विषयप्रवेश
“तपाईंले यो पुस्तक पढ्नुभयो ?”
अलि टाढाबाट देखाएको हुँदा पुस्तकको शीर्षक राम्ररी पढ्न सकिनँ ।
“पढ्ने भए पढिहाल्नुहोस्” भन्दै हातमा पुस्तक थमाइदिए पछि म उत्सुकतापूर्वक किताब हातमा लिएर बाहिरी आवरणमा घोरिन थालेँ । ‘शून्यको मूल्य’ शीर्षक देख्दा नै घोरिन वाध्य पार्ने जस्तो । अङ्कको शून्य हो वा बुद्धको शून्य ? कि अरू नै हो ? यस्तै तर्कना मनमा नाच्दै थिए । मेडिकल डाक्टर नवराज केसीको पहिलो पुस्तक भन्ने पनि थाहा भयो । यो साङ्ग्रिला मिडिया ग्रुपको पहलमा २०७९ मा पहिलो पटक आएको भए पनि मेरो हातको चौथो संस्करण २०८१ को रहेछ । भित्र पल्टाएको गैर आख्यान भन्ने देखेपछि साहित्यको पाठक म अलि जाँगर मरेजस्तो भएर त्यो पढ्ने पालो अदालतले हेर्न नभ्याइने भनी सारेको मुद्दाझैँ अलि पछि पारी त्यसै थन्क्याएँ । दुर्इ दिन पछि फेरि “पढेर भ्याउनुभयो होला नि” भन्दै पुस्तक माग्न थालेपछि “आज शुक्रबार हो, शनिबार पढ्छु” भनेर टारेँ अनि पछि पढ्ने भनी सारेको त्यो किताबलार्इ अग्राधिकार दिर्इ सर्सती हेरेर फिर्ता गर्ने सोच बनाएँ ।
सुरुमै पुस्तकको अन्ततिरको पातो फर्काएँ । “आभार”को पहिलो अनुच्छेदले नै मलार्इ तान्यो । परम्परितभन्दा फरक शैलीको । अनि सुरुको प्राक्कथनतिर आँखा डुलाएँ । किताब बालरोग विशेषज्ञद्वारा लेखिएको कर्णालीको कहरकथामा आधारित भन्ने छनक पनि पाएँ । संयुक्त राष्ट्र सङ्घदेखि विभिन्न निकायले दिगो विकासका नाममा जे जति भट्याए पनि लेखकले कर्णालीमा प्रारम्भिक कुरा (एक अङ्कभन्दा अगिको शून्य) नै पूरा नभएको देखेका छन् किनभने त्यहाँ अशिक्षा, अज्ञानता र दारिद्र्यका कारण समाजमा चरम अमानवीयता छाएको छ । त्यसको मुख्य शिकार नारी (विशेषतः गर्भवती) र बालबालिका बनेका छन् । त्यसैले प्रथमतः त्यतातर्फ सम्बन्धित निकायको ध्यान पुग्नुपर्यो भन्ने उनको आग्रह रहेछ । त्यो भनेको बालस्वास्थ्य हो । बालस्वास्थ्यमा सुधार आउन पहिला आमाहरू नै स्वस्थ हुनुपर्यो । आमाहरू शारीरिक र मानसिक दृष्टिले पूर्ण स्वस्थ नहुँदासम्म स्वस्थ सन्तानको कल्पना गर्न नसकिने र स्वस्थ सन्तानबिना कर्णालीमा मात्रै नभर्इ दुनियाँमा कतै पनि विकास वा दिगो विकास सम्भव नहुने कुरा यहाँ जनाइएको छ जुन स्वाभाविक नै छ । पितृसत्तात्मक समाजका नारीले घर, परिवार, समाज, संस्कृति, परम्परा धान्न एकोहोरो जुन त्याग गरेका छन् त्यसलार्इ अहिलेसम्म कुनै मूल्य दिइएको छैन । त्यो काम मूल्यशून्य छ । जटिल भूगोलका कारण अशिक्षा र विपन्नतामा जकडिएको कर्णालीमा त झन् भन्नै परेन । त्यसैको मूल्य कायम हुनुपर्छ भन्ने अभिप्रायको सङ्केत प्राक्कथनमै छिपेको देखेपछि अबको कृति कसरी अगि बढ्छ भन्ने अनुमान भइ नै हाल्छ । अर्थात् कर्णालीकै व्यथामय कथाहरूको सेरोफेरोमा यो उनिएको छ भन्ने अनुमान सहजै गर्न सकिन्छ । अब मेरा लागि नौलो भनेको यसको विषय/सन्दर्भ र प्रस्तुति/शैली नै रह्यो ।
विषयविस्तार
यसको विषय/सन्दर्भ विविध छ । त्यसलार्इ मुख्यतः पाँच शीर्षकमा व्यवस्थित गरिएको छ । ती हुन् बुधेकी फुपूआमा, बुबालार्इ चिठी, भेडिनी कान्छी, मृत्युपछिको जीवन र पुतली आमा । कृतिपरक ढाँचामा सर्सर्ती तिनको अन्वेषण तल गरिएको छ ।
१. बुधेकी फुपूआमा
यसमा बुधेकी आमा आउनुपूर्व नै लाटी आमाको कथा आएको छ । गाउँमा बोक्सी भनी लखेटिएकी लाटी आमाको कथाले एकातिर नारीप्रतिको सामाजिक चरम क्रूरता देखाइएको छ भने अर्कातिर मान्छेको सङ्गतभन्दा टाढा रहेर पनि मान्छे जस्तै बन्न खोजेकी उनको एकोहोरो सङ्घर्ष र जिजीविषाको कथा कथिएको छ । लोग्ने गर्भ बोकाएर इन्डिया पलायन भएको छ । फर्कने आस छैन । एउटा गालो बाल्यकालमै डढेको हुँदा समाजले उनलार्इ बोक्सी भनेर गाउँबाट निकाला गरेको छ । उनले गाउँपारि एकान्तमा बास बनाएकी छन् । आफै हँसियाले नाइटो काटेर छोरो पाएकी छन् । एक्लै छोरो हुर्काउने कहर खेपेकी छन् तर छोराले मान्छेको बोली सुन्न पाएको छैन । ऊ बिरालाको सङ्गतमा रहेकाले बिरालाकै भाषा बोल्न थाल्छ तर लाटी आमा बुझ्दिनन् र बाख्रोपाठो बेचेर “चिप्लिने पहाड उक्लेर, बगाउने नदी तरेर, हराउने जङ्गल काटेर” (पृ.१२) बल्लतल्ल अस्पतालको बालविशेषज्ञको सामु असिनापसिना हुँदै पुकारा गर्न पुगेकी छन् । डाक्टरले शारीरिक परीक्षण गर्दा सबै ठिक पाए पनि उसको सामाजिक अवस्थाको गहिरो विश्लेषण गरेर मात्र रोगको कारण पत्ता लगाउँछन् र समाधान बताइदिन्छन् । आमाको प्रयत्नले छोरोले मान्छेको जस्तै बोल्न थाल्छ । लाटी भनिए पनि आमा नबोल्ने लाटी थिइनन् । डाक्टरलार्इ धेरै श्रद्धासाथ आसिक दिइन् । समाजले तिनलार्इ मूल्यशून्य देख्यो र नाम दिन पनि तयार भएन तर लेखकले सुरुमै आवाज विहीनको आवाज यति सशक्तता साथ व्यक्त गरे कि यत्ति कथा नै एउटा दरो उपन्यासको अनुभूति दिन समर्थजस्तो देखियो ।
यसपछि बुधेकी फुपूको कथा आएको छ । उनले पनि आफ्नो नाम हराएकी छन् । प्राकृतिक प्रकोपमा बुबाआमा गुमाएकी उनले एउटा भाइ च्याप्दै बाढीपीडितहरूसँग सुर्खेत झरे पनि गिटी कुटेर जीवन निर्वाह गर्नु परेको छ । दुखजेलो गरी हुर्काएको भाइ इन्डियन लाहुरे हुने रहरले उतै भासिएको छ । भाइको नामको छोरो पाएर बुहारी पनि हराएकी छ । छिमेककी अर्की टुहुरी मीनालार्इ पनि फुपूले नै शरण दिएकी छन् । मीना र बुधे दिदी भाइ भएर रहेका छन् । स्कुल त जान्छन् तर उनीहरूलार्इ कलम, कापी र किताबको खडेरी छ । दिदीभाइ कहिले त कापी कलम पालो पालो गर्छन् तर सधै मिल्दैन र बुधे कापी कलम नल्याएको सजायका लागि लठ्ठी खान मास्टर सामु सहजै हात तेर्स्याउँछ । विपन्नता कति निर्मम हुन्छ भन्ने झलक यहाँ देखिन्छ । साथै सहरी हुनेखाने वर्गसँगको दूरी पनि खुट्टिन्छ ।
मास्टरले भनेझैँ बुधेले लेख्न र पढ्न नपाए पनि सुनेकै भरमा ऊ कक्षामा पहिलो भइदिन्छ । बालमनोवेत्ता लेखकले त्यसको कारण बुधेकी फुपूले बुधेप्रति गरेको स्नेहपूर्ण व्यवहारलार्इ मानेका छन् । त्यसैले गुणात्मक मातृत्व विकासका लागि लगानीमा कुनै कञ्जुस्याइ गरिनुहुन्न भन्ने लेखकको आग्रह छ ।
असल, सामाजिक, विद्वान् र विकास प्रेमी नागरिक जन्माउन गर्भवती आमा र शिशु स्याहारमा ठुलो लगानी गर्न सके धेरै राम्रो प्रतिफल आउने कृतिको जिकिर छ (पृ.५५ र ६३) । जस्तै
एउटा स्वस्थ आमाबाट जन्मिएको स्वस्थ बच्चाको दिमागभित्र जन्मँदै सबथोक हुन्छ । स्वस्थ न्युरोनहरूमा मानवीय गुणहरूको जुनीजुनीको वंशाणुगत मेमोरी स्टोर हुन्छ । अनि परिवारमा, स्कुलमा थोरै गतिलो सहयोग र बाटो पाए त्यो बाहिर निस्कन्छ । यसरी बाहिर आउने मौका पाए यसले मस्तिष्कबाट अरू धेरै कुरा बाहिर ल्याउन सिकाउँछ (पृ.६३)।
यसको थप पुष्टिका लागि यहाँ मानवमस्तिष्कको संरचना र त्यसको विकासका अभिप्रेरकहरूको भूमिकाका बारेमा पनि वैज्ञानिक चर्चा गरिएको छ ।
आमाको शारीरिक र मानसिक सुस्वास्थ्य बालकका लागि मात्रै नभर्इ समाजमा लैङ्गिक समानता बढाउन, प्राथमिक शिक्षा प्राप्त गर्न, चरम गरिबी र भोक निर्मूल पार्न पनि अनिवार्य ठानिँदो रहेछ (पृ.६२) किनभने त्यसैका जगमा अरू खडा हुँदा रहेछन् । त्यसैले असल सन्तानको अपेक्षा गर्ने र देशको सर्वाङ्गीण विकास चाहने नीतिनिर्मातालार्इ पनि यसले यहाँ धेरै थोक विज्ञानसम्मत ढङ्गमा प्रस्तुत गरेको छ । प्रस्तुतिमा आख्यानात्मकता र भावात्मकता दुवै रहेको छ ।
बुधे र मीनाका लागि फुपू महत्त्वपूर्ण छन् तर सधैं गिटी कुटेर धानिएको उनकै जीवन कथा भने धेरै नै दारुण छ । समाज उसलार्इ तल्लो जाति (वादी) भनेर मन्दिर पस्न दिन्न । इन्डियामा गर्इ एक वर्षमै धेरै पैसा कमाएर फर्किन्छु भनी आश्वासन दिएको प्रेमी वर्षौसम्म फर्किन्न । गिटी कुट्दा कुट्दा हातका औला कुटिएर बेलाबेलामा रक्ताम्ये त हुन्थे नै । एक्कासि एक दिन उनलार्इ रगतै छाद्ने रोग पनि लाग्छ । पैसाका अभावमा उपचार हुन सक्तैन र पाठकमा गहिरो चुकचुकी उमार्दै उनी मर्छिन् । अनि बुधेको मामा आएर बुधे र मीना लिएर इन्डिया पस्छ ।
कर्णाली केही दिनको बासमात्रै भएको छ । गाँस खोज्न त विदेश (इन्डिया) नै पस्नुपर्ने कर्णालीको बाध्यता छ । त्यहाँ पनि सोचेजस्तो सहज छैन नत्र बुधेकी फुपूको प्रेमी किन फर्किदैनथ्यो र ? यसरी कर्णालीका निमठिएका जीवनका नमिठा पत्रैपत्रमध्ये केही पत्र यसमा आख्यानसहित उधुनिएको छ । उधुन्ने शैलीमा कलात्मक आकषर्ण पनि मनग्ये देखिएको छ ।
२. बाबुलार्इ चिठी
यसमा पहिला दैलेख नौमूलेको भीम काजी र उसकी सहनशील तर व्यथित पत्नी शान्तिको कथा आएको छ । शान्तिले चार किलोको छोरो पाए पनि त्यो जन्मदा कुनै चाइचुइ गर्दैन । अनेक हन्डर सहेर भए पनि आमा हुन पाएकी हुँदा धेरै खुसी शान्ति आफ्नो छोरालार्इ दुध चुसाउन नपाएकी हुँदा धेरै व्यथित छन् । जन्मने बित्तिकै नरुनु भनेकै बच्चा प्राणहीन जन्मनु हो । उनको बच्चाको हत्यारा नै लोग्ने भीमे हो किनभने उसले रक्सी धोकेर स्वास्नीको गर्भमा लात्तो बर्साएको थियो । त्यसपछि नै रक्तस्राव सुरु भएको हो । त्यो देखेपछि उसलार्इ पछुतो बोध भएको छ । पत्नीलार्इ जसरीतसरी अस्पताल त पुर्याएको छ तर गर्भको सन्तानले उसको गरुँङ्गो चोट थेग्न सकेको छैन । लेखक पुरुषै भए पनि पितृसत्ताको यो विद्रूपता सारै मन छुने किसिमले टिपेका छन् । भीमे पनि आफ्नै दुस्कर्मको रनाहमा परेको छ । लेखकीय सामर्थ्य अझ यहाँ खुलेको छ ।
यही क्रममा गर्भस्थ शिशु र आमाको जैविक र मानसिक सम्बन्ध, उनीहरूको अन्तर्निर्भरता, गर्भवती नारीमा हुने तीव्र संवेदनशीलता र संवेगहरू, उनीहरूमा उत्पन्न हुने विशेष क्षमाशील स्वभाव र स्नेहशिक्त चरित्र जस्ता कुरा पनि यहाँ देखाइएको छ । यस्तै बलियो नयाँ पिढी निर्माण गर्ने हो भने “बलिया र सुरक्षित महिलाहरूको सुनिश्चितता हुनुपर्यो” (पृ.९५) भन्ने यसको कथ्य पनि प्रकट भएको छ ।
आफ्नो गर्भको शिशुको प्राण लिने पतिलार्इ पनि शान्तिले माफ गरिदिएकी छन् । आफ्नो शिशुका लागि प्राण नै दिने आमा कसरी यस्ता क्षमाशील बने भन्ने प्रश्न पनि यहाँ उब्जेको छ । तर लेखकले मधुरो स्वरमा धेरै तितो यथार्थ पनि उजागर गरिदिएका छन् । जस्तै “नेपाली समाजमा अक्सर पत्नीहरू पतिलार्इ माफ गरेरै बाँच्न पाएका छन्” (पृ.९३) । माफ गर्नु पनि बाध्यता छ यस समाजमा नारीलार्इ । लेखक दुखी नारीप्रति करुण छन् । संवेदनशील छन् तर तिनलार्इ विद्रोहको आगो झोस्न सिकाउँदैनन् । भीमेको जस्तो बेहोसी र शान्तिले जस्तो हिंसाको वज्रपात कसैले बेहोर्नु नपरोस् भन्ने स्पष्ट कामना छ लेखकको (पृ.९४) ।
यसपछि लेखकले आफ्नो कर्णालीको जन्मकथा, आफूलार्इ डाक्टर बनाउने बाबुको सपना, त्यो सपना पूरा गर्न आफूले गरेको धेरै मिहिनेत, त्यसपछि सपना साकार भएर नेपालको ठुलो अस्पतालमा जागिर खाँदा महिनाको जम्मा सोह्र हजार मात्रै बुझ्न पाएको, यही कारण धेरै साथीहरू विदेश भासिएका, मर्ने बेलामा बाबुले देशमै बसेर आमाको सेबा गर्नु भनी दिएको आदेशका कारण आफूले विदेश सोच्न नसकेको जस्ता कुरा यहाँ आएका छन् । यसबाट देशमा शिक्षित रोजगारहरूको मर्नुनबाँच्नुको अवस्थालार्इ राम्रै सङ्केत गरिएको छ ।
यसपछि गोमा चौधरी जो सोह्र वर्षमा नै एकएक किलोका जुम्ल्याहा सन्तानकी आमा बनेकी छन्, उनको कथा आएको छ । गोमाको पनि लोग्ने रक्स्याहा र पत्नी पीडक छ । सधैँजसो रक्सी धोकेर आर्इ पत्नीलार्इ जथाभावी पिट्ने र उसको गर्धन निमोठ्ने काम गर्छ । एक दिन गर्भमै हानेको हुँदा गोमा आफ्नो गर्भको शिशुलार्इ केही त भएन भनी जचाउन आएकी छन् । जाच्दा गर्भका जुम्ली शिशु जीवितै रहेका कुरा उनले थाहा त पाउछिन् तर कति दिनसम्म यी सुरक्षित रहलान् भन्ने डाक्टर सामु आफ्नो गम्भीर चिन्ता जाहेर गर्छिन् । डाक्टरले पढेको शास्त्रमा उसको लोग्नेको हिंस्रक स्वभाव बदल्ने कुनै उपाय थिएन तर उनी सिर्जनात्मक भएका हुँदा गोमाका गर्भस्थ शिशुका तर्फबाट आफ्नो बाबुलार्इ सम्बोधन गरी हाम्रो संरक्षण गरिदिन विनम्र आग्रह गरेको पत्र लेखेर उनको श्रीमान्लार्इ दिन लगाउँछन् । त्यो पत्र पढेपछि उसको लोग्नेको स्वभाव पत्नीप्रति पूरै सकारात्मक देखिन थाल्छ । यो गजबको सिर्जनात्मकता यसमा देखिएको छ ।
बालविवाह अनि लगत्तै सन्तान पाउने समस्याबाट पनि कर्णालीका नारी र शिशुको जीवन धेरै कहरपूर्ण बनेको छ । त्यस परिस्थितिलार्इ देखेका नर्सहरू गोमालार्इ गाली गर्छन् र उनको लोग्नेलार्इ जेल हाल्नुपर्ने ठान्छन् तर लेखक / डाक्टर उत्पन्न परिस्थितिलार्इ स्वाभाविक समाधान गर्नतिर वा शिशु र आमाको स्वास्थ्य सहज बनाउनतिर लाग्छन् । गोमाको गरिब लोग्नेलार्इ पनि समस्याको समाधानमा मिहिनेत साथ खट्न प्रेरित गर्छन् । आफूले केही रकम पनि सहयोग गर्छन् अनि गोमाको लोग्नेले पनि धेरै मिहिनेतका साथ मजदुरी गरी शिशु र आमाका लागि पैसा जुटाउँछ ।
शिशुको स्वास्थ्यका लागि आमाको दुध कति महत्त्वपूर्ण छ भन्ने उसलार्इ डाक्टरले सिकाएका हुँदा सोह्र बर्से आमालार्इ हँसाइहँसाइ (आमा जति धेरै हास्छिन् उति दुध बढी आउने ठानेर) उसको शरीरबाट जुम्ल्याहा शिशुहरूको पोषणका लागि आवश्यक दुध उत्पादन गराउँछ । उमेर नपुगी विवाह गरेर सन्तान पाउने गल्ती गरे पनि त्यसपछिको जीवनलार्इ सहज बनाउन उनीहरू डाक्टरको सहयोगका कारण सक्षम देखिएका छन् । यसै क्रममा कर्णालीमा ४९ प्रतिशत बालबालिका र ५१ प्रतिशत आमाहरू कुपोषणको शिकार भएका, १० कक्षासम्म पढेका आमाका हजारमा १८ र नपढेका आमाका हजारमा ५८ बालबालिका खेरजाने गरेका जस्ता कुरा पनि यहाँ आएका छन् ।
सारमा भन्दा यसले पितृसत्ताका नकारात्मकतालार्इ एकातिर देखाएको छ भने अर्कातिर चिकित्सकलार्इ खालि लेखेका कुराको पछि नलागी रोगीको सामाजिक, शैक्षिक, सांस्कृतिक, मनोवैज्ञानिकजस्ता पक्षलार्इ ख्याल गरी समास्याको उचित समाधान पहिल्याउन प्रेरित गर्ने रचनात्मक काम पनि कलात्मक ढाँचामा गरेको छ ।
३. भेडिनी कान्छी
यसमा पहिला कर्णालीमा हवाइ यातायातको चाप र दुर्इ सिटे हेलिकप्टरमा डाक्टर र बिरामी गरी पाँच जनासम्म बोकेर हिड्नु परेको, सुत्केरी महिलाहरू सिट मुनि वस्तुझैँ कोचारिएर आउनुपरेको बीभत्स दृश्य देखाइएको छ । सुर्खेतबाट कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालमा आउँदा आउँदै सुत्केरी ती महिला मरणासन्न अवस्थामा पुगेकी देखिन्छिन् । डाक्टरले उनकै शिशु उपचार गर्दै ल्याएका छन् । अस्पतालका आधिकारिक व्यक्तिलार्इ जिम्मा लगाएर डाक्टर सोही हेलिकप्टरबाट फर्किन्छन् । केही सातापछि आमा र शिशु दुवै ठिक भएर फर्केको खबर पनि डाक्टरलार्इ दिइन्छ ।
त्यसपछि नाम हराएकी भेडिनी कान्छीको कथा आएको छ । सानैदेखि त्यति नबोल्ने, आफैमा हराइ रहने, गरिबअशिक्षित परिवारकी उनी पाँच सन्तानमध्येकी एक थिइन् । घरकाले लाटी भन्ने र खासै महत्त्व नदिने उनी आफ्नै घर उपेक्षित देखिन्थिन् । एक दिन मामाघर जाँदा त्यहाँ अशक्त तीन खुट्टे सानो भेडिनी काट्न लागेको देखेपछि म पाल्छु भनी लिएर भाग्दै घर आइन् तर घरकाले पनि त्यो अलछिनको हुने भनी बस्न नदिएकाले उनी भेडिनीसँगै खोरमा बस्न थालिन् । उसैसँग मित लगाइन् । त्यसपछि उनको नामै भेडिनी कान्छी बन्यो । उनको जिद्दी अघि घरका हार्न बाध्य भए तर घरमा झन्झन् उपेक्षित हुन थालिन् ।
सारै कम बोल्ने भए पनि राम्री हुँदा छिमेकी गाउँको टुहुरो दलितले उनलार्इ मन परायो । उनीहरूबिच मौन संवाद चल्न थाल्यो । एक दिन कान्छीले नै बिहे गरेर लैजाऊ, “मैकन सुख नार्इ यहाँ” (पृ.१४८) भनेपछि उसले कुनै योजना बिना नै दिउसै लिएर गयो । घरकाले हाइसञ्चो ठाने । साथमा कान्छीले मितिनी भेडिनी पनि लगिन् ।
त्यसपछि उनीहरूले सोचविचारेर गृहस्थी चलाउँदै लगे । सबै राम्रै हुँदै गएको थियो । तर एक समयमा छोरो धेरै बिमारी पर्छ । दस दिनदेखि एकोहोरो पखाला चलेर निस्लोट भएको हुँदा बाबुले लगभग आसै मार्न थाल्छ । छोराकै कारण आमा पनि सकिन्छे कि भन्ने भएपछि ऊ बर्सौँ लगाएर हुर्काएका दसजोडी सबै भेडा दस मिनेटमै बेच्छ र पैसाको मुठो लिर्इ हुम्लाबाट आमा छोरा लिएर सानो चिलगाडी (हेलिकप्टर) मा सुर्खेतको सरकारी अस्पतालमा हानिएको छ ।
पैसाको मुठो धेरै चिलगाडीकै लागि सकिन्छ । अस्तव्यस्त अवस्थामा अस्पतालको इमर्जेन्सी वार्डमा पुगेपछि ३ नम्बर बेडमा आमा र छोरालार्इ राखिन्छ । डाक्टरले निरीक्षण गर्दा बच्चाको अवस्था धेरै नै जटिल देखिन्छ तर हुम्लाबाट हेलिकप्टर रिजर्भ गरी ल्याउनेको अवस्था देखेबुझेपछि हरसम्भव बचाउने प्रयत्न उनले गर्छन् । डाक्टरको पूरै टिम लागेपछि अन्ततः बच्चाको अवस्था क्रमशः सुधार हुँदै आउँछ । छोरो बौरे पछि बाबुले दारी काट्छ । आमाले धेरै दिनको निद निदाउछिन् । केहि दिनमै अस्पतालले सन्चो बनार्इ बिदा त दिन्छ तर घर फर्किने पैसा नभएको हुँदा बाबुले एक महिनासम्म त्यतै मजदुरी गरेर खर्च जुटाउँछ अनि डाक्टरसँग कृतज्ञता जाहेर गरी उनीहरू घर फर्किन्छन् ।
घरमा आएपछि पनि छोरो राम्रो हुँदै गएकाले उनीहरूले खुसीले नै दुख गरिरहेका छन् । भेडिनी कान्छीले डाक्टरलार्इ फोनबाट कृतज्ञता जाहेर गर्दै दाजु वीरेसँग डाक्टरका लागि कोसलीका रूपमा ओखर पठाएकी छन् । अन्ततः भेडिनी कान्छीको कथा पनि सुखमै टुङ्गिएको छ तर यसले प्रश्न भने धेरै उठाएको छ । त्यो के भने कर्णालीमा सामान्य स्वास्थ्यकेन्द्र (हेल्थपोस्ट) बाटै समाधान हुन सक्ने स्वास्थ्य समस्या पनि समाधान नहुँदा व्यक्तिको ज्यानै जाने वा त्यसैका लागि व्यक्तिले आफ्नो सर्वस्व सक्नुपर्ने अवस्था छ भन्ने यसले देखाएको छ । त्यसैले “बिरामी बोक्नेका अनुहार बिरामी भन्दा पनि बिरामी देखिन्छन्” (पृ.१२३) । यसको समाधानका लागि पिरामडीय संरचनामा स्वास्थ्य सेवा विस्तार हुनुपर्ने कुरा पनि लेखकले स्पष्ट सुझाएका छन् (पृ.१४११४२) । हेल्थपोस्टबाटै प्राथमिक उपचार राम्रोसँग गराउन सके ८० प्रतिशत रोग गाउँमै निको हुने लेखकको दाबी छ । यो कुरा माथिल्ला तहका मानिस (स्वास्थ्य सचिव) लार्इ एक समारोहमा सुनाउँदा उनले पचाउन नसकेको तितो अनुभव पनि व्यक्त गरेका छन् (पृ.१४०) । साथै स्वास्थ्यका नाममा छुट्याइएको राष्ट्रिय बजेट सहरकै ठुला अस्पतालमा खन्याउने, कर्णालीमा त्यो खासै नचुहिने गुनासो पनि डाक्टरको छ ।
यस्तै नारीमातृत्वका पक्षमा पनि यहाँ थप कुरा आएका छन् । जस्तै
जुन सामाजमा आमाहरू सुरक्षित र सम्मानित हुन्छन्, त्यहाँ आमाहरूको मस्तिष्कको अप्टिकल लोव स्वस्थ हुन्छ । शरीरमा मायाको रस अर्थात् अक्टिटोसिन र डोपामिन हार्मोन टन्न हुन्छ । अनि ती आमाहरूले ममतामयी काम सहज भएर पर्याप्त मात्रामा गर्दा रहेछन् । ..... भौतिक, मानसिक, सामाजिक स्वास्थ्य जस्तै स्वस्थताको यो पाटोलार्इ नै विश्व स्वास्थ्य सङ्गठनले आध्यात्मिक स्वस्थता भन्दो रहेछ (पृ.१५४) ।
यो आध्यात्मिकता भनेको जीवनको लक्ष्य पहिचान र प्राप्तिको बाटो हो । कुनै धार्मिक पूजाआजा भने होइन । मान्छे शारीरिक र मानसिक सन्तुलनले मात्रै स्वस्थ हुन्न । मौकामा उपयुक्त कदम उठाउने क्षमतायुक्त पनि हुनुपर्छ जुन मातृत्वले दिन्छ भन्ने लेखकको राय छ । भेडिनी कान्छीले छोरो बचाउन आफ्ना सबै भेडा बेच्न तयार हुनुका पछि पनि यसैले काम गरेको बुझ्न सकिन्छ ।
यस्तै यहाँ मानव र मानवेतर प्राणीबिच गहिरो अन्तरसम्बन्ध पनि देखाइएको छ । कान्छी र उसकी मितिनी भेडिनीको सम्बन्धबाट यो देखाइएको छ । छोराको उपचारका लागि सबै भेडा बेचे पनि कान्छीले मितिनी भेडिनी बेचेकी छैनन् । उसलार्इ आफू नआउँदासम्म वीरेलार्इ पाल्न दिएकी थिइन् तर कान्छीसँग विछोड भए पछि भेडिनीले खान छाडेर अन्ततः मरेकी छ । त्यो देखेर वीरेले भनेको पनि छ “चिन्तैले मरी गर्इ, तिमीहरूले छोडेपछि । अचम्मकी पशु रहिछ । मान्छे जस्ती (पृ.१५८) ।” सामान्य रूपमा हेर्दा यो स्वैरकल्पनाजस्तो छ तर पशु र मानवबिचको यस्तो गाढा सम्बन्ध हुँदै हुँदैन नै पनि भन्न सकिन्न । कुकुर र मानवबिच यस्तो सम्बन्ध भएको कुरा बेलाबेलामा सुनिन्छ । यस्तो प्रयोग लैनसिंह बाङ्देलको लङ्गडाको साथी (२००६) उपन्यासमा पनि रहेको छ ।
सारमा भन्दा यसमा पनि कर्णालीको दुर्दशा देखाइएको छ । यस क्रममा नजिकमा स्वास्थ्य संस्थाहरू नहुँदा जनसामान्यले पाएको सास्ती, सोही कारण शिशु र आमाको जीवनको जोखिम, उनीहरूलार्इ बचाउन खोज्दा घरबासै सकिने अवस्था, राज्यलार्इ बारम्बार सम्झाउँदा पनि उनीहरू सहर केन्द्री हुने प्रवृत्ति, मातृत्वको महत्त्व, उनीहरूको राज्यमा पहुँच विकास गर्न सके विश्वयुद्धबाट पनि संसारलार्इ मुक्त गर्न सकिने (पृ.१५६) जस्ता कुरा यहाँ आएका छन् । अगाडिको जस्तो प्रस्तुतिको सान्दर्भिकता र प्रवाहको आकर्षण भने यहाँ केही कम पाइन्छ ।
४. मृत्युपछिको जीवन
यसमा पहिला जतिखेर पनि कट्टूमा पिसाब गरिरहने रोगी बालिकाको समस्या प्रस्तुत गरिएको छ । उनलार्इ सुर्खेत, नेपालगन्ज र लखनऊका अस्पतालमा पनि देखाएको तर ठिक नभएर अहिले उनका अभिभावकले बालरोग विशेषज्ञ (लेखक) लार्इ देखाउन पुगेका छन् । डाक्टरले यो समस्या शारीरिक भन्दा पनि मानसिक कारण उत्पन्न भएको ठानेर उनको पारिवारिक इतिहास खोतल्छन् । जुन यस्तो छ
बालिकाको भाइ तौल पुरा नभर्इ जन्मेको हुँदा उनका मातापिताले महिनौ उनलार्इ घर नानी आमा / हजुर आमासँग छाडी अस्पताल गएका र घर आए पछि पनि उनलार्इ त्यति वास्ता नगरेका हुँदा उनी हजुर आमासँगै झाम्मिन थालेकी छन् तर केही समयपछि हजुर आमाको मृत्यु हन्छ । त्यो वास्तविकता उनलार्इ भनिएन । बरू केही दिनपछि आउनुहुन्छ भनी झुटो कुरा गरियो तर लामो समयसम्म पनि नआएपछि उनले आफूलार्इ माया गर्ने कोही छैन भन्ने ठानी डराउन थालिन् । त्यो डर झन्झन् बढ्दै गयो । डरकै कारण यो समस्या उत्पन्न भएको हुँदा बाबुआमाले हजुर आमाकै जस्तो माया दिन सके आफै ठिक हुने डाक्टरले देखे र बाबुआमालार्इ त्यसै गर्न प्रेरित गरे । हुन पनि उनीहरूले छोरीप्रति मायालु व्यवहार गर्न थालेपछि त्यो समस्या समाधान हुँदै गयो । बेलैमा यो समस्या (एन्जाइटी) समाधान हुन नसकेका भए यो डिप्रेसनका तहमा बढ्ने कुरा पनि डाक्टरले गरेका छन् ।
साथै बालबालिकाको विकासका लागि परिवारमा हजुर आमाको भूमिका कति धेरै महत्त्वपूर्ण हुन्छ भन्ने कुरा पनि यहाँ थप (पाकिस्तानी अध्ययन) उल्लेख गरिएको छ (पृ.१७५) । मूल्यशून्य ठानिएको उनको काम कति धेरै मूल्यको हुन्छ भन्ने सङ्केत यसले गरेको छ । मानव समाजमा मात्रै नभर्इ मानवेतर प्राणीको समाजमा पनि हजुर आमाबाट बच्चाले धेरै राम्रो स्याहार र संरक्षण पाउने र त्यस्ता बच्चा दीर्घजीवी हुने कुरा हात्तीको अध्ययनबाट पुष्टि भएको जनाइएको छ । त्यसैले सुदृढ परिवारका लागि हजुर आमाको उपस्थिति मूल्यवान् छ र उनको सुस्वास्थ्यमा राज्यको लगानी अर्थहीन ठानिनुहुन्न भन्ने लेखकको तार्किक अभिमत रहेको छ ।
यसपछि कर्किनी बज्यैको कहरपूर्ण कथा आएको छ जो मृत्युपछिको जीवनजस्तो छ । उनी आँट र बल भएकी नारी हुन् । परिवारका सदस्यहरूकै रायअनुसार बिहे गरेर घरलार्इ उकास्ने काममा लागे पनि लोग्नेले काला पहाड (भारत) जाने जिद्दी गरेपछि उसैसँग दुर्इ छोरी लिएर पछि लागेकी छन् । लोग्ने रक्स्याहा त थियो नै केटीको पछि पनि लागेको देखेपछि कर्किनीले देख्न सकिनन् र जाइलागिन् तर मूर्ख लोग्ने सामु उनको केही चलेन । उल्टो ठुलो ढुङ्गो उनको अनुहारमा बजार्यो र एउटा आँखै फुट्यो । लोग्नेले रक्सी धोक्न ठुली छोरीलार्इ होटलमा समेत लान थालेपछि कर्किनी छोरीहरूको भविष्यका लागि पनि त्यहाँ बस्नु उचित नठानी आफ्नै गाउँ हानिइन् । “दुख त कपालौदा रूमा भुन्दा बढी छुन् । भुनिसाध्य छैन” (पृ.२००) भन्ने कर्किनीको जीवन बारम्बार मरेरै बाँचे जस्तो छ । तर जीवन जति नै कहरपूर्ण कथाले भरिएको भए पनि निश्छल, उदार, धैर्यशील र हसमुखा उनको स्वभाव छ । राजमार्गको किनारमा एउटा छाप्रो हालेर सानोतिनो होटल गरी उनले जीवन धानेकी छन् । मुगुबाट फर्किँदै गरेका डाक्टरले उनैकहाँ खाना खाएका छन् र सोही क्रममा उनको आत्मगाथा सुनेका छन् । कर्किनीकी ठुली छोरीको विवाह भइसकेको छ । अर्कीले होटलमा उनलार्इ सघाउन थालेकी छ । कर्णालीका पुरुषपीडित अशिक्षित नारीमा यो तहको आत्मबल र सकारात्मक सोच देख्दा डाक्टर / लेखकले निकै सन्तोषको सास पनि फेर्छन् ।
यसबाहेक यहाँ नेपालगन्जबाट मुगु जहाजमा जाँदै गरेका लेखकले जहाजबाट तल देखिने परिदृश्य (जस्तै काँक्रे विहार, नेपाली भाषाको उत्पत्ति स्थल सिन्जा उपत्यका, रारा आदि) को बयान, जहाजमा भेटिएका ठेकदार अग्रवाल र उनको मपाइत्व, जहाज वा आकासे टुकटुकेको दुरवस्था, ठेकदारलार्इ स्वागत गर्न आएका चुल्ठेमुन्द्रेको व्यवहार, ठेकदारको शान र आफ्नो दुरवस्था, आफू तल्लो कक्षामा पढ्दा देखिएका केटाभन्दा धेरै केटीहरू पछिपछि हराउँदै गएको स्थिति, तिनीहरूले नै घरगोठ, परिवार, खेतीपाती, सन्तान, अस्पताल आदिको निर्माणमा वा देशको आन्तरिक इन्जिनियरिङमा महत्त्वपूर्ण भूमिका खेलेका जस्ता कुरा पनि यहाँ ल्याइएको छ । समाज उपयोगिताका दृष्टिले यहाँ धेरै महत्त्वपूर्ण कुरा आए पनि प्रस्तुतिको प्रवाहमा कलात्मक आकर्षण त्यति पाइँदैन । स्थानीय भाषिकाका कर्किनीका कथन नेपालीमा अनूदित नगरी राखिएका हुँदा ती सबै नेपाली भाषीले नबुझ्ने हुँदा पनि पाठकलार्इ असजिलो भएको छ । त्यस्तै चयनात्मक सिप र कसिलारसिला कथन त्यति नपाइँदा पनि कृतिको कलात्मक ओज मलिनो देखिएको छ ।
५. पुतली आमा
यसमा पहिला गाउँबाट पढाइदिन्छु भनी आफ्नै नातेदारले काठमाडौंमा लगेर बलात्कार गर्न तम्सेको हुँदा आफूलार्इ बचाउन नाङ्गै सडकमा भागेकी केटीको कथा प्रस्तुत गरिएको छ । आवेशमा सडकमा नाङ्गै भाग्नु केटीको मनोवैज्ञानिक समस्या हो जसलार्इ “साइकोजेनकी डिसोसिएटिव म्युटिज्म” भनिन्छ (पृ.२२१) । समस्या नाङ्गै सडकमा केटी भाग्नु होइन । समस्या त त्यस्तो परिस्थितिमा उनलार्इ पुर्याउने व्यक्ति अनि नाङ्गी केटी देखेर दङ्ग परी हेरी बस्ने समाज हो । पुलिस पनि उनलार्इ तमासे नै बनेर हेर्छ । लठ्ठी लगाएर वशमा पार्न खोज्छ । यही बेलामा पुतली आमा आएर “विवेक र धर्मको कपडा नलगाएको, नाङ्गो” (पृ.¬२१३) पुलिसलार्इ झपार्दै केटीलार्इ कपडा लगाइदिर्इ लिएर जान्छिन् । मनोवैज्ञानिक गहिरो चोटका कारण केटी बोल्नै नसक्ने हुन्छिन् । मान्छेहरू उनको वास्तविकता थाहा नपाएर उनलार्इ “दुखी लाटी” ठान्छन् । त्यही नामले बोलाउँछन् ।
यी सबै परिस्थिति देखेबुझे पछि पुतली आमाले उदास केटीको आत्मबल बढाउन विभिन्न दृष्टान्तमूलक कथा सुनाउन थाल्छिन् । उनको कथा सुन्ने अरू केटीहरू पनि हुन्थे । नारीहरू पुरुषभन्दा सक्षम प्राणी हुन् भन्ने भाव विस्तारै श्रोताहरूमा सञ्चार हुन थाल्छ । केटी पनि बोल्छिन् । उनले आफ्नी आमाको मोबाइल नम्बर भने पछि फोन गरिदिन्छन् । आमाहरू लिन आउँछन् । जाने बेलामा कलेज पढ्न भनेर आएकी थिएँ, पुतली आमाका कथा सुनेर निकै बलिर्इ भर्इ जाँदैछु । जीवनमा बलियै काम गर्नेछु भनी पुतली आमासँग भावुक ढङ्गमा बिदा हुन्छिन् ।
पुतली आमाका पनि आफ्नै अनेक व्यथा छन् । मेरुदण्डको हड्डी भाँचिएर तल्लो हर नचल्ने भएका लोग्नेको उपचारका लागि उनी कर्णालीबाट काठमाडौँ आएकी हुन् । काठमाडौंका केही अस्पतालमा उपचार गर्दा गर्दै खर्च सकिए पछि जोरपाटीको अपाङ्ग अस्पतालमा निशुल्क उपचार हुन्छ कि भनी लोग्नेलार्इ लिएर त्यहाँ गएकी छन् । डाक्टरले किन आउनुभयो भनी सोद्धा “पैसा सक्किय, सास सक्कियन तेसैले (पृ.२२३) !” भनेकी छन् । कर्णालीकै डाक्टर भएकाले उपचार अस्पतालले गरिदिने भए पनि अरू खर्च आफैले जुटाउनु पर्ने भएकाले उनी क्यान्टिनका भाँडा माझ्ने, बजारमा झोला बेच्ने, उद्योगमै गएर झोला सस्तोमा किनी बेच्ने, झोला बुन्नेहरूलार्इ प्रेरित गरी आफूहरूले नै झोला बनाउने र बेच्नेजस्ता काम गरेर वा आफ्नो श्रमको मूल्य अधिकतम आफै पाउनेमा लागेकी छन् । उनको यस्तो कर्मले उनी प्रशस्त आत्मबल भएकी, जस्तै परिस्थितिलार्इ पनि सामना गर्न सक्ने, अरूको शोषणमा पर्न नचाहने, बिचौलिया दलालले उनी माथि आक्रमण गरेपनि कत्ति विचलित नहुने, कर्मठ नारीका रूपमा देखिएकी छन् ।
यस कृतिमा सबैभन्दा विद्रोही स्वभावकी नारी पनि यिनै हुन् । अरूका लागि हरहमेसा ज्यान फालेर लड्ने नारी आफ्नै लागि किन मौन हुने भन्ने उनको प्रश्न छ । उद्योगका श्रमिक नारीलार्इ सम्झाउँदै उनले भनेकी छन् “आफैलार्इ हेर नानीहरू, फ्याक्ट्रीको मालिक रिसाउला, जागिर खाइदेला भन्ने सोच्छौ तिमेरू । जागिर त तिमेरूले दिएका छौ, उसलार्इ । तिमेरू झोला बुन्ने म झोला बेच्ने अनि कसरी यो व्यापार उसको भयो, कसरी यो फ्याक्ट्री उसको भयो (पृ.२३७) ?” उनका यस्ता विचारोत्तेजक भनाइबाट केटीहरू राम्रै प्रभावित पनि हुन्छन् ।
समग्रमा हेर्दा सिङ्गो कृति कर्णालीकै कहरकथा हो । यसलार्इ बुद्धको स्वतन्त्र सत्ताहीन, एकअर्कामा आश्रित, प्रतिपल गतिशील वा क्षण भङ्गुर, निस्वभावमय शून्यवादसँग त होइन तर उनका चार आर्य सत्यका सापेक्षतामा राखेर हेर्न र व्याख्या गर्न भने सकिन्छ । जस्तै दुनियाँमा दुख छ; दुखको कारण छ; दुख निवारण गर्न सकिन्छ र दुख निवारणका बाटा छन् भन्ने बुद्धका चार आर्य सत्य हुन् । ती यस कृतिमा यसरी प्रकट भएका छन् । जस्तै
१. दुनियाँ (कर्णाली) मा दुख (रोग, भोक, शोषण जस्ता कृतिका मूल विषय) छ ।
२. दुखका कारण (अशिक्षा, विपन्नता, अन्धविश्वास र तिनकै जगमा उत्पन्न लैङ्गिक, जातीय आदि विभेद) छन् ।
३. दुख निवारण (शारीरिक र मानसिक रोगीको उपचार, भोकालार्इ भोजन / रोजगार) हुन सक्छ ।
४. दुख निवारणका बाटा (पीडकको हृदय / सोच परिवर्तन गरेर वा विद्रोह गरेर) छन् ।
विषयनिष्कर्ष
चिकित्सक नवराज केसीको पहिलो कृति ‘शून्यको मूल्य’ उनकै जन्मस्थान कर्णालीको सेरोफेरका बासिन्दाहरूको कहर कथामा आधारित छ । यसको विषय पनि उनले आफ्नै चिकित्सा कर्म गर्दा देखेभोगेका सन्दर्भबाट छनोट गरेका छन् जुन यथार्थ नै देखिएका छन् । लेखक स्वयं बालरोग विशेषज्ञ भएका हुँदा उनले यहाँ विशेष गरी बालबालिकाकै स्वास्थ्यसँग सम्बन्धित विषय प्रस्तुत गरेका छन् । त्यस क्रममा गर्भवती आमा र उनको स्वास्थ्य पनि जोडिन आएको छ । मातृत्वको महिमालार्इ वैज्ञानिक कोणबाटै निरूपण गर्दै त्यसबाट नारीमा स्नेह, ममता, विशिष्ट सहनशीलता र समस्या समाधन गर्ने दक्षता विकास हुने कुरा पनि जनाइएको छ । यस्ता नारीको सत्तामा पहुँच हुने हो भने विश्वयुद्ध, नरसंहारजस्ता विनाश रोकिने तथ्य पनि सङ्केत गरिएको छ । त्यस्तै परिवारमा गुणस्तरीय ढङ्मा सन्तान हुर्काउन हजुर आमाको भूमिका (मानव र मानवेतर दुवै क्षेत्रमा) प्रथम महत्त्वको हुने पनि कुरा पनि जनाइएको छ ।
रोग शारीरिक मात्रै नभर्इ मानसिक पनि हुन्छ । मानसिक रोगको उत्पत्तिका अनेक कारण भए पनि मुख्यतः पारिवारिक र सामाजिक परिवेश नै त्यसका प्रेरक हुन्छन् । तर यो मनोवैज्ञानिक पाटोलार्इ बेवास्ता गरी गरिने उपचारले रोगी ठिक हुँदैन । बरू रोगी र उसका अभिभावकहरूलार्इ अनेक सास्ती मात्रै दिन्छ भन्ने कुरा यहाँ राम्रोसँग देखाइएको छ । सुर्खेत, नेपालगन्ज र लखनऊका राम्रा अस्पताल धाएर पनि ठिक नभएकी बालिकालार्इ उनको मनोवैज्ञानिक उपचारले ठिक पारिएको छ ।
कर्णालीको पहाडी भूगोलमा धेरै कुराका अभाव छन् । मुख्यतः शिक्षा, स्वास्थ्य, यातायात, रोजगारी जस्ता कुरा नहुँदा त्यस समाजमा अनेक अन्धविश्वास, जातीय र लैङ्गिक विभेदहरू गहिरोसँग जरा गाडेर बसेका छन् । त्यसको बढी मारमा नारी नै (जस्तै बोक्सी ठानी समाजबाट लखेटिएकी लाटी आमा) परेका छन् । पितृसत्ताको ज्यादती त सबैजसो नारीले व्यहोरेको देखिन्छ । लाटी आमाको लोग्ने गर्भ बोकाएर इन्डिया पलायन भएको छ । शान्ति र गोमाका लोग्नेले रक्सी धोकेर गर्भवती श्रीमतीलार्इ लात्ताले भकुरेका छन् । शान्तिको गर्भको बच्चा सोही कारण मरेको छ । कर्किनी बज्यैको रक्स्याहा लोग्नेले रक्सी धोक्न छोरी नै होटलमा लान थालेको छ । प्रतिरोध गर्न तम्सेकी श्रीमतीको उसले आँखो फुटाइदिएको छ । गाउँकी केटीलार्इ पढाइदिन्छु भनी काठमाडौँ लगी आफन्तले नै बलात्कार गर्न खोजेको छ । पितृसत्ताका यस्ता अनेक करहकथा यहाँका नारीले व्यहोर्दै आएका छन् । आफ्नो सन्तानको हत्यारा लोग्नेलार्इ क्षमा दिएर उनैसँग बस्न बाध्य शान्तिजस्ता नारी यहाँ धेरै छन् । क्षमाशील हुनु त्यस समाजका नारीको महानता भन्दा पनि बाध्यता नै बनेको छ । पितृसत्ताले नारीलार्इ मूल्यशून्य देखेको छ । उनीहरू नाम हराएका पात्र भएका छन् ।
यसरी नारीलार्इ पुरुषको वासनापूर्तिको साधन मात्रै मान्ने वा मूल्यशून्य वस्तुका रूपमा लिने पुरुष मनोविज्ञान यहाँ हावी छ । नारीप्रति सहानुभूति जनाउनेले पनि हेपेर “छोडिदेऊ आइमार्इ त भैगी” (पृ.१३६) भनेको पाइन्छ । त्यसैको प्रतिरोधमा यो कृति लेखिएको हो तर नारी पात्र निमुखा भइदिँदा अपेक्षित प्रतिरोध हुन सकेको देखिन्न । कर्किनी बज्यै र पुतली आमामा भने त्यस्तो निरिहपन छैन । उनीहरूले साच्चै प्रतिरोध गरेका छन् । स्वावलम्वी भएर बाँचेका छन् ।
चरम विपन्नता कर्णालीको अर्को समस्या हो । बास कर्णालीमा भए पनि गाँस खोज्न इन्डिया पस्नुपर्ने उनीहरू जुन बाध्यता छ त्यसको निरूपण यहाँ छ । लाटी आमाको श्रीमान् र बुधेकी फुपूको प्रेमी गाँसकै खोजीमा इन्डिया भास्सिएर हराएका छन् । विपन्नताकै कारण कर्णाली बासीले बेलैमा उपचार पाएका छैनन् । स्वास्थ्यकेन्द्र पर्याप्त छैनन् । भएका पनि नाममात्रैका छन् । त्यसैले सामान्य रोग पनि बढ्दै गएर गम्भीर बन्ने अनि चिलगाडी चढेर जाने सबैको क्षमता नहुँदा असमयमा मर्नुपर्ने उनीहरूको अवस्था छ । बल्लतल्ल गइहाले पनि उपचारको खर्च थेग्न सक्दैनन् । त्यसैले बिरामीभन्दा बिरामी बोकेर जानेको हालत दयनीय देखिने कुरालार्इ यसले आकर्षक रूपमा प्रस्तुत गरेको छ । बिरामी पर्दा बिरामी मात्रै होओस्, गरिब नहोओस् भन्ने कृतिको कामना छ । साथै कर्णालीमा ५१ प्रतिशत आमा र ४९ प्रतिशत शिशु कुपोषग्रस्त भएका अनि दससम्म पढेका आमाका हजारमा १८ बच्चा र नपढेका आमाका हजारमा ५८ बच्चा खेरजाने गरेको तथ्याङ्क प्रस्तुत गरी राज्यले स्वास्थ्य संरचनाको निर्माण के कसरी गर्नुपर्छ भन्ने आधारसहितका गहकिला सुझाव पनि कृतिमा दिइएको छ ।
यीबाहेक जातीय विभेद, राज्यको कर्णालीप्रतिको उपेक्षा, चिकित्सकको नाममात्रको सेवा सुविधा, त्यो देखेर ठेकेदारजस्ता अवैध आर्जन गर्नेहरूले उनीहरूलार्इ हेप्ने प्रवृत्ति, कर्णालीको हवाइ यातायातको अनिश्चितता र जीर्ण जहाजको जोखिमपूर्ण यात्रा जस्ता अनेक विषय यहाँ आएका छन् । यस्ता अनेक विषयलार्इ यहाँ अत्यन्त सकारात्मक सोचका साथ प्रस्तुत गरिएको छ । विशेषतः सीमान्तकृत समुदायको दुर्दशापूर्ण अवस्थाको निदर्शन गरेर उनीहरूको अवस्थामा सुधारको अपेक्षा यसले राखेको छ । त्यसका लागि चर्को विद्रोह वा मुठभेडमा नलागी सहज ढङ्गमा पीडकको हृदय परिवर्तन यसले चाहेको छ । यसको शीर्षकमै “सास, साहस र स्नेहको कथा” जुन भनिएको छ त्यसले पनि यही सङ्केत गर्छ । अझ स्पष्ट भनौँ मूल्यहीन वा शून्य ठानिएका कर्णालीका सीमान्त समुदायको यसले मूल्य चाहेको छ । सुधारवादी स्वरको सञ्चार नै यसको खास अपेक्षा हो ।
आवाज विहीनहरूको आवाज यसले बोलेको छ । चिकित्सक कर्मले लेखकलार्इ त्यस्तो समस्याग्रस्त सीमान्तीकृत समाजको वास्तविकता बोध गर्न निकै सघाएको छ । डाक्टर हुनुपूर्व र डाक्टर भएपछि देखेको कर्णाली धेरै फरक रहेछ भन्ने उनको स्वीकारोक्तिले पनि त्यसको पुष्टि हुन्छ । त्यस्तो विषयको निरीक्षण निकै घोरिएर गरिएको छ । उनको स्वतन्त्र अन्वेषण पनि ठाउँठाउँमा देखिएको छ ।
विषयको प्रस्तुति भने आख्यानात्मक ढाँचामा गरिएको छ । प्रस्तुतिमा रचनात्मक क्षमता पनि राम्रै देखिएको छ । स्वास्थ्य क्षेत्रका धेरैजसो विषय वैज्ञानिक आधारसहित प्रस्तुत गरिएको छ भने कतिपय अन्य विषय (जस्तै भेडिनी कान्छीको) स्वैरकाल्पनिक ढाँचामा पनि प्रस्तुत गरिएको छ । भाषाको प्रवाह र कथन ढाँचा पनि आकर्षक नै रहेको छ । विषय छनोटको सिप र त्यसको विस्तार तेस्रो र चौथो शीर्षकमा त्यति परिष्कृत नदेखिए पनि अरूमा राम्रो छ । पहिलो शीर्षकको विषय र प्रस्तुति नै अब्बल रहेको हुँदा पाठक सहजै अगाडि बढ्न तयार भइहाल्छ । समग्र कृति प्रस्तुतिको ढाँचा/बनोट र रूपविन्यास/बुनोट हेर्दा एउटा परिपक्व शैली विकास गरेको आख्यानकारको झल्को आउँछ । ठाउँठाउँमा लेखकको खोटरहित आत्मकथा र यात्राविवरण पनि मिसाइएको छ ।
चिकित्सकजस्तो विशुद्ध प्राकृत विज्ञान / शरीर विज्ञानका अध्येताले समाज विज्ञानको समेत अध्ययन गरेर व्यक्तिमनोविज्ञान (विशेषतः बालबालिकाको) बुझ्नु र उसको समस्या समाधान गरिदिनु आफैमा ठुलो सामर्थ्य हो । त्यसमाथि त्यो सामर्थ्यलार्इ पहिलो कृतिमै यतिविघ्न विविधता र रचनात्मकता भरेर प्रकट गर्न सक्नुले निश्चय नै लेखकको बहुमुखी सबल व्यक्तित्वलार्इ राम्रैसँग स्थापित गरिदिएको छ ।
कृति बालबालिकाका असल अभिभावक र असल पति बन्न चाहनेहरूका लागि मात्रै होइन, चिकित्सक, नीतिनिर्माता अनि कर्णाली बुझ्न चाहने र कृतिको रचनात्मकतामा रमाउने सबैका लागि पठनीय छ । हुन त यसपूर्व मैले स्वास्थ्यकर्मी राधा पौडेलको ‘खलङ्गामा हमला’ (२०७०) पढ्दा पनि प्रस्तुतिको यस्तै रचनात्मकता पढ्न पाएको थिएँ । त्यो पनि कर्णालीकै कहरकथा हो । भलै, त्यो राजनैतिक द्वन्द्वको उत्कर्षको घाउसँग सम्बन्धित छ । त्यसपछि पनि राधा लेखनमा सक्रिय नै छन् । नारीका पीडा व्यक्त गर्ने क्रममा उनले किशोर पाठकलार्इ ध्यानमा राखी मुस्लिम नारीको कहरकथा ‘मारियम मान्छे भर्इ’ (२०७९) कृतिमा व्यक्त गरेको बुझिन्छ । डा. नवराजको पनि भरखरै अर्को किताब ‘स्वस्पर्श’ आएको सुन्दैछु । म प्रतीक्षामा छु फेरि कसैले यसरी नै “यो कृति पढ्नुभयो ?” भन्दै मेरो हातमा केही दिनका लागि त्यो कृति पनि थमाइदिने छ ।
पृथ्वीनारायण क्याम्पस, पोखरा