हामी न्यूयोर्कको जे.एफ.क्यानेडी एयरपोर्टबाट कार्तिक १९ गते, २०८० (तदनुसार ६ नोभेम्बर २०२३) विहान छ बजे, अमेरिकन एयरलायन्सबाट लसएञ्जलसका लागि उड्यौं । दिउसोको १२.३० मा ल्याक्समा उत्रियौं । त्यहाँबाट रेन्टल कार लिएर रेन्टल घरमा झोला झ्याम्टा थन्क्यायौं । दिनको २ बजे शान्टामोनिकालाई गन्तव्य बनायौं ।
छोटो समय छ घुम्नलाई । प्रशान्त महासागरको किनारमा रहेको शान्टामोनिका रमाइलो । नेपाली भाषामा कुनै खोला, नदी, समुद्र र महासागरको छेउलाई किनार भन्छौं तर अङ्ग्रेजीमा बीच भन्दा रहेछन् । कहीं कहीं कोस्ट भनेको पनि पाइयो । यस्तो प्रयोग भाषिकागत पनि हुन सक्छ । बीचको अर्थ नेपाली भाषामा मध्य भाग वा माँझ भनेर बुझ्दछौं । लसएञ्जलस सहरको पश्चिमतर्फ जहाँ प्रशान्त महासागर छ, त्यहाँको किनारमा शान्टामोनिका छ । सहरसँगै जोडिएको शान्टामोनिका पियर भनिने ठाउँ सुन्दर छ । अपार बालुवाको राशि भएको ठाउँ । यहाँदेखि प्रशान्त महासागरसम्म नै काठका गोलाकार ठूलाठूला खम्बा गाडिएका । त्यसमाथि काठकै बाक्ला बाक्ला फल्याक ठोकेर बनाइएको छ पियर । यसभन्दा अगाडि यस्तो संरचना स्ट्याचु अफ लिवर्टी र बाल्टीमोर जाँदा देखिएको थियो तर त्यसलाई पियर नै भनिएको थिएन ।
अनौठो लाग्नु स्वाभाविक नै थियो । यहाँ व्यापार व्यावसायका लागि ठूलाठूला संरचनाहरु बनाइएका । यस ठाउँमा विजुलीबाट चल्ने रोटे पीङदेखि अन्य खेल्ने साधनहरु पनि छन् । विभिन्न देशबाट आएका मानिसहरुको बाक्लै उपस्थिति छ । विभिन्न रङ्गले पोतिएका रङी विरङी मानिसहरु चटक देखाइरहेका । ड्रमसेटको चर्को आवाजले कानको जाली फुट्लाजस्तो भइरहेको ।
बोर्डवाकमा घुम्ने क्रममा स्कोनको धार्मिक टोली हातहातमा ससाना झ्याली बजाउँदै हरेराम हरेकृष्णको भजन गाउँदै हिडिरहेका । मेरो शिरको नेपाली ढाका टोपी देखेपछि नेपाली नै हो भन्ने यकिन गरेर काठमाडौंबाट आएको हो ? भने । टोलीका नाइकेले बजाउँदै गरेको झ्याली मलाई दिन चाहन्थे तर म यतातिरै रमाइलो गर्दै छु, भनें । धन्यवाद भन्दै आफ्नो बाटो लागे । अमेरिकामा पनि राम र कृष्णको भजन गाउँदैै हिन्दू धर्मप्रति आस्था जगाएको देख्दा खुसी लाग्ने नै भयो । त्यसभित्रको अन्तर्य के हो, त्यो त बुझ्न सकिएन र चासो पनि राखिएन ।
होटल र रेष्टुरेन्टमा खचाखच भीड । मानिसहरु मनोरञ्जनका लागि नै त्यस ठाउँमा आउँदा रहेछन् भन्ने पुष्टि हुन्छ । परिवारसहितको ठूलो जमघट, ठूलै समारोहमा मानिसहरु जम्मा भए जति नै थिए । कोही नाचिरहेका देखिन्थे भनें कोही मद्यपानमा झुमिरहेका थिए । एकबारको जिन्दगी त हो नि भनेजस्तै मस्ताना नै देखिन्थे । कोही प्रशान्त महासागरको छालसँगै चुरोटको धुवाँमा आफूलाई उडाइ रहेका थिए । रात्रीकालीन दृश्यलाई क्यामेरामा कैद गर्दै सागरको उर्लदो छालको सौन्दर्यमा रमाइरहेका देख्दा जिन्दगी त यसरी पो बिताउनु पर्ने रहेछ भन्ने पनि लाग्यो एक मनले ।
यहाँको किनारमा पानी प्रदूषित भएकाले पौडी खेल्न निषेध गरिएको भनिए पनि पियरको दायाँ बायाँ किनारमा पौडी खेलेर मानिसहरु रमाइ रहेका देखिन्थे ।
शान्टामोनिका लसएञ्जलस काउन्टीमा पर्छ । यहाँको जनसङ्ख्या ९००००को हाराहरीमा छ । शान्टामोनिका बेसँग जोडिएको यो क्षेत्र काउन्टीको पश्चिमी क्षेत्रमा अवस्थित छ ।
शान्टामोनिकालाई महासागरकै किनारमा फैलिएको सुन्दर प्राकृतिक सम्पदा मानिन्छ । यो किनार अत्यन्त घमाइलो रहेछ । सहरी जीवन, बजार क्षेत्र, मनोरञ्जन आदिको अद्भूत मिश्रण मानिन्छ, यसलाई ।
पर्यटन, टेक्नोलोजी, सिलिकन बीच भनिने यो क्षेत्र गुगल, हुलु, स्नापच्याटजस्ता ठूलाठूला कम्पनीको केन्द्र भाग रहेको छ । खुला बजार, पैदल मार्ग, खोजेजस्ता रेष्टुरेन्ट तथा बोर्ड वाकमा नै सडक कलाकारहरु हेर्न पाइन्छ । यो आधिकारिक सहरका रुपमा १८८६मा स्थापना भएको रहेछ । बीसौं शताब्दीमा रिसोर्ट टाउनका रुपमा लोकप्रियता प्राप्त गरेको ।
महासागरले थुपारेको सेतो बालुवा, नीलो पानी, घमाइलो ठाउँ, यसका परिचय सूचक हुन् । १९०९मा आइपुग्दा मात्र शान्टामोनिका पियर बनेको भनिन्छ । यसलाई ऐतिहासिक पियर मानिएको । लामो समुद्री किनार । भीडभाड युक्त देखिने । सहरी वातावरण तथा एककिसिमले भन्ने हो भनें महानगरीय माहौल उपलब्ध । आधुनिक मनोरञ्जनको बजार, ठूलाठूला सपिङ मल तथा मनोरञ्जन उद्योगसँग जोडिएको ।
लसएञ्जलस तटीय सहर रहेको र यहाँको (किनार) बिच, विश्व प्रशिद्ध मानिदो रहेछ । यो प्रशान्त महासागर कोष्ट हाइवे र वोसन (ocen) एभेन्युसँग जोडिएको छ । महासागरको ३.५ माइल लामो सुनौलो बालुवाको राशी देख्न सकिन्छ । काठबाट बनेको काठे बोर्डवाक सन् १९०९मा निर्माण भएकाले ऐतिहासिक मानिने । यहाँबाट देखिने सूर्यास्तको दृश्य अत्यन्त सुन्दर । यहाँ रमिता हेर्न आउने पर्यटकहरुका लागि सफा शौचालय, नुहाउने ठाउँ, उपयुक्त पार्किङ उपलब्ध । निजी सवारी साधन नहुनेहरुका लागि मेट्रो, उबर र यात्रामा सङ्ख्या ठूलो हुनेहरुका निमित्त सटल पनि पाइने । यस स्थानमा भ्रमण गर्ने उपयुक्त समय मार्च महिनादेखि अक्टुवरसम्म सहज हुने । समथरिलो भूमि भएको यस ठाउँमा आन्तरिक र समुद्री हावाबाट शितलताको अनुभूति गर्न सकिने हुँदा जीवन आरामदायी रहने । साँझ पखको बिचको रङ्गीन जीवन नियालेर बासस्थानतिर फर्कियो हाम्रो टोली ।
‘मौकामा चौका हान्ने’ भनेजस्तै प्रशान्त महासागरको नीलो पानीको सेतो फिंजसहितको छालमा खेल्ने धोको पनि पूरा गरियो । कल्पना बाहिरको प्रशान्त महासागर अनि आँखाले हेर्दा पनि पल्लो किनार अनुमान नै गर्न नसकिने । चौवन्न वर्ष अगाडि हाई स्कुलमा भूगोल पढ्दाको ताजा स्मरण भयो, संसार कै ठूलो महासागर । अपार जलराशि । स्पर्श अनि डुबुल्की मार्दाको बेग्लै आनन्द ।
हलिउड यात्रा
दोस्रो दिन विहान आठ बजे शान्टामोनिका, लसएञ्जलसबाट हलिउडको भ्रमणका लागि निस्कियौं हामी । मनमा एक किसिमको कुतूहलता थियो नै । हलिउडका बारेमा पहिले नै सुनिएको थियो तर क्यालिफोर्निया राज्यको लसएञ्जलसको उत्तरपूर्वी क्षेत्रमा नै पर्दछ भन्ने थाहा थिएन । यसभन्दा अगाडि हलिउड कतातिर पर्छ भनेर गुगल नक्साको प्रयोग पनि गरिएन । कोठाबाट निस्किएको चालिस मिनेटमा हलिउड क्षेत्रमा प्रवेश गरेका थियौं । बाटाको बायाँतर्फ माथि पहाडी शृङ्खलामा ठूलाठूला सेता अक्षरले लेखिएको ‘हलिउड साइन’ देख्यौं रहेछ । पहिले यो साइन जग्गा किनबेचको कार्य गर्ने कम्पनीले हलिउडल्याण्ड भनेर प्रचारमा ल्याएको थियो रे । त्यहीं नै ठाउँमा गाडी रोकेर हलिउड चिह्न (साइन) लाई केन्द्र मानेर व्यक्तिगत र सामूहिक फोटाहरु खिच्यौं । रमायौं । अडियौं ।
यसको फैलावट हलिउड बोलुबार्ड र भाइन स्ट्रिटसम्म रहेछ । हलिउड (Holly wood) अङ्ग्रेजी अक्षर लेखिएको ठाउँलाई माउण्ट लि हिल भनिदो रहेछ । अब यो आइकोनिक चिह्न बनिसकेको छ । हामीले नास्ता खाएर मात्र पूरा क्षेत्रको अवलोकन गर्ने सल्लाह ग¥यौं । हलिउड बोलुबार्ड भन्ने सुन्दर बजारको ‘वाफले’ नाम गरेको रेष्टुरेन्टमा नास्ता गरेर माथि उचाइमा रहेको ग्रिफिथ अब्जरभेटरीतर्फ उकालियौं ।
जानकारी पाएअनुसार हलिउडमा खासगरी १८८७ तिर बाहिरबाट मानिसहरु बसाइँ सरेर आएछन् । उनीहरुले नै यो बस्ती बसालेका । १९१० र ११ सालतिर यो लसएञ्जलस सहरमा गाभिएको । खासगरी यो क्षेत्र विश्व प्रसिद्ध सेलिब्रेटीहरुको ग्ल्यामरस संसार । फिल्म निर्माण मात्र नभएर सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय दृष्टिले पनि धेरै महत्त्वपूर्ण केन्द्र । यसलाई मनोरञ्जनको राजधानी पनि मानिन्छ ।
पहिले त लसएञ्जलसलाई नै केन्द्र मान्दै न्यूयोर्क, शिकागो र अन्य क्षेत्रबाट चलचित्र निर्माण कम्पनीहरु आएका । सन् १९१०मा हलिउड नामको उल्लेख गरिएको । सन् १९००को प्रारम्भमा शान्त कृषि क्षेत्र रहेको यस भूमिमा १९११मा ‘नेस्टोर नामको स्टुडियो सर्वप्रथम खोलिएको । यसले हलिउडको विकासक्रममा एउटा ऐतिहासिक पृष्ठभूमिको काम गरेको । यस उद्योगको खास गरी यो उचाइमा पु¥याउन उल्लेख्य योगदान पुगेको । ‘सपना देख्नेको भविष्य हुन्छ’ । त्यसैले हलिउडलाई मानिसहरुलाई सपनाको संसार देखाउने प्रतीकका रुपमा लिइन्छ । लाखौं लाख मानिसहरुले आफ्नो कला देखाउने राम्रो अवसर पाउने हुनाले मानव जीवनको सफलताको प्रतीकका रुपमा पनि लिइने ।
सन् १९२० देखि हलिउड विश्व कै ठूलो फिल्म उद्योगका रुपमा स्थापित भयो । त्यसपछि देखिनै धेरै सङ्ख्यामा चलचित्रहरु निर्माण हुन थालेको । युनिभर्सल स्टुडियो, पारामाउण्ड पिक्चर्स, सोनी पिक्चर्स,वाल्ट डिस्ने स्टुडियो आदि फिल्म निर्माण कम्पनीले उल्लेख्य काम गरेको मानिन्छ । विश्व चलचित्रको राजधानी मानिने हलिउड फिल्म, टेलिभिजन, सङ्गीत र मनोरञ्जन उद्योगकै प्रमुख केन्द्रका रुपमा विकसित भइसकेकोे छ । पर्यटकहरुको राम्रो गन्तव्य मानिने यो क्षेत्र आर्थिक स्तर वृद्धि गर्ने कार्यमा पनि अग्रणी मानिने । हलिउड शब्द संसारभर नै ग्ल्यामर, ड्रामा र मनोरञ्जनको पर्याय बनेको पाइन्छ । हाल आएर यस क्षेत्रलाई विश्व चलचित्रको राजधानी नै भनिन्छ । खास गरी १९३०देखि १९५०को समयलाई हलिउडको सुनौलो युग मानिदो रहेछ ।
वास्तवमा ‘हलिउड भन्ने शब्दले निश्चित निर्धारण गरिएको भूमिमात्र नभएर फिल्म बनाउने एउटा प्रणाली विशेषका रुपमा लिनु पर्ने हुन्छ भन्ने सन्देश दिएको छ । यो कुनै भौगोलिक स्थानमात्र नभएर एउटा ब्राण्ड बनिसकेको प्रतीत हुन्छ । यस क्षेत्रलाई भाषा, संस्कृति, प्रविधि, फेशन, मनोरञ्जन आदिजस्ता कुराले विश्वव्यापी रुपमा सकारात्मक प्रभाव पार्ने केन्द्र भनेर बुझिन्छ । कुनै न कुनै विधामा क्षमता भएको व्यक्तिले आफ्नो प्रतिभा देखाउने अवसर पाउने र संसारभर ख्याति पनि कमाउँछ ।
हलिउड बोलुबार्ड र भाइन स्ट्रिट प्रसिद्ध फुटपाथ मानिन्छ । २७००भन्दा बढीको सङ्ख्यामा विश्व प्रसिद्ध सेलिब्रेटीहरुका नामसहित तारा अङ्कित चिह्न सुनको अक्षरमा कुँदिएको छ । जसमा फिल्म निर्देशक, विभिन्न विधाका कलाकार र निर्माता आदिका नामहरु अङ्कित छन् । यी नामहरु पैदल मार्गमा आफ्नै आँखाले देखियो । यो हाम्रा लागि धेरै खुसीको कुरा भयो । बिच सडकमा गाडी गुड्छन् र साइडबाट मानिसका लागि पद मार्ग छुट्याइएको छ । यही पैदल मार्गमा सेलिब्रेटीहरुको नामाङ्कन गरिएको छ । एक किसिमले हेर्ने हो भनें सेलिब्रेटीहरुलाई त्यसरी पैदल मार्गमा राख्न हुँदैनथ्यो भन्ने मेरो व्यक्तिगत धारणा छ । किनभनें सेलिब्रेटीहरुलाई खुट्टाले टेकेर हिड्नु कदापि राम्रो होइन । यद्यापि चलचित्र, टेलिभिजन, सङ्गीत, रेडियो, थिएटर र रेडियो तथा टेलिभिजन होस्ट आदि क्षेत्रमा योगदान पु¥याउने सेलिब्रेटीहरुलाई सम्मान गरिनु प्रशंसनीय कार्य नै मानिन्छ । नाम कमाउनेको छायाँ पनि चिनिन्छ भनेजस्तै कीर्ति र उज्यालो एकै साथ प्राप्त गर्ने उपयुक्त ल्पेटफर्म मानिन्छ ।
सबैको नाम पढेर सकिने कुरा पनि भएन तर माइकल ज्याक्सन, विटल्स, एल्भिस प्रेसली, मेरिलिन मुनरो, टम हान्सक्स, जुलिया रोबर्टस, अन्जेलिना जोली, जेनिफर लरेन्स,वाल्ट डिज्ने, लियोनार्दो दि क्याप्रिओ, ज्याकी चान, राविन विलियम्स, एन्थोनी हपकिन्स, डेनियल डे लेविस आदि सरसर्ती टिपिएका नामहरु रहेका छन् । सिनेमा क्षेत्रमा कुनै समयका नाम चलेका र ख्याति कमाएका नायक रोनाल्ड रेगन संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पनि भइसकेका सिने कलाकार नै हुन् । उनको कला र राजनीतिक कार्यलाई सांस्कृतिक र राजनीतिको संयोजन मानिन्छ ।
हलिउड केवल चलचित्र क्षेत्रका लागि मात्र नभएर पर्यटकीय दृष्टिबाट पनि त्यतिकै महत्त्वपूर्ण मानिन्छ । यहाँका हलिउड म्यूजियम, चाइनिज थिएटर, विभिन्न स्टुडियोहरु र सनसेट बुलेबार्ड आकर्षणका केन्द्र मानिन्छन् ।
हलिउड र हाइल्याण्ड सेन्टरमा आवश्यकताअनुसार किनमेल गर्न सकिने र स्तरीय भोजनको राम्रो व्यवस्था रहेको छ । त्यसका साथै डल्वी थिएटरको मुख्य प्रवेश मार्ग पनि मानिन्छ । डल्वी थिएटरमा प्रत्येक वर्ष एकेडेमी अवार्ड, जसलाई ओस्कर अवार्ड पनि भनिन्छ, वितरण गरिन्छ ।
ग्रिफिथ अब्जरभेटरी यो क्षेत्रको प्रसिद्ध र अति सुन्दर ठाउँ । जसबाट वैज्ञानिक जिज्ञासा, प्राकृतिक दृश्य र फिल्मको इतिहाससँग अन्योन्याश्रित सम्बन्ध रहेको पुष्टि हुन्छ । अब्जरभेटरी भएको स्थान समथर परेको र रमाइलो छ । जहाँबाट हलिउड साइनलाई केन्द्र बनाएर फोटो खिच्ने र भिडियो बनाउनेहरुको तँ छाड र मछाड भएको देख्न सकिन्छ । हामीहरुले निकै समय पर्खनु परेको थियो, फोटो र भिडियो क्लिप बनाउन । यो ग्रिफिथ पार्क समुद्रको सतहदेखि करीव १,१३५ फिटको उचाइमा रहेछ । यो स्थान हलिउड साइन भएको हलिउड हिलदेखि केही पूर्वतिरको अग्लो अनि सम्म परेको पहाडी भूभाग हो । यही ठाउँमा दूरबिन राखिएको रहेछ । त्यसबाट हलिउड साइन लेखिएको डाँडो । वरपरका रमाइला दृश्यहरु हेर्न दूरबिन घुमाउनु पर्छ । घुमायौं । हे¥यौं पनि । राम्रा दृश्य देखिए वरिपरिका । हलिउड साइन भएकै ठाउँमा अग्लो टावर पनि देखिन्छ ।
पखेटा फिंजाएको टाउको नभएको चिलको आकारको धातुको पखेटाको आकृति छ, यही समथर परेको ठाउँका किनारमा । जहाँ मानिसहरु आफ्ना दुईवटै हातलाई चिलको पखेटा पछाडि राखेर अनि टाउको बिचमा राखी उड्न लागेको जस्तो देखिने चिलकै आकारमा फोटो खिचाउन तल्लीन देखिन्छन् । हामीले पनि त्यसै गयौं । लसएञ्जलस सहर लगायतका सुन्दर दृश्यावलीका लागि यो ठाउँ अत्यन्तै उपयुक्त लाग्दछ ।
यही समथरिलो मैदानी ठाउँका डिलतिर ग्रिफिथ अब्जरभेटरीको भब्य र सुन्दर भवन छ । त्यसको वरिपरि र भित्रको भागसम्म पुग्यौं । तर सम्पूर्ण दृश्य देखाउने ठाउँ बन्द भएकाले हेर्न पाइएन । यो सर्वसाधरणका लागि खुला गरिने अमेरिकाको एक मात्र निःशुल्क सार्वजनिक तारादर्शी केन्द्र मानिन्छ । यसलाई पब्लिक टेलिस्कोप अब्जरभेटरी भनिन्छ । स्पेश र अस्ट्रोनोमीको प्रदर्शनीका लागि उपयुक्त ठाउँ । ग्रह, नक्षत्र, सूर्य, चन्द्रमा र अन्तरिक्षसम्बन्धी प्रदर्शनहरु गरिने । वैज्ञानिक ज्ञान बुझाउन इन्टरएक्टिभ डिस्प्ले, प्रोजेक्टरहरु र अन्य विभिन्न मोडेलहरु पनि पाइन्छ ।
लसएञ्जलस स्काइलाइन र हलिउड साइन देखिने उपयुक्त ठाउँ पनि यही उपयुक्त । यहाँबाट लसएञ्जलस शान्टामोनिका बिच (किनार) र प्रशान्त महासागरको उत्कृष्ट दृश्य देखिन्छ । हामीहरुले पनि क्यामेरा जुम गरेर हलिउड साइन तथा प्रशान्त महासागरलाई नजिकबाट हेर्ने प्रयत्न गर्यौं ।
खासमा भन्ने हो भनें ग्रिफिथ पार्क भएको यो अग्लो समथरिलो जमीनजस्तो ठाउँ अन्ततिर पाइँदैन भन्न त मिल्दैन तर यसरी मिलेको कहीं पाइँदैन । यही ग्रिफिथ पार्कका बारेमा आफ्नो ‘एटलान्टिक स्ट्रिट’उपन्यासमा राजवले नेपालको स्वयम्भूको डाँडासँग तुलना गरेर वर्णन गरेका छन् । यहाँ आएपछि म आफू स्वयम्भू नै सम्झन्छु, भन्छन् । मैले पनि यहाँको उचाइबाट लसएञ्जलस सहर हेर्न थालेपछि त्यही झझल्को आइरहेको अनुभूति गरिरहेको छु । यहाँबाट देखिएको पहाडी शृङ्खला नेपालकै जस्तो देखिन्छ । स्वयम्भू महाचैत्य भएको अग्लो ठाउँबाट काठमाडौँ सहर देख्न सकिएजस्तै यो ग्रिफिथ पार्कबाट पनि सुन्दर दृश्य देख्न सकिन्छ । त्यसैले पनि हुन सक्छ यो ठाउँ रमाइलो र सुन्दर देखिन्छ ।
यहाँ आइपुग्दा यति राम्रो र यति ठूलो एरियामा रहेको ग्रिफिथ पार्कको इतिहासतिर फर्कन मन लाग्यो । यो ठाउँ प्रकृति र शान्तिलाई एकैसाथ प्राप्त गरिने संगम हो । यो ग्रिफिथ पार्क, कर्णेल ग्रिफिथ जे ग्रिफिथले सम्पूर्ण पार्कले ओगटेको सम्पूर्ण जग्गा दान गरेका रहेछन् । यस स्थानमा आइपुगेपछि यसको उच्च महत्त्व रहेको थाहा भयो । यति फराकिलो र महत्त्वपूर्ण भूमि प्रदान गर्ने महान व्यक्तित्वलाई सलाम ।
कर्णेलले त्यत्रो फराकिलो जग्गा दान गर्नुको उद्देश्य सबैले ताराहरु हेर्न सकून भन्ने थियो रे । तर त्यो सुविधा निःशल्क हुनु पर्छ भन्ने पनि । उनको इच्छाअनुसार त्यो पनि पूरा भएको देखिन्छ । अब्जरभेटरी विहान दश बजे खुल्ने र सोमवारका दिन बन्द हुने रहेछ । प्लानेटोरियम शो हेर्न केवल थोरै मात्र प्रवेश शुल्क निर्धारण गरिएको छ । ग्रिफिथ अब्जरभेटरी जानुु पर्ने कारण चाँहि मुख्यतः विज्ञानप्रति अभिरुचि राख्ने व्यक्तिहरुका लागि रहेछ । अरुले जान नहुने भन्ने तात्पर्य होइन । यहाँको प्रदर्शनीले प्रशस्तै ज्ञान दिन्छ भन्ने बुझियो । प्राकृतिक पृष्ठभूमि तथा सुन्दर र मनमोहक ठाउँ भएकैले पनि फोटो र भिडियोका लागि उपयुक्त छ । यहाँबाट सूर्यास्तका समयमा देखिने मनोरम वातावरण स्वर्गीय नै लाग्दछ । ‘वनले जीवन दिन्छ’ भन्ने उक्ति यथार्थमा चरितार्थ भएको पाइन्छ । यहाँको वन, जङ्गल, बुट्यान त्यति कै आकर्षक । होचा होचा पोथ्रा पोथ्रीहरु रहर लाग्दा । घुमाउरो भएपनि सुन्दर देखिने सलल बगेजस्तो बाटो । ठिकठिकैको उकालो उकालो पीच बाटो । धरानबाट भेडेटार उकालिदाको पीचबाटोको स्मरण गरायो । पहाडमा हिडेजस्तै नलाग्ने । तर भेडेटारको जस्तो उचाइचाँहि होइन । यहींबाट अब्जरभेटरी भएको स्थानमा पुगिन्छ । त्यहाँ पुगेपछि शान्तिपूर्ण प्रकृतिको भरपूर अनुभव हुन्छ । यहाँ आइपुगेपछि कस्तो अनुभूति भयो भनें यो केवल आकर्षक भूमि मात्र होइन, विश्व मनोरञ्जनको प्रतीक र ज्ञानको भण्डार हो भन्न सकिने । यस्ता हरियाली र समथर पनि भएका आकर्षक भूमि त हाम्रा कति छन् कति ।
छिमेकी राज्यहरु र विभिन्न काउन्टीबाट पनि परिवारसहित मानिसहरु रमाइलो गर्न आएको देखिन्छ । नेपालीहरुको पारिवारिक भ्रमणमा आएका टोलीलाई फोटो खिच्नेक्रममा मैले कहाँबाट आउनु भएको ? हो भनेर प्रश्न गर्दा लसभेगास भनेका थिए । त्यस्तै अर्का सज्जनलाई सोधनी गर्दा एरिजोना भन्ने जवाफ फर्काएका थिए । कोही फोनिक्स, कोही सानडिएगो आदि ठाउँबाट हलिउडको अवलोकन कै लागि आउँदा रहेछन् ।
हलिउड र शान्टामोनिका क्षेत्रको अवलोकनपश्चात् यथार्थमा लसएञ्जलसको लालित्य भनेकै हलिउड र शान्टामोनिका क्षेत्र मानिन्छन् ।
२०८० ।०८ । ०२
श्रीभपोर्ट,लुईजियाना, संयुक्तराज्य अमेरिका ।