19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कवि अशोक भुसालको 'अभिशप्त समय'प्रति सतही दृष्टिकोण

कृति/समीक्षा केशवराज आमोदी January 12, 2026, 4:08 pm
केशवराज आमोदी
केशवराज आमोदी

नवीन चेतना र चिन्तनका भावुक , निडर , निश्छल एवं यथार्थवादी उदीयमान युवाकवि अशोक भुसाल परिवर्तनका संवाहक र पहरेदार हुन् । वि. सं. २०३८ भाद्र १२ गते माता लक्ष्मी शर्मा भुसाल र पिता कमल शर्मा भुसालका पुत्ररत्नका रूपमा र. न. पा. -३ , शान्ति चोक , चितवनमा अशोक भुसालको जन्म भएको हो । स्नातक तहसम्मको शिक्षा हासिल गरेपश्चात् र. न. पा. कार्यालय , चितवनमा कार्यरत रहेका कवि भुसाल सम्प्रति नेपाली साहित्यको अध्ययन र साधनामा लत बसाल्दै सामाजिक कार्यमा समेत सक्रिय भूमिका निभाउँदै आइरहेका छन् ।

नेपाली साहित्यमा हस्तक्षेपकारी रचनाका साथ आफ्नो छुट्टै पहिचान बनाउँदै कवितासङ्ग्रह 'अभिशप्त समय' ( २०८२ ) प्रकाशनमा ल्याएका छन् । 'शप्त ' अर्थात् निन्दित , श्रापित , ताडित वा अभियोगी भनिने अर्थमा संस्कृतको विशेषणीय 'अभि' उपसर्ग जसले 'तिर , भित्र , निम्ति , निकट , अगाडि , राम्रोसँग'को अर्थबहन गर्दछ । अभिशप्त अर्थात् त्यो मानिस वा त्यो समय जो श्रापित छ , निन्दित छ , परित्यक्त छ , सर्वथा उपेक्षित छ , ढुलमुल छ , विकृति र विसङ्गतिको कालो जालोले लुटपुटिएको छ भन्ने लाक्षणिक बिम्ब विधानमा सङ्ग्रहभित्रकै रचनाबाट कृतिको नामकरण 'अभिसप्त समय' हुनु र आवरण त्यतिकै वस्तु विन्याससित सापेक्ष दैखिनु र अभिधेयी रूप-बिम्बमा समेटिनु कृतिको वैशिष्ट्य हो । यस कृतिमा लगभग आठ दर्जन गद्य कविताहरू समेटिएका छन् । कविताहरू प्राय: राष्ट्रप्रेम , लोकतन्त्र , स्वाधीनता , हक , अधिकारका साथै निम्नवर्गीय श्रमजीवी किसानहरूप्रति चेतनाको राँको सल्काउँदै समाज रूपान्तरणका निम्ति खरो विचार प्रकट गरिएको छ । रत्ननगर वाङ्मयबाट प्रकाशित यस कृतिमा रत्ननगरका नगरप्रमुख प्रह्लाद सापकोटा र भरतपुर प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मीका शुभकामनाहरूमात्र रहेका छैनन् अपितु लक्ष्मण अर्याल , सङ्गीत आयाम , तिलकराज शर्मा , धनराज गिरी , मुकुन्द पौडेल , दुर्गा घिमिरे , विष्णुप्रसाद पौडेल 'अपरिचित' र राजेन्द्र हमाल अनि रत्ननगर न. पा. का १६ वटै वडाध्यक्षका शुभकामनाहरू रहेका छन् । साहित्यिक पुस्तकमा यति धेरै शुभकामना रहेको चितवनको यो पहिलो कृति हो । यसले कविको विनयशीलता , हार्दिकता र उदारतालाई उजागर गरेको छ । समीक्षात्मक भूमिकामा सुप्रसिद्ध निबन्धकार वाल्मीकि साहित्य सदन र रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरेको सारगर्भित बौद्धिक दृष्टिकोण रहेको छ । कविका पिता कमल शर्मा भुसालबाट "आठ वर्षको कलिलो बालवयमा नै 'भँगेरी चरी' शीर्षकको कविता लेखी प्रतिभा प्रस्फुटन गर्न सफल आफ्ना पुत्र कवि भुसालको प्रशंसा गर्दै कविताको परिभाषा र प्रयोजन हेतु निकै गहिरा र गहकिला शब्दहरूमा महनीय आशीर्वचन प्रयुक्त छन् । यी स्नेहिल वाणी पिताको पुत्र-स्नेहमात्र नभएर कवित्व-प्रतिभाको प्रशंसा , आशीर्वाद र पुरस्कार पनि हो । कवि अशोक भुसालले आफ्नो मन्तव्यको क्रममा म कविता किन लेख्छु ? को उत्तरलाई 'अन्तर्मनदेखि ' मा आफ्ना भनाइबाट जीवनमा सिक्नुपर्ने र गर्नुपर्ने धेरै कुराहरूको उत्खनन गर्दै भनेका छन्-


" मान्छेको सानो खोपडीमा दुनिया बदल्ने चेतनाको बीज छ । .. त्यसैले म चेतनाको कविता लेख्न चाहन्छु ।


यी भनाइहरू भनाइमै सीमित छैनन् । राजनीतिक लोभानी पापानीका कारणले नै समय शापितजस्तो वर्तमानप्रति कविको चेतनाले भरिएको समय बिम्बित विद्रोहको सशक्त सँगालो हो यो । आजको समय अभिशप्त बन्दै गएकाले सबै जात-जाति ,वर्ग-लिङ्ग, धर्म ,

, संस्कार-संस्कृति आदि हरेक क्षेत्रमा अस्थिरता , भ्रम , भय , अन्योल , असुरक्षासँगै डरलाग्दो त्रासदी फैलिदै गएकाले समयले बेहोर्नु परेका विकृति र विसङ्गतिका पैरिंदा पाहडहरू विशृङ्खलित विचारका अनियन्त्रित भूकम्पहरूले भविष्य धमिलिंदै गएको वस्तु-बिम्ब हो । ईर्ष्या र प्रतिशोधको वैचारिक भुमरीमा फनफनिएको दिशाहीन राजनीतिक दुर्गन्धलाई कविले निर्भयका साथ कवितामा आवाज दिंदै समयलाई बिउँझाउने दिग्घोष गरेका छन् । आजको राजनीतिक पर्यावरणको झाँकी उतारेका छन् । यसै सन्दर्भको आजको मान्छेका मनोधारणालाई कवितांशले नै पाठकको मन मस्तिष्कलाई यसरी हुँडली दिन्छ कि प्रत्येक पाठक सोच्न विवश हुन्छ ? यथा-


" कम्युनिष्ट बन्न सक्छ

काङ्ग्रेस बन्न सक्छ ।

मान्छे स्वतन्त्र छ

मान्छे जे पनि बन्न सक्छ

तर

कम्युनिष्ट मान्छे बन्न सक्दैन

काङ्ग्रेस मान्छे बन्न सक्दैन

जुनसुकै वादमा लागेको होस्

राजनीतिमा रङ्गिए पछि

मान्छे फेरि मान्छे बन्न सक्दैन ।

-मान्छे दास बनिरहन्छ , पृष्ठ-१ ।


आजभोलि साहित्यका झिनामसिना विधाहरूमा नीति , नियम , स्वरूप र सिद्धान्तका अग्ला पर्खालहरू निर्माण गरिन्छन् । प्रशिक्षण दिइन्छ , गोष्ठी चलाइन्छ र समूह निर्माण गरिन्छ । गद्य कविता कै उदाहरण लिऊँ बालकृष्ण सम ( आगो पानी ) , महाकवि देवकोटा ( पागल , गोपालप्रसाद रिमाल ( आमाको सपना ) , भूपी शेरचन ( घुम्ने मेचमाथि अन्धो मान्छे )हरू को बाट कसरी प्रशिक्षित भए ? किन उनका गद्यकविताहरू लोकप्रिय र कालजयी भए ? अशोक भुसाल कोबाट प्रशिक्षित भएर पूर्वजहरूकै झल्को दिने खालका कविता हाम्रा सामु पस्किंदै छन् ? जे होस् , नमुनाका लागि विद्रोहको भावनाले ओतप्रोत कविताको सानो टुक्रो हेरौं -

" ढाल्नु पर्छ यी कृतिम इतिहासका किल्लाहरू

खोतल्नु पर्छ चिहानहरूलाई

जहाँ दबेर बसेको छ , मान्छेको साँचो इतिहास

जहाँ दबाइएको छ हाम्रा पुर्खाको इतिहास ।"

- चिहानहरू खोतल्नु पर्छ , पृ.७ ।


प्रगतिवादी कविताहरू पढ्न र सुन्न छाडेको पन्ध्र-बीस वर्षपछि आज अकस्मात् अशोकबाट सरल र सरस शैलीमा धर्मलाई अफिमको नशा ठान्ने केही प्रगतिवादी सोच ओकल्नेहरूप्रति लक्षित जोडदार व्यङग्यको एउटा कवितांश प्रस्तुत छ-

" हो ,

तिमी मभन्दा क्रान्तिकारी छौ

मैले मानेकै छु त

अब भैंसी नै पूजा गरेर

तिमीलाई किन ठूलो क्रान्तिकारी बन्न पर्यो ?"

- म जनता , मेरो प्रश्न छ , पृ. ८ ।


कविको सोच-चिन्तन , शिक्षा-दीक्षा , व्यवहार , आचरण , परिवेश , संस्कार र संस्कृतिअनुकूल तत्कालीन परिस्थिति , वैदेशिक प्रभाव र युगीन सञ्चेतनाले सामाजिक असर पार्दछ । परिवर्तन त भूकम्प आएझैं अकस्मात् वेलावेलामा आउने हुनाले क्रान्तिका मसीहा ठान्नेहरू जेन्जी विद्रोहले हराएर जान्छन् । साहित्यले युगमाथि गहिरो प्रभाव पार्दछ । यसैले कवि अशोक कवितामा नयाँ नयाँ बिम्बको प्रयोग गर्न औधी कुशल छन् । यथा-

" आज देशको सपना मारिएको छ

आदर्शको हत्या भएको छ

फालिएको छ मेरो देशलाई

देशी विदेशी पुँजीपतिहरूको रछ्यानमा

जो निचोड्दै छन् बाँकी रहेको मेरो दैशको सम्पदा ।"

रातमा मसानघाटमा देखिने राँके भूतहरूजस्तै

देशमा दिउसै नाच्दै छन्

राता , काला र नीला मुर्कुट्टाहरू

र तर्साउँदै छन् यिनीहरू

प्रश्न ज्यूँ का त्यूँ छ ।

- मसानघाट र मुर‌्दाहरू , पृ- ७० ।

हाम्रा विधि-व्यवहार , अधकल्चा बुज्रुकहरूद्वारा घोकाइएका अर्थहीन राजनीतिक दर्शन र तिनका थाङना उपदेश र तिनीहरूले निभाउँदै आएका निरर्थक भूमिकाप्रति उधुम आक्रोश , विद्रोह , असन्तुष्टि र पश्चात्तापमा मुखरित कवितांश प्रस्तुत छ-


" तिमी भन्छौ मान्छेलाई प्रेम गर

म कुन मान्छेलाई प्रेम गरौं

मुसलमान बनेर हिन्दु मार्ने मान्छेलाई प्रेम गरौं

अथवा यहुदी बनेर मुसलमान मार्ने मान्छेलाई प्रेम गरौं

कि हिटलरलाई प्रेम गरौं

वा स्टालिनलाई प्रेम गरौं

यस ( देशका ) मान्छे मारेर आफ्नो स्वार्थ सिद्ध गर्ने

यस× आफ्नै देशका हत्याराहरूलाई प्रेम गरौं ।"

-पश्चात्ताप , १०१।


प्रीति प्रणयका कवितामा देशमा विद्यमान धार्मिक आडम्बर , सामाजिक बेथिति , सांस्कृतिक गतिहीनता र राजनीतिक अराजकता र भ्रष्टाचरणसँगै फैलिदो विकृति , विसङ्गतिका रासका रास विद्रूपतालाई समेत बेहिचक उद्घाटन गरेका छन् । कवितासङ्ग्रह ज्यादै चाख लाग्दो , रसिलो , पोसिलो , खँदिलो र चखिलो बनेको छ ।

अन्त्यतिर भन्नैपर्ने कुरो के छ भने कविता गर्नेले समसामयिक नेपाली व्याकरणको अध्ययन गर्नुपर्दछ । कवितामा अशुद्धिबाट बँच्न सचेत हुनुपर्दछ । भाव , भाषा र शब्द-सङ्गठन सन्तुलित बनाउनुपर्दछ । आत्मबोध , अधिकारबोध , मानवतावादीबोध र युगबोधका दृष्टिकोणमा नवीन विचार चिन्तन अझै खुलेर दिनसक्ने खुबीको विकास गर्नुपर्दछ । बिम्ब विधानका स्वरूपगत आयाम र शब्दशक्ति सम्बन्धी अभिधा , लक्षणा र व्यञ्जनाका साथै उपमा , रूपक , दृष्टान्तजन्य अलङ्कारादिको अध्ययन गर्नुपर्दछ । आगामी दिनहरूमा परिस्कृत र परिमार्जित रचनाहरु पढ्न पाइयोस् , कविको लेखनी अझै सशक्त र उर्बर बनोस् , हार्दिक शुभकामना !!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।