म विवाहित हुँ । उनी पनि विवाहित हुन् । तर हामी एक अर्काका पति पत्नी होइनौँ । म अरु कसैको पति हुँ, उनी पनि अरु कसैकी पत्नी हुन् । यो हाम्रो सामाजिक परिचय हो । तर समाजिक भएर पनि हामीभित्र मानोवैज्ञानिक मान्छे बाँचिरहेको रहेको छ । हाम्रो वास्तविक परिचय समाजिक मान्छे मात्र होइन, हामीभित्र बाँचेको मनोवैज्ञानिक मान्छे पनि हो । त्यही हामीभित्र बाँचेको मनोवैज्ञानिक मान्छे नै वास्तविक मान्छे हो । हामीभित्रको वास्तविक मान्छेलाई चिन्ने समाजको दृष्टि चाहिएको छ । हो, हामी एकअर्कालाई प्रेम गर्छौँ । विवाहितहरु बीचको प्रेम । हाम्रो प्रेमलाई बुझ्ने साहस यो समाजसँग छ ?
एउटा विवाहितले अर्को विवाहितलाई प्रेम गर्नु हुन्छ कि हुँदैन ? समाज भन्छ, हुँदैन । त्यसो भए भनिदेओस् समाजले कि प्रेम र विवाहको के सम्बन्ध छ ? त्यो सम्बन्धको पहिचान के हो चिनाइदेओस् । प्रेम विवाहका लागि मात्र हुने हो भने विवाह विना प्रेम हुनै सक्तैन भनेर ठोकुवा गरोस् । विवाह विना पनि प्रेम हुन्छ भने विवाहित विचको प्रेम पनि स्वीकार गरोस् ।
भनिदेओस् यो समाजले, के सामाजिक मान्छे मात्र मान्छे हो ? मनोवैज्ञानिक मान्छे चाहिँ मान्छे होइन ? के सामाजिक मान्छे हुन ऊभित्र भएको मनौवैज्ञानिक मान्छे मर्नैै पर्छ ? के एउटै मान्छे मनोवैज्ञानिक मान्छे र समाजिक मान्छे दुवै हुन सक्तैन ? समाजप्रति मेरा बग्रेल्ती प्रश्नहरु छन् ।
मान्छेको मन अराजक छ । मान्छेको मन अराजक भएर मान्छे पनि अराजक भइदिन्छ– प्रेममा । म देख्नमा सामाजिक मान्छे हुँ, तर मभित्र अराजक मनोविज्ञान छ । मरो सामाजिक व्यक्तित्वमाथि मेरो मनोवैज्ञानिक मान्छे घोडा चढेको छ । त्यसैले त म विवाहित भएर पनि अर्की विवाहित नारीलाई माया गर्छु । उनी पनि त म विवाहित पुरुषलाई माया गर्छिन् ।
हाम्रो प्रेममा समाज तगारो बनेको छ । तर समाजको तगारोलाई मेरो मनले देख्न सक्तैन । मेरो मन मेरो वशमा त छैन भने कसरी समाजको वशमा हुन सक्छ ? उनी विना म तड्पिन्छु, कराउँछु, रुन्छु । उनलाई माया गर्नबाट मेरो मनलाई मैले त रोक्न सकिँन भने यो समाजले के रोक्ला ? तर अफशोच ! यतिबेला म उनको मायामा हजाराँैहजार पीडा पिएर बाँच्दैछु । किन कि उनीसँग म खुलमखुला माया गर्न सक्तिन, मभन्दा बढी उनी सक्दिनन् । हाम्रो प्रेममा समाज खलनायक बनेर हामी दुईको बिचमा खडा छ ।
मेरी प्रियम्वदा !
त्यसैले तिमीलाई म यो पत्र लेख्दैछु । यो प्रेमपत्र हो कि, विछोडपत्र हो, यसको उत्तर म आफैँसँग छैन । तर यो मेरो अन्तिम पत्र हो, प्रियम्बदा ।
प्रिय प्रियम्वदा ! प्रेम विनाको जीवन अपूर्ण मात्र होइन, प्रेम विनाको जीवनको कल्पना नै गर्न सकिन्न । प्रेमप्रति जतिसुकै अनुदार भाव राख्नेहरूले पनि दृश्यमा प्रेमका भावनाहरू लुकाउन सक्लान्, तर उनीहरूको पनि भित्री मनमा प्रेमिल भावनाहरू उथलपुथल भइरहेका हुन्छन् ।
मलाई लाग्छ प्रियम्वदा ! प्रेम र जीवन एक अर्काका परिपूरक हुन् । जहाँ जीवन छ, त्यहाँ प्रेम छ । जुन जीवनमा प्रेमको भाव व्यक्त हुँदैन, त्यो प्राकृतिक होइन, कृत्रिम जीवन हो । कृत्रिमतामा त शरीर मात्र हुन्छ, जीवन हुँदैन । जीवनको अर्थ नै जीवन्तता हो । जीवन्तताको अर्को नाम प्रेम हो । प्रेम शाश्वत सत्य हो । संसारका हरेक व्यक्तिमा प्रेम विषयक गुण हुने भएकाले नै प्रेमलाई शाश्वत सत्य भनिएको हो । तर पनि कतिपय मानिसहरू कृत्रिम सत्यको आडमा शाश्वत सत्यलाई ढाक्न खोज्दछन् । यही कारणले प्रेम र जीवनमाथि धेरैको बुझाइ सामाजिक धरातलमा मात्र छ । समाजिक धरातलमा प्रेमलाई हेर्नेहरुले भन्ने गर्छन्– विवाहितले आफ्नी पत्नीबाहेक अरुसँग प्रेम गर्नु हुँदैन, मनोवैज्ञानिक धरातललाई उनीहरु पूरै वेवास्ता गर्छन् । जब कि प्रेम सामाजिक विषय होइन, यो त विशुद्ध मनोवैज्ञानिक विषय हो ।
प्रियम्बदा ! म तिमीलाई भन्न चाहन्छु– प्रेम र विवाह विल्कुलै भिन्न विषय हुन् । प्रेम भनेको भावनाको मिलन हो भने विवाह सामाजिक मिलन । कतिपयले त विवाहलाई मिलनभन्दा पनि सम्झौता भन्ने गर्दछन् । प्रेम जस्तो स्वतस्फूर्त विषयलाई विवाह जस्तो सम्झौतामा परिणत गर्दा प्रेम कति बाँच्दछ र कति मर्दछ भन्ने कुरा तिमीले अवश्य पनि अनुभूति गरेकी छौ । के विवाह पछि पनि विवाह अगाडिको स्वच्छन्द प्रेम बाँचिरहन्छ त ? तिमीले के अनुभूति ग¥यौ ? प्रेम र यौनका गुरु ओशोले भनेका छन्– ‘प्रेम जीवन्त हुन्छ विवाह मृत ।’ विवाहपछिको जीवनमा प्रेमको लास मात्र बाँकि रहन्छ । लासहरू बीच जीवन्तता खोज्नु नै मूर्खता हो । प्रेमिका जीवन्त हुन्छे, पत्नी मृत हुन्छे । त्यही जीवन्तता नै त तिमी र म बिच पुनर्जीवित भएको हो नि होइन र ?
प्रियम्वदा ! ‘मान्छे स्वतन्त्र जन्मन्छ र पछि ऊ बन्धनमा पर्दछ’ भन्ने दार्शनिक रुसोको भनाई कतै लागू हुन्छ भने त्यो सबैभन्दा बढी वैवाहिक जीवनमा लागू हुन्छ । हेर त विवाहित भएपछि मन परेको मान्छेसँग खुलेर प्रेम गर्न नपाउनु भनेको पनि बन्धन नै होइन त ? यसैले त विवाहलाई ‘विवाहबन्धन’ भन्ने गरिएको होला नि । प्रेमी प्रेमिकाबाट पति पत्नी भएपछि कुनै न कुनै रूपमा एक अर्काप्रतिको कर्तव्यको बन्धनमा बाँधिनु परेकोले नै बन्धन भनिएको पो हो कि ? कर्तव्यको बन्धन त ठीकै पनि होला, तर प्रेमविहिन भएर बाँच्नपर्ने बन्धन भनेको त जीवित मानिसलाई मृत बनाउनु झैँ होइन र ? त्यसैले विवाहको कारागारबाट मुक्त भएर खुला आकाशमा प्रेम गर भनेर मैले तिमीलाई पटकपटक भनेको हुँ प्रियम्वदा ।
तिमीलाई मात्र होइन, मलाई पनि थाहा छ प्रियम्वदा ! पूर्वीय धर्म, संस्कृति र परम्परामा आधारित हाम्रो समाज पश्चिमा संस्कृतिमा झैँ प्रेमको मामिलामा उदार छैन । हाम्रो समाज भन्छ– ‘विवाहपश्चात् पतिले पत्नीलाई र पत्नीले पतिलाई मात्र प्रेम गर ।’ तर प्रियम्वदा, प्रेमको गुण सम्झौता गर्नु होइन, स्वतस्फूर्त बग्नु हो । पोखरीको पानी जस्तो बारिएर बस्न चाहँदैन प्रेम, नदीको पानी जस्तो बहन चाहन्छ । प्रेम भनेको जोसँग मनको आकर्षण हुन्छ, त्यहीसँग हुने कुरा हो । पति वा पत्नी दुवैले आफ्नो विवाहित पति÷पत्नीबाट प्रेम प्राप्त गर्नको लागि आफ्नो विवाहको लाइसेन्स तेस्र्याएर अधिकार खोजेर हुँदैन, बरु तिमी र मैले जस्तो एकअर्कालाई भावनात्मक मायाले जित्न सक्नुपर्दछ ।
प्रियम्वदा ! तिमी अर्को कुरा पनि जानिराख– ‘प्रेम भनेको सम्बन्ध होइन, मनस्थिति हो ।’ यो समाजले तोकिदिएको व्यक्तिसँग सम्बन्ध त होला तर प्रेम हुन सक्तैन, किनभने समाजले तोकिदिएको व्यक्तिसँग आफ्नो मन नजोडिन सक्तछ । प्रेम बुद्धिको विषय होइन, जसले दिमागले काम गरोस् । प्रेम त हृदयको विषय हो । प्रेम सामाजिक नियमलाई मान्दैन यसले न त विज्ञानका तर्क र प्रमाणहरूलाई नै स्थान दिन्छ । हृदयको विषय भएकाले प्रेम निर्बाध बगिरहन्छ– जताततै । भन्ने गरिन्छ नि– ‘प्रेम गर्ने मन अराजक हुन्छ ।’ के तिमी यी सबै कुरा नबुझ्ने छौ र ?
विवाह र प्रेमलाई एउटै ठान्ने समाज कति निर्विवेकी होला ? जसरी खुला गगनमा स्वच्छन्द उडिरहेको पन्छीको लागि उड्न पाउने सीमारेखा तोक्न सकिन्न, त्यसैगरी प्रेम अमूक व्यक्तिसँग मात्र गर्नुपर्छ भनेर सीमारेखामा बाँध्न सकिन्न । प्रेम चेतनमाथि अचेतनको विजय हो । मान्छेको नब्बे प्रतिशत मन अचेतन र बाँकी दश प्रतिशत मन चेतन मन हो । नब्बे प्रतिशत अचेतन मनको वेगलाई दश प्रतिशत मनको नैतिकताको पर्खालले कहाँ रोक्न सक्छ र ? अचेतन मन बन्धनहीन बन्धनहीन भएकाले जोसँग पनि प्रेम गर्न सक्तछ । जसरी तिमी र म बिच प्रेम भयो । त्यसैले त सामाजिक आँखाले हेर्नेहरू भन्छन्– प्रेम अन्धो हुन्छ ।
प्रियम्वदा ! मन त्यस्तो यन्त्र होइन जसले समाजले तोकिदिएको प्रतिष्ठित र धनी मान्छेसँग प्रेम गरोस् । मनले त त्योसँग प्रेम गर्दछ, जोसँग मनको निकटता हुन्छ । धन, प्रतिष्ठा र पद त मनका विषय नै होइनन् मात्र समाजका विषय हुन् । प्रेम समाजिक विषय होइन, मनोवैज्ञानिक विषय हो भनेर स्वीकार गर्ने हो भने प्रेमलाई मनोवैज्ञानिक आँखाले नै हेर्नुपर्दछ । सामाजिक बन्धनमा प्रेम टाक्सिन्छ । मनोवैज्ञानिक धरातल नै प्रेमको लागि उर्वर भूमि हो । हेर त तिमी र म बिच, हामी विवाहित हौँ भन्ने बिर्सँदा कति उर्जाशील प्रेम छ ।
मान्छे सामाजिक प्राणी हो । प्रेम सामाजिक मान्छेले नै गर्ने भए पनि प्रेमको महासागरमा डुब्दै गएपछि त्यो सामाजिक मान्छे पनि मनोवैज्ञानिक मान्छे बन्दछ र समाजलाई पूर्णतः भुलिदिन्छ, जसरी हामीले भुल्यौँ । प्रेमलाई सामाजिक धरातलमा न्याय नमिल्ने भएकाले नै प्रेमिप्रेमिकाहरू समाजलाई भुल्ने गर्दछन् । हाम्रो जस्तो सामाजिक आँखाले त प्रेमलाई चिन्नै सक्तैन । हाम्रो समाज प्रेमको साधक होइन, बरु बाधक हो ।समाजसँग प्रेमको सधैँ द्वन्द्व हुन्छ । यो समाजमा हामीले विद्रोह गर्नुपर्छ प्रियम्वदा ! तिमी तयार छौ ?
मेरी प्रियम्वदा ! हरेक मान्छेमा प्रेम तत्व छ र त्यो तत्व अर्को त्यस्तै तत्वगत निकटता भएको मान्छेसँगको भावनात्मक अनुभूतिले मात्र ब्युँझन्छ, न कि समाजले तोकिदिएको मान्छेसँग विवाह भएर ब्यूँझियोस् । एउटा व्यक्तिको शरीरलाई अर्को व्यक्तिको शरीरसँग निकट हुन वा टाढा रहन बाध्य पार्न वा बन्देज लगाउन सकिएला, तर के उनीहरूको बीचको मनलाई बन्देज लगाउन सकिएला र ? सकिँदैन । बन्देजका जतिसुकै बलिया पर्खाल भए पनि मनले तोडिदिन्छ । मान्छेको अवचेतन मन समाजको त कुरै छाडौँ स्वयम् आफ्नो वशमा समेत हुँदैन । तब मनमाथि बन्देज किन ? बन्देजले संसारमा प्रेम रोकिएको छ र ? मात्र वियोगान्त भएको छ ।
त्यसैले आऊ प्रियम्वदा ! मेरो अँगालोमा आऊ । मलाई माया गर ।
‘हँ ! म यो के लेख्दै छु ?’
म तन्द्राबाट झल्याँस्स ब्युँझन्छु । र सम्हालिन पुग्छु ।
हो प्रियम्वदा ! तिमीले भनेको ठीकै हो । तिमी भन्थ्यौ नि– ‘प्रेम भनेको प्राप्ति होइन, त्याग हो ।’ आज मलाई तिमीले भनेको कुरा ठीक लागेको छ । वास्तवमा प्रेम प्राप्ति होइन, त्याग हो । प्राप्ति त व्यापार पो त होइन प्रियम्वदा ? व्यापारमा पो नाफा खोजिन्छ, व्यापारमा पो प्राप्त गर्ने लालसा राखिन्छ । प्रेममा पनि प्राप्तिकै लक्ष्य राखिन्छ भने त्यहाँ कहाँ प्रेम रह्यो र ? म यो कुरामा सहमत भएँ प्रियम्वदा ।
मेरी हुन नसकेकी प्रियम्वदा ! विगतमा मैले तिमीलाई पाउन के गरिनँ । म कति कराएँ, कति रोएँ तिम्रा लागि । तिमीलाई पाउनका लागि कति दिन अद्र्धपागल झैँ गल्लीगल्लीमा हिँडे । कति दिन भोकभोकै सडकमा सुतेँ । कति दिन म यो संसारबाट हराए झैँ एकान्त जङ्गलमा गएर समय बिताएँ । कहिले म आफैँमा आफैँ हराएँ, कहिले तिमीसँगको प्रेमको मीठो कल्पनामा हराएँ । हराउँदाहराउँदै आफनो अस्तित्व आफैँले निमिट्यान्न पारेँ । म विवाहित हुँ भन्ने कुरा बिर्सेँ र तिमी विवाहित हौ भन्ने कुरा पनि मैले भुलेँ । यो सबै मैले तिमीबाट टाढा हुन होइन, तिमीलाई नपाएको पीडामा गरेँ । पीडा पनि त प्रेमको बिम्ब नै त हो नि होइन र प्रियम्वदा ?
कहिलेकाहिँ मेरा व्यवहारहरु देख्दा तिमीलाई लाग्यो होला– म पागल हुँ । सोच्यौ होला– मैले तिम्रो विवशता बुझिनँ । हो प्रियम्वदा ! मैले तिम्रो विवशता नबुझेकै हो । तिमीले भनेजस्तो म पागल पनि भएकै हो । मायामा मान्छे पागल हुँदो रहेछ र पो त प्रेममा विक्षिप्त भएको मान्छेलाई पागलप्रेमी भन्दा रहेछन् । प्रियम्वदा ! म पनि एउटा पागलप्रेमी हुँ । त्यस्तो पागल जसले आफ्नो प्रेमिकाको भन्दा अरु कसैको वास्ता गर्दैन । वास्ता गरोस् पनि कसरी ? जसले आफूलाई बिर्सिसक्यो भने त्यसले अरुको बारेमा के सोचोस् ?
प्रियम्वदा ! विगतमा तिमीले मलाई कति सम्झायौ हगि ! तिमीले मलाई आँखा चिम्लेर प्रेम ग¥यौ, अनि फेरि पटकपटक प्रेमका सीमाहरुको कुरा ग¥यौँ । हामी विवाहित भएको भन्दै हामी बिचका बाधाहरु तस्र्यायौ । समाजिक तगाराहरु देखायौ । प्रेममा त्याग र बलिदानीका धेरै कथाहरु सुनायौ । तर मैले कहिल्यै देखिनँ, सुनिनँ र मानिनँ ।
तिमी प्रेमलाई त्याग भन्थ्यौ, म पे्रेमलाई प्राप्ति भन्थेँ । तिमी प्रेमलाई समर्पण भन्थ्यौ, म प्रेमलाई उर्जा भन्थेँ । तिमी प्रेमलाई बलिदानी भन्थ्यौ, म प्रेमलाई शक्ति ठान्थेँ । यही कुरामा तिम्रो र मेरो कुरा मिलिहरहेको थिएन होइन त ? यिनै कुरामा तिम्रा र मेरा बिच विवाद थिए, होइन र ? तिमी म बिच प्रेम के हो भन्ने विषयमा विवाद भए पनि प्रेममा चाहिँ कसरी मन मिल्यो ?
तर अचम्म । तिमी प्रेमलाई त्याग ठान्थ्यौ, तर तिमीले सधैँ मसँगै भएको अनुभूति ग¥यौ, मैले चाहिँ प्रेमलाई प्राप्ति ठान्नेँ, तर मैले कहिल्यै तिमीलाई पाएको अनुभूति गर्न सकिनँ । तिमी प्रेमलाई समर्पण भन्थ्यौ, म उर्जा भन्थेँ । तर हाम्रो प्रेममा तिमीमा सधैँ उर्जा देखियो, ममा कहिल्यै उर्जा देखिएन । तिमी प्रेमलाई बलिदानी भन्थ्यौँ, म शक्ति भन्थेँ, तर मैले प्रेममा बलिदनी हुने कुरा गर्दा सधैँ तिमीले मलाई शक्ति दियौँ । आखिर हाम्रो प्रेममा किन जसले जे ठान्छ त्यसको सोचको ठीक विपरीत परिणति भैदिएको छ । सायद तिमी सही थियौँ कि ? त्यसो भए म गलत ? म गलत भए खै मैले आफूलाई गलत भन्न किन नसकेको ? किन चित्त बुझाउन नसकेको मैले ? किन सही मार्गमा लैजान सकिरहेको छैन म आफूलाई ? सायद म पनि गलत छैन ।
प्रेम एक मन्दिर । कति मिठो भनाइ छ । अनि प्रेम गर्नेहरु नि ? सायद प्रेमका पुजारी वा मन्दिरका दर्शनार्थी । प्रेमको चर्चा चाहिँ खुलेर हुने तर प्रेम चाहिँ खुलेर गर्न नपाउने । किन हो ? प्रेमका पुजारी हामीले चाहिँ सधैँ किन समाजका अगाडि मुकुण्डो लगाउनुपर्ने । किन लुक्नुपर्ने ? हामी विवाहित हौँ । के यही कारण नै हामी प्रेमका लागि आयोग्य भएका हौँ त ? के हामी भगवानको मन्दिरमा दर्शन गर्न पाउँदैनौँ त ? के हामी विवाहित भएकै कारण हामी प्रेम गर्न अयोग्य भएका हौँ त ? के हो प्रेम गर्न पाउने योग्यता र अयोग्यता ? के संसारमा प्रेम गर्ने योग्यताको प्रमाणपत्र दिने कुनै विश्वविद्यालय छ ? छ भने कसकसले योग्यताको प्रमाणपत्र लिएको छ ? लिएको छैन भने हामी मात्र प्रेमको लागि अयोग्य किन ? अयोग्य छैनौँ भने बन्धन किन ? प्रेमपथमा अवरोधका पहाडहरु किन ? यी सामाजिक पर्खालहरु कहिले भत्किन्छन् ?
प्रियम्वदा ! के माया पाप हो ? धेरैले भन्छन्– होइन । तर यो प्रश्नको उत्तर जति सजिलो छ नि हाम्रो माया पाप हो कि धर्म हो भन्न चाहिँ सजिलो छैन तिमीलाई । हाम्रो माया भगवानको पूजा हो कि भगवानको अपमान हो त्यो ? त्यो भन्न कठिन भाको छ तिमीलाई । भन्न त तिमी पनि मैले जस्तै प्रेमलाई पूजा भन्छ्यौ, तर पनि पूजा गर्न डराउँछ्यँौँ । भक्तले भगवानको पूजा गर्न डराउनपर्ने हो र ? हामीले माया ग¥यौँ, हाम्रो यसमा के दोष ? यो माया कसरी भयो ? जब कि माया गर्ने हाम्रो कुनै योजना नै थिएन । यदि हाम्रो योजना विना हामी बिच माया भयो भने यो माया गराउने सायद भगवान नै त हो । यो मायाको सूत्रधार भगवान नै हो भने किन भगवान हामीजस्ता भक्तलाई लुकीलुकी आफ्नो पूजा गर्न बाध्य गराउँछ ? किन भयरहित वातावरणमा हामीले भगवानको पूजा गर्न नपाउने ? के भगवानसँग यसको उत्तर छ ?
प्रिय प्रियम्वदा ! संसारलाई थाहा छ हामी विवाहित छाँै । तिमी कसैकी श्रीमती मात्र होइनौ, कसैकी आमा पनि हौ । म कसैको श्रीमान् मात्र होइन, कसैको पिता पनि हुँ । तिम्रो समाजप्रति मात्र होइन, तिम्रो परिवारप्रतिको कर्तव्य छ र मेरो पनि । यो कुरा समाजले जानेको छ बुझेको छ देखेको छ । र हाम्रो कर्तव्य हामीले पनि बुझेका छौँ । तर के कर्तव्य हुुनुको अर्थ माया गर्न अयोग्य भन्ने हो ? कि माया गर्नेहरु कर्तव्यविमुख हुन्छन् भन्ने हो ?
यो माया मैले चाहेर भएको होइन प्रियम्वदा ! न त तिमीले चाहेर नै भएको हो । अनायासै माया भैदियो । तर अनायासै हुन पुगेको यो मायामा तिमी किन तिनै समाजका थोत्रा आदर्शहरुलाई पछ्याएर माया गर्नु अपराध भो भने झँै गछ्र्यौ ? किन तिमी एकआसमा एकाकार भएर माया गर्नुको सट्टा तिमी मसँग अलि परबाट माया गर्न खोच्छ्यौ ? किन समाजसँग डराउँछ्यौँ ? अपराध गर्न पो डराउने हो ? माया अपराध हो र ? मायालाई अपराध होइन भन्छ्यौ भने किन डराउँछ्यौँ ?
प्रियम्वदा ! जब सुरुका दिनमा हामी प्रेमको महासागरमा पाइला चाल्दै थियौँ, त्यसबेला हामीले किन सोचेनौँ कि हामी विवाहित हौँ । त्यसबेला हामीले किन ठानेनौँ कि हामीले प्रेम गर्नु अपराध हो । त्यसबेला हामीले किन देखेनौँ कि हाम्रो प्रेमपथमा हाम्रै समाज ‘भिलेन’ बनेर खडा छ ।
हो, त्यतिबेला यी सब कुराहरु तिमीले बिस्र्यौँ, मैले पनि बिर्सेँ । अनि हामी बीच प्रेम भयो । प्रेमको महासागरमा हामी हामफाल्यौँ । अब हामी महासागरमा पसिसक्यौँ । यो महासागरमा हामीले पौडिनुपर्छ प्रियम्वदा । तर प्रियम्वदा ! तिमी पौडन चाहान्नौ । हात खुट्टा छोड्न खोज्दैछौ तिमी । महासागरमा हाम फालेपछि पौडिएन भने त डुबिन्छ प्रियम्वदा । के तिमी कुनै पौडिवाज पोखरीमा हाम फालेर मरेको हेर्न चाहन्छौँ ?
त्यसदिन । हो त्यस दिन । जब मैले तिमीलाई पहिलोपटक देखेँ । तिमीमा मैले के पाएँ के । म तिमीप्रति आकर्षित हुन पुगेँ । पहिलो भेटमै आकर्षित । लाग्ला कसैकसैलाई यो पुरुष चरित्र हो । घरमा जतिसुकै राम्री पत्नी भए पनि बाहिरकी राम्री देख्ने । खै त्यो चरित्र ममा पनि थियो कि मलाई थाहा छैन । तर म यतिचाहिँ भन्छु कि प्रियम्वदा ! तिमीसँग मेरो कुनै यौनिक सम्बन्धको चाहना थिएन । न हिजो थियो, न आज छ, न भोलि होला । यति हो कि माया बसेपछि मायालुसँग यौनिक चाहना हुन्छ, त्यो दोस्रो कुरा हो ।
प्रियम्वदा ! एकदिन तिमीले मलाई भनेकी थियौ– ‘जीवनमा हरेक समस्याको समाधान हुन्छ । नआत्तिनु ।’ र भनेकी थियौ कि– ‘म हजुरकी हुँ सिर्फ हजुरकी ।’ तर खै आज तिमीले भनेका ती वचनहरु सम्झन्छु । तिमीले कुन मुडमा भन्यौ ती शब्दहरु । के ती शब्दहरु भावना थिएनन्, मात्र आवाज थिए र ?
तर प्रियम्वदा ! आज तिमी भन्छ्यौ– मेरा परिस्थितिहरु बुझिदिनु प¥यो । यो परिस्थिति र बाध्यताका झटाराहरु तिम्रो हृदयमा दबिएको विवशता हो कि तिम्रो हृदयको आवाज हो ? प्रियम्वदा ! तिम्रा परिस्थितिहरु छन् र मेरा पनि छन् । तिम्रा जिम्मेवारीहरु छन् र मेरा पनि छन् । तिमी सामाजिक बन्धनमा छौ र म पनि छु । तिमीलाई यो समाजको बनावटी बन्धन तोड्न गाह्रो छ र मलाई पनि छ । तर यस्ता कठोर बन्धन तोड्नमै त प्रेमको आनन्द छ नि होइन र ?
प्रिय प्रियम्वदा ! मैले विगतमा तिमीलाई पटकपटक भनेको थिएँ– ‘युद्ध र प्रेममा सब कुरा जायज हुन्छ । सबै हुन्छ प्रेममा ।’ हाम्रो प्रेममा सबै कुरा भयो कि भएन ? त्यसमा तिम्रो र मेरो आआफ्नो बुझाइ हुन सक्छ । तर एउटा कुरा चाहिँ हाम्रो प्रेममा पक्का भयो– पीडा । हो, त्यो पीडा नै यतिबेला हाम्रो मायाको प्रतिबिम्ब बनेर खडा छ ।
प्रियम्वदा ! हाम्रो प्रेमकथा वियोगान्त प्रेमकथा हो । हुन त विश्वका महान् प्रेमकथाहरु कहिल्यै संयोगान्त बनेनन् । वा संयोगान्त कथाहरु कहिल्यै महान् हुनै पाएनन् । जसरी बुझे पनि हुन्छ । महान् प्रेमकथा हुन वियोगान्त हुनै पर्ने रहेछ । प्रेमका अगाडि पर्खालहरु खडा हुनै पर्ने रहेछ । पर्खाल तोड्न खोज्दा नायक नायिकाको बिछोड हुनै पर्ने रहेछ ।
इतिहासमा प्रेमकै नाममा ठूला ठूला वियोगान्त कथाहरु बनेका छन् । अब्बल प्रेम वियोगान्त कथाहरुको इतिहास हो । लैला मज्नु, रोमियो जुलियट, मुनामदन सबै वियोगान्त भएकै कारण अब्बल प्रेमकथाका रुपमा इतिहासमा दर्ज भएका हुन् । प्रियम्वदा ! तिम्रो र मेरो प्रेम पनि यति गाढा भयो कि, सायद त्यो वियोगान्त हुनकै लागि हो त ? के यो कथा इतिहासमा दर्ज गराउनकै लागि हो त ?
त्यसो त प्रेम ‘रोमान्टिक’ हुन्छ भन्ने पनि मैले पढेको थिएँ । रोमाञ्चक फिल्मी कहानी पनि देखेको थिएँ । जति पनि फिल्म कहानीहरु हेरिए, ती सबै कहानी वियोगान्त मात्र थिएनन् । धेरै संयोगान्त कथाहरु पनि पढेको थिएँ । तर ती कहानीहरु फिल्मी पर्दा र किताबका पानामा देख्दाभन्दा आफ्नै जीवनकथा वियोगान्त बनिदिँदाको कारुणिक कहानी अर्कै हुने रहेछ ।
प्रियम्वदा ! हाम्रो वियोगान्त कथाका पानाहरु असरल्ल पल्टिरहेका छन् । यी पानाहरु समालिने प्रतीक्षामा वेवारिशे छन् । वियोगान्त कथा हुन कसैको भौतिक रुपमा अवशान हुनु पर्दैन प्रियम्वदा । भावनात्मक अवसान भए पुग्ने रहेछ । भौतिक अवशासनको तुलनामा भावनात्मक अवशान धेरै भयानक हुन्छ । तिमी ठान कि, तिमी विनाको मेरो जीवन वियोगान्त कथाको महान पुराण हो । भावनात्मक अवसानको ठूलो चिहान हो ।
कथा वियोगान्त हुन नायक र नायिकाको विछोड हुनुपर्छ भन्ने मैले पढेको हुँ । तर एक जनाको मिलन अर्कोको विछोड हुन्छ कि हुँदैन जीवनमा । त्यो नयाँ प्रयोग मेरो जीवनमा हुँदैछ । हाम्रो प्रेम कथामा तिमी वियोगान्त पात्र हौ कि संयोगान्त पात्र हौ ? मैले सोच्नै सकेको छैन । जे भए पनि मेरो वियोगान्त कहानीमा तिमी पनि पात्र हुन पुग्यौ । सायद यो विधिको बिडम्बना हो ।
मेरी हुन नसकेकी प्रियम्वदा ! तिमी भन्ने गथ्र्यौँ– प्रेम प्राप्ति होइन । र भन्ने गथ्यौैँ– प्रेम पीडा पनि होइन । तर म भन्छु– प्रेम कि प्राप्ति हो पीडा होइन, कि प्राप्ति होइन पीडा हो । जहाँ प्राप्ति हुँदैन त्यहीँ पीडा हुन्छ, जहाँ प्राप्ति हुन्छ त्यहाँ पीडा हुँदैन । प्राप्ति र पीडा विपरीत हुन् । प्रेम गर्नेले कि प्राप्ति रोज्नु पर्छ कि पीडा । तिमीले प्रेममा समाज रोज्यौ । मैले प्रेममा पीडा रोजेँ । रोजे भन्नु कि पीडा हात लाग्यो भन्नु ।
जीवनमा माया गरेको मानिस नपाउनु सबैभन्दा ठूलो पीडा हो । तर जसलाई सबैभन्दा धेरै माया गरिन्छ उसैको सम्झनामा पीडामा बाँच्नु सबैभन्दा महान माया हो । त्यसैले म तिमीलाई माया गरिरहन्छु– तिमीसँगको प्रेमिल पीडामा डुबेर । पीडाको महासागरमा डुबुल्की मारेर । यो नै मेरो तिमीप्रतिको मायाको बलिदानी हो । तिमीले खोजेको मायामा बलिदानी पनि सायद यही हो । तिम्रो मायामा म यही पीडारुपी श्रद्धाको फूल चढाउँछु, मेरी हुन नसकेकी प्रियम्वदा !
तिमी मलाई बिर्सेर बाँच, म तिमीलाई सम्झेर बाँच्नेछु ।
उही तिमीले आफ्नो बनाउन नसकेको
स्वप्निल