18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भन्नोस् न हजुर कता जाउँ ?

कविता गायत्री लम्साल November 16, 2025, 1:56 pm
गायत्री लम्साल
गायत्री लम्साल

(हाँस्यव्यङ्ग्य कविता)

मङ्सिर लागिसक्यो,
धान काट्न जाउँ कि
रुख काट्न जाउँ ?
घाम ताप्न जाउँ कि
आगो ताप्न जाउँ ?
आँखाको इशाराले
बोलाएकै छन्
चिया—कफिको चुस्किमा
फकाएकै छन् ।
भन्नोस् न हजुर कता जाउँ ?

विहेको लगन पनि छ रे
घण्टी बजाउँ कि पञ्चेबाजा ?
सित्तैमा पाएदेखि
जे—पनि दिन्छु भन्छन् ।
केही चाहिँदैन तेरो
मात्र इमान लिन्छु भन्छन् ।
ए तिर जाउँ कि
जेड तिर जाउँ ?
नयाँले हात तान्छन्
पूरानाले खुट्टा तान्छन् ।
विचकाले शरीर तान्छन्
मिडियाले मष्तिस्क खान्छन् ।।
भन्नोस् न हजुर कता जाउँ ?

अहिले सम्म अँ हँ
निशुल्क अवसर आएकै छैन
सित्तैमा कुनै टिकट पाएकै छैन ।
वसन्त नआउँदै घरजम गर्नुछ
त्यसैको लागि अहिले
सुटुक्क कतै जानुछ ।।
धेरैले चूलो निम्तो पठाएका छन्
चियोचर्चो गर्नलाई
सि.आई.डी खटाएका छन् ।
मामातिर जाउँ कि
आमातिर जाउँ ?
जोईसँग जाउँ कि
पोइसँग जाउँ ?

चौबिसै घण्टा निम्तो आउँछ
आफूलाई भने अचम्म लाउँछ ।
हँसिया तिर जाउँ कि
तारा तिर जाउँ ?
मादल बजाउनु कि
लौरो समाउनु ?
फुल खाएर गाई पाल्नु कि
गाई पालेर फुल खाउँ ?
ए हजुर भन्नोस् न ढुक्कले
अब कता जाउँ ?????

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।