साहित्य सृजनाको प्रयोजन वा उद्देश्य साहित्यकारको चिन्तन , अनुभूति र मनोयोगले तय गर्दछ । चिन्तनको सतह विस्तारित हुँदै जीवन र जगत्का पहेलीहरूमा कला , सौन्दर्य र चेतनामयी त्रिवेणीका त्रि-तरङ्गमा डुबुल्किंदै संश्लेषण र विश्लेषणहरूमा रङमङिन पुग्दछ । मानवले सृष्टिबाट पाएको अनमोल उपहार आनन्द नै हो । चेतनाले आनन्दलाई जाग्रत गराउने हुँदा सत्यं शिवं सुन्दरम् हुँदै ब्रह्मानन्द सहोदर'को अनुभूत गरी काव्याचार्यहरूले आत्मास्वादनलाई नै आनन्द मानेका तथ्यहरू भेटिन्छन् ।साहित्यमा चार प्रमुख विधाहरूमा कविता , नाटक , निबन्ध आख्यानहरू पर्दछन् । साहित्यकारले रुचि अनुकूल विधा तय गर्दछ ।
मैले यो टिप्पणीपरक लेखमा निबन्धको अत्यन्त सङ्क्षेपमा सतही चर्चा गर्नेछु । सन्दर्भ जोडेर भनौं- 'पोखराथोक साहित्य सङ्गम पाल्पाले एउटा भव्य साहित्यिक कार्यक्रमको आयोजना गरेको थियो' र संयोगले आदरणीय गुरु डिल्लीराज अर्यालसँग साक्षात्कार हुने अवसर पाउँदै गर्दा मैले उहाँको व्यङ्ग्य सङ्ग्रह ' टोलटोलमा राजा ' ( निबन्ध २०७८ ) उपहारस्वरूप पाएको थिएँ । यतिखेर म सोही कृति पढ्दै छु र आफू खासै समालोचक नभए पनि हल्का विचार पोख्ने पाठकीय सोच बनाउँदै छु । उहाँले एकदर्जन जति निम्न पद्य र गद्यका कृतिहरू नेपाली साहित्यको मन्दिरमा अर्पण गरिसक्नुभएको छ ।
क, पद्यात्मक कृतिहरू : ' नेपालमै जान्छु म ( २०३४ ) , सरिता ( २०४५ ) , ठुले राई ( २०६० ) , भन्नै पर्यो सुन्नै पर्यो ( २०६० ) , धर्मयुद्ध ( २०६४ ) , त्रासदी ( २०६८ , डहरे ( २०७४ ) । ख, गद्यात्मक कृतिहरू : रहस्य ( २०४७ ), रातमा सूर्य दिनमा तारा ( २०५७ ), घोल्कीमा बस्ने रहर ( २०६१ ), झलझली आँखामा ( २०६८ ) , टोलटोलमा राजा ( २०७८ ) आदि चर्चित कृतिहरू छन् । उहाँको सम्पादनमा 'डाँडाकाँडा हेर्ने रहर '( २०७६ ) पृथक् शैलीमा देखिन्छ ।
आजको खबर मिडिया प्रा लि द्वारा प्रकाशित यस कृतिमा डिल्लीरमण सुवेदीको प्रकाशकीय र बाह्यावरणमा प्राज्ञ विष्णु प्रभातको शुभकामना मन्तव्य रहेको छ । स्वयं कृतिकारले पनि 'कसले सुन्छ र सुनाउनु यस्ता कुरा ' भन्दै गुनासाका व्यङ्ग्यले सुरुमै पाठकको मन तान्नुहुन्छ र मनग्गे व्यङ्ग्यको प्रहार गरी लेखिएका सोह्रवटै निबन्धहरू नपढी चैनसित बस्न सकिदैन । ...अनि भन्न मन लाग्छ ' तब न गुरुको व्यङ्ग्यको झटारो ! लेखनीको जादुमय चमत्कार !
देशमा विद्यमान विद्रूप र विश्रृङ्खलित राजनीतिक-पर्यावरण , बढ्दो विकृति विसङ्गतिजन्य सामाजिक परिवेश , आडम्बरयुक्त जीवनशैली , दिशाहीन विकृत राजनीतिक तुवाँलोले व्याप्त सेरोफेरो र गाउँबाट शहर , शहरबाट विदेशतिरको निर्गमनका चापजस्ता वस्तुविन्यासले युक्त दिनोत्तर खस्किंदो नेपाली मनोविज्ञानको टिठ लाग्दो चित्रको वास्तविकता नै टोलटोलमा राजा हुनुको बिगबिगीले काम गरिरहेझैं लाग्दछ । यिनै समसामयिक वस्तुविन्यामा अवलम्बित शीर्षकको चयनबाट 'अब सम्धीहरूको पालो' मा नातावादले नराम्ररी जरा गाड्दै गएको र छोरा-बुहारी , ज्वाइँ-छोरी , भान्जा-भान्जी , मामा-माइजूबाट बढेर सम्धी-सम्धिनीतिर फैली सकेको नातावादजन्य सङ्क्रामक रोगले राजनेताहरू पीडित रहेको तथ्यप्रति व्यङ्ग्य लक्षित छ । 'अर्थमन्त्रीको प्रस्ताव' मा पार्टीको क्षमतावान भन्दा पनि आफ्ना झोलेहरूमा मन्त्रीपद बाँडिने शृङ्खला बढ्दो छ । 'आयो ! आयो ! आयो !' मा 'के आयो ?' कुरै नबुझी कागको पछि दगुर्नेहरूले नै 'खालि भत्कियो , बिग्रियो मात्र' एकोहोरो अलाप्दै 'गाईजात्रदेखि टायर जात्रासम्म ' कुँदिरहने घातक राजनीतिक विदूषकहरूबाट प्रताडिनुपरेको यथार्थलाई व्यङ्ग्यले उजागर गरेको छ । 'जाबो दरबार , भान्छे , पियनको दरबार' भित्रबाट ' परमादेशको खोजीमा ' रहनु आजका नागरिकले ' पर्खनु हाम्रो धर्म ' भन्दै कहिले प्रजातन्त्रको त कहिले नयाँ नेपालको पर्खाइझैं अगुवाहरूको पर्खाइमा कालक्षेप गर्नुपर्दाका पीडाहरूलाई उक्काउँदै 'बारी खेत पनि टाल्न सकियो भने !' गरिबी , अभाव , जातीयता र वर्गीयताका प्वालहरू सहजै टाल्न सकिने तथ्यले ' म त हाँसेको हाँस्यै' , 'म पनि क्रान्ति गर्छु' भन्दै जनतालाई झुक्याउँदै राष्ट्रिय ढुकुटी रित्याउँदै ' यही हो मेरो आइडिया' भनी सत्तालिप्सुहरूबाट देश टाट पल्टिसकेको बिम्ब-चित्रमय व्यङ्ग्य-बिस्कुन अवलोकन गर्न सकिन्छ ।
यत्रो सङ्घर्ष गरेर गणतन्त्र ल्याए पछि गाउँ-गाउँमा राजधानी र टोलटोलमा राजा नभए आन्दोलनको के अर्थ , वलिदानको के औचित्य ? 'यो जाली कि त्यो जाली ...?' को जोखनामा ' विधि पद्धति र नेताजी' को चक्रव्यूहमा ' समाजवादको मूल मर्म' परेझैं 'समास भन्दा विग्रह जाती ' को सूत्र 'विधानमा भए जाति नभए झन् जाति । समास गरे पछि विग्रह नगरी सुख मिल्छ र ? कारण समास भन्दा विग्रह जाति , मेलमिलाप भन्दा द्वन्द्व जाति अनि विकाश भन्दा विनाश जाति हुने लाक्षणिक व्यङ्ग्य- विग्रह र हास-परिहासबाट समाजमा धानिन , उक्सिन र फौसिन सहज हुँदैन र ? ! भनी समग्रमा देशको समसामयिक परिस्थिति र परिवेशप्रति गहिरो तर यथार्थ व्यङ्ग गरिएकाले कृति सुन्दर पठनीय बनेको छ । यति स्तरीय र उत्कृष्ट कृति उपहारस्वरूप दिनुहुने कृतिकारबाट फेरिफेरि पनि यस्तै कृति पढ्न पाइयोस् । यिनै शुभभाव राख्दै विश्राम लिन्छु । सर्वे भवन्तु सुखिन: ...!
रत्ननगर चितवन।