म्याग्दे गाउँपालिका - २ काफ्लेथोक , तनहुँ जिल्ला गण्डकी प्रदेशमा बि.स.२०१० साल चैत्र ५गते जन्मिएर पोखरालाई कर्मथलो बनाएका मुरलीमोहन काफ्ले पिता कृतिशेष दीनानाथ काफ्ले र माता नेत्रमाया काफ्लेका पहिलो सन्तान हुन्। बि.स.२०३० बैशाख ३१ गते कास्कीको भूभाग मादी नदीको किनारमा रहेको स्यास्त्रीकी पुन्यप्रभा खनालसग उनको बिबाह भयो।एक छोरा र दुई छोरीका पिता काफ्लेले लामो समय शिक्षक भइ पठन पाठनको काम गरे।२०२८ सालमा शिक्षकमा नियुक्ति पाएका मुरलीले २०५६ सालमा अवकास लिए।अवकास पछिको जीवन समाज सेवा र सङ्घ सस्थामा रहेर चलायमान भएका मुरलीमोहन सरल सरस र नरम स्वभावका छन् । यो नै उनको वास्तविक परिचय हो। खालीहात कहिल्यै बस्न नजान्ने काफ्ले सरले सबैलाई प्रेरणा दिईरहेका हुन्छन।शालिन र मृदुभाषी उनको स्वभाव सबैसग मिलनसारको भेटिन्छ।केटाकेटी युवायुवती बुढापाका सबैले मुरलीमोहन काफ्लेलाई सम्मानभाव प्रकट गर्दछन्।
लामो समय शैक्षिक क्षेत्रमा क्रियाशील उनले आफुले जीवनमा भोगेका उकाली ओह्राली , सुखदुःख, आँसुहासोको सगालो "पल्टिएका पानाहरु" नाम दिएर प्रकाशन गरेर हाम्रासामु ल्याएका छन्। कभर बाहेक १३६ पेजमा फैलिएको यस पुस्तकले आफ्नै जीवनका बाल्यकाल , युवावस्था , शैक्षिक गतिविधि, सामाजिक जीवन,पारिवारिक गतिविधि,राजनैतिक सम्लग्नता,सङ्घ सस्थामा आवद्धता,र जागिरे जीवनका कथाव्यथाहरुको बिस्कुन सुकाएका छन मुरलीमोहन काफ्लेले। उनको आत्म सस्मरणले पाठकहरुलाई कतै मर्माहत बनाएको छ भने कतै गम्भिर बनेर सोच्न बाध्य बनाएको छ। पुस्तक पढ्दैजादा मनभित्र हुटहुटी पैदा गराएर आफ्नो बारेमा केही कुरा लेखौ लेखौको भाव जगाउछ।त्यसैले पुस्तक पठनीय बनेको छ।
मुरली सरको भाषा सरल सरस र बोधगम्य छ। विषयहरु छोटा छोटा बान्कीमा छन्।शिर्षकहरु कतिपय एक शव्दका छन । जन्म र बाल्यकाल ,परिवार, शिक्षण , राजनीति,अन्य व्यवसाय,वैदेशिक यात्रा र अनुभव, स्कुल सहकारी र समाजसेवा,काठमाडौ बसाइँ, पत्रकारिता, सहकारी अभियान र जीवनका खास-खास पानाहरु आदि मूख्य शिर्षकहरुमा मिलाएर मुठो बाधिएको उहाको किताबले एउटा मान्छेले जीवनमा केही न केही त गरिरहदो रहेछ भन्ने कुरा पढाउँछ। आखिर मान्छे किन चियागफ,रक्सीभट्टी,जुवातास ध्रुमपान र तमाम कुलतमा फसेर समाजलाई बोझ बन्छ भन्ने प्रश्न मान्छेका अन्तस्करणमा उब्जाइदिन्छ उनको सिर्जनाले। माहात्मा गान्धीले भनेझै "केही काम नभए जुम्रा मार्नु खालिहात कहिल्यै नबस्नु" हामी सबैले सोच्नु परेको छ।त्यही पाठ "पल्टिएका पानाहरु"ले पढाउन भ्याएको छ।हार्दिक आभार प्रकट गर्दछु लेखकलाई! मुलतः प्रगतिशील विचारले पोतिएको यो पुस्तकले मार्क्सवादी राजनैतिक इतिहासको धरातल कोट्याएको छ । विशेष गरि गण्डकी र धौलागिरी क्षेत्रमा कम्युनिस्ट राजनीतिको प्रचार प्रसारको ईतिहास यो पुस्तक्मा चर्चा गरिएको छ। साथै काफ्ले सरका जीवनका गौडा र गल्छेडा, घुम्ती र कुइनेटाहरु पनि छर्लङ्ग देखिएका छन् । मान्छेले बाच्न के के सम्म गर्नुपर्दो रहेछ भन्ने कुरा पनि ऐनामाझै प्रष्टसग देखिएको छ। खास गरेर नेपालको शैक्षिक क्षेत्रमा देखिएका सकारात्मक र नकारात्मक पाटोलाई सिपालु चिकित्सकलेझै चिरफार गरिएको छ।
शुभकामना र आफन्तका मन्तव्यले ५० पृष्ठ,महत्त्वपूर्ण दस्तावेजले ७ पृष्ठ,पारिवारिक फोटोले ८ पृष्ठ सस्मरण खण्डले ७१ पृष्ठ गरि जम्मा १३६ पृष्ठमा फैलिएको यो पुस्तक सानो भएर पनि खदिलो छ।त्यसैले भन्न सकिन्छ सत्यम शिवम सुन्दरम को नमुना बनेको छ। सरल भाषा, मिठासपूर्ण शैली, बोलीचालीका शब्द, छोटोमा गहन विचारको प्रवाह यसका विशेषताहरु हुन्। ठूला किताब पढ्ने समयको आभाव भएको वर्तमानमा गाठीकुरो नछुटेको छोटो शैलीको यो पुस्तकले दिन खोजेको सन्देस आफैमा महत्त्वको छ। नरिवलको पानी जस्तो गुलियो छ।महजस्तै हितकर छ।पाठकलाई यसले तानिरहन्छ।
यति हुदाहुदै पनि ठाउँ ठाउमा अक्षर छुट्नु,शव्दको अपकर्श हुनु,विषय सूची नहुनु, लेख भन्दा शुभकामनाका सन्देश धेरै हुनु , शिर्षकले समग्र लेख निबन्धलाइ प्रतिनिधित्व प्रदान गर्न नसक्नु यो किताबका कमजोरीहरु हुन्। सुन्दर कलेवरमा छपिएको यो किताबले नेपाली साहित्यका पाठकलाई राम्रै खुराक पस्किएको छ। पाठकहरुलाई कौतुहलताका साथै आफुले यस्तै सस्मरण लेखौकी क्याहो? भनेर झक्झकिएको महसुस गराउनेछ।
मुरलीमोहन काफ्लेले आफ्नो जीवनका सामाजिक आर्थिक राजनैतिक र शैक्षिक धरातलको सोलोडोलो रुपमा चर्चा गरेको यो पुस्तक पठनीय छ।सङ्ग्रहणीय छ।साथै अनुकरणीय पनि छ।आफ्नो जीवनको आत्मकथा लेखेर नेपाली साहित्य भण्डारलाई दिएकोमा हार्दिक धन्यवाद!