18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

साहित्यकार मनप्रसाद सुब्बासँग गरिएको साहित्यिक कुराकानी

वार्ता बैद्यनाथ उपाध्याय November 26, 2025, 1:30 am
बैद्यनाथ उपाध्याय
बैद्यनाथ उपाध्याय

मनप्रसाद सुब्बा नेपाली साहित्य जगतका एकजना अति विशिष्ट रचनाकार हुन्। उनका हालसम्म दशवटा कविता संग्रह, एक लघु उपन्यास, एक कथा संग्रह, एक समालोचनात्मक लेख संग्रह प्रकाशित भै सकेका छन्। यस अतिरिक्त महेश पौड्यालद्वारा सम्पादित मनप्रसाद सुब्बाका प्रतिनिधि कविता प्रकाशित छ भने पाँचवटा जति कविता संग्रह अंग्रेजी, हिन्दी, मैथिली र बंगलामा अनुदित भएका छन् । उनको काव्य संग्रह आदिम बस्तीको अंग्रेजीमा अनुदित कविताहरू केन्द्रीय विश्वविद्यालयको अंग्रेजी विभागको पाठ्यक्रममा पनि सामिल गरिएको छ। उनले धेरै साहित्यिक अनुवादहरू गरेका छन्। एकजना सुप्रतिष्ठित कविका रूपमा विभिन्न राष्ट्रिय-अन्तर्राष्ट्रिय कवि सम्मेलनहरूमा भारतीय नेपाली कविताको प्रतिनिधित्व गर्नुका साथै केही सामयिक पुस्तकहरूको सम्पादन पनि गरेका छन्। उनका केही प्रकाशोन्मुख कृतिहरूमा क) संस्मरण, ख) असङ्कलित कविताहरू र ग) अंग्रेजी लेखहरूको संग्रह छ। साहित्यमा उनको योगदान र निरन्तरताको क्रममा उनले धेरैवटा राष्ट्रिय-अन्तर्राष्ट्रिय सम्मानहरू पनि पाएका छन्। यहाँ प्रस्तुत छ उनीसँग गरिएको एक साहित्यिक कुराकानी-

वैद्यनाथ उपाध्यायः लेखक हुनुमा कस्तो घटना-परिघटनाहरू जोड़िएका छन् खुलस्त गरिदिनुहोस् न ।
मनप्रसाद सुब्बाः म लेखक तथा कवि बन्नुमा उल्लेखनीय कुनै घटना छैन । मैले एकाधिकपल्ट भनेको यौटा कुरा चाहिँ के हो भने म कक्षा एक-दुइमा पढ्दा एक दिन ‘घाम र हावाको झगड़ा’ शीर्षक रहेको यौटा कथा, चित्रसहितको, पढ़ाइएको थियो । साँझपख घरमा त्यही कथालाई मैले लय र अन्त्यानुप्रास मिलाएर पद्य रूप दिएको थिएँ । कविताप्रतिको अबोध आकर्षणले नै शायद मैले त्यसो गरेको थिएँ कि ! स्कूलका पाठ्यपुस्तकमा पढ़िने छन्दोबद्ध कविताको लयात्मकता अनि तत्कालीन पत्रिकातिर देखिने गद्यकविताको आकर्षणबीच सानै छँदा परेको हूँ । म पाँचौं-छैटौ कक्षामा छँदै आयामेलीहरूको तेस्रो आयाम पत्रिका घरमै हेर्न पाउँथेँ । त्यसभित्रका नयाँ स्वर, नयाँ शैलीले मेरो बालमनलाई पर्याप्त आकर्षित गरेको हुन्थ्यो । नयाँ प्रकारले भन्नुपर्छ-को चेत परोक्ष रुपमा त्यसबेलै पो टुसाएको हो कि !

वैद्यनाथ उपाध्यायः लेखकीय जीवनको अनुभवबारे के भन्नुहुन्छ?
मनप्रसाद सुब्बा : धेर-थोर प्रत्येकको अन्तस्तलमा बाल्यकालदेखि नै नजानिँदो किसिमले विकासिँदो सूक्ष्म सौन्दर्यबोध हुन्छ । त्यसले कुनै न कुनै रुपमा / माध्यममा निकास खोजेको अवस्थामा नै अभिव्यक्तिको रूप लिन्छ । त्यो अभिव्यक्ति शब्दमा भए कविताको रूप लिनसक्छ; ध्वनिमा भए सङ्गीत, रङ्ग-रेखामा भए चित्रकला, प्रस्तरमा भए मूर्तिकला । अभिव्यक्तिका यी रूपकै पनि अनेक रूप छन् । प्रारम्भिक अवधिमा आफूभित्रको नजानिँदो उत्साहले उक्साइएर अभिव्यक्त हुन खोजिन्छ । तर समयान्तरमा, कुनै पनि अभिव्यक्ति दिनु भन्नु चुनौतिपूर्ण दायित्व स्वीकार्नु पनि हो । कलागत अभिव्यक्ति हरेक पल्ट तथा समयको प्रवाहमा निरन्तर परिवर्तनशील दृष्टिद्वारा प्रभावित भइरहन्छ । अनवरत समयको पदचापलाई सुन्न सक्ने, देख्न सक्ने सूक्ष्म संवेदनशीलता अनि चैतन्यको अपेक्षा गरिन्छ प्रत्येकमा जो अभिव्यक्तिका खेतीमा समर्पित छन् ।

वैद्यनाथ उपाध्यायः तपाईंको विचारमा जीवन के हो ? साहित्यले जीवनलाई कसरी प्रभाव पार्ने गर्छ ?
मनप्रसाद सुब्बा : हामीले नमागिकनै, थाहै नपाई पाएको यो जीवन प्रत्येकलाई भिराइएको यौटा दायित्व हो, बाँचिदिनुपर्ने दायित्व । तर थाहै नपाई स्वीकारिसकेका हुन्छौँ यो बाँच्ने दायित्वलाई; अझ सम्मोहित पनि भइसकेका हुन्छौँ यसप्रति अनि यसको रक्षार्थ सांसारिक अनेक कुरा गर्न तत्पर भइरहन्छौँ । कहिले कतै यो दायित्व आफ्नो लागिभन्दा अरूको लागि बढ़्ता बाँचिदिनुपर्ने भइरहेको हुन्छ । प्रौढ़ भइञ्जेल जीवनले जे-जस्तो रूप लिएको हुन्छ त्यसको दायी तर मान्छे स्वयं नै मात्र नभएर मान्छेको नियन्त्रणातीत अज्ञात केही पनि हो कि ! नमागिकन पाएको हाम्रो जीवनमा हामीले नचाहिकनै धेरै थोक भई जीवनले जुन रूप लिन्छ मान्छेले त्यो रूपलाई थाहै नपाई स्वीकार गरिसकेको हुन्छ ।
साहित्य-सर्जक अनि साहित्यका पाठक दुवैलाई साहित्यले विशेष सीमासम्म प्रभाव पारेको हुन्छ नै । साहित्य सृजनकर्मका कारण सर्जकको जीवनले अर्कै मोड लिएको उदाहरण जताततै देखिन्छन् । साहित्य-पठनको नियमित अभ्यासले जीवन-जगत हेर्ने-देख्ने दृष्टि साथै अनुभूत गर्ने संवेदन आदि कुराले पाठक पर्याप्त प्रभावित हुनु स्वाभाविक हो ।

वैद्यनाथ उपाध्यायः हिजोआज पुस्तक पढ़्नेहरूको सङ्ख्या कमेर गएको छ । यसमा कसरी सुधार ल्याउन सकिएला ?
मनप्रसाद सुब्बा : वर्तमान डिजिटल युगमा प्रत्यक्ष पुस्तक नै हातमा राखेर पढ्नेको सङ्ख्या निःसन्देह घटेर गएको यथार्थलाई नकार्न सकिन्न । तैपनि स्थिति एकदम निराशाजनक पनि भइहालेको छैन । अनेक विषयक अनेक पुस्तकको आकर्षक मुद्रित रूप पुस्तक पसलहरूतिर पाइरहेका छौँ । नयाँ-नयाँ प्रकाशन गृह अघि आएका पनि देखिन्छन् । प्रत्येक भाषाको पुस्तक प्रकाशित गर्ने प्रकाशन गृहहरू पुस्तक प्रकाशनमा उत्तिकै उत्साहित देखिन्छन् । नेपालीमा मात्र पनि एक वर्षभित्र दर्जनौ नयाँ पुस्तकहरू प्रकाशित भइरहेका छन् । बितेको दश वर्षभित्र नै पनि नेपाली पुस्तकका प्रकाशन गृहको सङ्ख्या उँभै उक्लेको देखिन्छ ।
हातले पुस्तक समातेर पढ्नुको जैविक आनन्द डिजिटल माध्यममा स्क्रोल गर्दै पढ्नुले कहिल्यै दिन सक्तैन । भावी पाठकहरू सृजना गर्ने केन्द्रहरू शैक्षिक संस्थान् नै हुन् । ती केन्द्रका परिवेशभित्र नियमित अभ्यासका पठन-पाठनले हाम्रा भावी पाठकहरूमा अनिवार्य पाठ्य-पुस्तकबाहेक अन्यान्य पुस्तक पढ़्ने संस्कृति पनि हुर्कोस् । घरमा पनि प्रत्येक शिक्षित आमाबाबु र अभिभावकले पठन-संस्कृतिप्रेमीका रुपमा आफूहरूलाई प्रस्तुत गर्ने जिम्मेवारी निर्वाह गरिदिए त्यसले अवश्य सकारात्मक प्रभाव पार्नेछ । आफ्नो घरमा निजी पुस्तकालय नै नभए तापनि एकदुईवटा आल्मारीलाई सङ्ग्रहणीय पुस्तक राखेर सजाए घरको परिवेश आदर्श देखिनु स्वाभाविक हो ।

वैद्यनाथ उपाध्यायः कविता के हो ? नेपाली भाषामा कविताको स्थिति कस्तो छ ?
मनप्रसाद सुब्बा : कविता के हो ? – प्रश्नले कविताको परिभाषा मागेको बुझिन्छ जब कि कविता परिभाषाको घेरोबाट स्वतन्त्र कतैबाट आफू हुनुको टडकारो आभास दिइरहन्छ । कविता के हो? –लाई धेरै वर्षअघि कतै यसरी उत्तर गरेको सम्झना आउँछ – ‘कविता त्यो मनमोहक क्षितिज हो जहाँ धरती र आकाशको सम्मिलन हुन्छ ।’ परिभाषा जस्तो लाग्ने यस भनाइको अनेक थरी व्याख्या हुन सक्छ । समात्न नसकिने निरन्तर प्रवाहमान रूपहरुमाझ झलक्क देखिएको त्यो यौटा हुनसक्छ । कविताबारे आफ्ना दशवटा वैचारिक लघु लेखहरूको एक खण्ड मेरो समालोचनात्मक लेख सङ्ग्रह काव्यास्था-मा तेस्रो खण्ड-को रूपमा राखिएको छ ।
यस प्रश्नको दोस्रो अंशलाई उत्तर गर्नुपर्दा निर्धक्क भन्न सकिन्छ – नेपाली भाषामा कविताको स्थिति निकै गर्विलो छ । आञ्चलिक तथा राष्ट्रीय मञ्चमा मात्र सीमित नरहेर अन्तर्राष्ट्रीय तथा वैश्विक मञ्चमै पनि नेपाली कविताले पाठक-श्रोतामाथि प्रभाव पार्न सकेको छ । हाम्रो समसामयिक कविताको स्वर-स्वरूप पनि उस्तै उत्साहप्रद देखिन्छ । हाम्रो कविताले ऊर्ध्व-अग्र गति लिएर बढ्दै गइरहेको देखिन्छ । हो, कमसल कविताहरूको बजार पनि छ, र यो बजार जहीँ पनि जहिले पनि ठूलै हुन्छ । तर समयले निफन्छ ।

वैद्यनाथ उपाध्यायः तपाईं कवि तथा साहित्यकार नभएको भए के हुनुहुन्थ्यो होला ?
मनप्रसाद सुब्बा: कवितादेखि टाढा रहेको भए सायद म सङ्गीतमा एकोहोरिन्थेँ कि ! या त चित्रकलातिर पोखिन्थेँ । यीमध्ये कुनैको पनि सङ्गत नपाएको अवस्थामा सायद म एक विकृत अर्थात् पर्वर्टेड भएर सकिने थिएँ जस्तो पनि लाग्छ ।

वैद्यनाथ उपाध्यायः आफैलाई एक साहित्यकारको रुपमा कस्तो अनुभव गर्नुहुन्छ ?
मनप्रसाद सुब्बा : मलाई मेरा पाठकहरूले कवि, साहित्यकार भन्ने गर्छन् । म आफूलाई त आम मानिसभन्दा एक सुत् पनि फरक देख्दिनँ । त्यसैले भिन्नै हुनुको अनुभव कहिल्यै भएन ।

वैद्यनाथ उपाध्यायः दार्जिलिङ र सिक्किम भेगमा नेपाली साहित्यको स्थिति कस्तो छ ?
मनप्रसाद सुब्बा: वर्तमान दार्जिलिङ-सिक्किम भेगमा भइरहेको नेपाली साहित्य सृजना देख्दा निकै सुखानुभूति हुन्छ । साहित्यको रचनात्मक क्रियाकलाप अत्यन्त उत्साहजनक देखिन्छ । हो, दार्जिलिङ सहरमा नै चाहिँ गत सत्तर-अस्सीको दशकको साहित्यको उत्साहपूर्ण तरङ्ग आज देख्न पाइँदैन । तर सहरबाहिरकाहरूले सारा दार्जिलिङ पहाड़लाई प्रतिनिधित्व गरिरहेका देखिन्छन् ।

वैद्यनाथ उपाध्यायः साहित्यको विकासमा संस्था-संगठनहरूको भूमिकाबारे के भन्नुहुन्छ ?
मनप्रसाद सुब्बा : साहित्यिक पत्रिका प्रकाशन गर्ने, साहित्यिक कार्यक्रमहरू आयोजन गर्ने सङ्घ-संस्थाहरू र ती संस्थाका कार्यकर्ताहरू नै हुन् साँचो साहित्य सेवक । लेख्नेहरू त स्वानन्दकै लागि लेख्छन् । प्रकाशित गर्नुको आन्तरिक अभिलाषा पनि पाठकबाट सकारात्मक प्रतिक्रिया (प्रशंसा नै पनि पो !) - को अव्यक्त आशामा हुन्छन् । साहित्य सेवा उनीहरूको सोचदेखि अलिक परको कुरा हो ।

वैद्यनाथ उपाध्यायः आफ्नो पारिवारिक स्थिति र दिनचर्याको विषयमा जानकारी दिनुहोस् ।
मनप्रसाद सुब्बा : एक छोरा, एक छोरी – दुवैको बिहेकर्म भइसक्यो । छोरापट्टिबाट एक नाती छ नौ वर्ष पुगेको । छोरा-बुहारी दुवै पश्चिम बंगाल सिविल सर्विसका अधिकारी । छोरी पनि उस्तै पदमा सेवारत् । घरमा हमेशा भेटिने रोगी पत्नी छिन् । शिक्षण सेवाबाट निवृत्त म चाहिँ तर, कुकुरको उखान जस्तै, बेफुर्सदको जीवन बिताइरहेको छु ।

वैद्यनाथ उपाध्यायः नयाँ पुस्ताका लेखकहरूलाई के संदेश दिन चाहनुहुन्छ ?
मनप्रसाद सुब्बा : हाम्रो पछिल्लो पुस्ताका साहित्य सर्जकहरू धेरै आशालाग्दा छन् । पर्याप्त उत्साह र प्रतिभायुक्त देखिन्छन् । उनीहरूले आफ्नो यो उत्साहलाई निरन्तर हरियै बनाइराख्नेछन् भन्ने आशा राख्छौँ हामी । उनीहरूमा निहीत प्रतिभा पछिसम्म प्रज्ज्वलित भइरहोस् चाहन्छु । आफैलाई आविष्कार गर्दै, स्थापत्यदेखि अघि बढेर आफैसित प्रतिस्पर्धा गर्दै नवोन्मेषको यात्री भइरहने ।

वैद्यनाथ उपाध्यायः तपाईंले आजसम्म पढ़ेका उल्लेखनीय पुस्तकहरूबारे भन्नुहोस् ।
मनप्रसाद सुब्बा : मैले बगुन्द्रो पुस्तक पढेको छैन । थोरै पढेको छु । तर ती थोरैबारे पनि धेरै कुरा गर्न आउँदैन । पढेका केही अविस्मरणीय किताबहरू छन् । शेक्सपियरका नाटकहरू, अर्नेस्ट हेमिङवेको ओल्ड म्यान एण्ड द सी, दोस्तोयेवस्कीको क्राइम एण्ड पनिसमेन्ट, हर्मन हेसको सिद्धार्थ, इर्विंङ स्टोनको लस्ट फर लाइफ, इलियटका अनि नेरुदाका कविताहरू, खलील जिब्रानका रचनाहरू, के. वेंकटरमननको फिलोसफ़ी अव् नागार्जुन, कमला दासका कविता, गिरीश कर्नाडको नाटक नागमण्डला, रिमाल, विजय मल्ल, वासु शशी, वैरागी काईंला, गुलजारका कविताहरू इत्यादि ।

वैद्यनाथ उपाध्यायः साहित्यले समाज परिवर्तन गर्न सक्छ ? यदि सक्छ भने कुनै उदाहरण ।
मनप्रसाद सुब्बा : समाज धेरथोर / प्रत्यक्ष-परोक्ष चित्रित हुन्छ साहित्यमा । प्रयोगवादी तथा आधुनिकतावादी समयमा पनि समाजको स्वर-स्वरूप परोक्षतः आएको देखिन्छ । दृष्टान्त थुप्रै छन् । तर साहित्यले समाजको स्वरूप अर्थात् समाजको दशा र दिशा नै परिवर्तन गरिदिन्छ, सोझै भनिहाल्न नसकिएला । समाज-चित्रित साहित्य पढ्ने केही पाठकमा त्यस्ता साहित्यले उनीहरूको संवेग-संवेदनशीलता र चेतनालाई तरङ्गित पार्न सक्ला जसले गर्दा समाजलाई जागरूक तुल्याउन उनीहरू अघि आउन सकून् । तर साहित्य पर्चा तथा अखबार होइन । सूक्ष्म सौन्दर्यबोधको मुहानबाट उम्रिआएको कलागत अभिव्यक्ति हो साहित्य जसले तर कच्चा पदार्थको रुपमा समाजमा घटित तथा भइरहेको हरेक थोक लिन्छ । यस सन्दर्भमा मेक्सिम गोर्कीको आमा उपन्यासको सम्झना आउँछ । जारकालीन रसियामा १९०५ मा निम्न बर्गकाहरूले जारविरुद्ध गरेको असफल (आंशिक सफल) विद्रोहपछि अर्थात् त्यही विद्रोहद्वारा प्रेरित भई गोर्कीले १९०६ मा त्यो उपन्यास लेखे जुन तर पहिले अङ्ग्रेजीमा प्रकाशित भयो । १९०७ मा मात्र त्यसको रसियन संस्करण प्रकाशित भयो तर रसियामा त्यो प्रतिबन्धित थियो । तत्कालीन रसियाका वहुसंख्यक अशिक्षित तथा अल्प-शिक्षितहरूमाथि त्यस उपन्यासको कति नै पो प्रभाव पर्यो होला र ! १९१७ को अक्टोबर क्रान्ति सफल भएपछि मात्र आमा उपन्यासको प्रकाशन स्वतन्त्र तौरले भएको थियो ।
आजको अत्यन्त द्रुत सूचना-प्रविधिको युगमा समाज परिवर्तनको प्रभावकारी माध्यम साहित्य हुन सक्छ भनेर निश्चिततापूर्वक भन्न सकिन्न । तर भोल्टेयर, रूसो जस्ताको दर्शन-साहित्यले विस्तारै प्रभाव पार्दै लगेर ठूल्ठूला क्रान्तिको निमित्त प्रेरित गरेको फ्रान्सेली क्रान्ति जस्तो उदाहरण पनि छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।