14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

भित्र र बाहिर

कथा कृष्ण प्रर्साई December 18, 2008, 8:09 pm

पुलिसले फेरि पनि अर्को खागी मार्का बिँडी सल्कायो । राइफलको रंगीन आकाशतिर फर्काएर रातीको पहरा ब्यूँझाउने काम ऊ आफ्ना बूटहरुको चुरुम्चुरुम् आवाजसँगै समस्त कैदीहरुको मनमा भय र र्सतर्कताको आभास ढुक्ढुकीहरुसम्म पुर्याएर खबरदारका ध्वनीहरुमा छरिइरहेको छ । उभित्रको कठोरतम् मान्छेको मूक अभिव्यक्ति उसले छोडेका बाहिरी हाउभाउहरुले बोलिरहेका छन् । खागी कपडाको वर्दीमा उभिएको त्यो पुलिसको मन र मष्तिष्क त्यस बेला त्यति नै खस्रो र खागी रंगको लाग्ने गर्दछ-जति खेर ऊ धेरै बेरसम्म सुँघिसकेर बास्ना निख्रिसकेको फूलको थुँगालाई भूँइमा फ्याँकिसकेपछि पनि मिनेटौँसम्म आफ्नो कालो र कठोर जुत्ताले किचेर कच्याक्कुचुक् पार्ने गर्दछ ।

मानवीयताका प्राथमिक बाह्रखरीहरुलाई ऊ जस्ता धेरै सहधर्मीहरुले आफ्नो पेशागत तालीम अवधिभित्र नै मारेका हुँदा रहेछन् क्यारे, किनभने पहरेदार भएर यस कारागारभित्र पस्ने कुनै पनि खागी रंगहरुले मान्छेभित्रको जात र धर्मलाई आत्मसात् गरेर आफूमा अपनाएको देखिदैनथ्यो । मानौँ हामी र उनीहरुका बीचका कुनै पनि कुरा मिल्दाजुल्दा छैनन् । नितान्त फरक र विपरीत छन् । यस्तो लाग्छ, हामीहरु मान्छेबाट झरेर जात र स्वरुप नै फेरिइसकेका उनीहरुद्धारा पालित जन्तुहरु हौँ जसले अरुले दिएको खानुपर्छ, अरुकै इशारामा र इच्छामा बस्नुपर्छ ।

कैदी अधिकारहरु छिनेर मानव अधिकार दिवस मनाउने हाम्रा हाकिमहरुलाई यति बेला पक्कै पनि हामीलाई जस्तो चिसोको अनुभव नभएको हुनुपर्छ । मानव र्स्पर्शका न्याना स्वादहरुको सम्झना त्यतिखेर उर्लने गर्दो रहेछ जतिखेर सम्पूर्ण पुस महिना शरीरभरि एक्लो भएर कामिरहने गर्दछ । एक्लो हुँदाको पीडा कल्पना गरेर भन्दा भोगेर थाहा पाइने रहेछ ।

चारैतिर देखिने आफूभन्दा सात फुट अग्ला पाषाण पर्खालहरुले कसरी आफुसहित आफ्ना मानवीय इच्छा र दृश्यशक्ति बोकेका आँखाहरुलाई समेत कैद पारेका छन् । इन्द्रियहरुलाई यसरी कैद गर्नेहरुले मनलाई पनि बाँध्न र थुन्न सक्नुपर्ने हो तर किन मन चार पर्खालले घेरेको संसारभित्रबाट मानवीय वस्तुहरुको चाहनामा ज्यादै सम्वेदनशील भएर स्वतन्त्रताको खोजी गर्दै चेतनाहरु ब्यूँझाउन धेरै टाढा टाढा पुग्ने गर्छ । माथि हेर्दा आकाश मात्र देखिने यस अनौठो खाले मानव चिडियाघरको मझेरीबाट मनले कल्पनाहरु उमार्ने गर्दछन् । आँखा भएर पनि पर्खालभन्दा टाढा नदेख्ने यिनीहरुको दृष्टिदोषमा अर्ध जीवन बाँचेका रहरहरुसँगै सधैँ भौतिक आकांक्षालाई मार्नुपर्ने क्रममा छट्पटिन्छन, भुट्भटिन्छन, र अधमौरो भएर बाँचिरहेका छन् ।

दृष्टिको स्वाद सधैँ राम्रो वस्तु हेर्नमा अर्थपूर्ण मानिन्छ । सुघ्नुको आनन्द सधैँ वास्नादार सुगन्धहरुमा अल्झेको हुन्छ भनिन्छ र सुन्नुको मजा प्रत्येक प्रकृतिका सांगितिक वस्तुहरुमा अन्तर्निहित बाँचेको हुन्छ भनेर बोलिन्छ । तर दुई वर्षअघिदेखि आफूसँगै कैद हुन पुगेका यी साराका सारा अस्तित्वमा दुर्गन्ध फ्याँकेर समस्त समयले किन यी सीमाना र साँधहरुमा अतिक्रमण गरेको छ । अनि कस्तो निरीहता र सुष्कताभित्रको संसारलाई समाउनुपरेको छ यी इन्द्रियहरुले - सम्झँदासम्म पनि मन त्यसै-त्यसै कुँडिन्छ ।

केही बिराएको हुँदैन मिर्गले तर शिकारी उसैको शिकारमा रमाउने गर्छ । केही अपराध गरेको हुँदैन सुत्केरी ढुकुरले तर व्याधा त्यसैमाथि वाण बर्सेछ । अनि केही बिगारेको हुँदैन शुकरात र यिशुले तर मान्छे तिनैलाई मृत्युको पुरस्कार दिनमा गौरव अनुभव गर्दछ ।

अहिले म छु । म माथिको आकाश छ र मेरो अगाडि म बस्ने अन्धकुपको बाहिर केही टाढा पुलिसको पहराभित्र हामीसँगै कैद बाँचेका इन्द्रकमल र गुलाफका बोटहरु उभिएका छन् । भनौँ अहिलेको परिवेश म मा, मेरो अन्धकूपमा, इन्द्रकमलका बोटहरुमा, गुलाफका फूलहरुमा र केही टाढा जाग्राम बसेको पुलिसको पहराहरुमा ब्युँझिएको छ ।

गुलाफका फूलहरुको कुरा गर्दा म ती कलेजी र सेता खाले गुलाफहरुलाई सम्झने गर्छु । जसले प्रकृृतिको निश्चित गोलार्धमा फुलेर हाम्रा आँखा र नाकहरुलाई स्वाद भर्ने गर्छन् । फूलहरु स्वयं कैद हुँदा रहेछन् एक प्रकारले प्रकृतिमा । फक्रिने, फुल्ने, र झर्ने क्रमहरुमा मौसमले कैद पार्दा रहेछन् फूलहरुलाई । समयले बाँधेका रहेछन् फूलहरुलाई । त्यसैले तिनीहरुको महत्व नै अरुहरुकै आँखाले हेरिदिनुमा, सौर्न्दर्य भएर सजिइदिनुमा र सगुन भएर सिउरिदिनुमा र्सार्थक र अर्थपूर्ण हुँदो रहेछ । अझ भनौँ थुँगा भएर उनिनुमा, माला भएर भिरिदिनुमा र उपहार भएर बाँडिनुमा सीमित हुने गर्दा रहेछ ।

फूलहरु, मभन्दा पनि ठूला, त्यो पहरेदार सिपाहीभन्दा ठूला र अहिलेको सम्पूर्ण परिवेशभन्दा पनि ठूला । जो एक ठाउँमा फुलेर अनेकमा रमाउने गर्दछन् । एक किसिमले फूलहरु अरुकै लागि फुलिदिने गर्छन् । उनीहरु दिन्छन् र हामीहरु लिन्छौँ । आफ्ना सौर्न्दर्य, सुवास र सुगन्ध आफू नखाएर अरुमा दान गर्नु र अरुकै आनन्दका लागि बाँचिदिनुले नै फूलको गरिमा ज्यादा भएको हुनसक्छ । मलाई यी सबै कुरा हेरेर फूलसँग डाह हुन्छ ।

कैदीहरुलाई पहरा दिने क्रममा स्वयं कैदी झैँ एक्लै कठोर र अनिदो जिन्दगी बाँचेको पुलिसले रातीको बाह्र बजेको संकेत आफूछेउमै झुण्डिएको फलामे घन्टी टङ्टङी बाह्र पटक हानेर जनायो । चकमन्नताको चुँदरीले चारैतिर चूक चोरेको चन्द्रविहिन रातलाई चौकीदार सिपाहीहरु यसरी नै घन्टैपिच्छे समय जगाउने काम गर्ने गर्दछन् यो कारागार भित्र ।

केन्द्रीय कारागरको महिला शाखामा कैदी जीवन काट्न आउनेमध्ये धेरैहरु हत्या र अवैध कारोबार गर्नेहरु बढी मात्रामा रहेका छन् । आफूले गरेको सजायलाई जीवन भर भोग्न कानूनी मर्यादापालकहरुबाट समातिएका उनीहरु किन हो कुन्नि यस चारखालभित्र पसेपछि धेरैजसो उत्ताउला देखिने गर्दछन् । यहाँका बासिन्दाभित्र पाइने कठोर र निष्ठुरताको सानो उदाहराण केही साताअघि मात्र एउटी सिन्धुपाल्चोके तामाङनीले दिएकी थिई । आफ्ना अँगालाभरिको एउटै मात्र बिरामी छोराको औषधोपचारका लागि घरघडेरी धितो राखेर पैसा लिने उदेश्यले अम्बेवर काजीको घर आँगनमा गरीबी गुहार्न पुगेको बेला उल्टै उसले आफ्नो शरीरलाई अम्बेवरको शरीरसँग खेलाउनुपरेको थियो रे । उसको शरीरलाई बलात्कार गर्ने काजीलाई हजारौँ बिन्तीभाउले पनि गाल्न नसकेपछि उसले काजीको घाँटी नै छिनाइदिएकी थिई रे ।

आफ्नी बैँस चढेकी छोरीलाई धेरै दिनसम्म भान्से रखौटीको रुपमा राख्ने काजीका घरबाट एक दिन अचानक ऊ हराएर कलकत्ताको बेश्यालयमा बेचिन पुग्दा समेतर् इश्वरको मुख ताक्ने माइली तामाङनीले अम्बेवर काजीको काटिएको शरीर र टाउको कसरी छट्पटाएथ्यो, कसरी काजीका रसिक आँखाले मृत्युपछि पनि बदलाको भावले उसलाई हेरेका थिए आदि सबै कुरा उसले गर्दा मैले उसको साहसलाई धेरै अचम्मसँग पढेकी थिएँ ।

पैँतालीस वर्षम्म अविवाहित नै रहेकी छु भन्ने तुइनानी श्रेष्ठिनी पनि मेरै अघिल्लो कोठामा बस्ने गरेकी छे । उसलाई नुवाकोट जिल्लाको तुप्चे गाउँबाट केटी बेच्ने अवैध कारोबारमा दुईजना केटीहरुसहित समातिएर चार वर्षघि यहाँ ल्याइएको रे । त्यतिन्जेलसम्ममा उसले करीब चालीस जनाजति कोरली केटीहरुलाई देशको ठूलै पद सम्हालेर बसेको कुन्नी कुन मान्छेसँगको हिस्सेदारीमा भारतीय शहरहरुमा बेचिसकेको कुरा गर्थी । दिनहुँजस्तो बम्बइको नागपाडा भन्ने ठाउँमा आफूले शालिम भन्ने अरबी व्यापारीसँग कैयौँ महिना कटाएका न्याना र रमाइला वर्ण गरेर बान्द्रा वरपरका दृश्यहरु, ताजमहल होटल र तिहारको साँझताका देखिने बम्बइका रात्रि दृश्यहरुलाई ब्यूँझाएर उसले सबै कैदी महिलाको मन बहलाउने काम गरेकी थिई । त्यति मात्र होइन म यहाँ आएको करीब एक वर्षछि पश्चिम पहाडको एउटा गाउँबाट यस कारागारको सँघार टेक्न आइपुगेकी झुमाको पनि आफ्नै कथा छ । उसले त झन् सौताको रीसले आवेशमा आएर आफ्नै लोग्नेलाई ठहरै पारेकी रे । यसबाहेक विमलाको जीवनले पनि यस्तै घटनासँग मेल राखेको छ । विवाह भएको दुई वर्षछि आफ्नो लोग्नेद्धारा लखनउको बेश्याकोठीमा बेचिन पुगेकी उसले धेरै दिनसम्म नर्कवत् जीवन गुजारेपछि लखनउकै कुनै महिला उद्धार संघका कार्यकर्ताहरुले त्यस जीवनबाट छुटाएर उसलाई सीमाना प्रहरी कहाँ बुझाएका थिए रे । त्यस रात चार-चार जना भारतीय खागी वर्दीधारीको समूहगत बलात्कारलाई पचाउन सक्ने विमलालाई अर्को दिन नेपाल प्रहरीको कब्जामा बुझाइएको थियो रे । उसले भनेकी थिई, उसको विवाहित घर लमजुङको भोटेओडारसम्म ल्याइपुर्याउँदा अरु दुई जना प्रहरीको रसरङ्गमा पर्नुपरेको थियो रे । प्रहरीले बुझाउन ल्याउँदा समाज र घरपरिवारको इज्जती ढाल ओढाएर आफ्नै श्रीमान्ले बुझ्न अस्वीकार गरेपछि जानाजान उसले बेश्यावृत्ति पेशा अपनाएर यतातिर लागेकी रे । यता लागेको झन्डै वर्षदिनपनि पुग्न नपाई पुनः प्रहरीको हातमार्फ कसरी यहाँ भित्रिएकी थिई भन्ने विस्तृत रुपमा अझै भन्न बाँकी नै छ ।

विगतलाई बल्झाएर वर्तमानलाई बिथोल्ने र भविष्य लाई समेत दुःखी पार्ने काम निको नलागेर नै विगत बिर्सर्ााे क्रममा चिठीका पन्नाहरु जलाएर अक्षरहरुको आगो तापेपछि हिजोदेखि मेरो मन केही मात्रामा हल्का भएजस्तो लागेको छ । अब जाडो भगाउन जलाइने सम्पूर्ण विगत बोकेका पत्रहरु जाडोको आहुतिमा भस्म भैसकेका छन् । जुन पत्रहरु कैदी जीवनको प्रारम्भिक दिनहरुमा म आफुले आफैलाई लेखेकी थिएँ । हो, ती भावनाहरु यसरी मरिसकेका छन् जसको अवशेष मात्र बाँकी रहेको छ र नितान्त चिसो कठ्याङ्ग्रिने भुइँमा फालिएको छ । भावनाहरुले सहज मृत्यु भोग्न नपाउनुको परिणति नै यस्तो मृत्यु भोग्नुको दुरभाग्य हुदो हो । त्यसैले होला अस्तिदेखि फेरि पनि यस्तो भैरहेको छ जुन कैदी जीवनको प्राथमिक दिनहरुमा हुने गरेको थियो । त्यसताका पनि आधाजसो रातहरुमा आफ्ना स्वच्छन्द बयानहरु यदाकदा देखिने ती चन्द्र भनाउँदा आकाशमार्गी यात्रुलाई सुनाएकी थिएँ । भनाइको समाप्तिपछि मनमा विश्रान्ति मिलेको आभास आँखाहरुले बोल्ने गर्थे । त्यसबेला पनि परेलीहरुमा भिजेका दुई व्यथित आँखाहरुका ठीक दुई भित्तामुन्तिर एउटा विखण्डित हृदयभित्र विशाल हुरी चलिरहेकै हुन्थ्यो आफ्ना सिँगै सपनाहरुलाई उडाएर ।

(दुई)

दुई वर्षो लामो अन्तरालपछि फेरि पनि मैले उसलाई आज रातीको सपनामा देखेँ । शहर पढ्न गएको पतिले ऊ भन्दा आधुनिक, शिक्षित र शहरिया सौता भित्र्याएको पर्सिपल्टै आत्महत्या गर्ने क्रममा झुन्डिन लाग्दा घटनास्थलमै समातिएर अदालती कारवाहीको लागि उसलाई हामीसामु हाजिर गराइएको थियो । सम्पूर्ण जिन्दगी नै कारगारभित्र भोग्न पाऊँ भन्ने उसको अनुरोधलाई कानूनी रुपले अस्वीकार गर्दै अन्तिम फैसलाको सिलसिलामा मेरो अदालती इजलासले वादी पक्षका सम्पूर्ण कुराको साबिती बयान बावजुद उसलाई सात वर्षजेलको सजाय सुनाइएको थियो । फैसलाको केही क्षणपछि नै ऊ अदालतको कठघराभित्र मुर्छा परेकी थिई । शायद यसमा उसको शरीरिक कमजोरीले भूमिका खेलेको हुनसक्छ ।

कानूनी किताबहरुले गर्ने निर्णई अदालती बोलीहरुमा सुनाएको दुई वर्षनपुग्दै मैले आफ्नो पेशाबाट निवृत्तिभरण अवकाश पाएको थिएँ । कानूनका किताबहरुसँग खेलेर अदालती निर्ण्र्ाारु गर्नुपर्ने पेशागत अवधिभरि यस्ता धेरै सजायहरुको फैसला सुनाए पनि कैँयौँ यस्ता फैसलाहरुलाई मैले बाध्यतावश सुनाउनुपरेको थियो, जसलाई म अझै आफ्ना सम्झनाहरुमा बाँध्ने गर्छ ती धेरै फैसलाहरुमध्येको एउटा शिकार जमुनादेवी पनि हो जो अहिले आफ्ना एकलौटी कहरहरु जेलमा काटिरहेकी छ ।

एउटा तुनो च्यातिएको चौबन्दी चोलो, पुरानो पानबुट्टे साडी, रित्तो नाक, रित्तो कान, रित्तो घाँटी र औँठीविहीन हातका औँलाहरुमा नमिलेको कपाल र कलेटी परेर सुकेका ओठहरु लिएर त्यस दिन मेरो अदालती कठघरामा बयानको लागि उभ्याइएकी जमुनादेवीले भनेकी थिई-

"हो, मैले उनलाई भर्न आफू रित्तिएर सबै थोक सुम्पेँ । मैले मेरो तिलहरी र नौगेडी भनिनँ । कानपासा र औँठी भनिनँ । माइतीबाट दाइजो पाएको दशमुरी कूत उठ्ने खेत भनिनँ । पाँच वर्षम्म शहरमा पढ्न पठाउने क्रममा आफु नाङ्गिएर उनलाई बेरेँ । आफू रुझेर उनलाई ओढाएँ अनि आफू भोकभोकै बसेर उनलाई पोसेँ । यस क्रमम लोग्नेमान्छेले आँट गर्न नसकेका कोइराला र कुटमिराको घाँस र कोसौँ टाढाको पनेरो समेत भनिनँ । त्यसै बेला भीरबाट लडेर मेरा अभागी निधारभरि लागेका चोटहरु अझसम्म दाग भएर गाडिएका छन् । आखिर ती सबै दुःखहरु मैले उनैका लागि रोपेकी, सहेकी र खपेकी थिएँ । अब ममा केही रहेको छैन न्यायाधिशसाहेब, म रित्तिसकेको छु, एक्लिसकेकी छु र बेसहारा छु ।

मध्यान्न राति देखेको आजको यस सपनामा एकाएक मेरो सामु आएर उसले भनी, लौ हेर ! मैले सबै चुरा फुटाइसकेकी छु । अझै चिनेनौ मलाई ! पालैपालो गरी उसले आफ्नो शरीरैभरि श्रीमान्ले कुटेका नीलडामहरु देखाई । कुर्टाईमा पर्दा हर्ेर्नै नहुने भएर बिग्रिएको अनुहार र चुराले काटेका हातहरु देखाई । ज्यादै रोएर होला, उसका ठुल्ठुला र रक्तिम आँखाहरु सुन्निएका थिए । आँसुको अनुपस्थितिमा उसको मन अझै रुन छोडेको थिएन । हृदयबाट बहने आँसु आँखाको बनावटी आँसुभन्दा कैँयौ गुणा विस्यमकारी हुँदो रहेछ जसले उसलाई सुकाएर खाइरहेको महसूस हुन्थ्यो । शायद ऊ यस सपनामा मसँग पुरानै बोलीहरुको भीख माग्न आएकी हुनसक्छे । तर किन उत्तर दिइनँ मैले तिमीले सोचेअनुसार नै भोका भेटहरुको, नाङ्गा आङ्हरुको र रोगी शरीरहरुको क्षतिपुर्ति भर्न नसक्ने कानूनका ठेलीहरुले स्वतन्त्रताको कुराहरु कहिल्यै पचाउन सक्दैनन् भनेर । अनि किन उत्तर दिइनँ मैले दयाहीन, संवेदनहीन र निर्जीव कानूनका अक्षरहरुले केवल कमजोर, कंगाल र सोझाहरुलाई बढी सासन गर्ने गर्दछन् भनेर ।

एउटा सहज अवस्था बोकेको मनको भित्री अदालतले न्यायको खोजी गर्ने क्रममा दमन र नियमको लगामी घोडालाई सधैँ मलामी बनाउँदो रहेछ । त्यसैले होला आत्माहत्या गर्ने अधिकार प्रत्येक मान्छेलाई वैयक्तिक स्वतन्त्रताको, सम्मानस्वरुप दिनुपर्छ भनेर उसले यस सपनामा मेरै आँखासामु आफूलाई झुण्ड्याएर मारेकी थिई ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।