स्रष्टा चिनारीः–
पुण्य कार्कीको जन्म स्व.भीमध्वज कार्की र स्व.चन्द्रकला कार्कीका तेस्रो पुत्नरत्नका रुपमा साविक ताम्लिछा वडानम्बर–२ (हाल लिम्चुङ्बुङ गाउँपालिका)मा वि.सं. २०२७ भाद्र १८ गतेका दिन भएको हो । हाल उहाँ श्रीमती रेणुकाकुमारी राउत (कार्की), छोरा आशीष कार्की र छोरी अस्मिता कार्की सहितको परिवारमा त्रियुगा नगरपालिका वडा नं. ३ मोतीगडा, उदयपुरमा स्थायी रुपमा बसोबास गर्दै आउनु भएको छ । नेपाली साहित्यमा एम.ए., शिक्षाशास्त्रमा बि.एड.र कानूनमा बि.एलसम्मको औपचारिक विश्वविद्यालय तहको शिक्षा हासिल गर्नु भएका कार्की हाल श्री रामजानकी माध्यमिक विद्यालय मोतीगडाका प्रधानाध्यापकका रुपमा पूर्णकालीन शिक्षकको भूमिका हुनुहुन्छ भने त्रियुगा जनता बहुमुखी क्याम्पसमा आंशिक प्रध्यापकका रुपमा पनि विगत लामो समय अध्यापन पेसामा आबद्ध हुनुभयो ।
पुण्य कार्कीको साहित्यिक यात्रा २०४७ सालमा “ एऽऽ भुँइकुहिरो !!” शीर्षकको कविता त्रियुगा अर्ध–साप्ताहिक पत्रिकामा प्रकाशन भएसँगै आरम्भ भएको हो । कार्कीको साहित्यिक कृति प्रकाशनको शुभारम्भ भने २०५४ मा “बाघले घाँस खायो” कविता सङ्ग्रहबाट भयो । त्यसपछि उहाँका एकपछि अर्को अविरल रुपमा कृतिहरु आइरहे । २०८२ साउन महिनासम्म आइपुग्दा नेपाल वाङ्मय प्रतिष्ठान उदयपुरद्वारा प्रकाशित “जराको शक्ति (निबन्ध संग्रह)”सम्म आइपुग्दा करिव साढे तीनदशक समयावधि उहाँले साहित्य साधनामा अर्पण गरिसक्नु भएको तथ्य बोध हुन्छ ।
निरन्तर रुपमा साहित्यिक रथ–यात्रामा आफूलाई हुइँक्याउन सफल अनि अनवरत अक्षर यात्रामा रुची राख्ने उदयपुरे कलमकर्मी साहित्यिक व्यक्तित्व पुण्य कार्कीका कविता सङ्ग्रह–२, कथा सङ्ग्रह–३, लघुउपन्यास–१, निबन्ध सङ्ग्रह–६, बाल कविता सङ्ग्रह–१, बाललोकथा सङ्ग्रह–३, शहीद जीवनी सङ्ग्रह–१, महान व्यक्तिका जीवनी सङ्ग्रह–५, खण्डकाव्य–१, बाल–कथा सङ्ग्रह–१, शिक्षामा क्रान्ति (भाग–१ र २ अनुवाद), गम्भीरबहादुर थापाको कृतित्व तथा व्यक्तित्व–१, ओशोका कथाहरु–१ अनुवाद सङ्ग्रह गरी करिब दुई दर्जन भन्दा बढी साहित्यिक रचनाका सङ्ग्रहहरु प्रकाशित छन् । साथै थुप्रै फुटकर लेखरचना प्रकाशन भैरहेका छन् भने लघुकथा लेखन, वाचन तथा समीक्षण कार्यक्रममा नित्यनिरन्तर सक्रिय रहनु भएको छ । विभिन्न साहित्यिक सर्जकहरुका सिर्जना र कृतिहरुलाई समीक्षा समालोचना गर्ने काममा पनि दिलचस्पीका साथ लागिरहनु भएको छ । विभिन्न संघसंस्थाहरुका स्मारिका र सामयिक सङ्कलनहरुको सम्पादन गर्नेदेखि लिएर पत्रपत्रिकाहरुमा लेख आलेख तयार गर्ने, पुस्तक चर्चा, परिचचा र परिसम्वाद कार्यक्रमको अगुवाई समेत गरिरहनु भएको छ । यसैगरि बुद्धपुरुष ओशोका थुप्रै कथाहरुको हिन्दीबाट नेपाली भाषामा अनुवाद समेत गर्नु भएको छ । उदयपुरदेखि काठमाण्डौंसम्मका स्थानीय तथा राष्ट्रिय पत्रपत्रिका, अनलाइन पोर्टल, सामाजिक सञ्जाल हुँदै राष्ट्रिय स्तरका साहित्यक पत्रपत्रिकाहरुमा आफ्ना सिर्जनाहरु प्रकाशन गरी राष्ट्रियरुपमा स्थापित तथा परिचित स्रष्टाको नाम पुण्य कार्की हो ।
नियात्रा लेखन, संस्मरण लेखनदेखि विश्व वाङ्मयका स्थापित व्यक्तित्वहरु (चलचित्रकर्मी, रंगकर्मी, ब्लगर, चित्रकार आदि) हुँदै विश्व विख्यात वैज्ञानिकहरु, विश्व चर्चित राजनीतिज्ञहरु, दर्शनशास्त्रीहरु, समाजशास्त्रीहरु, धर्म प्रवर्तकहरु समेतका विश्व विभूतिको यथेष्ठ जानकारीका निम्ति मिहीन ढंगले निरन्तर अध्ययन तथा खोजमा समर्पित भई साहित्य सिर्जनामा बहुआयामिक तथा विहङ्गम दृष्टि निर्माण गर्नु पुण्य कार्कीको वैशिष्ट्यता हो । साहित्यिक रचना मार्फत् जीवन र जगतको परिभाषामा मौलिकता घुसाउनु, विज्ञान प्रविधिको घाटानाफालाई सन्तुलनकारी ढंगले (साहित्यलाई परिपूरण गर्न) साहित्यमा अटाउनुपनि पुण्य कार्कीका मौलिकताभित्र पर्ने गर्दछन् ।
साहित्यिक चिनारीकै माध्यमबाट पुण्य कार्कीलाई समय–समयमा विभिन्न संघ संस्थाहरुबाट पदक, पुरस्कार, सम्मान, अभिनन्दन आदि गरेका छन् । त्यसै गरी त्रिभुवन विश्व विद्यालयले स्नातकोत्तर डिग्री उपाधिका निम्ति २०६५ सालदा २०७४ सालसम्म आउँदा करिब सात जना शोधार्थीहरुलाई उहाँको साहित्यिक व्यक्तित्व तथा कृतित्वका विषयमा शोध अनुसन्धान गराई शोधपत्रहरु तयार गराइसकेको छ ।
जराको शक्ति निबन्ध सङ्ग्रहको संक्षिप्त परिचय ः–
उदयपुरे साहित्यकर्मी पुण्य कार्कीको निबन्ध सङ्ग्रह “जराको शक्ति ” नेपाल वाङ्मय प्रतिष्ठान उदयपुरद्वारा २०८२ साउन महिनामा प्रकाशित साहित्यिक कृति हो । यस निबन्ध सङ्ग्रहको सुरुमा प्रा.डा.गोविन्दराज भट्टराई, श्रीओम श्रेष्ठ ’रोदन’ र कौशल चेम्जोङद्वारा कृतिउपर गहन विमर्श सहितका समालोचकीय भूमिकाहरु समावेश गरिएका छन् । यस निबन्ध सङ्ग्रहमा निबन्धकारका विगत एक दशक भित्र सिर्जना गरिएका करिब पैंतालीसवटा निबन्धहरु सङ्ग्रहित छन् । जराको शक्ति पुस्तकभित्र प्रकाशित निबन्ध सङ्ग्रहको विषयमा विद्वान–त्रय भूमिका लेखकहरुका मन्तव्य तथा पाठकीय टिप्पणीहरुले पुस्तकको छब्बीस पृष्ठ अग्रभाग ओगटेको छ भने बाँकी दुईसय बयानब्बे पृष्ठ पैंतालीस ओटा निबन्धले ओगट्न पुग्दा भीमकाय स्वरुपमा पुस्तक पाठकसामु आएको छ । निबन्ध सङ्ग्रहमा बाह्य पृष्ठ कभर पेज अगाडि र पछाडि दुवैतर्फ व्यवस्थित र आकर्षक ढंगले डिजाइन गरिएको छ । पुस्तक प्रकाशनमा हुनुपर्ने गुणस्तरयुक्त सिर्जनसूची, सामग्रीको समुचित विन्यास, भाषा र शैलीको परिमार्जन, संरचना र संगठन, डिजाइन र मुद्रण तथा परिष्करण र सम्पादनमा विशेष ध्यान पु–याइएको छ ।
निबन्ध सङ्ग्रहमा रहेका निबन्धहरुमा नैबन्धिक तत्व सघन र बलशालीरुपमा प्रधान बनेर आएको पाइन्छ । विषय, तर्क, उदाहरण, विवेचना, संरचना (आरम्भ, विकास र अन्त्य) भाषा, शैली, सन्दर्भ आदिमा तादम्यता मिलेको छ । निबन्ध आफैंमा एक गद्य साहित्यिक विधा हो, जसमा लेखकले आफ्ना विचार अनुभव, भावना, तर्क र चिन्तनलाई खास निश्चित विषयमा केन्द्रित गरी प्रस्तुत गर्ने गर्दछन् । निबन्धमा लेखकले आफ्नो दृष्टिकोण र विशिष्ट शैली मिसाएर विषयवस्तुको विश्लेषण र सश्लेषण गर्दछन् । “जराको शक्तिमा” निबन्धकारले ठिक ठिक ढंगले विषयवस्तुको विश्लेषण गर्नु भएको छ । यस निबन्ध सङ्ग्रहमा वर्णनात्मक निबन्ध, विवेचनात्मक निबन्ध, तर्कमूलक निबन्ध, भावात्मक निबन्ध, वैज्ञानिक निबन्ध, आधारभूत निबन्ध र समालोचनात्मक (विषयको समालोचना) निबन्ध जस्ता विविध किसिमका निबन्धहरुको गठजोडले कृतिलाई सुन्दरमात्र होइन पठनीयसमेत बनाएको छ । फरक यतिमात्र हो, एकै सङ्ग्रहमा अधिक निबन्धहरुको उपस्थिति भएको हुनाले कुनैमा कुनै एक भावधाराका निबन्धहरु संख्यामा धेरै छन्, कुनै अर्कोमा अर्को भावधाराका निबन्ध संख्यामा कम बनेर आएका छन् ।
संरचनात्मक व्यवस्थापनः–
पुण्य कार्कीको “जराको शक्ति” निबन्ध सङ्ग्रहको शीर्षकीय निबन्ध अथवा कृतिको नामकरण गर्ने निबन्ध जराको शक्ति हो । निबन्ध सङ्ग्रहको शीर्षक छनोट पाठक वर्गमा कौतुहलता पैदा गर्ने खालको छ । माटोमुनि छोपिएर सधैँ संघर्ष गरी रहने वन वनस्पतिका जरा र मानव जीवनको अदृश्य आन्तरिक ज्ञान र चेतनाका जरा र त्यसका निहित शक्तिबीच खिपिएर रहेको जरातत्वका बीच सारतत्वमा समानता देखाउन यो शीर्षकीय निबन्ध मुखर बनेर यस निबन्ध सङ्ग्रहमा आएको छ । यस निबन्ध सङ्ग्रहमा सङ्ग्रहित निबन्धहरुका अनुच्छेद व्यवस्थापन, विषयवस्तु अनुसारको शीर्षक व्यवस्थापन, भाषाशैली, शब्द चयन, व्याकरण, वर्ण विन्यास, चिन्ह विचार आदि पक्षमा विशेष सावधानीपूर्वक रचित छन् । शब्द छनोटमा नेपाली, हिन्दी, संस्कृत, अंग्रेजी आदि शब्दको आवश्यकता अनुसार प्राथमिकीकरण गरेको पाइन्छ भने विज्ञान तथा प्रविधि र औषधि विज्ञानका शब्दहरुमाथि पनि समन्यायिक भाव झल्कने किसिमले प्रयोग गरिएको छ । कतिपय सन्दर्भमा क्लिष्ट शब्दहरूको प्रयोगले सामान्य पाठकलाई बोधमा असहजता ल्याउने देखिन्छ । निबन्धमा प्रथम पुरुष र तृतीय पुरुष दृष्टिबिन्दु कथन शैली हावी छन् भने कतैकतै संवादमा न्यून उपस्थिति सहितको द्वितीय पुरुष दृष्टिबिन्दुको उपास्थिति रहेको पाइन्छ । निबन्धमा प्रशस्त कथातत्व र मिथकीय प्रसंगहरु समेटिएका छन् । निबन्धहरुमा उखान टुक्का, उक्ति र सूक्तिहरु समेत सानो अंशका रुपमा विम्बित छन् ।
विषय क्षेत्रः–
यस निबन्ध सङ्ग्रहभित्र संकलित निबन्धहरुको विषयक्षेत्र अत्यन्तै ठूलो, फराकिलो र बहुआयामिक प्रकृतिको छ । पैँतालीसवटा निबन्धहरुमा धर्म, मानवशास्त्र, समाजशास्त्र, राजनीतिशास्त्र, नीतिशास्त्र साहित्य, कला (सिनेमा जगत, हस्तकला, वास्तुकला, चित्रकला, गायन, नृत्य), जीवन–जगत, संस्कृति, शिक्षा लगायतका विषयवस्तुहरु समाहित छन् । त्यसै गरी भूगोल, खगोल, ज्योतिषशास्त्र, मनोविज्ञान र मानवीय वृत्ति र चरित्रसम्मका विशेष विषयवस्तु, बाक्लै भेट्न र बुझ्न सकिन्छ । सूचना, तथ्य र ज्ञानवर्धक जानकारी कतिपय निबन्धको विशेषता बनेर आएको छ ।
संकलित निबन्धहरुमा विज्ञान तथा प्रविधि (बाली विज्ञान, औषधी विज्ञान, जीव विज्ञान) देखि वैज्ञानिक खोज अनुसन्धान र आविष्कारका प्रसंग र घटना विशेषको चर्चा परिचर्चा पाइन्छ । प्रकृतिको वर्णन व्यक्तित्व चर्चा, डायरीको आद्योपान्त विवरण (२ दिनको) देखि इतिहाससम्म र तन्त्र विद्यादेखि ठगी धन्दासम्मका अग्ला होचा सबै खालका विषयवस्तुले परिपूर्ण छ निबन्ध सङ्ग्रह ।
निबन्धमा समय र स्थानः–
निबन्धकारले “जराको शक्ति“ निबन्ध संग्रहमा एकातिर त्रेतायुग समेट्ने रावण देखि द्वापर युगलाई समेत छुने गरी महाभारतकालीन दुर्योधन समेतलाई निबन्धमा जोड्न भ्याएका छन् भने अर्कोतिर चौध करोड वर्ष अघिको डाइनोसरको पृथ्वीमा एकछत्र राजको अवधिदेखि मानव समाज विकास क्रमको ढुंगेयुग, कबिला युग हुदै प्राचीन युनानी, रोम, डेलोसद्विप आदिका समय प्रसंगहरु निबन्धमा भेटिन्छन् । चौथौं शताब्दीमा मुसोले ल्याएको ब्ल्याक डेथ प्लेग महामारी देखि २०१९ डिसेम्बरमा चीनको वुहानमा देखापरेको कोरोना महामारी विश्वव्यापी भाइरससम्मलाई निबन्धमा प्रस्तुत गरिएको छ । नेपाली राजनीतिक इतिहासको मल्लकाल हँुदै सतिप्रथा र चन्द्रशमशेर देखि वर्तमान नेपाली राजनीतिका परिदृश्यहरुसम्म समेटिएका छन् । बाह्रौँ शताब्दीको मंगोलियाको चङ्गेज खाँदेखि बीसौँ शताब्दीको जर्मनको हिटलरसम्मको समयलाई कतै न कतै निबन्धहरुमा उजागर गर्न खोजिएको छ । विभिन्न निबन्धमा सम्मको टुक्राटुक्रा जस्तै – सेकेण्ड, मिनेट, घण्टा, दिन, हप्ता, महिना, वर्ष, दशक, शताब्दीसम्मको उपास्थिति भेटिन्छ । दिउँसो, राती, बिहान मध्यान्ह, साँझ आदिआदि पनि उत्तिकै महत्वका साथ निबन्धमा सरिक छन् । त्यसैगरी पुस्तौँ अघिदेखिको सामाजिक अवस्थादेखि आजको विज्ञान प्रविधिको युगसम्म फैलिएको समयको वर्णन निबन्धहरुमा बाक्लै भेटिन्छ ।
स्थान विशेषका रुपमा निबन्धहरुमा घर आँगन, चुल्हो, कोठाचोटादेखि गाउँबस्तीसम्मको चित्रण गरिएको छ । सिस्नेरी, मार्सेखोला, मोतीगडा, जोगीदह, मोथियाही, गाईघाट बजार, नेपालटार, दैलेख, झापा काठमाण्डौं आदि स्थानहरु निबन्धमा प्रवेश गरेका छन् । त्यसैगरी मोतीगडाको खण्डहरदेखि लुम्बिनी–कुशिनगर हुँदै भारत, चीन, अरब, इरान, मंगोलिया, अमेरिका, अष्ट्रेलिया, जापानदेखि एसियाली र थुप्रै विश्वका देश–भूगोललाई समेत निबन्धमा स्थान विशेषका रुपमा भित्र्याइएको छ । पात्रहरुका व्यक्तिगत जीवनका घरआँगनदेखि असपतालसम्म र ओछ्यानदेखि आइसोलेसन सम्मका परिदृश्यको सचित्र वर्णन गएको पाइन्छ निबन्धहरुमा । वातावरण वा परिस्थिति कथावस्तुको पृष्ठभूमि हो, जसमा घटनाहरु घटित हुन्छन् । निबन्धकारले परिस्थिति अन्तर्गत निबन्धहरुमा स्थानको वर्णन, वातावरणको वर्णन, समयको वर्णन, संस्कृतिको वर्णन र पात्रको वर्णनमा यथेष्ट ध्यान पु¥याउनु भएको छ । मूलतः अधिकाँश निबन्धमा नेपाली ग्रामीण परिवेशकै चित्रण गरिएको छ ।
निबन्धहरुमा निबन्धकारले परिस्थिति अन्तर्गत स्थान विशेष काल्पनिक स्वर्गदेखि पृथ्वीतल हुँदै नर्कसम्मलाई छुन भ्याउनु भएको छ । चन्द्रमा देखि अन्तरिक्षसम्म पनि निबन्धका स्थान विशेषका पक्ष बनेर आएका छन् । वसन्त देखि शिशिर ऋतुहरु, विभिन्न तिथिमितिहरु र घटना विशेष समयवोधकै पक्षहरु पनि निबन्धमा समावेश भएका छन् ।
निबन्धमा कथातत्वका स्रोत ः निबन्ध सङ्ग्रहभित्रका निबन्धहरुमा निबन्धकारले धर्मशास्त्र, अध्यात्म, योग–ध्यान, साहित्य, इतिहास, विज्ञान, कला, परम्परा, संस्कृति जस्ता गहनतम स्रोतहरुको उपयोग मार्फत् कथातत्वलाई स्थापित गर्नु भएकोछ । कथातत्वका रूपमा कतै हनुमान–अंगद संवाद प्रसंग, कतै झेन गुरु सेनगाई र धनाढ्यबीच भएको संवाद प्रसंग लेटिन्छन भने कतै रूसो, क्लियोपेट्रा, राजेश खन्ना, विपी कोइराला र फ्रायडको लिविडोको व्याख्यादेखि रंगुनका ब्रम्हऋषिको मुटुको धड़कनसम्मका प्रसंग उल्लेख भएका छन् ।
डाइनोसरको युग र समाप्ती, बाँदरबाट विकसित मानव, रूसी कवि पुस्किनको काव्य प्रसंगसम्मको कथातत्वहरु निबन्धमा भेटिन्छन् । सिकन्दर, नेपोलियन बोनापार्ट, हिटलर, मुसोलिनी, तैमुर लङ, महाप्रताप राणा, चंग्रेज खाँ, नादिर शाह, लादेन, गद्दाफी देखि शेखचिल्ली, बहादुर शाह जफर, अमरसिंह, बहादुर शाह, जंगबहादुर राणा, राजेन्द्रलक्ष्मीसम्मका नेपाली इतिहास र विश्व इतिहासका चरित्र र यथार्थ घटनासित गाँसिएका आख्यान तत्व सफलरुपमा प्रयोग गरिएका छन् । कोपर्निकस, राइट दाजुभाइ, आइन्स्टाइन, ग्यालिलियो ग्यालिलीदेखि सुकरात र गौतम बुद्धसम्मका सन्दर्भहरु पनि आख्यान तत्वका स्रोत बनेर उभिएका छन् निबन्धहरुमा । निबन्धहरुमा आख्यान तत्वको अति सुन्दर ढंगले प्रयोगमात्र गरिएको छैन बरु निबन्धलाई रोचक प्रभावशाली बनाउन, कथाको उद्देश्य, कथाको ंरचना, पात्रहरूको वर्णन, घटनाको वर्णन, संवाद र वातावरणको सन्तुलन, सन्दर्भहरु अन्विति मिहिनढंगले व्यवस्थापन गरिएको छ ।
निबन्धमा मिथकको उपयोग ः निबन्धकारले विभिन्न निबन्धमा मिथकको उपयोग गर्दा मिथकको चयन, मिथकको वर्णन, मिथकको अर्थ, मिथकको प्रयोग र मिथकको विश्लेषणका बिन्दुहरुमा विशेष ध्यान पु¥याउनु भएको छ । निबन्धमा मिथकीय प्रसंगका रुपमा जिससको बिउ छर्नेको कथा, सूफी सद्गुरू र हजरतको प्रसंग, ताम्फुङ्ना र निङवाफूङमा सम्बन्धी किरात लिम्बु मिथक, बाइबलको बिउ छर्ने मानिस, भष्मासुर र शिवजीको द्वन्द्व प्रसंगहरु प्रस्तुत भएका छन् । यसैगरी युनानी मिथकको फिनिक्स पन्छीको प्रसंग, राजा जनकको विद्वत् सभामा अष्टावक्रको उपस्थितिको कथा, भिक्षु र बुद्धको उमेर गणना सम्बन्धी प्रसंग, अष्ट चीरन्जीवीहरूको प्रसंग निबन्धमा छरिएर रहेका केही मिथक प्रसंगहरु हुन् ।
जराको शक्तिमा प्रगतिशील चिन्तन धाराः–
संसारमा सिर्जना गरिने सबैखाले साहित्य मानव हितमा समर्पित हुने गर्दछन् । साहित्यमा माक्र्सवादी धाराको उपयोगका केही विशेषता हुन्छन् । अर्थात माक्सवादी दर्शनलाई आत्मसात गरेर सिर्जना गरिएको साहित्यले आम शोषितपिडित मानव समुदायको हित, मुक्ति र पहिचानलाई आफ्नो मूल लक्ष्य बनाएको हुन्छ । उत्पिडनमा परेका मानव समुदायको पक्षमा उभिएको मानवतावादी दृष्टिकोण, समाजवादी विश्व दृष्टिकोण, उन्नत सामाजिक चेतनाको पक्षपोषण, सर्वहारा वर्गको हितैसी चिन्तन धारा, समाजवादी यथार्थवाद, धर्म, ईश्वर, र परलोकसित गाँसिएका अन्धविश्वास र रुढिवादकोे विरोध, प्रकृति, पदार्थको सत्ताप्रति अनुराग पूँजिवादप्रति घृणा, क्रान्तिका माध्यमबाट साम्यवादको स्थापना, शोषित वर्गप्रति प्रेम र सहानुभूति, नारी मुक्ति र समानताको दर्शन माक्र्सवादी साहित्यका केही विशेषताहरु हुन् ।
प्रगतिवादी दृष्टिकोणबाट साहित्यिक रचनाको समालोचना गर्दा वर्गसंघर्ष, आर्थिक समानता, शक्ति संरचनामा शोषितपिडित वर्गको प्रभुत्व, उत्पिडक वर्गप्रति प्रतिरोध र परिवर्तन जस्ता पक्षहरुको सहभागितालाई मिहिनरुपमा खुट्याउनु पर्ने हुन्छ ।
जराको शक्ति निबन्ध सङ्ग्रहभित्रका रचनाहरुलाई प्रगतिवादी दृष्टिकोणबाट समालोचना गर्ने हेतुभन्दा पनि निबन्ध सङ्ग्रहमा प्रविष्ट निबन्धहरुमा माक्र्सवादी दर्शनको प्रभाव र उपयोगको सामान्य परिचर्चा गर्ने कोसिस गरिएको छ ।
अन्न र आजादी, कुम्ले लाटाहरु, नयाँ कलेवरमा गुलामी जस्ता निबन्धहरुमा परोक्ष अपरोक्षरुपमा समाजको वर्गिय विभेदको चित्रण र वर्गसंघर्षको सूक्ष्म कम्पन स्पर्श गर्न सकिन्छ । नानीहरुका आँखा, चिउराको रुख, मगन्ते वृत्ति, ताम्फुङ्ना, ठगका ताँती, आफ्नो कथा भन्नुको मजा, जुराफको प्वाल, मृत्युबोध, कोरोनाकाल सृजनको स्वर्णिम काल आलोचनात्मक यथार्थमा आधारित निबन्ध हुन् । त्यसैगरी सालिकको चरो, समय सत्ता, जीवनको उद्याम वेग, मृत्युका प्रतीकहरु, सुल्टो मरण, आज हाटमा भोलि घाटामा, कोरोना संक्रमणः एक अनुभूति, क्षणभङ्गुरता शीर्षकका निबन्धहरुमा प्रकृतिको शाश्वत धारा र त्यसको सर्वोपरि सत्तालाई हृदयको गहन तलबाट आत्मासात गरी लेखिएका निबन्धहरु हुन् । मानवीय सत्यको विहङ्गम पाटोलाई यी निबन्धमा परिपुष्ट गर्ने काम भएको छ ।
जराको शक्ति, गनगन कि गुनगुन, छरिएको जीवन, गाउँको आत्मनिर्भरता; सृजन कठिन छ, निर्धूम आनन्द; पाकेको इँटा आदि निबन्धमा मानवीय चेतनाको उच्चतम संवेगलाई समातेर लेखिएका निबन्धहरु हुन्, जुन हरेक तहका पाठकका निम्ति उपयोगी र सुन्दर छन् । यिनमा मानवीय करुणा, विवेक, प्रेम र सौन्दर्यका अनुभूति समेटिएका छन् । उड़ान समाधिमा कल्पनाको उच्च उडान अनि भौतिक पदार्थ, चेतना र मानवीय उपयोगिताको दृष्टिकोणको सम्मिश्रण छ ।
बीउ छर्नेको कथा, जङ्Þगी नेताको राष्ट्रवाद, पूर्णकालीन विद्यार्थी हुन नपाएको पिडा आदि निबन्धमा आर्थिक विपन्नता र यसले निर्धारण गर्ने वैयक्तिक र राष्ट्रिय पिडा समाहित भएर आएका छन् । गुरुत्व शक्ति, प्रौढता एक अनुभूति र मुसा, माकुरा र मच्छडहरु निबन्धमा शोषक प्रवृत्तिप्रति कटाक्ष, ज्ञानदाता गुरुप्रति समादरको भाव, जीवनमा परिपक्क चिन्तनको उपस्थिति छ । हावा कुरा, परा–पश्यन्ति–मध्यमा– बैखरी र फिनिक्स चरीजस्ता निबन्धहरुमा प्रतिरोध र परिवर्तनका साथै विद्यमान शक्ति संरचनाको विरोधमा एउटा छुट्टै आभा सहितको स्वर उपस्थित गराइएको छ । पिताजीका आप्तवाणी, अन्धविश्वासहरुको बीचमा, सहानुभूतिका पीडा; ताजा विचार, आत्मघातको तुलिकामा मृत्युको रङ लगायतका निबन्धहरुमा सामाजिक चेतनाको प्रतिफलको रन्को पाइन्छ । फौजी किराको हुल; कोरोना सङ्क्रमण एक अनुभूति, खरिजुकाहरु, हावा कुराजस्ता निबन्धहरुमा शक्ति संरचनाको विरोधको आभाष हुन्छ । तस्बिरको वीर; बच्चाका कुरा, ताजा विचार निबन्धहरुमा समाजोपयोगी यथार्थवादी चिन्तनसूत्रहरु बग्रेल्ती पाउन सक्छौँ । निबन्धकार कार्कीका निबन्ध एकल स्वाद र एकरङ्गा बान्कीका विन्यस्त छैनन् बरु जीवनका बहुविध यथार्थलाई अलग अलग स्वाद, अलग अलग बान्की र कलाहरुको प्रयोग गरेर बहुरङ्गी फूलबारीको मेला लगाएका छन् । त्यसैले उनका निबन्धहरुमा विविध चिन्तन धाराका विविध स्वरहरु अनुगुञ्जित छन् । विविध विचार र जीवन्त अनुभूतिहरुको आहट र नादलाई श्रवण गर्न सकिन्छ । कुनै संकीर्ण र विचारको साँँगुरो आयामबाट निबन्धको भावधारा खुट्याउनु सर्वथा भुल हुनेछ । प्रगतिशील चिन्तन धाराको आलोकमा यसभित्रका निबन्धहरुको केन्द्रीय कथ्यलाई जुनसुकै आयामबाट पनि अवलोकन र सिङ्हावलोकन गर्न सकिन्छ भन्ने निष्कर्षका साथ यो समीक्षात्मक आलेख बिट मार्न चाहन्छु । जय साहित्य !!