क्षण–क्षण ढल्छ स्वरुप,
तर अस्तित्व अडिग रहन्छ ।
मनभित्र कतै निस्कन्छन् सूक्ष्म
चेतना, प्रकाश, र गति बन्दै
अनेकार्थी चलचित्र बिचित्र,
जसलाई हामी जीवन भन्छौँ ।१।
बितेका दिनहरू थिए अनित्य,
आउँदो समय अनिश्चित र
खुल्दैछन् अज्ञेय स्वरमा ।
हामी त केवल - जिउँदो,
श्वासका लघु-तरङ्ग हौं,
छल्किने, थामिने, र हराउने ।२।
संसार यो चलायमान छ,
हाम्रो चित्त भने कहिले नदी,
कहिले समुद्र, गुणवत्ता एकै
तर, पहिचान अलग थलग,
आखिर सत्य - जहाँ शान्ति,
त्यही बस्छ स्व-धर्म ।३।
दुःख सँधै प्रश्न भएर आउँछ,
सुख उत्तरको भेषभुषामा ।
दुवैलाई अङ्कुरझैँ स्वीकार्दा
मानिस बन्छ - पूर्ण, प्रबुद्ध,
स्व-प्रज्वलित आत्माभित्रको
एक उज्वल दीपशिखा ।४।
अन्त्य कहीँ हुँदैन - जीवन,
केवल परिवर्तनको संगीत ।
समात्न खोज्छौँ निरर्थक,
वास्तवमा हो - अपृश्य सत्य
आत्माको नित्य-यात्रा,
एक अदृश्य र अनन्त मार्ग ।५।
कोटेश्वर, काठमाण्डौ, हाल - ब्रिसवेन, अस्ट्रेलिया।