विषय प्रवेश:
लन्डिनियम (२०८२) कृष्ण बजगाईंद्वारा लेखिएको १८ ओटा नियात्राहरूको सङ्ग्रह हो । आकर्षक आवरणमा सजिएको १८८ पृष्ठको यो कृति हातमा लिँदै गर्दा मनको कुनै कुनामा कृतिभित्र कतै कुनै नियमको कुरा त गरिएको छैन भन्ने लाग्छ । तर, जब कृतिभित्रको नवौँ रचना लन्डिनियममा कामुक सुन्दरी पढिन्छ, तब मुक्त बनिन्छ यो भ्रमबाट र कसरी लण्डन नामाकरण गरिएको रहेछ भन्ने रहस्य उद्घाटित हुन्छ । बजगाईंको छैटौँ नियात्रा सङ्ग्रह लन्डिनियम (२०८२) भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको हो ।
सम्बोधन अनौपचारिकः
सोध्न मन छ कृष्ण बजगाईंलाई भेटेर– उनको साथमा बसेर, उनैलाई मन पर्ने अमेरिकानो कफीको चुस्की लिंदै, ‘ए दाजु कसरी छान्छौ हँ नियात्राको शीर्षक, कुन आधारमा छनोट गर्र्छौ गन्तव्यस्थल र भ्याउँछौ कसरी, छोटो यात्रामा सारा टिपोट टिपेर नियात्रा लेख्न ? आम स्थललाई तिम्रा आँखाले कसरी विशेष देख्छन् र कुन शक्तिले पाठकलाई वर्णित ठाउँ पुगौँ पुगौँ लाग्ने हुट्हुटी जगाउने सामथ्र्य राख्छौ, हँ दाजु ?’ लन्डिनियम हातमा लिएर पठनबोधलाई शब्दमा उतार्दै गर्दा भावनाका यस्तै छालहरू उठदै, किनारा लाग्दै गए ।
नेपाली नियात्रामा बेलायतः
सम्झन्छु– नेपाली साहित्यमा यात्रा÷नियात्राका रुपमा बेलायतको प्रवेश । नेपाली साहित्यको फूलबारीमा ‘बेलायत’ शब्दले प्रवेश गर्नु अघि नै नेपाली भूमिमा वेलायतीहरूले पाइला टेकेका हुन्, पृथ्वीनारायण शाहले एकीकरण गर्नु अघि नै, जयप्रकाश मल्लको निमन्त्रणामा । समुद्रपारबाट नेपाली भूमिमा पहिलो पाइला बेलायतीहरूकै परेको थियो भने नेपाली यात्रा साहित्यमा पनि बेलायतले नै प्रवेश गरेको हो– जङ्गबहादुरको बेलायत यात्रा मार्फत । ताना शर्माको बेलायततिर बरालिँदा (२०२६) नेपाली नियात्रा साहित्यको कोसेढुङ्गो नै भइहाल्यो, जसबाट नेपाली नियात्रा साहित्यले जन्म लिएको मानिन्छ ।
बेलायततिर बरालिँदा (२०२६)बाट लन्डिनियम (२०८२)सम्म आइपुग्दा यात्रासंस्मरण र नियात्राका रुपमा बेलायतसँग सम्बन्धित थुप्रै फुटकर र सिङ्गै कृतिहरूले प्रवेश पाएका छन्, नियात्रा साहित्यमा । नेपाली साहित्यमा बेलायत प्रवेशको यही यात्राको पछिल्लो कडी हो– बजगाईंको लन्डिनियम । विगत पच्चिस वर्षदेखि युरोप विशेष गरी लामो समयदेखि बेलायतलाई कर्मथलो बनाउदै आएका बजगाईंका १० ओटा बेलायतका यात्रा अनुभूतिहरू यस कृतिमा अटेका छन्, बाँकी ८ मध्ये ४ ओटा जर्मन यात्रा र ४ ओटा नेदरल्यान्डस् यात्रासँग जोडिएका छन् ।
नियमको पुस्तक हो ?
‘कुन नियमको पुस्तक हो सर ?’ पुस्तक हातमा लिएर पढ्दै गर्दा एउटा विद्यार्थीले सोधेको प्रश्नले एकछिन सोच्न बाध्य बनायो । आकर्षक आवरणमा सजिएको लन्डिनियममाथि प्रथम दृष्टिपर्दा कुनै नियमको उल्लेख गरिएको कृति हो कि भन्ने प्रतिकृया मनमा जन्मनु अस्वभाविक होइन । नियमको कुनै उल्लेख नभए पनि एउटा नियममा बाँधिएर भने कोरिएका छन्– नियात्राका शब्दहरू, स्मृति, अनुभूति र यात्रालाई एउटा निश्चित मार्गमा भने हिँडाइएको छ लेखनमा, दृश्यको वर्णन, इतिहासको खोज र सूचनाको जानकारी । उनका नियात्राहरू पढ्दै गर्दा नियात्राकार लेखनको यही नियममा हिडेको अनुभूत हुन्छ ।
यात्रा छनोट र अनुभूतिमा बजगाईंः
मनमौजी यायावार हुन बजगाईं । कहिले आकस्मिक यात्राको योजना बनउँछन् र र हुँइकिन्छन् एक्लै आफ्नै गाडीमा कुनै ठाउँलाई गन्तव्य बनाएर । अलिकति समय पायो कि पुगिहाल्छन कतै न कतै घुम्नका लागि । र, अनुभूति र सूचना लिएर फर्किन्छन् । कहिले परिवारसँग निस्कन्छन् । आफन्तहरूको निमन्त्रणालाई स्वीकारेर पुग्छन नयाँ–ठाउँमा र खोज्छन् त्यस ठाउँको इतिवृत्ति । कहिले फरक भूगोल र प्रकृतिको खोजी गर्दै भौतारिन्छन् भने कहिले कुनै विशेष स्थानको छनोट गरेर त्यसकै गोलचक्करमा पाठकलाई हिडाइ रहन्छन् । जहाँ पुग्छन्, यात्राको आनन्द, दृश्यको सुन्दरताको अनुभूति आफूमात्र गर्दैनन्, अनुभूतिलाई एउटै शब्द मालामा उनेर नियात्रा लेख्छन् र हिडाउँछन् पाठकलाई सँगसँगै ।
लन्डिनियभित्रका नियात्राहरू पढ्दा यात्राका लागि उनले छनोट गर्ने गन्तव्यबारे केही जानकारी पाइन्छ । उनी कुनै चर्चामा रहेको स्थान वा भूगोल मात्र छान्दैनन् । सामान्यतया कम चर्चामा रहेको वा अरुले त्यति वास्ता नगरेको तर प्रतिकात्मक रुपमा विशेष अर्थ र महत्व बोकेको खास ठाउँमा पुग्छन् र छोटो समयको अवलोकनमा अथाह सूचना बोकर फर्कन्छन् । अनि, बखान गर्छन् त्यसको प्रतिकात्मक महत्वलाई र शब्द शक्तिले विशेष बनाइदिन्छन् । केही साथीभाइको सुझाव, केही पत्रिकाको चर्चालाई आधारमा पनि पुग्छन् कतिपय ठाउँमा ।
यात्राको योजना; आकस्मिक/प्रायोजित :
लन्डिनियम भित्रका १८ वटा यात्रा मध्ये दुईओटा यात्रामात्र प्रायोजित रहेको छ । उना मासन लाइब्रेरी र पोएट्री लाइब्रेरीको आयोजनामा सम्पन्न भएको पोएट्री वाकमा सहभागीता जनाएपछि लेखिएको लण्डनमा ‘पोएट्री वाक र बुकवार’ र डा. हेइकोले आयोजना गरेको ‘कार्ल माक्र्स वाकिङ टुर’मा सहभागी भएपछि लेखिएको शरणार्थी कार्ल माक्र्सका पाइला पछ्याउँदा बाहेकका १६ वटा नियात्राहरू केही आकस्मिक योजना र केही पूर्व तयारीका साथ गरिएको एकल र पारिवारिक यात्राबाट जन्मिएका नियात्राहरू हुन् ।
ठाउँ विशेष होस् वा नहोस्, उनलाई विशेष लागेका ठाउँमा उनी पुगिहाल्छन् र फर्कन्छन् सूचना र अनुभूति सङ्कलन गरेर । चर्चा सुनेका खास खास ठाउँमा पुग्नु, त्यसको इतिहास खोतल्नु र तत् ठाउँको ऐतिहासिक वा साहित्यिक महत्वलाई पर्गेल्दै आफ्ना दृष्टि प्रस्तुत गर्नुका उनका नियात्राका विशेषता देखिन्छ ।
अनुभव गर्नकै लागि नाङ्गाहरूको गाउँ भ्रमण गर्ने योजना बन्नु, हल्लाकै भरमा नर्दन लाइटस्को दर्शन गर्न कोस्र्बीमा पुग्नु, पोएट्री फार्मेसी, बुकवार र हाउसबोटमा पुस्तकको खोजी गर्दै भौतारिनु उनका यात्राका सुन्दर आलेखहरू हुन्, जहाँको अवलोकनको भोकले उनलाई यात्रामा ढो¥याएको छ । र, मनमननै बनाएको योजनालाई साकार रूप दिन समय मिल्नासाथ बत्तिने गरेका छन्, कहिले आफ्नै गाडीमा त कहिले ट्रेन समातेर । त्यसैले उनी कुन लहडमा कहाँ पुग्ने योजना बनाउँदै छन्, उनको परिवारले समेत पत्तै पाउँदैनन् सायद ।
यात्रा; साधारण र विशिष्टः
लन्डिनियमका नियात्राहरू पढ्दै गर्दा यस्तो लाग्छ– यात्रामा निस्कनका लागि उनलाई कुनै विशेष तयारी आवश्यक छैन, न त त कुनै विशिष्ट पर्यटकीय स्थलको नै आवश्यकता पर्दछ । समयले साथ दिएमा मनको लहडमा निस्किहाल्छन् उनी ।
उनी पुग्छन् सामान्य ठाउँमा तर उनको आँखाले विशेष देख्छ र नियात्रामा त्यस ठाउँको महत्तालाई माझ्ने काम गर्छन् र उजिल्याउँछन । अरुले खासै वास्ता नगरेका ठाउँमा पुग्छन र उनको आँखाले त्यसलाई विशिष्ट देख्छन् । विना तयारीको यात्राका रोमान्चक बर्णनहरू नियात्रामा पस्कदै उनी पल्टाउँछन् इतिहासका पत्रहरू, वर्तमानमा त्यसको महत्व र समकालीनमा त्यसको प्रभाव ।
उनी पुग्छन् सामान्य लहडमा जन्मिएको पानीमाथि तैरिइरहेको पुस्तक पसलमा र लेख्छन्– पानीमाथि तैरिरहेका शब्दमा आफ्नो विशिष्ट अनुभूति, पोयट्री फार्मेसीमा पुग्छन् र कविताको शक्ति पर्गेल्छन्– लन्डनको ‘पोएट्री फार्मेसी’मा एक चक्कर मार्फत । बुकबार पुग्छन् र सोमरसको चुस्कीसँगै साहित्यको नशामा डुब्न चाहन्छन् । युद्ध र विभाजनको विम्ब बनेको बर्लिनको पर्खाल पुगेर इतिहासको क्रुर आहट सुन्छन् र भाइचार चुम्बनको चित्र हेरेर शान्तिको सास फेर्दै फर्कन्छन् । रेडलाइट एरिया पुग्छन् र दार्शनिक जस्तै गम्भीर बनेर विश्व यौन बजारको चिन्तन प्रस्तुत गर्दछन्् ।
कहिलेकाही पाठकीय मन रनभुलमा पर्छ– उनी पुगेको ठाउँ विशेष हो कि उनको लेखनी ! कतिपय नियात्राको प्रारम्भिक वर्णनमा प्रवेश गर्दा यस्तो ठाउँमा पनि के हेर्न पुगेका होलान नियात्राकार भन्ने भावना मनमा पैदा हुन्छ । तर, नियात्राको अन्तिममा पुग्दा– हो त, नेपालमा चाहिँ यस्तो कहिले हुन्छ होला, वा किन नभएको होला भन्ने सोच्न बाध्य पार्छ ।
उनले यात्राका लागि छनोट गर्ने ठाउँ, प्राकृतिक भन्दा बढी साहित्यिक महत्व र ऐतिहासिक महत्व बोकेका हुन्छन् । उनको दृष्टि भौतिक दृश्यमा मात्र पुग्दैन, इतिहासका पत्रहरू खोतल्दै मानव सभ्यता त्यसको प्रभाव र महत्वको अन्तरलयलाई नियाल्न पुग्छन र त्यो अन्तरलयमा शान्ति र समुन्नतिको गहिरो आकांक्षा व्यक्त गर्छन् । त्यसैले, उनी जहाँ पुग्छन् शब्दशक्तिले त्यसलाई विशिष्ट बनाउँछन् ।
पाठकीय परिभ्रमणमा नियात्राहरूः
लन्डिनियम भित्र नियात्रा मार्फत नियात्राकारले पाठकलाई आफूसँगै बेलायतको लन्डन, नेदरल्यान्डस् र जर्मनका केही ठाउँहरूको भ्रमण गराउँछन् । बेलायतसँग सम्बन्धित १० ओटा नियात्राहरू मध्ये पनि नौ ओटा नियात्राहरू बेलायतको राजधानी लन्डनको विशेष ठाउँहरूको अवलोकनसँग सम्बन्धित रहेको छ भने एउटा नियात्रा लन्डनबाट १५० कि.मि. टाढा बाथ सहरको आकस्मिक भ्रमणको अनुभूतिसँग जोडिएको छ ।
उनी पुग्छन् हाउसबोटमा सञ्चालिन पुस्तक पसल, कवितालाई औषधीका रुपमा बेच्ने पोएट्री फार्मेसी र बुकबारको अवलोकन गर्न । र, व्यावसायको फरक सोचको जानकारी दिँदै नवीन सोचको सम्मान गर्छन् । पानीमाथि तैरिरहेका शब्द, लन्डनको ‘पोएट्री फार्मेसी’मा एक चक्कर र लन्डनमा ‘पोएट्री वाक र बुकबार’ नियात्रा बेलायतमा गरिएको व्यवसायको नवीन प्रयासको जानकारी मात्र होइन पठन संस्कृतिको नवीन अभ्यासको अभिलेख पनि हो, लेखक, पुस्तक र पाठकलाई जोड्ने नयाँ प्रयास पनि हो । यी नियात्रा पढ्दै गर्दा मनमा प्रश्न जन्मन्छ– सद्भावना र पाठकीय सद्इच्छा अनि साहित्यिक सद्भावले मात्र कति समय टिक्लान् यस्ता व्यवसायहरू ?
भान गोगलाई खोज्दै आम्सटर्डाममा, जर्मनीमा पाब्लो पिकासोसँग, हाम्बर्गमा विटल्सलाई खोज्दा नियात्राहरू कला र सङ्गीतको खोजसँग सम्बन्धित रहेको छ । शेक्सपियरको मन्दिरमा नेपाली भक्त शेक्सपियरको साहित्यिक योगदान र उनको विचारलाई खोतल्ने नियात्रा हो ।
लन्डिनियममा कामुक सुन्दरी, बर्लिनमा भाइचारा चुम्बन, हिटलरको यातनागृहमा रोएको मन इतिहास सम्झाउने सुन्दर नियात्राहरू हुन् । शरणार्थी कार्ल माक्र्सका पाइला पछ्याउँदा नियात्रामा माक्र्सको जीवनी र सङ्घर्षको स्मरण गर्दै उनको समग्र दर्शनको लेखाजोखा गरिएको छ । यो नियात्रा पढ्दा कुनै दार्शनिक निबन्ध पढ्दै गरेको अनुभूति हुन्छ । नियात्राभित्रका दृश्य वर्णनले दर्शनको विषय नियात्राको लयमा समाहित हुन्छ । यस नियात्रामा नियात्राकार कतै आग्रही बनेको अनुभूति हुन्छ भने कतै नेपालको भविष्यप्रति चिन्तित देखिन्छन् ।
बाथ सहरमा घामपानीको स्नान, लिटिल भेनिसमा रोमान्टिक मन र नेदरल्यान्डस्को बतासे गाउँमा हावा मिल प्राकृतिक सौन्दर्यको अवलोकन र इतिहामको खोज गरिएकोे नियात्रा हो ।
नाङ्गानाङ्गीहरूको गाउँमा, कोर्स्बीमा नर्दन लाइटस् र आम्सटर्डामको सडकमा बरालमिङ नियात्रा नितान्त वैयक्तिक अनुभूतिलाई प्रस्तुत गर्ने नियात्राहरू हुन् । नियात्राकार अनुभूति संगाल्नकै लागि तत् ठाउँमा पुगेका छन् ।
समग्रमा, उनका १८ ओटा नियात्राहरूलाई साहित्य, कला र इतिहासको खोज यात्रा, अनुभूति यात्रा र प्राकृतिक सौन्दर्य अवलोकन यात्राका रूपमा विभाजन गर्न सकिन्छ । ७ ओटा नियात्राहरू कला र साहित्यिक महत्व बोकेका ठाउँसँग सम्बन्धित रहेका छन् । यी नियात्राहरूमा नियात्राकार साहित्यको सामथ्र्यको वखान गर्छन्, कलाको महत्वको खोजी गर्छन् र साहित्य र कलालाई सम्बन्धित राज्यले दिएको सम्मानप्रति नतमस्तक बन्दै नेपालमा राज्यले भाषा–साहित्यप्रति देखाएको उदाशीनता सम्झेर मन कुड्याउँछन् ।
नियात्रामा जानकारीमूलक सूचना र अनुसन्धानः
प्रविधिले यात्रालाई सहज बनाइदिएको छ । नियात्राकार छोटो समयमा गन्तव्यस्थलमा पुग्छन् र केही क्षणको अवलोकन पश्चात् फर्किहाल्छन् । अधिकांश नियात्रा पढ्दा यस्तै अनुभूति हुन्छ । तर, नियात्रामा उनले प्रस्तुत गरेका विषयहरू यति बृहत् हुन्छ कि सम्बन्धिन ठाउँको सूचनाको सङ्कलनका साथै निकै मिहिनेतका साथ विषयको खोज गरेका हुन्छन् । यात्राका दृश्यको वर्णनसँगै सूचनाहरूको जानकारी, जनजीवन र इतिहासको खोज, समयसन्दर्भमा त्यसको महत्व माथिको विचारको अभिव्यक्ति नियात्राको विशेषता हुन् । पाठकलाई सँगसँगै यात्रा गराउँछन् नियात्राकार र त्यसको इतिहास सुनाउँदै वर्तमानमा त्यसको महत्वको साक्षात्कार गराउँछन् ।
नेपाल चिन्तनः
बजगाईंका नियात्राहरूमा बारम्बार आउँछन्– नेपाल चिन्तन । विकासको चरम चुलीमा पुगेको बेलायतले प्राचीन सम्पदा संरक्षणमा देखाएको चासो देखेर नेपालले देखाएको उदासिनताप्रति नियात्राकार चिन्तिन हुन्छन् । सामान्य जस्तो लाग्ने ठाउँलाई पनि पर्यटकीय क्षेत्रको रूपमा विकास गरेको देखेर नेपाललाई सुझाव दिन पुग्छन् नियात्राकार । नदीको स्वच्छता कायम राख्न बेलायत र नेदरल्यान्डस्ले गरेको प्रयत्न देखेर नियात्राकार वागमती नदीको प्रदुषण सम्झन्छन् र चिन्तित हुन्छन् ।
भाषा–साहित्यको मायाः
भाषा साहित्यप्रति नियात्राकारका निकै श्रद्धाभाव देखिन्छ । साहित्यकार र कलाकारका मूर्तिहरू राखिएका ठाउँमा उनी श्रद्धाले नमन गर्छन् । साहित्यकारलाई सम्मानका साथ स्थान दिएकोमा राज्यप्रति आभारी व्यक्त गर्छन् र नेपालमा सत्ताले साहित्यलाई बेवास्ता गरेकोमा आलोचना गर्छन् ।
उनको यात्राको गन्तव्य छनोट फरक छन् । लेखक÷कलाकारको स्मारक, आवास र समाधिस्थल उनको यात्राको प्राथमिकतामा पर्दछ । यस्ता ठाउँमा उनको मन बढी रमाएको देखिन्छ । त्यस्ता ठाउँमा पुगेपछि नियात्राकार दार्शनिक जस्ता बन्छन् र चिन्तन गर्छन्– समाज, समय र साहित्यको अन्तरसम्बन्धमाथि ।
पानीमाथि तैरिरहेको शब्दमा होस् कि लन्डनमा ‘पोयट्री वाक र बुकबार’ वा शेक्सपियरको मन्दिरमा नेपाली भक्तमा होस्, पुस्तक, पठन संस्कृति र साहित्यले समाजमा पार्ने प्रभाव बारे खुलेर विचार व्यक्त गरेका छन् ।
लन्डनको ‘पोएट्री फार्मेसी’मा चक्कर नियात्रालाई त कविता चिन्तनको उत्कृष्ठ नमूना मान्न सकिन्छ । यस नियात्रामा कविताको शक्तिमाथि सशक्त विचार व्यक्त गरिएको छन् । यस नियात्रामा नियात्राकारले व्यक्त गरेको नेपाली कविता राजनीतिक र नाराबाजीमात्र बढी हुन्छ भन्ने विचारमाथि भने सहमत हुन सकिँदैन । यस्तो लाग्छ– पछिल्लो चरणको कविताको अध्ययन उनले कम गरेका छन् । कविता लेखिएको ठाउँमा पुग्दा निकै भावुक हुन्छन् नियात्राकार । विदेश भूमिमा देवनागरी लिपी लेखिएको देख्दा मात्र पनि आफन्त नै भेटिएजस्तो लाग्छ उनलाई । भाषा साहित्यप्रतिको माया र सम्मान, अनि कवि मन भएका कारण भावनामा बहकिएका हुन् नियात्राकार ।
अन्तिम सम्बोधनः
ढुङ्ग्याउनु छ मैले, यो अनौपचारिक सम्बोधनलाई, यो पाठकीय अनुभूतिलाई । बेलायतलाई कर्मथलो बनाएर प्रवासी जीवन बिताइरहेका कृष्ण बजगाईं नेपाली साहित्यका अविश्रान्त साधक हुन् । यसअघि नै उनको ५ ओटा नियात्रा सङ्ग्रह, प्रकाशित छ । नियात्रा बाहेक, कथा, लघुकथा, हाइकु लेखनमा उनको कलम कुदिरहेकै छ । दुई दर्जनभन्दा वेसी कृतिहरू प्रकाशित छन् उनका । बालसाहित्य लेखनमा पनि सक्रिय छन् ।
नियात्रा लेखनको छैटौँ कृतिमा आइपुग्दा उनले आफ्नो विशिष्ट पहिचान बनाएका छन् । हरेक नियात्रामा नवीन कुराको जानकारी दिनु, सामान्य ठाउँलाई पनि शब्दशक्तिले विशिष्ट बनाउनु, व्यापक सूचना सम्प्रेषण गर्नु, इतिहास खोतल्दै इतिहासको विशिष्टता र वर्तमानमा त्यसको महत्व दर्शाउनु उनको लेखनगत विशेषता हुन् । नियात्रा लेखनमा उनको सक्रियता देखेर सोध्नमन लाग्छ– ‘ए दाजु, तिमी लेख्नका लागि यात्रा गछौ कि यात्रा गरेर लेख्छौ ? प्रवासी जीवनको व्यस्ततामा कसरी निकाल्छौ हँ लेख्ने समय ?’
कामना छ– अविश्रान्त चलिरहुन् उनका कलम र उनीसँगै घुम्न पाइयोस् नयाँ नयाँ ठाउँहरू, उनका नियात्रासँगै ।
गोरखा ।
साभारः शब्दाङ्कुर, मङ्सिर, २०८२