19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नेपाली अनलाइन पत्रिकाको परम्परामा 'समकालीन साहित्य डट कम'को स्थान

विचार नवीन पौड्याल January 25, 2026, 8:13 pm
नवीन पौड्याल
नवीन पौड्याल

१. अनलाइन साहित्य : कतिको उचित कि कतिको अनुचित ?
नेपाली साहित्य पनि अब विकासको मार्गमा द्रूतगतिमा अघि बढेको छ। साहित्य पनि अब अफलाइन र अनलाइन प्रविधिबाट आउन थालेका छन्। अहिलेका युगमा कागजी पुस्तक र पत्रिकामा मात्र सीमित नरही अब समयको गतिसितै अनलाइन माध्यमबाट पनि साहित्य प्रकाशनको माध्यम बनेका छन्। अब मोबाइल र कम्प्युटरमा विश्वभरीका साहित्य पढ्न पाइन्छ। यस्तो किसिमको प्रविधिको विकासले साहित्य र साहित्यकारको उपकार हुन्छ कि अपकार हुन्छ, त्यसबारे छुट्टै चर्चा र छलफल गर्न सकिन्छ। यद्यपि हाम्रो अघि साहित्य पनि भर्चुअल रूपमा आइसकेको छ, यसलाई स्वीकार गर्नुपर्ने नै बाध्यता आइसकेको छ। यसका सकारात्मक र नकारात्मक दुवै पक्ष रहेका छन्। अनलाइन साहित्यलाई विश्वभरिका पाठकले पढ्न सक्छन्। विश्वको कुनै कुनामा प्रकाशित भएका सामग्रीलाई खुल्ला रूपमा पढ्न पाइन्छ। आफ्नो रूचि र आवश्यकता अनुसारको पढ्न पाइन्छ। यसका साथै लेखकका निम्ति पनि उपयुक्त नै छ। कुनै एउटा लेखकका कृति वा लेखादि वा सिर्जना विश्वभरिका कुना कुनाका पाठकले पिनि घरमा बसीबसी पढ्न सक्छन्। ज्ञानको स्रोत बढेको छ। कुनै पनि सिद्धान्त, दर्शन, विचारलाई जहाँबाट पनि बसेर पढ्न पाइन्छ।

वेबपत्रिका वा अनलाइन पत्रिकाको प्रचलनले लाभका साथै हानि पक्ष पनि उत्तिकै छ। अब आफुले लेखकको साहित्यिक पुस्तक बिक्री नभएर अब भर्चुअल रूपमा नै प्रकाशित गर्नुपर्ने बाध्यता आइपरेको छ। मोबाइल र कम्युटरमा ठुला ठुला ग्रन्थ पढ्न सकिन्न। त्यसो हुँदा साहित्यका लघुरूप जस्तो गीत गजल, हाइकु, मुक्तक, छोटा कविता, लघुकथा जस्ता उपविधाहरूमा खुम्चिने सम्भावना बढेको छ। साहित्यको गहन अध्ययन हुन छाडेर अब सतही अध्ययन हुने सम्भावना बढेको छ। अब पुस्तक बिक्री हुन छाड्यो, पुस्तक पढिन छोड्यो। घरका सबै सदस्यले कथा उपन्यास आदि पढ्न छाडे। खर्च गर्ने अन्य व्यवहारिक क्षेत्र र परिधि बढेकाले चारैतिर पैसा चाहिने हुँदा किताब किन्नलाई खर्चले पुग्न छोड्यो। साहित्य त अब दोस्रो-तेस्रो आवश्यकता र रहरको मात्र बन्नथाल्यो। ओछ्यानमा बसेर उपन्यास कथा कविता पढेर आनन्द लिने दिन गए। अब साहित्यमा रूचि लिने र साहित्यिकहरूले अनलाइनका रूपमा कविता पाठ गर्नु, अनलाइनमा प्रकाशित हुनु, पाठकले अनलाइनमा पढ्नु जस्तो हुनथालेको छ। समकालीन साहित्य, साहित्य पोस्ट, नेपाली पोस्ट, साहित्य घर आदि जस्ता अनलाईन पत्रिकाहरू नेपालीमा प्रचलित छन्। युगको विकासको गतिसँगै यस्ता अनलाइन साहित्य र पाठ्य सामग्री अब बाध्य़ता हुनथालेको छ। अब बिस्तारै कागजबिना (Paperless) युगतिर जाँदैछौं। ठुल्ठुला सभा र कलेजहरूमा क्लासहरू अनलाइन हुनथालेका छन् भने साहित्य पनि कागजबिनाकै हुनलागेकामा कुनै अचम्म मान्नुपर्ने छैन।

२. केही प्रमुख नेपाली साहित्यिक वेब पत्रिकाहरू-
नेपाली साहित्यमा पनि अब अनलाइन पत्रिका पुस्तक प्रकाशित हुनेगरेका छन्। अनलाइन पत्रिकाहरू निकै समयदेखि देखा परेको छ। त्यसमध्ये नेपाली साहित्यमा केही प्रचलित अनलाइन साहित्यिक पत्रिकाहरू हुन्-
समकालीन साहित्य- अनलाइन साहित्यिक पत्रिका सबैभन्दा पुरानो हो। यसबारे यस लेखमा नै चर्चा गरिनेछ।

साहित्य पोस्ट- अश्विनी कोइरालाको स्वामीत्वमा रहेको यो दैनिक अनलाईन साहित्य पत्रिका हो। यसले सप्ताहका प्रत्येक दिनलाई अलगअलग स्तम्भका रूपमा लेखादि प्रस्तुत गर्दछ। यो पत्रिका पूर्ण व्यवसायिक रूपमा प्रस्तुत छ। यसबाहेक यसमा पुस्तक प्रकाशन विज्ञापन आदि पनि प्रस्तुत गर्दछ। यसको अङ्ग्रेजी खण्ड पनि अलग्गै रहेको छ।

नेपाली पोस्ट- अमेरिकाबाट देनिक रूपमा प्रकाशित हुने अनलाइन पत्रिका नेपाली पोस्टले पनि केही साहित्यिक सामग्री प्रस्तुत गर्दछ। यद्यपि कोहीबेला केही असाहित्यिक निबन्धहरू पनि प्रस्तुत गरेको पाइन्छ। अहिले यसको सामाग्री अलिक घटेका छन्।

नेपाली साहित्य घर- डिजिटल साहित्यिक पत्रिका जसले कथा, कविता, गद्य, अनुवाद, समीक्षा तथा बहस/दृष्टिकोण प्रकाशित गर्छ। यहाँ विविध लेख र रचनाहरू नियमित अपडेट हुन्छन्। यसमा विशेषगरी प्रगतिवादी विचार र दृष्टिकोणलाई प्राथमिकता दिइएको लाग्छ।

नेपाली कलासाहित्य डट कम प्रतिष्ठान- अनलाइन नेपाली कला र साहित्यको वेब म्यागेजिन जसले नेपाली साहित्य, कला र संस्कृति सम्बन्धी रचनाहरू तथा विचार प्रकाशित गर्छ।

साहित्यसागर.नेट - एक दीर्घकालीन अनलाइन साहित्यिक पोर्टल जसमा कविता, गजल, लेख, समीक्षा र साहित्यिक संस्मरणहरू प्रकाशित हुन्छन्।

रचनालय डट कम - ऐतिहासिक साहित्यिक पत्रिका ‘रचना’ को अनलाइन संस्करण, जहाँ दुई महिनामा एकपटक साहित्यिक सामग्री प्रकाशित हुन्छ।

अनलाइन नेपाली साहित्य मंच (Nepaliliterature.com)- नेपाली साहित्य सम्बन्धी समाचार, कविता र लेखहरू प्रकाशित गर्ने अनलाइन साहित्यिक साइट हो।

नेपाली साहित्य डट कम- साहित्य सम्बन्धी समाचार, समीक्षा तथा रचनात्मक लेख प्रकाशित गर्ने पोर्टल; यहाँ विभिन्न लेखकका लेखहरू पढ्न सकिन्छ।

स्पन्दन- कुवैतका होमबहादुर छेत्रीको सम्पादन प्रकाशनमा रहेको मासिक पत्रिका स्पन्दन पत्रिकाले पन आफ्नो कागजी संस्करण प्रकाशित गर्न छाडेर पछिबाट अनलाइन पत्रिका प्रकाशन गर्न शुरू गरेको थियो। अनलाइन पनि यो दुई वर्ष जति चल्यो। यसमा पनि भारत नेपालका केही लेखहरूका लेखादि प्रकाशित हुने गर्थे। होमबाहदुर छेत्रीज्यूको निधनपश्चात यो बन्द भयो।

३. नेपाली अनलाइन साहित्य र समकालीन साहित्य-
गत १९ वर्षदेखि निरन्तर रूपमा प्रकाशित हुँदै आएको अनलाइन पत्रिका हो समकालीन साहित्य। कृष्ण बजगाईंको तत्परतामा शुरूआत भएको यस अनलाइन पत्रिकाले धेरै नेपाली साहित्यका जन्माउन सफल बनेको छ। गत उन्नाइस वर्षमा नेपाली साहित्यकारहरूलाई विश्वव्यापी रूपमा फैलिन मौका दिएको छ। यसमा विशेषगरी सिकारू लेखकहरूले आफ्नो लेखादि प्रकाशन गर्ने अवसर पाएका छन्। यसमा नवीन प्रवीण सबै किसिमका लेखहरू जोडिएका छन्। एकजना लेखक पुस्तक र पत्रिकामा मात्र सीमित नरही विश्वव्यापी परिचित हुने अवसर दिएको छ।

समकालीन साहित्यका संस्थापक र सम्पादक हुन् कृष्ण बजगाईं उनी असार ९ गते, २०२४ मा धरानमा जन्मिएका कृष्ण बजगाइँका माता-पिताको नाम रामकुमार र तारादेवी बजगाईं हो। कृष्ण बजगाईं स्नातकोत्तरसम्म अध्ययन गरेका उनी सन् २००० मा बेल्जियम गएका हुन। त्यहाँ उनी २०११ सम्म रहेपछि बेलायत गएका हुन्। उनी बेलायतमा एउटा कम्पनीमा काम गर्छन्। कामको कुनै निश्चितता हुँदैन र यो पनि परिवर्तन भइरहन्छ। बेल्जियममा छँदा उनको आफ्नै व्यावसाय थियो तर त्यहाँ छोडेर लण्डन गएपछि कम्पनीमा नोकरी गरिरहेका छन् । आफ्नो नोकरीको व्यस्तताका बिचमा पनि यसरी उन्नाइस वर्षदेखि अनवरत रूपमा नेपाली साहित्यको समृद्धिका निम्ति समकालीन साहित्य जस्तो अनलाइन पत्रिका चलाइरहेका छन्। यसै त उनी एक राम्रो नियात्राकार, कथाकार, लघुकथाकार, कवि र बालसाहित्यकार हुन्। लेखनपट्टिबाट उनको योगदान छँदैछ तर अनलाइन पत्रिका परिचालन गरेर नेपाली साहित्यलाई विश्वव्यापीकरण गर्नु सानो योगदान होइन। उनको यो योगदानको सही मूल्याङ्कन हुन आवश्यकता छ। यसमा पनि उनको यो सेवा स्वान्त सुखाय र परजन हिताय किसिमको छ। यो पत्रिका चलाएर उनले कुनै व्यावसयिक लाभ लिनसकेका छैनन्, कुनै अर्थोपार्जन गरेका छैनन्। बरू आफ्नो गोजीबाट खर्च निकालेर प्रकाशित गर्दै आएका छन्।

अनलाइन समकालीन साहित्य पत्रिकाको शुरूआत ३ सितम्बर, २००७ देखि बेल्जियम भएको हो। समकालीन साहित्यभन्दा अघि पनि फ्रि नेपाल डट कम र साहित्यघर डट कम जस्ता दुईवटा अनलाइन साहित्यिक पत्रिका थिए जो अहिले बन्द छन्। यसको पृष्ठभूमि के रहेको छ भने २००५ देखि कृष्ण बजगाईंका निजी लघुकथाहर कथाकुथुङ्ग्री भन्ने ब्लगमा आउने गर्थे । त्यसमा इमेल ठेगाना राखिऑएको हुनाले अरूका पनि लेख रचना पनि आउन थालेदेखि २००६ मा फ्रिवेभ भन्ने एउटा सानो ब्लगमा अरूका रचनादि पनि हाल्न थालिएको थियो। त्यो स्पेस सानो भएपछछि व्यापक रूपमा स्पेस डोमेन किनेर नेपाली वाङमयको श्रीवृद्धि र विश्वव्यापी विस्तारको अभियानस्वरूप सन् २००७ देखि अनलाइन वा वेबपत्रिका समकालीन साहित्य डट कमको शुरूआत भएको थियो। विश्वभर छरिएका नेपाली साहित्यका लेखक र पठाकका साझा मञ्डका रूपमा स्थापित भएको छ। यसले साइबर स्पेसमा नेपाली साहित्यको बलियो उपस्थिति जनाउनुका साथै लेखक र पाठकलाई जोड्ने सेतुको काम गरेको छ।

समकालीन साहित्य अनलाइन प्रकाशनको मात्र माध्यम होइन। यसले नेपाल, अमेरिका, बेलायत, अस्ट्रेलिया, डेन्मार्क, भारत आदि देशका विभिन्न लेखकका विभिन्न विधाका ४६ वटा पुस्तक पनि प्रकाशित गरेको छ। यसका साथै यसले सन् २०१७ प्रवासन भन्ने विज्ञ समीक्षित जर्नलको प्रकाशन पनि गर्दैआएको छ। हालसम्म प्रवासनको वर्ष ७ पूर्णाङ्क ११ सम्म प्रकाशित भएका छन्। यो पूर्णतया विज्ञसमीक्षित र स्तरीय जर्नलका रूपमा प्रकाशित हुँदै आइरहेको छ। यो लेखहरूको भण्डार बनेको छ, कवि- लेखकहरूको लेख्ने प्रेरणास्थल बनेको छ, सिकारू लेखकहरूले दक्ष लेखक बन्ने अवसर पाउने थलो भएको छ। लेख वा रचनाको शीर्षकलाई क्लिक गरे त्यो खुलिन्छ अनि पढ्न सकिन्छ। लेखको नाममा पनि हाइपरलिङ्क हुन्छ, त्यसलाई थिच्दा लेखकका कतिवटा लेख र ती कुन कुन लेख रचना समाकालीन साहित्यमा प्रकाशित छन्, त्यसको सूची हेर्न पाइन्छ।

समकालीन साहित्य वेबपत्रिका वर्तमान प्रविधिसँगसँगै लैजानका लागि आवश्यक रुपमा अपडेट भइरहेको छ। यसलाई अनलाइनका वेबप्रविधिअनुरूप प्रविधिक सहयोग भने अनिश भट्टराईले गर्दैआएका छन्। यसमा नयाँ लेखादि थपिदैजाँदा पुराना लेखादि मुनिमुनि पर्दैजान्छन् अनि पुरानालाई ‘भर्खरै प्रकाशित रचनाहरू’ भनेर अर्को स्तम्भमा फेरि राखिने गरिन्छ। त्यसमध्येबाट पनि त्यस सप्ताहमा बढी पढिएको वा हेरिएका रचनालाई अपडेट गरेर रचनाहरूलाई ‘सप्ताहका चर्चित’ भन्ने अर्को स्तम्भ बनाएर राखिने गरिन्छ। पाठक, लेखक र विद्वानहरुको सुझाव र मागअनुसार पनि अपडेट हुने गरेको छ। यो स्वयंसेवी पत्रिका हुनाले सम्पादकको समयानुकूल लेखादि सम्पादित र प्रकाशित हुँदै जाने गर्छन्। प्रायःजसो रचनाहरू हप्तामा ४-५ पटक प्रकाशित हुने गर्छन्।

४. समकालीन साहित्यका सामग्रीहरू -
समकालीन साहित्यले यो उन्नाइस वर्षहरूमा जम्मा ७७२ वटा कथा,५३५ वटा लघुकथा, १८९५ वटा कविता, ४९९ वटा गीत, ११२७ वटा गजल, २१७ वटा निबन्ध, २९६ वटा निबन्ध, ३३३ वटा विचारपरक निबन्ध, २७ वटा अनुवाद, ११०८ वटा कृति समीक्षा, २५३ वटा हास्य-व्यङ्ग्य, ६९ वटा जीवनी, १०९ वटा वार्ता-अन्तर्वार्ता, १२१ वटा संस्मरण, १७९ वटा व्यक्ति-व्यक्तित्वपरक परिचय प्रकाशित गरिसकेको छ। यसबाट हेर्दा सबैभन्दा बढी कविता १८९५ वटा प्रकाशित गरेको छ। त्यसपछि भने कृति समीक्षा ११०८ वटा प्रकाशित गरेको रहेछ। सबैभन्दा थोरै भने २७ वटा अनुवाद र ६९ वटा जीवनी रहेका छन्। जीवनी र व्यक्ति–व्यक्तित्व एकैएकै भए पनि यसमा अलग अलग छुट्याइएको छ। कृति समीक्षाभित्र साना ठुला सबै किसिमका सर्जकहरूका कृतिहरूबारे समीक्षा गरिएका छन्। यसो हुँदा सिर्जनाको मूल्याङ्कन र समीक्षण गरिनु सर्जकका निम्ति सन्तोषको विषय़ हो। समकालीन साहित्यमा हजारौं यस्ता कृतिहरू समीक्षित र मूल्याङ्कित भएका छन्। नयाँ नयाँ कवि, कथाकार, लघुकथाकार, निबन्धकार, समीक्षक जन्मिरहेका छन्।

समकालीन साहित्य अनलाइन पत्रिकामा नवीन पौड्याल, सदानन्द अभागी, कृष्ण बजगाईँ, डा कपिल लामिछाने, छविरमण सिलवाल, डा इगम खालिङ, खगेन्द्रप्रसाद लुइटेल, केशवराज आमोदी, रमेश प्रभात, चिरञ्जिवी दाहाल, कपिल अज्ञात, केशु विरही, टीकाराम पोखरेल, राजु प्रधान हिमांशु, विमल लामिछाने, डा गङ्गाप्रसाद अधिकारी, डा राजकुमार छेत्री, गोपालसिंह विश्व, वैद्यनाथ उपाध्याय, विमला जोशी प्रधान, नन्दलाल आचार्य (निबन्ध), नारायण मरासिनी, भेषराज रिजाल (नियात्रापरक लेख), डा हरिप्रसाद भण्डारी, राजेन्द्र पहाडी, कृष्ण प्रधान (हास्य-व्यङ्ग्य), डा कृष्णराज अधिकारी, नम्रता गुरागाइँ, राजेन्द्र पहाड़ी, विमल लामिछाने, अर्जुन चामलिङ यावा, सुकराज दियाली, इन्दिरा दीक्षित, लीला लुइँटेल, दीपक सुवेदी, डा विदुर चालिसे, होम सुवेदी, गोपाल झापाली, पुण्य खरेल, डा रूपक श्रेष्ठ, वसन्त श्रेष्ठ, पेशल आचार्य (बढी कविताहरू), यदुनन्दन उपाध्याय, तुलसी प्रवास, नरनाथ लुइँटेल हास्य व्यङ्य, डा रविन्द्र समीर, वासुदेव गुरागाइँ आदि प्रमुख हुन्। पहिलो लेख भने गङ्गाराम गड्तौलाको ‘मृत व्यक्तिका अमृत व्यक्तित्व’ शीर्षकको समीक्षा रहेको पाइन्छ भने त्यसअघिका लेखादिलाई सूचीमा राखिएको छैन। माथिका लेखमध्ये यस पंक्तिका लेखकका जम्मा १४९ वटा समीक्षात्मक लेखादि प्रकाशित भएका रहेछन्। डा गोविन्दराज भट्टराई, डा बासुदेव त्रिपाठी, डा तारानाथ शर्मा, डा लक्ष्मणप्रसाद गौतम, डा देवी नेपाल जस्ता दिग्गज लेखकका लेखादि पनि यहाँ परेका छन्। यसले पुरानाभन्दा बढी मात्रामा नयाँ लेखकलाई सामग्री प्रकाशन गर्ने अवसर र मञ्च दिएको छ। विश्वभरिका नेपाली लेखकहरूको रचनादि प्रस्तुत गरेका छन्।

यद्यपि यस सूचीमा समकालीन साहित्यमा बीसवटा भन्दा बढी लेख-रचना रहेका लेखकहरू रहेका छन्। दस पन्ध्रवटा जति लेख रचना प्रकाशित हुने अन्य धेरै धेरै लेखकहरूको नामोल्लेख गरिएको छैन। समकालीन साहित्यमा पाँच सय लेखकभऩ्दा बढीहरू देखा परेका छन्। कति लेखकका लेखादि बीचमा नै आउन छाडेका पनि छन्। पोर्टलबाट कति लेखक हराए, कति बिलाए। कतिको एक दुईवटा मात्र लेख रहेका छन्। यस प्रकाशित कतिपय लेखहरू सबल छन् कुनै दुर्बल छन्। सिकारू लेखकहरू पनि यहाँ प्रकाशित लेखहरू पढेर अध्ययन गरेर दक्ष लेखक बन्न सक्षम बनेका छन्। कतिले अर्काको लेखादिलाई कपी पेस्ट गरेर आफ्नो नाममा पारेका पनि होलान्। यद्यपि समकालीन साहित्य अब ठुलो नदी भएको छ जो सङ्लो पानीका साथै कतैकतै धमिलो पानी पनि परेको हुनसक्छ।

यस्ता वेबपत्रिकामा प्रकाशित लेखहरू चोरी हुनु, आफ्नो नाममा पारेर प्रकाशित गर्नु आदि जस्ता खतराका सम्भावना बढी हुन्छन्। अर्काका लेखादिलाई विभिन्न जुक्तिले कपी गरेर आफ्नो नाममा पार्नु पनि साइबर अपराध हो, कपीराइटसम्बन्धी अपराध हो र भावहरणको कोटिमा पर्दछ। साहित्यमा चोरी र कपि पेष्ट जहाँ र जुन माध्यममा प्रकाशित सामग्रीमा पनि हुन्छ। हुन त कागजमा प्रकाशित रचनालाई चोरेर अर्को फत्रिकामा छाप्न पठाउने जस्ता काम पनि भएका थिए। त्यसलाई रोक्न कुनै प्रभावकारी उपाय छ जस्तो लागेको छैन। समकालीन साहित्यका सम्पादकका अनुसाऱ चोरी गरेको थाहा पाएमा त्यस्ता चोरहरुलाई सार्वजनिक रुपमा नङ्ग्याउने हो भने अरुले चोर्ने हिम्मत गर्दैनन्। अहिलेलाई योभन्दा राम्रो उपाय अर्को देखा परेको छैन।

५. मूल्याङ्कन र उपसंहार-
सन् २००७ देखि अनवरत रूपमा प्रकाशित वेबपत्रिका समकालीन साहित्यले नेपाली साहित्यको विकास र विस्तारमा ठुलो योगदान दिएको छ। साहित्य अब पुस्तक र पत्रिकाहरूदेखि अलग भएर वेबपत्रिकाका रूपमा अनलाइन स्वरूपको आउनु थालेको पनि दुई दशक हुनलागेको छ। यसबाट साहित्य र साहित्यकारका निम्ति लाभ र हानि दुवै हुनसक्छ। पहिले बेल्जियम र पछिबाट बेलायतबाट प्रकाशित समकालीन साहित्यले नेपाली साहित्यको श्रीवृद्धि, विश्वव्यापीकरण गरेर ठुलो सेवा गर्दै आइरहेको छ। यसमा नवीन र प्रवीण दुवै खाले लेखक, सशक्त लेखहरू प्रकाशित गरेर लेखहरूलाई प्रोत्साहित पारी साहित्य लेख्ने परिवेश मिलाइदिएको छ। कृष्ण बजगाईंको सम्पादनमा रहेको विगत उन्नाइस वर्षदेखि अनवरपत रूपमा प्रकाशित हुँदैआएको यस पत्रिकाले कविता कथा, कृति समीक्षा, जीवनी, व्यक्ति- व्यक्तित्व, निबन्ध, विचार, लघुकथा, गजल, आदिजस्ता सामग्री प्रस्तुत गरिरहेको छ। यसमध्ये कविता सबैभन्दा बढी र दोस्रोमा बढी कृति समीक्षा देखा पर्दछन्। यसबाट बुझिन्छ कि कृति समीक्षा लेखन पनि हाम्रो साहित्यमा निकै लोकप्रिय र प्रचलनमा रहेको छ। आशा छ, यो समकालीन साहित्यले अझ दीर्घ बनोस्, अझ विकसित होस्, अझ सिर्जनाप्रिय होस् भन्ने कामना गर्दछु।
लेखको स्रोत:
१. कृष्ण बजगाईं, सम्पादक, समकालीन साहित्य, बेलायत
२. www.samakalinsahitya.com

सह प्राध्यापक
नेपाली विभाग
पेदोङ सरकारी महाविद्यालय

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।