कार्तिक पूर्णीमाको त्यो साँझ । देउमाई खोलाको किनारमा ठेलमठेल मेलाबजार । डाइस, रोटेपिङ र दोहोरीको गुन्जायस । बजारको सम्मुखमा २ सय १८ वर्षदेखि बलीपूजा हुँदै आएको ‘गजुरमुखी धाम’ । धाम परिषरमा भाकल बुझाउनेहरुको भिड । धामको सिँडीमा राखिएका अनगिन्ती घण्टीहरुको छुट्टै गुन्जायस । त्यही धामको आसपासमा छङछङाएर बगेका खोल्सी र खेतका कान्लाहरु । कछाडमा सुस्ताउँदै बगेको खोलाको बगरमा दर्जनौ अस्थायी टहरा ।
प्रत्येक टहराको खाँबोमा झुण्ड्याइएका धिपधिपाउँदा लालटिनहरुबाट निस्केको उज्यालो बगरका ढुंगा र खोलाको पानीमा परार्वतन भएर फर्किएको ज्योतिले आकाश चुम्दै फर्किँदै गरेको मनमोहक दृष्य सतहमा पोखिइरहेको थियो । खेतका फाँटहरुमा चलेको हल्का हावाले पहेँलै भएको मुसुली र बासमती धानका झुप्पाहरु आपसमा ठोकिँदा निस्किएको सुगन्धले वातावरण नै मगमगाएको थियो ।
यही बगरमा वर्षेनी ‘कार्तिक पूर्णीमाको त्यो साँझ’ रातभर लाग्ने मेला बजारमा ‘धाननाच’को निम्ती सुम्निमाले दिएको निम्तो मान्न पारुहाङ विहानको आधारातदेखि नै पाँचथरको पल्लो गाउँबाट गन्तब्यतर्फ लमक्क लमक्क पाइला बढाइरहेका थिए । पूर्वी पहाडको हरियालीसँगै बेँशी खेतका फाँटहरुमा धानका बाला झुलेर झपक्क झपक्क आली छुन खोज्दै फर्किँदै गरेको रमाईलो दृष्यले पारुहाङको थकान शरिरमापनि स्फूर्ती भरिदिन्थ्यो ।
बगरै बगरको बाटो, ढुंगे सडकहरू छिचोल्दै मेलाबजार पुग्दा साँझ गहिरो भइसकेको थियो । बगरको त्यो भब्य मेलाको विचमा सुम्निमासँग पारुहाङको भेट भयो । पारुहाङ र सुम्निमा निक्कैवेर अँगालोमा बेरिएर सुस्ताए, अनि विस्तारै लयमा फर्किए ।
पारुहाङ र सुम्निमा पुराना साथीमात्र नभएर नाताले सोल्टी सोल्टिना हुन् । यही गाउँमा हुर्किएर सहर पसेकी सुम्निमालाई सानैदेखि लोकभाका र दोहोरी बहुत मन पथ्र्यो । स्वरकी पनि धनी थिइन् । त्यो रातभर पारुहाङसँग किरात सभ्याताको ‘धाननाच’मा रमाउँने उनको केही वर्षअघिदेखिको अभिलासा बल्ल पूरा हुने भयो । उनले रोजेका पारुहाङपनि पहाडी मूलका रोज्जा, हट्टाकट्टा लक्का जवान ‘सतिशाल’ बराबर थिए । उनको पनि स्वर कम थिएन । झ्याउरे दोहोरी, साकेला, धाननाच र तामाङसेलो त पूर्वी पहाडको कल्चर नै हो । श्रीस्वस्थानीमा ब्रतको रात गरिने जाग्रमदेखि धानपरालका मुठा कुट्दा र कोदो रोप्तापनि दोहोरी गाउने चलन थियो पारुहाङको गाउँमा ।
संस्कृतिको जगेर्ना गर्न सहरबाट गाउँ पर्किएकी कलाकार सुम्निमाले आफ्नै मनको शान्ति खोज्दै, यस गाउँका फेदीको बाटो र गजुरमुखी धामको माटोमा पाइला टेकेको भने यो नया होइन । उनीसँगै सहरबाट ल्याइएको क्यान्भास र रङ्गहरूले उनलाई मात्रै होइन, वरिपरिको वातावरणलाई पनि आकर्षित र मोहित बनाएको थियो ।
विहानैदेखिको बाटाको याद पारुहाङलाई झल्झली आइरहेको थियो । पहाडको उकाली– ओराली, कतै खोल्सी र भीरपाखा, खेतबारीका आलीको बाटो, पहाडको कुहिरो, र गाउँको पुरानो चहक, झ्याउँकिरीको संगीत उनको आँखामा नाचिरहेको थियो ।
सम्झिए ‘कोशेलीको पोको’ । पारुहाङले आफ्नो झोला खोले । सुम्निमालाई सम्झिएर ल्याएको कोशेलीको पोको हातमा थमाउँदै भने, लेउ सुम्निमा यो तिम्रोलागि मैले ल्याइदिएको कोशेली । सुम्निमाले पोको खोलिन् मुठीमा नआँट्ने रसैरसले भरिएका पोटिला पाँचथरे सुन्तलाका दाना, धनकुाको भुटेको बदाम, इलामको साँधेको गुन्द्रुक, लप्सी र अकबरे, सम्झिँदै मुख रसाउने अमलाको अचार, प्याजी र तेलमा सोप सरी बनाएर फ्राइ गरेका आलुका चाना, तङ्वा, सुकुटी र पकुवा लगाएको पहेँलो चाम्रे एकैपटक देखिन् ।
कोशेलीकालागि धन्यवादका शब्दहरु मनमनै खोज्दैथिइन्, यही बेला सुम्निमाका बाल्यकालका साथी तान्छुहाङ र पार्वतीको पनि आगमन हुन्छ । तान्छुहाङ र पार्वतीले एउटै स्वरमा भने, अहा, कति मिठो होला है ! सुम्निमाले भनिन्– ओ हो पार्वती ! तान्छुहाङ ! तिमीहरु पनि आइपुग्यौं ? ल ठिक्क बेलामा आइपुग्यौ यार । आउ मिलेर खाउँ । सुम्निमाले पारुहाङलाई चिनाउँदै भनिन्– ‘उ मेरो पारुहाङ’ । उसले ल्याएको कोशेली हो यो । वनभोज खाँदै सबै रमाए । दोहोरो सेवाढोग चल्यो । अब एक अर्कालाई चिन्न केहिले छेकेन । उनीहरूको प्रेमदृष्टि एक अर्कामा अडियो ।
बल्ल ‘धाननाच’ सुरु भयो । रातको अँध्यारोमा लालटिनले धानखेतमा घुमाउने रेखा खिच्दै थियो । सुम्निमाले पार्वतीलाई नाच्दै उफ्रेको देखिन्, नाचको ताल हेरिन् । त्यहीक्षण उनलाई सोचेभन्दा माथिको अनुभूति भयो । च्याब्रुङ र ढोलको ताल र पिप्ले–बाँसुरीको स्वरमा मिसिएर पार्वतीका कदम हावामा संगीत निर्माण गर्दै थिए ।
सुम्निमाले पारुहाङको हात समातेर भनिन्, “तिमी नाच्दा लाग्छ, मानौ समय रोकिएको छ, केवल हामी बाँचिरहेका छौं ।” पारुहाङ हाँसे । पार्वतीले पनि मुस्कुराउँदै तान्छुहाङको हात समातिन्, रातभरको यो नाच, उनीहरुको अविस्मरणीय क्षण हुनपुग्यो । त्यो पल, त्यो दृष्टि, एउटा अदृश्य तारले उनीहरूलाई कुनै शब्दले बयान गर्न नसक्नेगरी केवल मनले महसुस गर्ने गहिरो आकर्षण बनेर कसिदियो । प्रेमिल नाचलाई जीवन्त बनायो । सुम्निमा र पारुहाङबीचको दूरीपनि हरेक ताल र घुमाइसँगै पग्लिन थाल्यो ।
सुम्निमाले नतमस्तक भएर भनिन्, “हामीले केवल नाचलाई होइन, हृदयलाई पनि एकसाथ नचायौं ।” पार्वतीले थपिन्, ‘रातभरको यो ताल, हाम्रो प्रेमको पहिलो र अविश्मरणीय दस्तावज हुनेछ ।’ प्रत्येक कदमको ताल मुटुको धड्कनसँग मिल्यो । उनीहरूले एकअर्कालाई हेरेर मुस्कान छोडे, सबैले प्रेमको मायालु भाषा बोले । ‘हामीले हाम्रो प्रेम र संस्कृतिलाई सँगै बचाउनु पर्छ ।’
उनीहरुले आ–आफ्नो जोडीको जीवन सोचे, तर वास्तविकता सजिलो थिएन । गाउँलेहरूको परम्परा, परिवारको दृष्टिकोण, र सामाजिक नियन्त्रकहरूले प्रेमलाई दिएको चुनौती उनीहरुले सामना गर्नु नै थियो । सुम्निमा र पार्वतीले महसुस गरे कि परिवार अनि समुदायले नस्वीकारेसम्म केवल मुटुको मेल पूर्णता छैन । प्रेमलाई स्वीकार गर्न धैर्य, साहस, र समय चाहिन्छ ।
सुम्निमाले पारुहाङको हात समाउँदै भनिन्, “हामीलाई डराउनु पर्दैन । हामी गजुरमुखी धामको काखमा छौं । हाम्रो प्रेम, हाम्रो ताल, हाम्रो नाच, यी सबै हाम्रो संस्कार र आत्माको अभिव्यक्ति हुन् ।” यही हाम्रो धर्म र संस्कार पनि हो । देवी खुशी भए सबै खुशी हुने हो, हामीसँग देवी खुशी छन् ।
पारुहाङले भने “तिमी बिना यो रात, यो नाच, केवल खाली ठाउँ जस्तो हुने थियो ।” तिम्रो प्रेम केवल व्यक्तिगत भावना नभएर साँस्कृतिक र आध्यात्मिक एकतामा जोडपनि हो । मैले यसरी नै बुझेको छु ।
रातको मध्यमा हल्का वर्षा सुरु भयो । धानका पातमा पानीका मोती झिल्झिल गरिरहेका थिए । सुम्निमा र पार्वतीको हात गीतको तालसँगै नछुटिने गरी कसिएको थियो । हावामा उडिरहेको जस्तो देखिने लालटिनको किरणमा मिसिएको कुहिरोले उनीहरूको प्रेमलाई नै आलिङ्गन गरिरहेको आभास हुन्थ्यो ।
पार्वतीले पनि झरिरहेको वर्षाको सौन्दयपूर्ण प्रतिबिम्ब तान्छुहाङको आँखामा देखिन् । ‘हामी सधैं यसैगरी सँगै नाच्न र बाँच्न सक्छौं ?’ उनले तान्छुहाङलाई बुझेको भावमा सोधिन् । तान्छुहाङले पनि हल्का मुस्कुराउँदै जवाफ दिए, ‘यो नाच केवल रातभर होइन, हाम्रो जीवनभरको संगीत हुनेछ । आजको रातले हाम्रो जीवनको रेखा कोरिदिएको छ । दुबजोडी खुशीले बुरुक बुरुक उफ्रिए, मानौ धर्ती उनीहरुको निजी हो, र उनीहरुकै कमाण्डमा छ ।
हावाको गतिसँगै समयले मध्य रात वितिसकेको संकेत गरिरहेको थियो । नाच रोकेर खेतका आलीमा विश्राम लिइरहेको मौका पारेर पार्वतीले सुम्निमालाई सोधिन–
साँची दिदी, यो गजुरमुखी धामसँग हाम्रो साँस्कृतिक धाननाचको सम्बन्ध के छ ?
सुम्निमाले अघिल्लो वर्ष नै यसबारे मसिनो गरी अध्यायन गरिसकेकी थिइन् । अघिल्लो पुस्ताबाट उनले संस्कृतिबारे ज्ञानबोध गरिसकेकी थिइन् । सुम्निमाले पार्वतीलाई लिम्बू संस्कृतिको धाननाच र गजुरमुखी धामको कथा यसरी सुनाइन् –
पार्वती, ‘ नेपाल भन्ने देशको पूर्वको एउटा जिल्लाको नाम हो इलाम । त्यही क्षेत्रको चारखोलाको संगम भएको स्थान हो गजुरमुखी । चारमाई मध्ये देउमाई र फाकफोकको संगम किनारामा गजुरमुखी धाम रहेछ लिम्बू भाषामा थुम्कीहरुलाई ‘थुम’ भनिदोरहेछ पछि आएर फाकफोकथुमको एउटा गाउँ गजुरमुखी भनेर परिचित छ । परापूर्वकालदेखिनै यस क्षेत्रको धार्मिक तथा पर्यटकीय हिसावले उत्कृष्ट गन्तब्य मानिदै आएको रहेछ । दैनिक सयौँ भक्तनहरु ओहोर दोहोर गर्ने यो देवस्थलको उत्पत्ति करिव २ सय १८ वर्ष अगाडी भएको किम्बदन्ती छ । स्थानीय बागवीर लिम्बूले पत्ता लगाएको भनिएको गजरमुखीबाट नै यसको गजुरमुखीधाम नामाकरण भएको बताइन्छ । विशेष गरेर निसन्तानहरु सन्तान माग्न र शिशुहरुको बोली नआए बोली फुट्ने यहा आउने भक्तजनहरुको विश्वास मनमा गडेर बसेको यहाँको विशेषता रहेछ, पार्वती ।’ अर्कोकुरा गजुरमुखीमा एक पटक मात्रै गएर नहुने मान्यता छ । गजुरमुखीसँग केहि माग्न आए पुरा भएपछि पुन आफुले मागेको कुरा पुरा भएको खवर पुर्याउन जानुपर्ने मान्यता रहेको पुजारीहरुको भनाइ पत्रपत्रिकामा पनि पढेका थियौं । अग्रजहरुले पनि सियर गरेका थिए । यही मान्यता अनुसार भक्तजन दुई पटक त्यहाँ पुग्ने गर्दारहेछन् ।
पार्वती, तिम्रो जिज्ञासाको अर्को पक्ष हो धाननाच । गजुरमुखीमा नजिकै रहेको देउमाई खोला किनारामा कात्तिके पूर्णीमामा ठूलो मेला समेत लाग्ने गरेको रहेछ । यो मेलामा किरात सभ्याताको पूजाविधी पूर्ण गरिने मेला हो । यहाँ लिम्बू संस्कृतिको धाननाचको विशेष आकर्षण रहेछ । विशेषतः याक्थुङ (लिम्बू) लोक प्रचलित नृत्यमा धान नाच पर्दछ । प्राचीनकालका देवदेवताहरूको ग्रन्थ मुन्धुममा उल्लेख गरिएको छ कि एकै परिवारका आफन्तबिच वा चेली माइतीले मौलिक संस्कृति उजागर गर्न धान नाच्ने गर्छन् भने साइनो (नाता) नलाग्ने युवा युवतीले आपसमा धान नाचेर मायाप्रेम साट्ने गर्दछन् । युवकयुवतीबिच धान नाच्दै माया प्रेम साटासाट गर्ने र कोही कोही धाननाचकै माध्यमबाट विवाह बन्धनमा बाँधिने गरेका परमपरागत मान्यता पनि यो संस्कृतिले बोकेको रहेछ । त्यसैले पनि धान नाच लिम्बू जातिको पृथक र अनौठो साथै एक रमाइलो अनुभूति दिलाउने संस्कृति भनिएको रहेछ ।
यो मेलामा आउने साइनो सम्बन्ध नलाग्ने युवायुवती धान नाचमा सरिक हुन्छन् र भावना साटासाट गर्छन् । वृद्धवृद्धा पनि उत्तिकै सौहार्दताकासाथ नाचमा सरिक हुन्छन् । तर नाच्नुअघि केटा र केटी पक्षबीच साइनो सम्बन्ध केलाउनुपर्छ । यसरी नाच्ने क्रममा चिनजान गर्दै लिम्बू भाषामा गाउँदै नाच्दै जाँदा कोही कसैसँग साइनो लागे शुरुमा नै एकबोतल रक्सी राखेर मुन्धुमअनुसार माफी माग्ने र नाच्ने अर्को जोडी खोज्नुपर्ने चलन पनि थियो रे पार्वती । गजुरमुखी धाम र मेलाबजारमा धाननाचसँग जोडिएको कथा यही हो । पार्वती छक्क परिन् । सबै मुखामुख गरे ।
कथा सुनिसकेपछि थप उत्सुकता र स्फूर्ति पनि जागेर आयो । फेरि शुरु भयो धान नाचको अन्तिम श्रृङ्खला ।
हे खो खो... हे खो खो... ( यो तालको धुन हो)
खेत फुङ्लुङ, थुम्लुङ फुङ्लुङ,
– धानखेत सुन्दर छ, पहाड (थुम्लुङ) हरियाली र खुशीले भरिएको छ,
साम्हाङ–युम्फा थेम्बा फुङ्लुङ,
– हाम्रो देवता–पूर्वज प्रसन्न हुन्, घर–परिवारमा प्रेम होस्,
तेन्डुङ–घेरा से–से नाचा,
– सबै मिलेर घेरा बनाई खुशीले नाचौँ ।
हे खो खो... हे खो खो...
योक्फा–मुङ्वा पाङ्मा ल्याङ्बा,
— आँगन र मन दुवै उज्यालो होस्, समृद्धि भरियोस्,
थेम्बा–साम्बा सुम्फा थाङ्बा,
— परिवारका साना–ठूला सबैलाई सुदिन आओस् ।
युङ्बा–येक्तुम मुन्हा याङ्बा,
— समूह, गाउँ, सबै मानिसको जीवन उज्यालो र सुखी होस् ।
ओ खो खो... ओ खो खो...
यसरी रात ढल्दै गयो । रातभरको धाननाचले थकित शरीरलाई शान्ति दियो, पारुहाङ र सुम्निमाले ह्रृदयको स्पन्धन साटे । सुम्निमाले आफ्नो क्यान्भासमा रातभरको दृश्य उतारिन्, पारुहाङले आफ्ना भावनाहरू शब्दमा रच्दै गाइरहे.. ओ खो खो... ओ खो खो...। पार्वती र तान्छुहाङले पनि लय थपिरहे । उनीहरूको प्रेम अब केवल व्यक्तिगत कथा होइन, ‘धाननाचको रातले गढेको सांस्कृतिक प्रेमकथा’ बन्यो ‘गजुरमुखीमा सुम्निमाले धाननाचेको रात’ ।