२०८० कार्तिक १५ गते तदनुसार १ नोभेम्बर २०२३ मा डि.सीबाट न्यूयोर्क गन्तव्य बनाएर निस्कियौं । डि.सी. छाडेको केही समयपछि संयुक्त राज्य अमेरिककाको मेरिल्याण्ड राज्यको ‘बाल्टीमोर इनर हारबर बे’(बन्दरगाह) भन्ने ठाउँमा पुग्यौं । पटाप्स्को (जलविभाजन)नदीको नीलो पानी अनि त्यहाँमाथि तैरिरहेका साना ठूला गरी निकैवटा जहाज थिए । भन्दा नदी भनियो तर त्यहाँ त अपार जलराशिको भण्डार देख्यौं, सागर नै जस्तै । ठूलो जलाशय । यो अथाह जलराशिले ‘गहिरो सोच बनाऊ’ भनेजस्तो लाग्छ । अनि जहाज पनि चलिरहेका । रोकियौं । हेर्दा मनमोहक र सुन्दर लाग्यो । दृश्यावलोकनका लागि रमाइलो ठाउँ । नीलो पानीमा तैरिरहेका, आउन र जान लागेका जहाजहरु हेर्दा बेग्लै अनुभूति भयो । सुरुमा त हामीले त्यही बन्दरगाहका किनारको वरिपरि घुम्दै विभिन्न कोणबाट फोटा र भिडियो ल्किप बनायौं । कुनै बेला बसेर पनि रमाइलो ग¥यौ । पछि मात्र काठका बाक्ला बाक्ला फल्याकले बनाइएका ‘बोर्डवाक’बाटै त्यहाँको संरचना र रमाइला परिदृश्यलाई कैद ग¥यौं । अपार जलराशिले मन नै लोभ्यायो ।
पुरानो बनावटका ध्वजाबाहक जहाज संरक्षण गरेर राखिएको छ । हावाको दबावबाट चल्ने झण्डा भएको ऐतिहासिक जहाज नमूनाका रुपमा राखिएको छ । हामीले पढ्दा समुद्रमा हावाको गतिमा चल्ने जहाज हुन्थे भन्ने कुरा आउँथ्यो । संयोगले त्यो पनि देख्न पाइयो । डि.सी.पछि हामीले हेरेका अग्ला अग्ला भवनहरुजस्तै त्यहीं नै देखिन्थे । बन्दरगाहको दायाँ क्षेत्रबाट केही टाढासम्म गएर अवलोकन गर्दा त्यहाँको डाउन टाउन पनि हेर्न लायक नै लाग्यो ।
त्यहाँ हेर्नै पर्ने ‘नेशनल अक्वेरियम’ छ, भब्य । अक्वेरियमतर्फ जान लाग्दा बाटैमा स्टिलका बाङ्गा टिङ्गा भएका ठूलाठूला खम्बाहरु यत्रतत्र देखिए । मैले जिज्ञासा राखें । न्यूयोर्कमा ११ सेप्टेम्बर, २००१मा जुम्ल्याहा टावर माथि आक्रमण हुँदा नष्ट भएका बिमहरु हुन, ज्वाइँले प्रस्ट्याउनु भयो । ती बाङ्गा टिङ्गा र बटारिएका अवस्थामा थिए । अनि यहाँ किन नि ? मेरो प्रश्न थियो । न्यूयोर्कमा घटना हुनासाथ बाल्टीमोरबाट आपतकालीन अवस्थामा सहयोग गर्नका लागि उद्घारकर्ताहरु घटनास्थलमा पुगेका रहेछन् । मेरील्याण्डका कर्मचारीहरु लगायतका ६८जना मानिसहरु पनि त्यस घटनामा मारिएछन् । जीवन समर्पण गर्ने ती पीडितहरुको नाम र जन्म मितिसमेत उल्लेख गरी भावनात्मक स्थलका रुपमा चिरस्थायी बनाइ राख्न उक्त बिमहरु ल्याइएका रहेछन । त्यसैले उच्च सम्मानका लागि भए पनि सुरक्षित राखिएको प्रस्ट हुन्छ । संयुक्त राज्य अमेरिकाका पचासवटै राज्यमा राखिएका । अन्य मुख्य मुख्य सहरमा तथा विदेशमा क्यानाडा र इजरायलमासमेत ट्वीन टावरका भग्नावशेषलाई अभिलेख राख्ने उद्देश्यले राखिएको । बाल्टीमोरमा स्टिलका बिमहरुसँगै मार्बलका ठूलाठूला पातामा कुँदिएका अक्षहरु सुरक्षित राखिएका । बाल्टीमोरमा २२फिट(६.७) मिटर लामा र बाङ्गाटिङ्गा भएका स्टिलका बिमहरु एकै ठाउँमा राखिएका छन् । ती बिमहरु उत्तरी टावरका ९४औं र ९६औं तलाका हुन् । उक्त बिमहरुले दुःखका दिनको स्मरण गराएको अर्थमा लिइएको छ ।
बाल्टीमोरमा राखिएका टुक्राहरुलाई सार्वजनिकरुपमा राखिनुका तात्पर्य सबै किसिमका आगन्तुकहरुले देख्न पाऊन् र विचार विमर्श गर्न सकुन भन्ने नै उद्देश्य हो ।
त्यस घटनामा बाल्टीमोर लगायत धेरै सहरबाट फायर फाइटरहरु तथा प्रहरीहरु आपतकालीन उद्घारका लागि टोली बनाएर सहयोग गर्न पुगेको उल्लेख । यी भग्नावशेषहरु ठाउँ ठाउँ राखिनुले नयाँ पुस्ताका लागि शिक्षा र चेतना फैलाउने मनसाय । अमेरिकाको इतिहासमा भएको डरलाग्दो घटना । यसले मर्माहत त बनाएको पक्कै छ ।
मैले पकेट डायरीमा यी बिमहरु र यहाँ उल्लेख गरिएका कुरालाई सर्सती टिपें । त्यसमा लेखिएको थियो : 8.46AM, NORTH TOWER STRIKE. 9.3 AM, SOUTH TOWER STRIKE. 9.37 AM, PENTAGON STRIKE. 9.59 AM, SOUTH TOWER FALLS.10.3 AM FLIGHT 93 STRIKE, SHANKSVILLE,PA, 10.15 AM, PENTAGON WALL FALLS. 1o.28 AM, NORTH TOWER FALLS.
उपर्युक्त विवरणको प्रस्तुतिले संयुक्तराज्य अमेरिकामा न्यूयोर्कको ट्विन टावर ध्वस्त भएको दुःखद् घटनाको स्मरण गराएको छ । यस किसिमको घटनामा भएको धनजनको क्षतिले हामी जो कोहीलाई भावुक र संवेदनशील बनाउँछ ।
नेशनल अक्वेरियम जलजीव केन्द्र अवलोकन गर्न जाँदै छौं । अक्वेरियमको स्थापना सन् १९८१मा गरिएको । प्रवेशका लागि टिकट लियौं । भित्र पस्यौं । पिउने पानीका बोतल लैजान निषेध । खालि बोतल लैजान पाइने ।
यो अक्वेरियम अमेरिकाको दोस्रो ठूलो रहेछ । यसलाई उच्चस्तरीय पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न खोजिएको बुझ्यौं । जीवजन्तुहरुको समुद्री जीवन पद्घति थाहा पाउन तथा तिनीहरुको उचित संरक्षण तथा मनोरञ्जनलाई जोड्ने कडीका रुपमा लिइएको । यसको अवलोकन गर्न पाउनु ठूलै संयोग मान्नु पर्दछ । भूँइ तलादेखि नै रमाउन थाल्यौं । आवश्यकताअनुसार त्यहाँका जीवजन्तुहरुका फोटा खिच्यौं । छोटा छोटा भिडियो पनि बनायौं । यो भब्य अक्वेरियम, बेबाट आएको पानीमाथि बनाइएको । पूरै प्राकृतिक । प्राकृतिक कुरालाई जस्ताको तस्तै राखिएको ।
विभिन्न रङका माछाका प्रजाति छन् । जेब्रा सार्क, एम्परर एञ्जल फिस, डाइमण्ड फिस, स्पोटेड युनिकम फिस र जस्तोसुकै तुफानी पानीमा पनि पौडन सक्ने माछासमेत राखिएको । ‘जहाँ पानी त्यहाँ जीवन’ भनेजस्तै पानीसँग सम्बन्धित जीवहरुको सङ्कलन र व्यवस्थापन गरिएको सुन्दर दृश्य उदाहरणीय छ । समुद्री फेद जस्तोमा जीवहरु बस्न रुचाउँछन्् । उनीहरुलाई त्यस्तै वातावरण तयार पारिएको छ । डल्फिनहरुको सङ्कलन, पानी सर्प, सार्कको भीमकाय अस्थिपञ्जर सबै राखिएका छन् । अन्य अनेक प्रजातिका जीवहरुको व्यवस्था गरिएको छ ।
ठाउँ ठाउँमा सूचना टाँसिएका छन् । जीवहरुलाई छुन हुने र नहुने लेखिएको छ । आवाज ठूलो नबनाउने सन्देश छ । मानिसहरुको चाप छ । आफ्नै टोलीका साथीहरु हराउँछन् भन्ने पिरलो पनि छ । बालक, युवक, अधवैंशेदेखि जेष्ट नागरिकहरु पनि त्यतिकै रमाइरहेका ।
डल्फिन मानिसका छेउमै आउँदा रमाइलो लाग्थ्यो । मानिस प्रिय रहेछ, त्यो जीव । नजिकै आएर अपनत्व देखाउँछ । शायद ‘हामीलाई खेल र रमाइलो गर है’ भनेजस्तो लाग्छ ।
कुनै छुन सकिने, कुनै छुनै नहुने । वनस्पतिका झ्याउ पलाएजस्तै मकैका जुँगाजस्तै हरिया, पहेंला पहेंला र वैजनी रङका जीवहरु देख्न पाइन्छ । कहीं अँध्यारो, कहीं छाया परेको हुनाले राम्ररी ठम्याउन पनि सकिएन । फ्ल्यास प्रयोग गर्न मनाही । अँध्यारोमा फोटो राम्रो आउँदैनथ्यो । जेलीफिस पनि रङ विरङका । गुच्चाजस्ता टल्किने सेता जेलीफिसलाई शरीरको माथिल्लो सतहमा मात्र छुन पाइने, त्यसै गरियो ।
अक्टोपस पनि विभिन्न रङका देखिए, टाढाबाट हेर्दा सूर्यमुखी फूलजस्तो । शिशाको अक्वेरियममा घरभित्र सजाएर राखिएका रङ्गी विरङ्गी माछाका भुराहरु सल्बलाएको हेर्दा त अचम्मै रमाइलो लाग्ने । माछाका प्रजातिमा ओस्टर टोड फिस, ब्ल्याक ड्रुम, समर फ्लाण्डर, ग्याग, सानी ग्रुपर, क्वीन्सल्याण्ड ग्रुपर, अरबिकुलर ब्याट फिस, हाइफिन स्न्याप्पर, जेट विमान आकारका अनेक ढुङ्गाका काप काप र रुखका फेदफेदमा घुस्रिदै बाहिर निस्कदै गर्दछन् ।
रंगीन कोरल माछामा निमो माछा, ब्लु टाङ, डोरी माछा, बटरफ्लाइ माछा, अञ्जल माछा र अमेजन लगायतका ंगलका माछाहरुका बासस्थान प्राकृतिकजस्तै बनाइएको छ । उपयुक्त प्राकृतिक वातावरणले गर्दा ती जीवजन्तुहरुलाई कुनै असहजता भएकोजस्तो देखिदैन । ‘गहिरो कुरा सजिलै बुझ्न सकिदैन’ भनेजस्तै गहिरो पानीको माछा सजिलै कहाँ देख्न सकिन्छ र ? भित्रभित्र छन् । पानीमा बस्न रमाउने जीव विरामी भएमा उपचार गरी स्वस्थ्य भएपछि समुद्र वा वातावरणीय अनुकूलता हेरी पानीमा नै फर्काइन्छ । पानीको जीव पानीमा रमाउने त भइहाल्यो नि ! पानी बिना माछा कहाँ बाँच्न सक्छ र ?
प्रत्येक तलामा भिन्नभिन्न प्रजातिका चरा, माछा, सर्प, भ्यागुता, बिच्छी, बाँदर, लङ्गुर(कालो मुख र लामो पुच्छर भएको ढेडु) वोल्लो र पल्लो हाँगा हल्लाउँदै र आफू पनि हल्लिरहेको लङ्गुर (ढेडु) आफ्नो भाषामा भन्दै थियो ‘धेरै नजिस्क्याउ, एकै चोटि पल्लोपट्टि हाम्फाल्न सिपालु छु ।’ साँच्चै भाषा बुझ्नसके त स्वर्ग नै छ अक्वेरियम ।
यो तलामा सुगा, मैना, कोइली, मयुर, चिबे, लामपुछ्र्रे, आदिलाई विभिन्न ठाउँबाट सङ्कलन गरेर वातावरण अनुकूलित व्यवस्था गरिएको छ । यो हेर्ने त हाम्रो सोचाइ भित्रै थिएन । यो त हाम्रा लागि बोनस अवलोकन हो । ‘पशुपतिको दर्शन सिद्राको व्यापार’ भनेजस्तै भयो । यो ठाउँमा त पछि दोहो¥याएर चाहेर पनि पुग्न सकिने कुरै भएन ।
तिनतला भएको ठूलो अक्वेरियम, त्यसमा खण्ड खण्ड गरेर हरेक जीवको व्यवस्थापन, स्याहार राम्ररी गरिएको छ । टाढाबाट ठम्याउन नसकिने कीराहरु पनि सिलिङविलिङ गरी सल्बलाइरहेका देखिन्छन् । त्यहाँ खटाइएका कर्मचारी पनि विषयगत विज्ञता हासिल गरेजस्तै लाग्यो, सोध्ने कुरा भएन ।
सेन्ट्रल अमेरिकाको उड टर्टल जसलाई प्वाइन्टेड कुक टर्टल भनिदो रहेछ, राखिएको छ । रङ्गीविरङ्गी चराहरु, नीलो टाउको भएको सुगा, पूरै रातो रङ र टाउकोसमेत रातै भएको पखेटामा मात्र अलिकति नीलो र पहेंलो भएको सुगा पनि हेर्न लायकको नै देखिन्छ ।
पानी परिहने स्थानमा बस्न रुचाउने जीव जो खानका लागि अरुसङ्ग प्रतिस्पर्धा गर्र्दैन’लाई पनि राखिएको छ । केही बाँदर रुखका हाँगामाथि नै बसेका देखिन्थे भनें केही चाहिँं हाँगालाई छातीमा राखेर उल्टो झुण्डिएका देखिन्थे । यो कस्तो सुन्दर दृश्य ? ससाना बोट विरुवा र रुखहरु दुरुस्तै छन् । चरा बसेका छन् । गीत गाएका छन् । हाँगामा बाँदर तमासा देखाइरहेको छ । हेरिरहुँ झैं लाग्छ । हुनसक्छ मैलेजस्तै अरुलाई आधार र छाहारी दिंदा राम्रो होला नि ? हैन त ? रुखले भनेझैं लाग्छ ।
तलका दुई तलामा भएका चलाख भएपनि आवाज विहिन थिए । सबैभन्दा माथिल्लो (तेस्रो तला) तलामा रहेका चराहरु अनौठा अनौठा आवाज निकालिरहेका छन् । मैना, सुगा, कोइली र चिबे चराको आवाज सुन्न लायकको । ‘मिठोस्वरमा सन्देश दिदै भनिरहेको छ, कोइलीको जस्तै मिठो बोल ।’
ढुकुरका जोडी र चखेवाले मौन सन्देश दिइरहेका थिए । चखेवा भन्छ ‘तिमीले आफ्नो प्रैमी प्रेमिकालाई छोड्नु हुँदैन’ । मान्छेको आवत जावत जति बढ्यो त्यति नै खुसी भएर आआफ्नो प्राकृतिक आवाज निकालेर ओल्लो र पल्लो हाँगामा भुर्रर भुर्रर उडदै तमासा नै देखाउँछन् । लामपुछ्र्रे्र चराहरु हाँगा सरिसरी हल्ला गर्छन् मिठो आवाज निकालेर । सर्कसमा तालिम दिइएका पंक्षी र जनावरको जस्तो गरेर, तर तिनीहरुलाई तालिम दिइएको भनें होइन ।
धित मरुञ्जेल हेर्न र प्रत्येकको जानकारी प्राप्त गर्न त दिन भरिकै समय पनि कम नै हुने । समयले घण्टी बजाइरहेको थियो । प्रत्येक वस्तुको अवलोकन गरिहँदा घडीको सुई कति दौडिरहेछ। सुईजस्तै मन पनि दौडिरहेको छ ।
यतातिर आउने जाने मौका पाउँदा, समय मिलाएर निस्कँदा राम्रै जानकारी पाउन सकिन्छ भन्ने लाग्यो । कस्तो लाग्यो ? गीतालाई सोधें मैले । धेरै राम्रो उत्तर आयो । त्यति मात्र हो ? यथार्थमा यो अक्वेरियम प्राणी शास्त्रमा रुचि राख्ने,अध्ययन, अध्यापन र अनुसन्धान गर्नेहरुका लागि विश्वविद्यालय भनेपनि हुन्छ ।
अक्वेरियम भित्रको पानीको बगाई प्राकृतिक छ, स्वच्छ छ । अनि सन्देश पनि स्वच्छ भन्ने र ‘प्राणी र वनस्पतिजगतलाई जीवन देऊ भन्ने छ ।’ यहाँ अद्भूत जलजीव प्रजातिहरु संरक्षित छन् । यहाँ २०,०००० भन्दा बढी जीवजन्तुहरु र ७६०भन्दा बढी प्रजातिहरु रहेका छन् । मयुर पनि गणना गर्न सकिने छन् । तर ठाउँ सानो भए पनि आफ्नो प्राकृतिक स्वरुप निकालेर नाँचिरहेका छन् । रमाइरहेका छन् । हुनसक्छ उनीहरुलाई यस्तैगर्ने बानी परिसक्यो । यहाँको विशेष विशेषता भनेकै संसारकै समुद्री ताजा पानी तथा उष्ण कटिबन्धीय जीवहरुको पनि संरक्षण गर्ने हो ।
प्रशान्त महासागरमा पाइने कोरल रीफ सिमुलेसनसहित सार्क माछा, समुद्री कछुवा आदि प्रजाति पाइन्छन् । यिनीहरुको गतिविधि हेर्दा अन्तरहृदयदेखि नै आनन्दको अनुभूति हुन्छ । यहाँ देखिने रंगीविरंगी कोरल माछा एटलान्तिक महासागरको अत्यन्त गहिरो भागमा खेल्ने रमाउने र बस्ने माछा रहेछ भन्ने पनि जानकारी प्राप्त भयो । विभिन्न माछाहरुको सङ्केत पाइन्छ, ‘जोगिनु पर्छ है नत्र समातिन्छौ, विश्वास त कसको पो गर्न सकिन्छ र ?’ यी सबै दृश्य देखेर खुसीले आफैं गदगद भइयो ।
हाम्रो टोली प्रत्येक जीवजन्तुका गतिविधिहरु हेर्न ध्यानमग्न नै थियो । कुनै बेला संगसंगै भइन्थ्यो भनें कुनैबेला एक्ला एक्लै । भेट भएका समयमा तिनीहरुका गतिविधिका बारेमा पनि आपसमा छलफल गर्दथ्यौं पनि । धेरै जानकारी लिन सकिने र उपलब्धी हासिल गर्न सकिने यस अक्वेरियमबाट स्कुल कलेजमा अध्ययन गर्ने र विद्यावारिधि उपाधिका लागि र अन्य किसिमले अनुसन्धान गर्न रुचि राख्ने जो कोहीका लागि पनि फलदायी भूमिका निर्वाह गरेको नै रहेछ ।
हामी प्रवेश गरेको करीव एक घण्टापछि हुनु पर्छ, बालबालिकासहितको एउटा जम्बो टोली उत्साह र उमंगका साथ अक्वेरियममा आइपुग्यो । एकैचोटि ठूलो सङ्ख्यामा प्रवेश गरेको भएपनि उनीहरुलाई उचित निर्देशन दिइयो । अनुशासित बनाएर जीवजन्तुको सम्पूर्ण नालीबेलीसहित जिज्ञासा मेटाउने कार्यमा निकै सफल देखिन्थे । त्यहाँका बालबालिकाहरुको उत्सुकता उनीहरुको मनोविज्ञान विचित्र किसिमले प्रतिबिम्बित देखिन्छ । कोही हतारिएकाजस्ता देखिन्थे भनें केहीचाहिँ शान्त भएर एकाग्रताका साथ अवलोकन गरिरहेका । ती मध्ये कसै कसैले सानो स्पाइरल पकेट डायरीमा टिपोट गरिरहेका देखिन्थे ।
बालसुलभ र किशोरावस्थाका ती स्कुले विद्यार्थी देखेपछि यस्तै उमेर समूहको आठ कक्षा अध्ययन गर्दै गरेको ठूलो नातिलाई सम्झिएँ । तर त्यहाँ सम्झनुमात्र थियो । नातिलाई अमेरिका ल्याउन सकिने स्थिति नै थिएन । ‘मनको लड्डु घिउसित खानु‚ भनेजस्तै त हो ! यस उमेर समूहका विद्यार्थीहरुका लागि भनें यो अक्वेरियम अत्यन्त फलदायी हुने देखिन्छ ।
बालबालिकाहरुलाई समुद्री जीवजन्तुका बारेमा र उनीहरुको संरक्षण कसरी र कुन रुपमा गरिन्छ भन्ने अन्तरक्रियात्मक कार्यक्रम गर्न सकिने रहेछ । यहाँ हाम्रो आँखाका अगाडि प्रत्येक जीवजन्तुलाई देखाउँदै उनीहरुको जीवन पद्घति, क्रियाकलाप, सक्रियता, निस्क्रियता आदिका बारेमा सूक्ष्म ढङ्गबाट जानकारी गराइयो । वास्तवमा बाहिरी अवलोकन मात्र नभएर भित्रिरुपमा छलफल गराउँदा उनीहरुमा गहिरो र अमिटछाप बस्ने हुन्छ । वास्तविक सिकाइले उत्प्रेरणा जगाउने र सिकेको कुरा चिरस्थायी बनाउने उद्देश्य नै पथप्रदर्शकहरुको रहेको अनुभूत भयो । यस किसिमको सिकाइ पद्घति अवलम्बन गर्न सकियो भनें प्रतिभाले प्रस्फुटन हुने अवसर पनि पाउँछ । बाल मस्तिष्क र बाल मनोविज्ञानलाई राम्ररी बुझ्न सकियो भनें काँचो माटाका रुपमा रहेको बाल जिज्ञासालाई जस्तो र जुनरुपमा पनि अभिप्रेरित गर्न सकिन्छ भन्ने निष्कर्ष हो ।
यो अक्वेरियम विश्वस्तरमा ख्याति प्राप्त छ । हामीले पनि जीवजन्तुअनुसारको त्यहाँको संरचना निर्माण र प्राकृतिक रुपमा जीवजन्तुहरुको संरक्षण कार्य प्रशंसनीय रहेको ठान्यौं । संस्थाप्रति समर्पण नहुने हो भनें यति महत्त्वपूर्ण कार्य सम्भव हुने कुरा सोच्न पनि सकिदैन । मानिसले भित्री मनबाटै चाह्योभनें जुनसुकै काम पनि सजिलै गर्न सक्छ भन्ने राम्रो उदाहरण पायौं ।
संयुक्त राज्य अमेरिकाको उच्च स्तरीय अक्वेरियम मानिदो रहेछ यसलाई । हामीले अवलोकन गर्दा पनि यसको योगदान उच्च रहेको हुनुपर्छ भन्ने लागेको थियो । आखिर सत्य सावित पनि भयो । यात्राका क्रममा छोटो समय निकालेको र हतारहतार गरेरै भएपनि त्यहाँको अवलोकनले सार्थकता प्राप्त गरेकामा आफूआफूमा धन्य भयौं हामी ।
प्रत्येक वर्ष पन्ध्र लाखभन्दा बढी आगन्तुकहरुले यहाँको अवलोकन भ्रमण गर्ने रहेछन । यो विशुद्घ गैरनाफामुखी संस्था । यो जमानामा यसरी शैक्षिक, प्राकृतिक, जैविक र पर्यटकीय दृष्टिबाट लाभ पाउने उद्देश्यले समर्पित भएर काम गर्नु गराउनु पनि अनुकरणीय, प्रशंसनीय र सराहनीय कार्य नै मान्नु पर्दछ । अमेरिकाको सर्वोच्चस्तरको अक्वेरियमले शैक्षिक महत्त्व राख्नेकुरा त अवश्यमेव छदैंछ त्यसमा पनि जनचेतना जागृत गराउने कार्यक्रकमका अतिरिक्त प्राकृतिक रुपमा जीवजन्तुहरु कसरी र कुन रुपमा रमाउँछन् भन्ने पनि त्यतिकै महत्त्व राख्ने विषय रहेको छ । आकारगत आयाम तथा संरचनागत लघुता भएपनि यसले विश्वस्तरमा ख्याति प्राप्त गरेकामा अस्वीकार गर्ने ठाउँ कतै पाँइदैन ।
१० बजे प्रवेश गरेका हामी १.००बजेमात्र हतारिएर निस्कियौं । खाना खान बाँकि नै थियो । खानपिनका लागि रेष्टुरेन्ट खोजी गर्दै गर्दा अक्वेरियमसङ्गै सडक किनारमा नै जोडिएको रहेछ, ‘काठमाडौँ किचन’ं । लमजुङतिरका सज्जन व्यापारीले सञ्चालन गरेका । मध्यान्न नै भएपनि पूर्वीय आतिथ्य सत्कार गरे उनले । सबै चिज ताजा बनाइदिएकाले खानामा खोट लाउने ठाउँ थिएन । नेपाली खाना खाएर मुरीमुरी धन्यवाद दिदै गन्तव्य न्यूयोर्क बनाएर हिड्यौं ।
२०८० मंसिर १ गते
श्रीभपोर्ट लुईजियाना, संयुक्तराज्य अमेरिका ।