19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

शब्दसँगै घुम्न पाइने यात्राभित्रको यात्रा : लन्डिनियम

कृति/समीक्षा डा. शैलजा पोखरेल December 2, 2025, 4:25 pm
डा. शैलजा पोखरेल
डा. शैलजा पोखरेल

नेपाली साहित्यजगत्मा कृष्ण बजगाईंको १८ वटा छुट्टाछुट्टै पूर्ण अस्तित्व भएका नियात्रा समेटिएको छैटौं नियात्रा संग्रह ‘लन्डिनियम’ प्रकाशित भएको छ। बेलायत, नेदरल्यान्डस् र जर्मनीका भ्रमणको उपजबाट निस्किएको यस नियात्रा संग्रहले ती स्थानमा लुकेका इतिहासका जीवन्त आत्मालाई खोतलेर पाठकलाई देखाउने काम गरेका छन्। बजगाईँ ती देशमा भएका बहुप्रचलित, ऐतिहासिक रूपले महत्त्वपूर्ण र नौला स्थानमा भ्रमण गर्दै आफूले अनुभव गरेका र देखेका दृश्यलाई कुशलतापूर्वक शब्दहरूमा कुँदेर नियात्रा मार्फत ल्याएका छन्। भुँडीपुराण प्रकाशनबाट प्रकाशित ‘लन्डिनियम’को शीर्षक लन्डनको प्राचीन इतिहासबाट ल्याइएको छ। लेखकले नयाँ–नौला ठाउँहरू पुगेर त्यहाँको नौलोपनसँग नियात्रामार्फत नेपाली पाठकलाई परिचित गराएका छन्। नयाँ सोचले ती स्थानमा कसरी स्थान पाए भन्ने उपयोगी र रमाइला जानकारी समेटिएका छन्।

नियात्राकार बजगाईँ यस कृतिमा प्राकृतिक सुन्दरतामा अलि धेरै रमेको देखिन्छन्। प्रकृतिको अनेक किसिमको वर्णनमा रमेका बेला प्रकृतिकै एउटा पाटाका रूपमा सुन्दरी वा महिलाको वर्णन नियात्रामा प्रशस्तै भेटिन्छन्। शृंगारिता यो संग्रहमा भेटिने अर्को विशेषता हो। नियात्रामा विम्बको रूपमा प्रयोग गरिएका शब्दहरूले पाठकलाई शृंगारिक भाव धाराका कविता झैं मनमा तरंगित बनाउँछन्। सुन्दरी, महिला र तिनका प्राकृतिक र अप्राकृतिकताको वर्णन गर्दै नियात्राकारले प्रस्तुत गरेको शृंगारिक भावले पाठकको मन बिथोल्ने कामभन्दा पनि बिथोलिएको मनलाई सही ठाउँमा ल्याउने र उपयोगी शिक्षा दिने काम गरेको देखिन्छ।

ऐतिहासिक धरातलमा खुट्टो टेकेर पुगेका ठाउँको खोजी र वर्णन गर्नु उनका नियात्रामा पाइने मूल विशेषता हुन्। त्यही विशेषता यस संग्रहमा पनि प्रशस्तै पाइन्छ। कार्ल माक्र्सले शरणार्थी जीवन बिताएको स्थानको भूत र वर्तमानको वर्णनले नेपाली पाठकको ज्ञानको सीमालाई तन्काउने काम गरेको छ। नेपालमा कम्युनिस्ट राजनीति गर्नेले साह्रै धेरै प्रयोग गर्ने कार्ल माक्र्स साहित्यमा पनि प्रगतिवादका प्रतिपादकका रूपमा भेटिन्छन्। तिनै माक्र्सले भाडामा बसेको बेलायतको घर, त्यो घरको अवस्था आदिको खोजी र वरपरका दृश्यका वर्णन ज्ञानवद्र्धक छन्। कार्ल माक्र्सको सिद्धान्त टेकेर नियात्राकारले गरेको व्याख्याले नेपाली माक्र्सवादीहरूलाई झस्काउँछ।

युद्ध र त्यसको मारमा परेका स्थानको खोजी गर्दै जर्मनीमा हिटलरको यातना गृह, ग्याँस च्याम्बरको कथा व्यथाको वर्णन र सूचनाले पाठकका मनमा दोस्रो विश्वयुद्धताका त्यहाँका मानिसले भोगेको दुःखको गहिरो बोध गराउँछ। बजगाईँ जुन ठाउँमा पुग्छन् त्यहाँको ऐतिहासिक जगलाई खोतलेर ज्ञानवद्र्धक सूचनाको खोजी गर्छन्। उनी यस्तो सूचना निकाल्छन्, जसको सतही ज्ञान त पाठकलाई हुनसक्छ तर त्यो ज्ञानमा पूर्णता भने बजगाईंको नियात्राले नै गराउँछन्। त्यस्तै ऐतिहासिक ज्ञान उनले बर्लिनबाट पनि ल्याएका छन्। दोस्रो विश्वयुद्धका कारण दुई देशमा विभाजित जर्मनीको बर्लिन पुगेर गरिएको त्यहाँको दृश्यको वर्णन मार्मिक छ। विकसित जर्मनीलाई टुक्र्याएको स्थानमा पुगेका उनले ल्याएको भाइचारा चुम्बनको उदाहरण नेपाली कम्युनिस्टहरूलाई उपयोगी हुन सक्छ भन्ने उनको ठम्याइँ छ।

नियात्राकारको कवित्व, कविताप्रतिको झुकाव र कवितात्मक गुण नियात्राका वर्णनमा प्रशस्त देख्न सकिन्छ। नदीमाथि तैरिरहेको पुस्तक पसल जाँदाको काव्यात्मक र चित्रात्मक प्रस्तुतिमा पाठक उनीसँगै शब्दहरूमा खेल्न थाल्छन्। उज्यालो दिनको वर्णन गर्दा मायालु रापको अनुमान लगाउन थाल्छन् पाठकहरू। नियात्राकारको कवि व्यक्तित्व नियात्राभित्र अनेक रूपमा भेटिन्छन्। उनको यस्तो प्रस्तुतिले नियात्रा भनेको गद्य कविताजस्तो पनि हुन सक्छ भन्ने साहित्यिक मान्यतालाई पुष्टि गर्छ। बजगाईंका नियात्रामा जताततै भेटिने काव्यात्मक अभिव्यक्तिले पाठकको कवि मन मौलाउँछ। पाठकहरू ‘पोएट्री फार्मेसी’मा पुगेर कविताको क्याप्सुल खाँदै रमाउन थाल्छन्। पोएट्री वाकमा कविता प्रेमीसँग हिँड्दा लेखकलाई भावुक बनाउने कवितात्मक शक्ति यस नियात्रामा देख्न पाइन्छ।

यस संग्रहमा घुम्न पाइने धेरै स्थानमा आजभन्दा पहिलेका नियात्राकार घुमे कि घुमेनन् भनेर पाठकलाई एकछिन सोच्न बाध्य बनाउँछ। नियात्रामा पाठकका लागि थुप्रै नौला र अचम्मलाग्दा जानकारी छन्। बाथ सहरको दृश्य र त्यहाँको जानकारी; नेदरल्यान्डस्को बतासे गाउँमा हावाको उपयोग गर्ने तरिका र हाम्बर्गमा पुग्दा प्रसिद्ध खाना हाम्बर्गरको इतिहासका नयाँ जानकारी नियात्रामा पाइन्छन्। महान चित्रकार पाब्लो पिकासोलाई सन् १९११ मा पेरिसको लुभ्र म्युजियमबाट चित्र चोरेको अभियोगमा थुनिएको कुरा र भान गोगका चित्रका प्राकृतिक रङहरूको सुन्दर समायोजनको वर्णन नेपाली पाठकलाई नयाँ लाग्छन्। त्यही नयाँपनमा मस्त हुँदै गर्दा नेपालीले कहिल्यै नसोचेको क्रेन होटल पुग्दा यात्रा वर्णनले कौतुहलता जगाउँछ। लेखकले आँट गर्न नसके पनि क्रेन होटलको बसाइको अनुभव पाठकलाई पनि लिउँ लिउँ जस्तो लाग्ने बनाउँछ ।

नियात्राकारका केही व्यक्तिगत रुचि पनि खुलारूपमा आएको देखिन्छ। उनी कवि हुन्, कवि र साहित्यकारको सम्मान गर्छन्। उनी इतिहासमा भएका तर वर्तमान समयमा ओझेलमा परेका स्थानहरूको खोजकर्ता हुन्। यिनी इतिहासको खोजीमा विशेष किसिमले रमेका देखिन्छन्। स–सानाजस्ता लाग्ने ठाउँका इतिहास खोजेर नियात्रामा तिनलाई विशेष बनाउने खुबी उनमा देखिन्छ। लन्डिनियम नियात्रा संग्रहका नियात्राहरूमा उनले आफ्नो नियात्रात्मक प्रवृत्तिअनुसार पुगेका स्थानका ऐतिहासिकता खोजी गरेका छन्। जानकारी र मनोरञ्जनको उचित सम्मिश्रणका कारण पाठकलाई उनका हरेक नियात्रा रुचिकर लाग्छन्। नियात्रामा वर्णन भएका स्थान, बाटा र त्यहाँका दृश्यमा पाइने प्राकृतिक सुन्दरताको काव्यात्मक अभिव्यक्तिले नियात्रालाई अझै रोचक बनाउने काम गरेका छन्।

नियात्राकार घुमेका ठाउँको विकास, त्यहाँको इतिहास, धार्मिक तथा सांस्कृतिक वर्णनसँग नेपालको परिवेश जोड्दै गरिएको चित्रात्मक प्रस्तुतिले नियात्रालाई सहज र बोधगम्य बनाएको छ। नियात्राकारमा आफू जन्मेको देशको विकास होस् भन्ने चाहाना राख्छन्। उनी युरोपमा घुम्छन् तर मनमा नेपालमा के गर्दा राम्रो हुन सक्छ भन्ने सोच राख्छन्। आफू घुमेका स्थानसँग नेपालको परिवेशको कल्पना गर्दै सम्बन्धित निकायलाई नियात्रामार्फत झकझक्याउँछन्।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।