18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मिस यु गोपी

कथा पूर्ण ओली December 23, 2025, 1:33 pm
पूर्ण ओली
पूर्ण ओली

प्रशिक्षक डा. सङ्गीता आचार्य मल्टिमिडियामार्फत् साइन्टिफिक राइटिङ प्रशिक्षणको सिलसिलामा रङ्गीचङ्गी स्लाइडहरू प्रदर्शनमा व्यस्त थिइन् । डा आचार्यको उँचो तर मिठो आवाज र स्लाइडहरूको झिलिमिलीमा एकाग्र भइरहेको वेला पछिल्तिरबाट सहजकर्ताले आफ्नो नाम बोलाएपछि ओमप्रकाशले टाउको पछिल्तिर फर्कायो ।
‘बाहिर तपाईँलाई भेट्न मान्छे पर्खिरहनुभएको छ ।‘
उसले सुनेको नसुनेई गर्‍यो । उसको लागि साइन्टिफिक राइटिङको कक्षाभन्दा महत्त्वपूर्ण बाहिरको मान्छे हुनै सक्तैनथ्यो ।
सहजकर्ताले उसलाई फेरि घचघच्याएः ‘उहाँले चिठी तपाईँको हात पारेर फर्किहाल्ने रे ।‘
‘साइन्टिफिक जमानामा पनि केको हाते चिठीपत्र ? जाबो अफिसियल चिठी त हजुरले नै बुझिदिए भैहाल्थ्यो नि सर!’
‘मैले बुझिदिन्छु भनेकै हुँ । मान्नुभएन । अत्यन्त गोप्य छाप लागेको विशेष चिठी हो रे !’
‘अत्यन्त गोप्य’ यी दुई शब्द सुन्नेबित्तिकै ओमप्रकाश दुशङ्काले खङ्ग्रङ्गै भयो । नौनाडी खिचिए । मुटुले थातथलो छोड्लाझैँ भयो । जिउ लल्याकलुलुक भयो । चिठीपत्रको जमाना समाप्तप्रायः भैसकेको अवस्थामा ‘अत्यन्त गोप्य’ छाप लागेको औपचारिक चिठी आफ्नो नाममा आइपुग्नु शुभसंकेत थिएन । उसले यसअघि काम गरेको कार्यालयमा भ्रष्टाचार निवारण कार्यालयबाट गोप्य छाप लागेका पत्रहरू आइरहन्थे । सोको छानविन गरेर सफाइउन्मुख प्रतिवेदन पेस गर्नुपर्थ्यो । यस्ता पत्र आइपुग्दा कार्यालयको माहोल रनक्कै तात्तिन्थ्यो । कर्मचारीहरू एकले अर्कालाई उजुरी गरेको भन्दै दोषारोपण गर्दथे । धन्न यस्तो पत्र ओमप्रकाशको नाममा आएको थिएन र उसले पुरानो अफिसबाट तुरुन्तै यस अफिसमा सरुवा गराएको थियो । उसलाई जता कर्म उतै भाग्य डोरिन्छ भन्ने उखान चरितार्थ भएझैँ लाग्यो ।
‘किन तर्सिन्छस् ? नबिराउनु नडराउनु!’ उसको एक मनले ढाढस दियो ।
‘यो जमानामा बिराम गरिराख्नै पर्दैन । जसले जे मन लाग्यो त्यही उजुरी हालिहाल्छन् ।‘ अर्को मनले फेरि डर हाल्दियो । भुइँ फनफनी रिङेझैँ भयो । ओमप्रकाश सिटबाट मुस्किलले उठेर फलामको भारी बोकेझैँ लत्रिँदै बाहिर गयो ।
तालिम-हलको प्रवेशद्वारमा उसको पूर्व कार्यालयकी सहायक कर्मचारी 'आकृति' सोह्र सज्जामा उभिएकी थिई । उसको जिउको सुगन्धित पर्फ्युम तालिम हलभित्रै छिरेको थियो । परन्तु त्यो सुगन्ध उसलाई दुर्गन्ध प्रतीत भयो । उसलाई देख्नेबित्तिकै आकृतिले मादक मुस्कानले स्वागत गरी । उसको मुस्कानले मै हुँ भन्ने जवान पनि फत्रक्क गल्नबाट जोगिँदैनथे । ऊ पूर्व हाकिमकी पीए थिई ।
तर अहिले ! आकृतिको सुगन्धित औ सुन्दर आकृतिले उसलाई पटक्कै गलाएन । उसको मनमा त्रास अर्कै थियो । उसको मुस्कानमा कुटिल व्यङ्ग्य देख्यो । कन्चटमा चिटचिट पसिना निकाल्दै आकृतिको हातबाट पत्र खोसेर आफ्नो पाइन्टको खल्तीमा घुसार्दै भन्योः ‘चिठी त बाहिरै छोडेर गए भैहाल्थ्यो नि !’
चिठी के सम्बन्धमा थियो भनी सोध्ने ऊसँग हिम्मत तथा औचित्य बाँकी थिएन ।
उस्तै मृदु मुस्कान छोड्दै उसले भनी, ‘हमाल सरले चिठी हजुरकै हातमा मात्र दिनु भन्नुभएको थियो । सक्दो छिटो पत्र हेर्नुहोला रे ।‘ आकृतिको मिठो बोली उसलाई कर्कस लाग्यो । कुटिल मुस्कानले थप चिढायो । विगतमा आकृतिलाई नै खोजिरहने आँखा अहिले ऊ सामुन्ने हुँदा पनि सिधा हेर्न सकेन । आकृतिले उसको जिउमा तातो भुङ्ग्रो खन्याएर फर्किई ।
उसले त्यो चिठी तालिम सकिएपछि मात्र खोल्ने निर्णय गर्‍यो र ओठमुख सुकाएर चलिरहेको कक्षाभित्र छिर्‍यो । आफूलाई संयमित तुल्याउँदै कक्षातिर ध्यान दिन प्रयास गर्‍यो । तर पाइन्टको गोजीमा चिठी होइन आगोको फिलिङ्गो हालेसरि पोलिरह्यो । प्रशिक्षकले डेढ घण्टासम्म के के फलाके केही पनि हेक्का रहेन ।
प्रशिक्षकले पहिलो कक्षा सिध्याए ।
इन्टर्भलपछि अर्को कक्षा सुरु भइहाल्यो । उसले सोच्यो, ‘कुन कार्यालयको चिठी रहेछ त्यति हेर्दैमा के बिग्रियो र ? सोचेअनुसारको ठाउँबाट नआएको पनि त हुनसक्छ !’ हिम्मत बटुलेर हात कँपाउँदै खल्तीबाट खाम तान्यो । खामको मुख च्यातेर चिठी अलिकति माथि सार्‍यो । चिठीको सिरानमा पठाउने कार्यालयको नाम थिएन । पूरै चिठी खामबाट निकाल्नै पर्ने भयो । खाम र चिठीको खस्याकखुसुकले सँगै बसेको साथीलाई डिस्टर्ब गरेछ क्यारे, आँखा तर्दै अर्को बेन्चमा सरे ।
उसको ध्यान अन्तै विचरण गरेको आभास पाएर प्रशिक्षक घरीघरी उसको सामुन्ने आउँदा सजग भएझैँ देखिन्थ्यो । प्रशिक्षक फर्केको मौका छोपी उसले खाममा घुसारिसकेको चिठी फेरि तानेर हेर्‍यो । खाम र चिठीको पाना फरफर कामिरहेको थियो ।
चिठीको सम्बोधन देखेर उसको आँखा र हात ठाउँको ठाउँ भए । जिल्लिँदै उसले लामो सास तान्यो ।
सम्बोधन यस्तो थियोः
‘पृय गोपी
मिस यु अ लट ।‘
गोपी ? को गोपी ? अर्कै व्यक्तिलाई लेखिएको पत्र आइपुगेको ठानेर उसलाई अक्करमा बिझेको काँडा आफै खसेजत्तिकै हाइसन्चो भयो । उसले चिठी खल्तीमै कोच्यो र भारी दिललाई हलुङ्गो तुल्याएर अधमरो कक्षातिर ध्यान लगाउने प्रयत्न गर्‍यो ।
उसको मनमा कौतुहलता मच्चिरह्यो । को गोपी ? आफूलाई केही साथीभाइले ओपी भन्थे । ओमप्रकाशको छोटो रूप ओपी पो थियो कि ?
सुनिश्चित गर्न फेरि चिठी निकालेर हेर्‍यो । सम्बोधनमा ‘पृय गोपी’ नै उल्लेख थियो । विगतको कार्यालयमा गोपी नामको कर्मचारी पनि थियो । उसैलाई लेखिएको पत्र हुनुपर्छ भनी ऊ निश्चिन्त भयो ।
त्यसो हो भने आकृतिको हातबाट आफूलाई चिठी पठाउने साहस कसले गर्‍यो होला त ? कतै आकृतिले नै पो लेखी कि ? आकृति, स्वर्गकी अप्सराजस्तै । जसलाई पाउन जोसुकै पनि मरिहत्ते गर्थे । पूर्व हाकिमले त उसलाई आफ्नी रखैल नै बनाएको थियो । उसैले लेखेको भए पनि के बिग्रियो र ?
यसै बेला खाजा खाने लामो घण्टी बज्यो । ऊ पिँजडामा थुनिएको चरालाई छोडिदिँदा जस्तो हुन्छ त्यस्तै अनुभूति सँगाल्दै भुर्र उडेर आफ्नो कार्यकक्षमा पुग्यो र कुर्सीमा ढल्किएर पत्रको बेहोरा पढ्न थाल्यो ।
*****
‘पृय गोपी
मिस यु अ लट
तिम्रो सम्झनाले फेरि आज यो सानो खोपडी नराम्ररी गिजोल्यो । त्यसो त तिमी बिर्सन खोज्दैमा सर्लक्कै बिर्सिहालिने व्यक्ति होइनौ ।
तिमीसँगको चिनजान योजना कार्यालयदेखिकै हो । त्यहाँका सयौँ कर्मचारीहरू थिए । सबैलाई चिनीसाध्य थिएन । तिमीले त जसलाई बोक्नुपर्थ्यो त्यसैलाई चिन्यौ । जसलाई बोक्न चाहन्थ्यौ, त्यसलाई पनि चिन्यौ । जजसलाई चिनेनौ त्यसमध्ये म पनि एक थिएँ ।
तिमीलाई सबैले हक्की डाइवर भन्थे । सडकमा हुँदा तिमीले बेतोडसँग गाडी कुदाउँथ्यौ । अरू गाडीलाई ओभरटेक गर्दै अगाडि बढ्थ्यौ । तिमीले ट्राफिक नियम उल्लङ्घन गरेको देखेर ट्राफिक प्रहरीले सिट्ठी फुक्दाफुक्दै सडकको पाल्लो किनारबाट तिमी ओझेल परिसक्थ्यौ । तिम्रो तीब्र वेगले गर्दा गाडीमा चढ्नेको सातो जान्थ्यो ।
तिमी हाकिमको चालक भएकोले तिम्रो चुरीफुरी बेग्लै थियो । तडकभडक बेग्लै थियो । प्रायशः हाकिमसँग ठूलाबडाकै साथ हुन्थ्यो । ठुलाबडाले गरेको कुराकानी सुनेर पनि तिमीले देशको राजनीतिक सामाजिक आर्थिक अवस्थाको बारेमा पत्तो लगाउँथ्यौ र साथीभाइसँग गुड्डी हाँक्थ्यौ । यसै कारणले तिमीलाई विद्वान डाइवर पनि भन्थे कसै कसैले ।
तिमीले गाडी हाँक्दा तिम्रो हाकिम सधैँ पछिल्लो सिटमा बस्दथे । कहिलेकाँही हाकिमले अरू मान्छेहरूलाई पनि आफ्नो गाडीमा लिफ्ट दिन्थे । कसैलाई तिमीले चिन्थ्यौ, कसैलाई चिन्दैनथ्यौ । कोही नामुद व्यापारी हुन्थे । कोही ठेकेदार हुन्थे । कोही शक्तिशाली नेता हुन्थे । कोही ध्रुत पत्रकार हुन्थे । कोही वकिल न्यायाधीश हुन्थे । कोही उच्चपदस्थ कर्मचारी हुन्थे ।
तिमीले सुन्न मिल्ने कुरा गर्दा तिनीहरू नेपालीमै बोल्थे नत्र भने उनीहरूले अङ्ग्रेजी वा अन्य कोड भाषाको प्रयोग गर्थे । कानमा ठोकिएको उनीहरूको आवाज वा ब्याक मिररमा देखिएको मुखाकृतिको आधारमा विभिन्न अड्कल गर्थ्यौ । परन्तु तिम्रो अड्कल सही वा गलत जे पनि हुन सक्थ्यो । तिमीलाई थाहै हुन्थ्यो जुन पेसाका महानुभावले लिफ्ट पाउँथे त्यो यात्रामा त्यही पेसाको कुरा चल्थ्यो । गाडी यात्रामा प्रायशः प्रत्येक पेसामा कसरी कमिसन आउँछ, कति आउँछ र कमिसन कहाँ कहाँ पुग्छ भन्ने मात्र कुरा हुन्थ्यो ।
तिम्रो सरोकार भने तिनीहरूलाई कुनै बैठक सेमिनार दोहोरीसाँझ आदिमा पुर्‍याउनुमा मात्र सीमित थियो । अर्थात् उनीहरूले चालकको कोणबाट मात्र तिमीलाई हेर्दथे । तिनीहरूबाट टिप्स पाएर तिमी मख्ख पर्थ्यौ ।
तिम्रो बेतोडको गतिले ट्राफिकलाई समेत झुक्याउने खुबी देखेर पछाडि बस्नेहरू खुसीले बुर्लुक्क उफ्रन्थे र भन्थेः कति चलाक चालक । यस्तो चालक त संसारभरि खोजे पनि भेटिँदैन । उनीहरमध्ये कसैले भन्थेः ‘गोपी तिमीलाई म स्थायी गरिदिन्छु !, कसैले भन्थे, पछि तिमीलाई अर्थ मन्त्रालयमा राखिदिनेछु ! कसैले भन्थे, तिमीलाई यातायात मन्त्रालय वा परराष्ट्रमा लैजानेछु । तिमी खुसीले फुरुङ्ङ पर्दै भन्थ्यौः मेरो हाकिमसाब् जहाँ जानुहुन्छ, म त्यहीँ जान्छु ।
गाडीबाट ओर्लिएपछि उनीहरू पार्टीमा पस्थे, तिमी भने चालक बस्ने कोठरीमा ओठका पाप्रा चाटेर ढुक्नुपर्थ्यो । उनीहरूले विदेशी रक्सीले मात्तिन्थे, तिमी गन्ध सुँघेर थुक निल्नुपर्थ्यो । तिमी अनड्युटीमा हुँदा मदिरा प्युन बर्जित थियो । ती मात्तिएर बेहोस भएकाहरूले तिमी पनि सँगै छौ भन्ने भुल्थे । उनीहरू कहिलेकाँही हानाहान पनि गर्थे । छेडछाड पनि गर्थे । कमिशनका थप उपायहरू पनि सुझाउँथे । उनीहरूको कुराकानीबाट तिमीले उनीहरूको एक एक गोप्य कुरा चाल पाउँथ्यौ । तिमीले आधारातमा उनीहरूलाई घरघरै पुर्‍याउँदा एउटाको पोल अर्कोलाई खोलिदिएर थप गोप्य कुरा थुत्थ्यौ ।‘
********
ओमप्रकाशले चिठी पढ्दै गर्दा पसिनाले भित्री लुगा लुछुप्पै भिजिसकेका थिए । उसले घटघटी पानी पियो र चिठीको बाँकी बेहोरा पढ्न थाल्यो ।
********
‘पृय गोपी
तिम्रो गाडीमा अफिसका कर्मचारीहरू पनि चढ्थे । परन्तु तिनीहरू सेलेक्टेड हुन्थे । कि हाकिमका सेलेक्टेड, कि तिम्रा सेलेक्टेड । तिमीले योजना कार्यालय र हाकिमलाई आफ्नै बाबुको बपौती ठान्थ्यौ । तिम्रो अर्को योग्यता यो थियो कि गाडी चलाउनुबाहेक हाकिमले अह्राएको अफिसको काम होस् कि घरायसी होस् राम्रोसँग खुरुखुरु गरिदिन्थ्यौ । तिम्रो हुङ्कारमय अहङ्कारको अघि कुनै कर्मचारी पर्ने चाहन्नथे । कसैले हाकिमको बारेमा चुइँक्क बोल्यो कि प्रतिकारमा उत्रन्थ्यौ । हाकिमका सुशासनसम्बन्धी लेखहरू विभिन्न अखबारमा प्रकाशित भइरहन्थे । ती लेखको पहिलो पाठक तिमी नै हुन्थ्यौ । अरूलाई सुनाउँथ्यौ । तिमीले ती लेखहरू शेयर गरिरहन्थ्यौ, अरू कर्मचारीलाई पनि शेयर गर्न लगाउँथ्यौ ।
तिम्रो नागरिकताको नाम अर्कै थियो रे । तिमीले हाकिमको गोपनीयता पटक्कै नखोलेको देखेर हाकिमले नै तिम्रो नाम गोपी राखिदिएका रे । हाकिमले तिम्रो गाडीमा ककसलाई चढाए, तिनीहरूले के के कुरा गरे र गाडीभित्र वा पार्टीमा के कस्ता रासलीला वा रडाको मच्चाए आदि गोपनीयता मरिगए खोल्दैनथ्यौ । त्यति मात्र होइन तिम्रा सेलेक्टेड मान्छेहरूले हाकिमको विरोधमा गरेका कुरा र हर्कतसमेत तिमीले हाकिमलाई कहिल्यै सुनाएनौ । यति गोपनीयता कायम राख्न सक्ने व्यक्तिलाई गोपी नभनी अरू के भन्ने त ?
कार्यालयमा जो अलि पहुँचविहीन वा कमजोर थिए तिनीहरूप्रति भने तिमी सधैँ आक्रामक रूपमा प्रस्तुत भइरह्यौ । तिम्रो गाडीमा त तिनीहरूलाई चढाएनौ चढाएनौ, अरु गाडीमा चढ्न खोज्दा समेत चालकहरूलाई बिच्काउँथ्यौ ।
म कार्यालयको इमान्दार कर्मचारीमध्ये पर्थेँ । परन्तु यस्तो इमान्दारिता हाकिमलाई पटक्कै पच्दैनथ्यो । इमान्दार कर्मचारीलाई काम नहुने शाखामा थन्क्याउने वा अन्यत्रै सरुवा गराउने प्रयास भइरहन्थ्यो । एक दिन अफिस सकिएपछिको कुरा हो तिमीले मलाई गाडीमा चढाउँछु भन्यौ । म खुसी हुँदै तिम्रो गाडीमा चढेँ । तिमी बेतोडसँग गाडी कुदाउन थाल्यौ । मूल सडक छोडेर शाखा सडक हुँदै अफरोडतिर लाग्यौ । म त्राहिमाम् भएँ । आखिरमा घर पुर्‍याइदिन्छु भनेर मलाई रातको बखत अनकन्टार जङ्गलमा लगेर छोडिदियौ । मैले यो ठाउँमा किन ल्याइपुर्‍यायौ भन्दा उल्टै ममाथि बम्किन थाल्यौः ‘तैँले भने भनेको ठाउँमा पुर्‍याइदिने के म तेरो नोकर हुँ ?’
एकछिन भनावैरी चल्यो । तिमीले ममाथि हात हाल्न खोज्यौ, मैले पनि मरता क्या नहीँ करता भनेझैँ भुइँको ढुङ्गा टिपेर प्रतिकारको लागि तयार भएँ ।
त्यसपछि मात्र तिमी डरायौ र मलाई त्यहीँ छोडेर फर्कियौ । तिम्रो अनियन्त्रित रूपमा बिलाउँदै गएको गाडी एकतमासले हेरेर म त्यहीँ उभिइरहेँ । घनघोर रातको बखत मुस्किलले घर पुगेँ । त्यस घटनाको एक हप्तामै मेरो यस कार्यालयमा सरुवा भैहाल्यो ।
पछि सुनेँ, तिमीले बपौती ठानेको योजना कार्यालयमा अर्को नयाँ हाकिम आएछन् । केही समयसम्म तिमीले त्यस हाकिमलाई पनि रिझाउने प्रयत्न गरेछौ । मुख्य मुख्य कमिसनदाताहरूलाई चिनाउने काम गर्दै गएछौ । सुरुसुरुमा त तिमीलाई नयाँ हाकिमले पनि पूर्ण विश्वास गरेछन्, तर तिम्रो अस्वाभाविक संलग्नताले बिस्तारै तिमीप्रति आशङ्का र डर बढ्दै गएछ । फलस्वरुप नयाँ हाकिमले तिम्रो जागिर चड्काइदिएछन् । तिमीले जजसलाई गाडीमा चढाएका थियौ तिनी सबैसँग जागिरी बचाइदिन हारगुहार गरेछौ । परन्तु अर्थ, यातायात, परराष्ट्र छिराउँछु भन्ने कसैले पनि तिम्रो गुनासो सुनेनछन् ।
जागिरमा थमौती हुने केही उपाय नलागेपछि तिमीले उनीहरूको कमिसनतन्त्रको पोल खोलिदिने धम्की दिन थालेछौ । तिमीले मलाई खोज्दै यस कार्यालयमा आइपुगेका थियौ । विगत दुर्घटनाको बारेमा क्षमायाचना गर्दै तिमीले उल्लिखित कुराहरू बताएका थियौ । त्यसबेला धेरै भिडियो प्रमाणहरू आफूसँग सुरक्षित रहेको पनि बताएका थियौ । त्यसपछिको दिनदिनैको दोहोरो सम्पर्कले तिमी मेरो पृयपात्र बन्यौ ।
तर गत हप्तादेखि तिमीलाई सम्पर्क गर्न खोज्दा तिम्रो फोन स्विचअफ भनिरहेको छ ।
पृय गोपी,
तिम्रा दुबै हाकिमहरूको भ्रष्टाचारको फाइल हेर्ने जिम्मा मलाई नै दिइएको छ । मलाई थाहा छ, तिमीसँग उनीहरूका गोप्य सूचनाहरू थुप्रै छन् । यस मामलामा तिमीजस्तो उत्तम साक्षी अर्को हुनसक्दैन । तसर्थ तिमीलाई बयान दिन बोलाइनेछ । यदि व्यक्तिगत हितभन्दा राष्ट्रको हित ठुलो ठान्छौ भने बयानमा साँचासाँचा कुराहरू स्पष्ट बताउनू । तिम्रो कार्यालयमा औपचारिक पत्र पनि छिट्टै आउँदै छ ।
तिम्रो नाममा व्यक्तिगत चिठी पठाउनुको कारण तिमीले औपचारिक पत्र आउनुपहिल्यै गोप्य सूचनाहरू खोजेर मलाई पठाइदिनेछौ भन्ने विश्वास भएरै हो । किनकि, औपचारिक चिठी आउनेबित्तिकै तिमीलाई उनीहरूले लोभ र मोलाहिजामा पार्न र गाडीमै नजरबन्द गरिदिन सक्छन् । यो पत्र पाउनेबित्तिकै मलाई भेट्न आऊ, ल ।
उही तिम्रो पृय मित्र ओपीराम
**************
ओमप्रकाशले बाँकी पत्र एकै बसाइमा पढिसिध्यायो र लामो सास तान्यो । गोपी र हाकिमहरुको बारेमा बुझ्न व्यग्र कौतुहलता जागेकोले आकृतिलाई फोन लगायो ।
आकृतिको मिठो आवाज आयोः ‘सर सुन्नू न ।‘
‘भन आकृति । सुन्दै छु ।‘
‘हजुरलाई छोडेको पत्र त अर्कैको परेछ ।‘
‘राम्रो गर्‍यौ ।‘
‘होइन के सर । त्यो पत्र फिर्ता लिन र हजुरको खास पत्र दिन म फेरि आउँदै छु ।‘
आशङ्का र कौतुहलताले ओमप्रकाशको मथिङ्गल मच्चियो । भाग्नुको गुन्जायस थिएन । अतः संयमित हुँदै भन्योः ‘छिट्टै आऊ न त !’
***********
एकछिनमै अर्को खाम बोकेर आकृति उसको कार्यकक्षमै आइपुगी ।
ओमप्रकाशले चिठी हातमा लियो र खाम नखोलेरै गोपी र हाकिमहरूको बारेमा सोध्योः
आकृतिले स्वर कँपाउँदै भन्दै गईः ‘जागिरबाट निकालिएपछि गोपीको धम्कीले पुराना हाकिम र नयाँ हाकिम दुबै त्राहिमाम थिए । कर्मचारीहरूको दबाब र दुबै हाकिमको सल्लाहले गोपीले जागिरमा पुनर्बहाली पाएको थियो । जेनजीको आन्दोलन चर्किएको बखत कुन कुन कार्यालयहरू जलाउने भन्ने बारेमा हाकिमहरूले नै गोपीलाई निर्देशन दिएको हल्ला छ । योजना कार्यालय र गोपीको गाडी जलिसकेको छ । त्यो आन्दोलनपछि गोपी अफिस फर्किएको पनि छैन सर ।‘
‘कहाँ हरायो होला त ?’
आकृतिले ओमप्रकाशको कानमा फुसफुसाईः ‘गोपीलाई लिएर पुराना र नयाँ हाकिम सँगसँगै एउटा बिगमार्टमा गएका थिए रे । धेरै वर्षतक ब्यारेलमा राखिएको बेलायती स्कच ह्विस्की ल्याउन भनी गोपीलाई बिगमार्टको तेस्रो तल्लामा पठाइएछ । तर गोपी तल झर्न पाएनछन् ।‘
‘हो र ? गोपी बिगमार्टको आगोमा पर्‍यो कि ?’
‘खै ? गोपी माथिल्लो तल्ला उक्लनेबित्तिकै ती दुवै हाकिमहरू मिलेर बिगमार्टको तल्लो तलामा आगो झोसेको भन्ने गाइँगुइँ हल्ला छ ।‘
आकृति आगोको मुस्लोजस्तै प्रतीत भई । ओमप्रकाश स्तब्ध भयो । उसको मुटुको धड्कन र सास रोकिएला जस्तो भयो । गोपी र उसका हाकिमहरूको अनुहार र भदौ २४ गतेको जेनजीको आन्दोलनको विधवंसात्मक झल्को उसको मस्तिष्कमा झल्झली आइरह्यो ।
आकृतिले भर्खरै बुझाएको अर्को चिठीको खाम ओमप्रकाशको हातमा फरफर काँपिरहेको थियो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।