उच्चताको अपेक्षा हो तर तिमी साधा भयौ
बन्नुपर्ने दोसल्ला हो किन लुरे खादा भयौ?
चाहन्थेँ म मेरो लागि रुक्मिणी नै बनीदेऊ
कल्पनामा डुब्दै थिएँ तर तिमी राधा भयौ !
सिङ्गो जिन्दगीमा तिमी सिङ्गै हुनुपर्ने थियो
अचानक बिचमा आई आज किन आधा भयौ ?
हृदयकी मालिक्नी हौ भन्ने ठानी दिल दिएँ
धोखा भयो यथार्थमा अर्कैको पो बाँधा भयौ!
मनमन्दिरमा सजाएर पुजारी भै पूजा गरेँ
पाप लाग्यो मुटुभित्र तीर हान्ने व्याधा भयौ !!