बिहानै उठेर सानी नातिनीले सोधी, हजुरबा झुटो बोल्नु हुन्छ कि हुँदैन ? उसले आज सपनामा साथीसँग झुटो बोलिछ । मैले भनेँ हुन्न नि ! झुटो बोल्नु त पाप हो । सपनामा झुटो बोले पनि विपनामा सधैँ साँचो बोल्नुपर्छ है । भन्न त भनेँ तर म र मजस्ता हजुरबा भइसकेका मानिसमा के कस्ता नकारात्मक बानी छन् त, मलाई खोज्न मन लाग्यो ।
के म झुटो बोल्छु ? के अरु पनि झुटो बोल्छन् ? झुट बोल्ने बानी त सबैमा रहेछ । यसबाट कसैसँगको विश्वास अन्त्य हुन्छ र सम्बन्ध बिग्रन्छ भन्ने जान्दाजान्दै हामी सबै झुट बोल्दा रहेछौँ । अरूहरू ढाँट्नुपर्दा पनि यो कुरा मलाई थाहा छ तर म भन्दिनँ भद्ददा रहेछन् । हामी मनले थाहा पाएको कुरालाई स्वार्थले सिँगारेर मुखले थाहा छैन भनिदिनुलाई हामी कर्तव्य ठान्दा रहेछौँ । के यो कर्तव्य हाम्रा पुस्ताले अर्को पुस्तामा हस्तान्तरण नगर्ला ?
हामीमा अरूलाई तल पारेर आफू माथि देखिन खोज्ने बानी छ । यो आत्मगौरवको गलत रूप हो र यसले सामाजिक विषमता बढाउँछ । धेरैमा गाली गर्ने र कठोर बोली प्रयोग गर्ने बानी हुन्छ । अरुलाई मानसिक चोट पुर्याउँदा आनन्द मान्ने यिनलाई गालीको परिभाषा नै थाहा हुँदैन । जिम्मेवारीबाट भाग्ने बानीले भविष्य कमजोर बनाउँछ भन्ने थाहा पाएर पनि मानिस कामचोर बनेका छन् । कामचोरी मानवता विरोधी कर्म हो । तिनले आफ्नो गल्ती अरूमा थोपर्छन् र आत्मसुधारको बाटै रोकिदिन्छन् । तिनमा अहङ्कार प्रदर्शन गर्ने बानी हुन्छ । तिनका व्यवहारले सामूहिक वातावरणमा असहजता सिर्जना गर्छ । फेरि तिनैले अरुप्रति ईर्ष्या राख्छन् र अरुको मानसिक शान्ति खोस्छन् । अरूसँगको सम्बन्ध बिग्रेला भन्ने तिनलाई रत्तिभर चिन्ता हुँदैन । यो बुझी भनी मेरी नातिनीले के भन्दी हो ? के उसको बाल मस्तिष्कमा सत्यको सही परिभाषा घुस्ला ?
धैरै मानिस अरूको सफलतामा दुःखी हुन्छन् । यस बानीले आफ्नै सकारात्मक सोच नासेर आत्मविकास घटाउँछ । रिस र उन्माद बढाएर गलत निर्णय गर्न उक्साउँछ । यसबाट बिस्तारी आफ्नो समय खर्च गरेर अरुका कुरा काट्ने बानी विकास हुन्छ । समुदायमा अविश्वास फैलाउन यो पर्याप्त हुन्छ । छलकपट गर्नु छ भने यही पाठ पढे हुन्छ । सहजै सम्बन्धमा धोका पैदा भइहाल्छ र असुरक्षा घरमै आइपुग्छ । स्वार्थी बन्न यो नै पर्याप्त हुन्छ । सामूहिक हितभन्दा आफ्नो लाभ मात्र हेर्ने प्रवृत्ति विकास गर्नु छ भने यो सिके हुन्छ । म, हामी, तँ, तिमी, ऊ, उनी कसले यो सिकेको छैन र ? अनि मैले मेरी नातिनीलाई किन विपनामा ढाँट्नु हुँदैन भन्नुपर्यो ? आफैँलाई अचम्म लाग्यो । के म चाहिँ सपना र विपनामा एउटै कुरा सोच्न र गर्न सकुँला ?
म पनि समयको कदर गर्दिनँ । यो अवसर गुमाउने मुख्य कारण हो । मैले पनि यही बानीले धेरै अवसर गुमाएँ । मलाई काम छिटो गर्न मन लाग्छ । काम ढिलो गर्ने बानीले तनाव बढाउँछ र उपलब्धि कम हुन्छ जस्तो लाग्छ । ममा पनि धेरै बोल्ने तर कम सुन्ने बानी होला । यसले प्रभावकारी संवादको अन्त्य गरेर अस्वस्थ प्रतिस्पर्धा गर्ने बानी विकास गर्छ भन्ने मलाई थाहा छ तर म किन यसलाई त्याग्न सक्दिनँ । केले मेरो रगतमा गाडिएको भावना परिवर्तन गर्न दिँदैन ? के मेरी नातिनीको अवचेतनमा पनि यही गाडिइसक्यो?म मेरी नातिनीलाई सफेद मनोविज्ञान कसरी पढाउन सक्छु ?
कुर्सीले कुरै नसुनी निष्कर्ष निकाल्छ । गलत निर्णय गर्नु र गलत आरोप जन्माउनु कुर्सीलाई समाजले पढाएको पाठ हो । त्यसैले कुर्सी दुसाध्य परिस्थितिमा भाग्छ । कुर्सीबासीको आत्मविश्वास घटाउन कुर्सीपूजा पर्याप्त छ । यसले जीवन अव्यवस्थित पार्ने अनुशासनहीनता उपहार दिन्छ । मानवीयता र संवेदना घटाउन र पैसामा केन्द्रित भई पौरख देखाउन यो बानी पर्याप्त छ । असन्तुष्ट मानसिकता निर्माण गरी जीवनमा कृतज्ञता नदेखाउन पनि यो सहायक छ । यसलाई म सकारात्मक वा नकारात्मक के भनेर नातिनीसँग प्रतिवाद गरूँ ?
मानिस किसिम किसिमका लतमा फसेका छन् । तिनलाई स्वास्थ्य, समय र सम्बन्ध बिगार्ने पक्षको राम्रै जानकारी छ । वैचारिक जिद्दीपन बढी भएकाले तिनले आफूलाई धेरै महान् ठान्ने गरेका छन् । ती साना साना कुरामा पनि बेखुसी हुन्छन् । तिनको भावनात्मक असन्तुलनलाई समाजले मानेकै छ । तिनले अनावश्यक आलोचना गरेर अरूको मनोबल कमजोर पारे पनि स्वीकार्य नै छ । सामाजिक नियम नमान्ने र अरुलाई असहज र असुरक्षित बनाउने तिनको प्रवृत्तिलाई कसले समाजविरोधी भनेको छ र ? विश्वसनीयता गुमाएर वाचा तोड्ने तिनको बानीलाई मैले पनि त विरोध गरेको छैन । मसँग पो नातिनीलाई सही सिकाउने गुण कहाँ बाँकी छ र ?
मानिसको भित्र र बाहिरको चरित्र फरक हुन्छ । धेरै देखावटी रुचाउँछन् । वास्तविकता तिनको वृष्टि छायामा हुन्छ । बिनाप्रमाण आरोप लगाउनु र सामाजिक अन्यायको जग बसाउनु बाहिरी चरित्र हो । ठुल्ठुला कुरा गर्नु तर व्यवहारमा नदेखाउनु भित्री चरित्र हो । दोहोरो चरित्र तिनको आधिकारिक विशेषता हो ।
स्वास्थ्यप्रति लापरबाहीले जीवनको मूल्य घटाउँछ । म स्वास्थ्यमा धेरै पैसा खर्च गर्न डराउँछु । मसँग स्वास्थ्य अनुशासन नभएकाले आफैँ भविष्यमाथि जोखिम थप्दै छु । ममा अरूको दुःख हेरेर रमाउने बानी विकास भएकाले मानवीय संवेदनाको क्षय हुँदै छ । म दुष्कर्मलाई सामान्य ठान्न थालेको छु । गलत संस्कार फैलाउन मलाई यसले हर क्षण सहयोग गर्छ । म परिश्रम गर्नबाट डराउँछु । प्रगति अवरुद्ध भएको मलाई पत्तै हुँदैन । म तर्कले आफूलाई जित्न खोज्छु । बिनासोचको तर्कले विवाद बढाउँछ भन्ने मैले बिर्सिसकेको छु । मलाई मेरो मस्तिष्कले नकारात्मक सोच राख्न मात्र सिकाउँछ भने मेरो जीवनमा उत्साह कसरी आउँछ ? मेरो मानिसक स्वास्थ्यले मलाई नै धिक्कार्छ भने मेरो शरीरले सास कहिलेसम्म फेर्छ ? पुर्ख्यैनी रगत बगिरहेको मेरी नातिनीको सपनामा चेतन मस्तिष्क कसरी सक्रिय हुन्छ ?
अरूको काममा आफूले श्रेय लिन खोज्नु अनुचित व्यवहार हो । यसले योजनाबद्ध कामलाई पछाडि धकेल्छ । योजनाविहीन काम गर्दा कमजोर परिणाम निस्कन्छ र समय बर्बाद हुन्छ । यसले छिटो निष्कर्ष निकालेर अरूलाई दोष दिन अग्रसर गराउँछ । यसैबाट सत्य नदेख्ने आदत विकास हुन्छ अनि हामी समाजको भलोभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिन्छौँ । सामूहिक विकासमा अवरोध पैदा भएको हामीलाई पत्तै हुँदैन । हामीमा कसैको दुःखमा करुणा वा सहानुभूति नदेखाउने बानी विकास हुन्छ । यसले मानिसको मौलिक मूल्यमाथि प्रहार गर्छ र आफूलाई सर्वेसर्वा ठान्न सिकाउँछ । के यो शुभ सोच हो ? कि यो कुरूप व्यवहार हो ?
हरेक समयमा आफूलाई ठिक ठान्ने प्रवृत्तिले सिकाइ क्षमता घटाउँछ । उसले कुनै पनि सुझाव मान्दैन र सुधारको ढोका बन्द गर्छ । उसले अवसर पाउँदा पनि मिहिनेत गर्दैन । जीवनका सम्भावना आफैँ नष्ट गर्छ र बेसमयमा पछुताउँछ । उसमा अन्याय देखेर पनि मौन बस्ने बानी बस्छ । यो गलतलाई बलियो बनाउने उपाय हो । यसले आफ्नो परिश्रमको तुलना अरूसँग गर्छ र निराशा बढाउँछ । उसको अन्तर्हृदयमा सामान्य गल्तीलाई पनि ठुलो नाटक बनाउने भावनात्मक अस्थिरता बढाइदिन्छ । यो गुण प्राप्तिपछि जिम्मेवारीबाट टाढिन र परिवार तथा समाजमा भरोसा घटाउन सहज हुन्छ । यसको उच्चता प्राप्ति भएमा अरूका कमजोरी देखाएर आफू उत्कृष्ट देखिन सहज हुन्छ । यो नकारात्मक चरित्रको सर्वोच्च उदाहरण हो । मेरी नातिनी यही उदाहरण बन्न पुगी भने मैले दिएको उत्तर के होला ? मेरो संवाद क्षमता अन्त्य भयो ।
संवादले सत्य र असत्य पहिचान गर्छ । सत्यको पहिचानले नयाँ सोच जन्माउँछ । म संवाद क्षमता बढाउन चाहन्छु ।