19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सुन्दर कृति “मेरो आफ्नै कथा" भित्र एकैछिन

कृति/समीक्षा चिरञ्जीवी दाहाल November 16, 2025, 11:56 pm
चिरञ्जीवी दाहाल
चिरञ्जीवी दाहाल

सफल आत्मकथा लेखनकार्य त्यति सहज विषय होइन रहेछ । किनकि मैले धेरै लेखकका आत्मकथा अध्ययन गर्ने मौका पाएको छु । यतिमात्र होइन, मैले पनि आत्मकथा लेखेर लेखन कार्यको सुरुवात गरेको हुँ । साहित्यका विविध विधाहरू मध्ये आत्मकथालाई निबन्ध विधा मान्ने गरिए पनि निबन्धमा जस्तै आत्मकथामा कल्पनासँगै बहकिने छुट पाइँदैन । आत्मकथा धेरैले लेखेका छन् तर सबै आत्मकथाा उत्कृष्ट बन्दैनन् । कमै मात्र आत्मकथा उत्कृष्ट हुन्छन् । आत्मकथा लेखनको सबै भन्दा महत्त्वपूर्ण र प्रमुख तत्व इमान्दारिता हो । आत्मकथा लेख्दा कथा र निबन्धमा जस्तै स्वैरकल्पनामा डुब्न पाइँदैन र आत्मकथामा कल्पनाको उँडान भर्न पनि मिल्दैन । आत्मकथा यथार्थ चित्रणमा आधारित हुनुपर्छ । आत्मकथा लेख्दा आफ्ना कमिकमजोरीहरू लुकाएर आत्मप्रशंसा मात्र लेखिन्छ भने पनि त्यसलाई आत्मकथा मान्न सकिँदैन । त्यसैले आत्मकथा लेखनकार्य एकदम जटिल विषय हो । आत्मकथा जहिले पनि सत्यको निकट हुनुपर्छ । आत्मकथा लेखनको मूल मन्त्र यही हो, आत्मकथाको लेखन सिद्धान्तले पनि यसै कुरालाई सङ्केत गरेको पाइन्छ ।

यही मन्त्रलाई आत्मसात गर्दै प्रस्तुत कृति “ मेरो आफ्नै कथाका लेखक खोप नारायण श्रेष्ठले प्राविधिक सेवाको लामो सेवा पश्चात् पनि आफ्नो कृतिमा गजबसँग साहित्यिक रङ दिन सफल भएका छन् । इमान्दारी पूर्वक जीवनमा घटेका घटनाहरू एवं आफ्नो अतितलाई सबै सामु छर्लङ्ग पारिदिएका छन् । कृति अध्ययन गरिरहँदा आत्मप्रशंसा फेला पार्न सकिँदैन , ढाँटछलको गन्ध फिटिक्कै छैन । लेखकले बाल्यकालमा भोगेको अभाव, गरिबी र आफ्ना वास्तविक पीडाहरूको फेहरिस्त, इमान्दारी पूर्वक प्रस्तुत गरेका छन् । आफूले जीवनमा गरेका सङ्घर्षका कथाहरू समावेश गरेका छन् , लेखक कसरी यहाँसम्म आइपुगे त्यस विषयमा पनि यहाँ विस्तारसँग वर्णन गरिएको छ । यसैले पनि कृति सुन्दर र उत्कृष्ट बनेको छ ।

वरिष्ठ साहित्य साधक एवं महाकाव्यकार केशवराज आमोदी गुरुको आमोदी निकेतनमा एकदिन “मेरो आफ्नै कथा" कृतिका लेखक खोप नारायण श्रेष्ठको यो पुस्तक पढ्ने अवसर पाएँ । यो पुस्तकले मलाई पुस्तक अध्ययन नगर्दै आकर्षित गर्यो । यसमा केही कारणहरू थिए । पहिलो कारण थियो प्रस्तुत कृतिका लेखक पनि गोरखाली माटोमा जन्मिएकोले यस कृतिमा अवश्य पनि गोरखाली माटोको सुगन्ध आएको हुनुपर्छ । म निकै उत्सुक बनेँ । दोस्रो कारण, मेरो साहित्यिक यात्राको शुरुवात पनि आत्मकथाबाट भएको थियो । मैले“मुमूर्षा " नामको आत्मकथाबाट साहित्यको सुन्दर संसारमा प्रवेश गरेको थिएँ । तेस्रो कारण, जीवनको ३२ वर्षसम्म मैले पनि मत्स्य प्राविधिकको पहिचान बोकेर सरकारी सेवामा समर्पित थिएँ । संयोगले एकजना मत्स्य विज्ञको आत्मकथा पढ्ने सुअवसर पाउनु मेरालागि कम खुशीको विषय थिएन ।‌ यसैले आमोदी गुरुको अनुमतिपछि, मैले पुस्तक उठाएर त्यसका शब्द र हरफहरूसँग बातमार्न लागेँ । जसरी पुस्तकको बाह्य अङ्गले मलाई आकर्षित गरेको थियो यसको आन्तरिक अवयवहरू अर्थात् पुस्तकका शीर्षकहरूले त्यसरी नै आकर्षित गरे र गुरुसँग पुस्तक लिएँ । ढिला नगरी पढेँ, यसभित्र रहेका विषयवस्तु मात्र होइन, यसमा लेखिएका लेखाइको शैली र प्रस्तुति पनि बेजोडको थियो । जसले मलाई उक्त पुस्तक एकै बसाइमा पढिसक्न बाध्य बनायो ।

पुस्तक पढ्दै जाँदा थाहा पाएँ,लेखक मैलै एस एल सी उत्तीर्ण गरेको भिमोदय व्यावसायिक माध्यमिक विद्यालय आरुघाटमा पनि शिक्षक बनेका रहेछन् । लेखसँग बागबानी विषयका सैद्धान्तिक र व्यावहारिक ज्ञान लिने अवसर नपाए पनि संयोगवश उनले लेखेको यो सुन्दर कृति पढ्ने अवसर भने पाएँ । जसमा लेखक आरुघाट जाँदाका प्रसङ्ग ज्यादै जीवन्तरूपमा उतारिएको छ । मसेलखोला, खान्चोक , कया भञ्ज्याङ, मोतीखोला र आरुघाटको नाम सुन्नासाथ मेरो पाठक मन निकै हर्षित भयो । किनकि उल्लेखित तिनै सुन्दर स्थानहरूमा निकै रमाइलोसँग मैले जीवनका २८/२९ थान हिउँद र बर्षा बिताइसकेको थिएँ ।

प्रस्तुत कृतिभित्र लेखकले १४ वटा शीर्षकमा आफ्ना संस्मरण निबन्धहरू समावेश गरेका छन् । हरेक निबन्धहरू सरल , सहज, र निकै लोभलाग्दा छन् । “ उजाडिएको थातथलो" कृति भित्रको सर्वाधिक सुन्दर आलेख बनेको छ । यो शीर्षकमा लेखकले उहिलेको खोप्लाङ र वर्तमान खोप्लाङ गाउँको तुलना गरेका छन् त्यो पनि निकै मार्मिक ढङ्गले । पुस्तकमा उल्लेख गरिएका विषयवस्तु , पाठकको मन छुने खालका छन् । यसमा लेखकको जन्मभूमिको माटोको बास्ना चलेको छ । छरछिमेक र आफन्तहरूको स्नेह छचल्किएको छ । गाउँको हरियाली र सुन्दर दृश्यहरूले लेखकको मन तानिरहेको बुझिन्छ ।

वास्तवमा यो सिङ्गो खोप्लाङको मात्र कथा होइन, वर्तमान नेपालका अधिकांश गाउँको प्रतिनिधि कथा हो । हुन पनि नेपालका अधिकांश गाउँमा केही वर्ष अघिको परम्परा ,वातावरण र समाज छैन । राष्ट्रिय र अन्तर्राष्ट्रिय बसाइँ सराइका कारण गाउँमा ठूलो संख्यामा मान्छेहरू विस्थापित हुँदै गएका छन्, गाउँहरू प्रायः रित्तो भएकाछन् , उहिलेका मनमोहक गाउँहरू वर्तमानसम्म आइपुग्दा उराठलाग्दा बनेका छन् । गाउँका बाँकी मान्छेहरू मनभरी पीडा बोकेर बाँचेका छन् । निकै चहलपहल हुने पुराना बाटो, चौतारो, घर, गोठ र खेतबारीहरू भग्नावशेष र बञ्जर भूमिमा परिणत भइसकेका छन् । लेखकले उल्लेख गरे जस्तै वर्तमानमा धेरै गाउँलेहरू, धब्बा सुबेदार, कृष्णे काका र काले काकाहरूको रिक्ततामा टोलाइ रहेका छन् । यो निबन्धमा वर्तमान बोलेको छ । लेखकले यहाँ, गाउँको वास्तविक चित्र जस्ताको तस्तै उतारेका छन् । केही वर्षको अन्तरालमा, झाडी भित्र लुकेको आफ्नै घर खोज्नुपर्ने स्थितिले गाउँघरको ताजा अवस्था दर्शाएको छ ।

“ मेरो बाल्यकाल र प्रारम्भिक शिक्षा " शीर्षकको निबन्धमा लेखकले उबेलाको गाउँ घर र धन्सारको वर्णन गरेका छन् , मुखिया प्रथा, धनीमानीहरूले गरिब परिवार प्रति हेर्ने व्यवहारले त्यसबेलाको गाउँको समाजिक चित्र स्पष्टसँग देख्न सकिन्छ । लेखकले यहाँ पुराना हेडसर यज्ञमूर्ति कोइराला र शिक्षक रघुनाथ श्रेष्ठको प्रसङ्ग उठाएका छन् । वर्तमान पुस्ताका पाठकलाई यस्ता विषयका उठानले मनोरञ्जन मात्र होइन ऐतिहासिक विषयको जानकारी पनि हुन पुग्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा सानो उमेरको घटना सम्झिएर संस्मरण लेख्नु चानचुने कुरा हुँदै होइन । यहाँ लेखकले वाल्यकालका साना र मसिना घटनाहरूलाई पनि निकै आकर्षक र सटिक ढङ्गबाट प्रस्तुत गरेका छन् । कृतिमा, प्रसिद्ध अमरज्योति मा वि लुइँटेल, लुइँटेल बजार र गाइखुरको प्रसङ्ग निकै रोचक छन् ।

“एस एल सी" शीर्षकको निबन्धमा गरिबीका कारण ७० प्रतिशत अङ्क ल्याएको विद्यार्थीले मेडिकल विषय पढन जान नसक्ने प्रसङ्ग उठाउँदै “ काठमाडौं त मलाई बुबा आमाले पढाउन सक्दैनन् " जस्ता वाक्यले जोसुकैको पनि मन कटक्क खान्छ । लमजुङको आधा आईएस्सी ,र रामपुरको बाँकी आइएस्सी एवं बि एस्सी एजी पढ्दाका प्रसङ्गहरू निकै मर्मस्पर्शी, रोचक, घोचक , पीडादायी र रमाइला पनि छन् । यहाँ भने मैले, बाँकी शीर्षकहरूको छुट्टाछुट्टै विश्लेषण गरेको छैन । थप विश्लेषण गर्ने जिम्मा पाठकहरूलाई सुम्पिनु मनासिव होला !

यस बाहेक कलेज प्रवेश,फेरि रामपुरको चिन्ता, विहेवारीको चक्कर, जागिरे जीवनहरू, सरकारी सेवामा प्रवेश , कृषि विकास बैंकमा मेरो एक दशक, अनपेक्षित मोड र गैह्र सरकारी संस्था तिरको यात्रा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरू, “मेरो एम एस्सी", “मेरो विदेश भ्रमण", तथा संघर्ष साथ र “सन्तोषको यात्रामा मेरो परिवार" लगायतका शीर्षकहरू राखिएका सबै निबन्धहरू निकै उत्कृष्ट र सुन्दर छन् । निबन्धमा प्रयोग गरिएका भाषा सरल एवं बोधगम्य छन् । पुस्तकमा लेखकको आफ्नै छुट्टै प्रकारको शैली पाइन्छ । लेखाइमा पटक्कै अलमल देखिँदैन र निबन्ध एकनासको गतिमा बगिरहेको छ । प्रस्तुत कृति संस्मरणात्मक भएकोले पनि निबन्धहरू स्वैर कल्पनाभन्दा टाढा छन् । पुस्तकमा लेखकको मात्र होइन, उनकी जीवनसङ्गिनीको पनि संर्घषका कथाहरूले भरिएको छ । घटना र विवरणहरू सत्यको नजिक भएकोले आत्मकथा अत्यन्त सुन्दर बनेको छ । समग्रमा कृति पठनीय छ , सङ्ग्रहणीय छ । साहित्यिक आकाशमा पुनः एकथान सुन्दर कृति थपिएको छ ।

अन्त्यमा लेखकबाट थप साहित्यिक कृतिको अपेक्षा गर्दै उनको सुस्वास्थ्य , दीर्घायु र समुन्नतिको कामना गर्दछु ।

तान्द्राङ गोरखा , हाल, कालिका चितवन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।