लमजुङ जिल्लाको अलैचे अर्चलबोटमा कलाधर पौडेल र तुलसा पौडेलका सन्तानका रुपमा २०१९ साल साउन ४ गते जन्मिएका सञ्जीव पौडेलले पहिलो पुस्तक आफ्नो जीवनमा आधारित सस्मरणात्मक कृति “छोटु“ प्रकाशनमा ल्याएका छन। आफ्नो जीवनको तीस वर्ष कृषि विकास बैंकको सेवामा विताएका उनले निक्कै उतार चडाव बेहोरेका छन । त्यसो त उनले बाल्य कालमा पाएको दुःख पनि निक्कै मार्मिक र कटक्क मन खाने खालको छ। गाउले जीवन,आर्थिक अभाव, पारिवारिक समस्य,टाढाको स्कुल, सहयोगीको अभावमा पिरोलिदै बालश्रम गर्न पनि विदेसीका ढोका चाहार्नु पर्ने वाध्यता,बाच्नकै लागि जनावर भन्दा तुच्छ हुनुपर्ने आदि परिवेश भोगेर खली भएका सन्जीवको जीवन कहानी कहालीलाग्दो छ।भारतमा छोटु नामले भोग्नु परेको दुखिलो कथा यसमा व्यक्त छ।पढ्दा पनि शरिरमा जिरिङ काढा उम्रन्छन। तिनै पीडा दर्द अभाव अपमानले फलाम बनेका उनी पढ्न पाउने लालसामा आफ्नै मातृभूमि फर्कन आतुर रहन्छन।
मनभित्र रहेको धोकोले उनलाई पुनः लनजुङको जन्म गाउमै फर्किने वातावरण बन्छ। यो सुनौलो अवसरले उनको जीवनले अर्कै मोड लिन्छ। विभिन्न व्यक्तिको सहयोग र सदभावमा उनले आइएस्सी एजीसम्मको अध्ययन गर्ने हौसला मिल्यो। जागीरको खोजीमा भौतारिदा कृषि विकास बैंकमा नाम निकाली सेवा प्रवेश गरे । झिकिदे गाड भन्दा थपिदे गाड भनेजस्तै देखिन्छ सञ्जीवको जीवन यात्रा । यता तुन्यो उता च्यातिन्छ,उता तुन्यो यता च्यातिन्छ । यस्ता हजारौ समस्याले गलाउदा पनि पटक्कै गलेनन उनी अर्थात् सञ्जीव। खारिएको नम्बरी सुनजस्तो समस्याको भुङ्ग्रोले चम्काएको हिराजस्ता बने झन सन्जीव पौडेल । समस्यले नै उनलाई विश्वविद्यालयले भन्दा बढी सिकायो । यसरीनै बैंकको प्रशासनले पनि खेदिरह्यो।समस्यालाई पैतालाले किचेर हिड्ने बानी परेका सञ्जीवले उच्च पदमा पुगेर तीस वर्ष पुरा गरी अवकाश लिए। तीस वर्षे जागिर पछि त्यसै बैंकको सन्चालक बनेका सन्जीवले जीवनको सफल यात्रा पूरा गरे । उनले खुकुरीको धारमा यात्रा गरेको विषय पुस्तक पढ्दा अनुभव हुन्छ।आफ्नो जीवनले सिकाएका कुराहरु अरुलाई सिकाउन सक्ने खुबी प्राप्त गरेका उनी एउटा सफल प्रशिक्षक पनि हुन।
आफुलाई बाल्यकाल देखि पढाएका गुरुहरु र शुभ चिन्तकहरुलाई पुस्तकका पृष्ठ पृष्ठमा सम्मान भावका साथ सम्झिएका छन।आफुलाई दुःख दिने माथिल्ला तहका हाकिमहरुलाई पनि आदरणीय बनाएर स्मरण गर्न भुलेका छैनन।यो उनको महानता हो।
हामी दुख अभावसग तर्सन्छौ । संघर्षबाट पर भाग्छौ।त्यसैले हामीले जिन्दगीमा आनन्द लिन सक्दैनौ । तर सञ्जीवले भोगेर देखाइदिए । यसले युवा वर्ग र आउदो पुस्तालाई ठूलो पाठ सिकाएको छ । अभाव र तनावमा मानिसले कसरी बाच्नु पर्छ?आवश्यकता के हो?के लाई प्राथमिकता दिने? कुन बाटो हिडने?कस्तो दृष्टिकोण बनाउने? आदिइत्यादि विषयमा छोटुले एउटा गहन विचार पस्किएको छ। सुख र दुख,सम्पन्न र विपन्न जीवनमा आइरहने घाम छाया हुन यीसग तर्सनु जीवनको हार हो।यस्ता कुरा पुस्तकमा पटक पटक आउछन । त्यसलाई सहास र धैर्यले जीतेर स्वाभिमानले शीर ठाडो पारेर इमानको बाली रोपेका छन लेखकले यो सस्मरणात्मक कृतिमा । सकारात्मक विचार र सुन्दर जीवनको बिस्कुन सुकाएका छन छोटुमा सञ्जीव पौडेलले ।
एकतिस वटा मूल शिर्षक तेत्तीस वटा उप शिर्षक र तस्वीर खण्ड गरि बहत्तर पृष्ठ ओगटेको यो कितावमा बत्तीस पृष्ठ मन्तव्य र विषय सूचीले भरिएका छन।आफ्नै जन्मभूमिको मुटुमा रहेको आफैले पढेको स्कुलजस्तो देखिने सुन्दर कलाले सजाइएको कभर(गातो)सहित प्रकाशन भएको “छोटु“ पढ्न बसेपछि नसकिएसम्म छोड्नै मन लाग्दैन। तपाईले पनि खोजी खोजी पढ्नु होला है ! यो किताबमा तपाईका आफ्नै जीवनका उकारी ओह्राली र देउरालीहरु भेटिनेछन।
पोखारा, कास्की