19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

प्रथम स्पर्श

कविता लक्ष्मण देवकोटा January 27, 2026, 3:48 pm
लक्ष्मण देवकोटा
लक्ष्मण देवकोटा

पर्खिरहेको थिएं
युगौंदेखि
पदचापहरू पनि आगमन सम्झेर
हेरिरहेको थिएं
कोसौं माइल लामो धूलेबाटो
मिलनको पर्खाइमा
आशाका फूलहरु सम्झेर

कोमल र मुटुसम्मै पुग्ने
बेजोड स्पर्शले
मेरो नयनको गंगा छचल्कियो
रोएं त्यो स्पर्शको
अतुल अनुभूतिले

पुरुषहरूको पनि हुन्छ
धौलीगंगादेखि प्रयागराजसम्मको
आंसूमा डुबिरहेको सागर
मानसरोवरदेखि
गयासम्मको पर्खाइको लागि

भाकेर हरेक देवलहरुसॅग
भाकेर हरेक चौताराहरुसॅग
चढाइरहेको थिएं भन्ज्याॅगहरूमा धजाहरू
मौनतामा चिच्याइरहेको थिएं तिम्रो आगमन

आज मेरो पर्खाइको
माइल लामो बाटो सकिएको पल
चलिरहेका घडीहरूको
टीकटीक बन्द भएको पल

कैलाश पर्वतको
पवित्र जल जस्तै शीतल
स्पर्श
कालीगण्डकीको जस्तो वेग
रोकिएको छ सागरमा सम्मिलित हुॅदै
स्पर्शको यो अनुभुति

जेनेभा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।