18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

फेसवुक स्टाटस्

लघुकथा तेजराज दाहाल December 29, 2025, 4:17 pm
तेजराज दाहाल
तेजराज दाहाल

१४ जुन २०२५ मा मनाइएको यो वर्षको विश्व रक्तदान दिवसको आधिकारिक नारा थियो, “रगत दिनुहोस्, आशा दिनुहोस्; सँगै मिलेर जीवन बचाऔँ।” सामाजिक अभियन्ता र यूवा नेता विशालले बिहानै सामाजिक सञ्जालमा स्टाटस लेख्यो, “रक्तदान जीवनदान हो। रक्तदान गरौं, जीवनदान गरौं।"

थोरै समयमैं सयौँ लाइक र कमेन्टको बाढी आयो। बुढी ओैंला ठेंगा देखाउने, नमस्ते चिन्ह, ताली पड्काएको, फूल दिएको देखि मुटु नै दिएका ईमोजीहरू र पचासौं सकारात्मक कमेन्टहरूले उसलाई गर्व लाग्यो, ठीक बेलामा ठीक स्टाटस लेखेंछु, “मान्छेहरूले मलाई एक सचेत नागरिक भन्छन्।”

विशाल मोटरसाइकलमा अफिस जाँदै गर्दा नगर अस्पतालको गेटबाहिर युवाहरू चिच्याइरहेका थिए, “कृपया A- नेगेटिभ ताजा रगत चाहियो, बिरामी गम्भीर अवस्थामा छिन्।” विशालको मन झस्कियो किनभने उसको रक्तसमूह पनि A- नेगेटिभ नै थियो।

एकछिन उसले मोटरसाइकल रोक्ने सोच्यो, तर तुरुन्तै मनमा बहाना बनायो, “अफिसमा मेरो मिटिङ छ, समय छैन। अरू कोही दाता पाइहालिन्छ नि!” बिशालले त्यता नजरमात्र लगायो र आफ्नो बाटो लाग्यो।

वास्तवमा उसको अफिसमा त्यसदिन कुनै बित्ने खालका बैठकहरू थिएनन्। साथीहरूसँग गफिंदै अफिस बाहिरको क्यान्टिनमा नै घण्टौं समय बितायो। त्यहाँ बस्दा बस्दै नगर अस्पतालमा काम गर्ने एकजना प्राविधिकको फोन बिशालको साथीलाई आयो। फोनको खवर यस्तो थियो, "समयमा A-नेगेटिभ रगत नपाएर एक नवजात शिशुकी आमा एकयुवतीको भरखरै मृत्यु भयो। मृत्यु हुनेमा सुनौलो बस्तीकी २३ बर्षिया कविता थापा छन्।"

नाम सुनेर बिशाल स्तब्ध भयो, उसको मुखबाट, "कविता?" मात्र शव्द निस्क्यो। ती त उसको छिमेकीकी बुहारी कविता थिइन्। बिशाल केहि बोलेन, उठेर विस्तारै, "नगर अस्पताल जान्छु" भनेर बाईक स्टार्ट गरेर उता लाग्यो।

उसको फेसबुक स्टाटस अझै पनि चम्किरहेको थियो, “रक्तदान जीवनदान हो। रक्तदान गरौं जीवनदान गरौं।" लाईक र कमेन्ट बढेका बढ्यै थिए। तर अब त्यो वाक्य उसलाई आफैलाई व्यंग्यझैँ लागिरहेको थियो।

अहिले जतिजतिबेला बिशाल त्यो फेसवुक स्टाटस देख्छ, उसको अन्तर्मनमा केवल एउटा वाक्य गुञ्जीन्छ, “त्यो दिन मसँग जीवनदान दिने समय र शक्ति थियो, तर मैले मौन रहने अपराध रोजेँ। मलाई माफ गरिदेऊ, कविता!”

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।