीडा र हाँसोको उन्माद दुई क्षितिजका संवेदना हुन् । म हाँसोको उत्पीडनमा रुवाइको कहानी लेख्न चाहन्छु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।