भन्थ्यौ तिम्रो अन्तिम शब्द मेरो नाम हुनेछ; अन्तिम पटक मेरो नाम त लेख्यौ - तर सुसाइड नोटमा।
अहिले मेरो बास फलामका बारले घेरेको सानो अँध्यारो कोठाको थोत्रो बिछ्यौनामा छ। यस अगाडी कति जना अपराधी वा निर्दोष सुतेका थिए यो डस्नामा। अहिले यसको कपास डल्ला परेर सबतिर घोच्छ । यो डस्नामा पुरै हाम्रो समाज गनाउने। घरमा तिम्रो जस्तो विलासी बिछ्यौना थिएन मेरो तर यस्तो पिसाब, पसीना देखि सायद बीर्य समेत गनाउने यो ओछ्यानले मेरो मानसिक स्वस्थताको परिक्षा लिँदै छ।
यहाँ भीड छ। यती भीड कि सुत्ने भन्ने त कथा जस्तै थियो। मैले त्यहाँ भएको थोरै अलिक राम्रा ओछ्यानमा दाबी नै गरिन। तिम्रो आत्महत्याको लगत्तै म कसरी निदाउँथेँ ? ओछ्यानको दुरुपयोग हुन्थ्यो। बरु निदाउन सक्नेहरु थिए - उनीहरुको अधिकार बढी थियो। कठोर छन् दिनहरु तर अब मलाइ यी दिनहरु सामान्य लाग्ने खतरा देख्दै छू। नयाँ कलेजमा सहज हुन त महिनौं लाग्ने मलाइ कसरी यो कोलाहल, यातना, अपराध, पसीना र पिसाब मिसिएको ककटेल गन्ध बीच केहि हफ्तामै समय सामान्यीकरण हुँदैछ - मलाइ शंका हुँदैछ।
त्यो दिन पारिलो मंग्सिरी घाम थियो। तिमीले बिबाह गरेको एक बर्ष बढी भैसकेको थियो। सुरुमा त अब म यस्सै बस्छु भन्ने रुग्ण भाब थियो तर सबै तिरबाट प्रेसर। परिबारले नै खोजिदिएको कुनै एकजना संग बिहे गर्न राजी भएँ। त्यो दिन मेरो इन्गेजमेन्ट हुने दिन थियो। तिमीले संसारबाट जाने दिन उसै चुनेका हैनौ - मलाइ थाहा छ।
तिम्रो जस्तो धुमधाम विलासी बिहे त हुने वाला थिएन। निम्न मध्यम बर्गकी म। तै पनि थियो एउटा चहल पहल। मेरो मन गरुङ्गो थियो। म साली जताततै तिमीलाई देख्थें। त्यो मेरो हुन आँटेको लोग्नेमा समेत तिम्रो बिभिन्न समानता देख्थें। भिन्नतामा समेत तिमीलाई नै दाज्थें। आखिभौं अमरको जस्तो। जुँगा चाहिं अमरको जस्तो छैन। हेराइ अमरको। हँसाई अमरको जस्तो नाइँ।
यही उद्वेलित मनको बाबजुद मैले सिंगार गर्नै पर्यो। लेहंगा लगाएको थिएँ। अनि लाली लगाएँ। ऐनामा हेर्दा आस्चर्य भो - अझै पनि राम्री नै रहेछु पो ! गाजलको बट्टाको बिर्को उघारें। मलाइ आँखाको तल्लो डिलमा बाक्लो गाजल लगाउन मन लाग्यो। मेक अप गर्ने बहिनी भन्दै थिईन् कि पातलो लाउनु है नत्र पाखे जस्तो भद्दा देखिन्छ। तर मैले मोटो वाला सिन्काले दाहिने आँखामा बाक्लो तर सफासंग लगाएँ। तिमीलाई थाहा होला नि किन बाक्लो लगाएँ। तिमीलाई मन पर्ने गरी नै लगाईदिएँ गाजल।
यही बेला हो बाहिर ठुलो कहाली सुनियो। गाजलको बट्टा भुइंमा खस्यो। बाबा ठुलो स्वरले कराएको सुनें। आमा यत्तिकै सपनाबाट बिउँझेर चिच्यायेजसरी चिच्याउनु भयो। बाँकी के कता भयो मैले होश पाइन। दौडेर बाहिर जान खोजें - केहि पाहुनाहरु ‘नजाउ त्यसरी भित्रै बस’ भन्दै थिए। संघारमा पुगेँ जहाँ दुइजना महिला प्रहरी - एउटी हातमा पत्र र अर्की हातमा हत्कडी लिएर भित्र पस्न खोज्दै थिए।
बुझ्यौ अमर ? एउटीको नाम बिमला हो। मलाइ हत्कडी लगाउने महिला प्रहरी तिनै हुन्। कस्तो बिडम्बना। नाडी भरी चुरा भएकोले हत्कडी राम्रोसंग लागेन। बिमलाले त रोक्दै थिईन् - अर्कीले झर्याम झुरुमफुटाई दिई। मेरो आमाको चित्कारले आकाश भेदेको थियो त्यो बेला। मेरो हुन लागेको विबाहको अस्तित्व अझै थियो उनको संसारमा। तिम्रो जस्तै जुँगा भएको इन्स्पेक्टरले उँचा स्वरमा आदेश दिएपछि होहल्ला अलिक मत्थर भयो।
‘पढेर सुनाउ। ‘ त्यो इन्स्पेक्टरको नाम महेश रहेछ - पछि थाहा पाएँ।
सबै त मैले सम्झिन्न केवल यत्ती सम्झिन्छु ‘अमर थापा ठकुरीको आत्महत्या दुरुत्साहनको आरोपमा तपाईं शर्मिला आचार्यलाइ पक्राउ गरी कारबाही अगाडी बढाउने आदेश बमोजिम - - - - - ‘
त्यसपछि मेरा खुट्टाले मलाइ थामेनन। मेरो आमाको चित्कार र बाबाको हुङ्कारले पनि मलाइ असर गरेन। बरु मेरो मन अनौठो रूपमा सानासाना घटनामा केन्द्रित भए। हाम्रो सानो आँगनभरी टोलका रमितेहरु भेला भैसकेका थिए। करीब दुइ किलोमिटर परको अण्डा बेच्ने पसले समेत देखा पर्यो। राजा, मैले हाम्रो प्रेम त बिल्कुल लुकाएको थिएँ। तर बिछोड लुकाउन सकिन। यो त आगो जस्तै सबै तिर फैलियो। दुइतिर पाखुरा समातेर महिला प्रहरीले मलाइ त्यो पर्खिरहेको भ्यान तिर डोर्याए। कोलाहल कम हुँदै गयो र भ्यानको ढोका ढ्याम्म लागेपछि कान कराउने सन्नाटाले छोपिहाल्यो। मेरो दुइतिर ती दुइ महिला प्रहरी र अगाडी तिरको सीटमा जुंगे इन्स्पेक्टर र अरु दुइ हतियारधारी प्रहरी बसे।
मेरो मुखबाट सास पनि मुश्किलले निस्की रहेथ्यो। अब यो संसारमा तिमि रहेनौ। अलिक सनकी तिमि थियौ। अलिक काँतर पनि - बिसेष गरी परिवारको अगाडी। तिमीले ब्रेक अप दिनु परेको कारण पनि त उही बहाना थियो: परिवारले मानेनन्। त्यो दिन तिमीले मलाइ पार्कमा लग्यौ। भन्यौ कि उसो त तिमि मेरा लागि मर्न पनि तयार थियौ। सात जन्म मेरै हुन तयार थियौ। तर तिम्रा बाबा आमाको आदेश लत्याउन गाह्रो भयो। मनभित्र मलाइ हरेक दिन यो दुखपुर्ण दिन आउँछ भन्ने लगभग पक्का थियो। तै पनि यो सहन गाह्रो पर्यो।
तिमीले लगत्तै बिबाह पनि गरिहाल्यौ। तिम्रो सुहागरातको बिहानै समेत मलाइ अनौठो मेसेज पठायेपछि मैले बाध्य भएर सबै तिर बाट ब्लक गर्ने कोशिश गरेँ। तर ब्लक अनब्लकका सिलसिला हजारौं अरु बिछोडमा जस्तै चल्दै रह्यो।
असफल प्रेम त मैले यस अगाडी पनि भोगेकै थिएँ। तर तिमिसंगको प्रेम बिभिन्न बिडम्बनाले लैस भएपनि किन हो अर्कै रह्यो। आफ्नो जीवनको केन्द्र अरु नै कोहि भएपछी त्यो प्रेम गम्भीर हुन जाने रहेछ। हवल्दार बिमलाले तिम्रो आत्महत्याको खबर सुनाएपछि त्यो केन्द्रले परिधी नाघ्यो। भैगो कति कोट्याउँ यो घाउ।
भ्यानभित्र पनि दुइतिर ती महिला प्रहरी मेरो पाखुरा अँठ्याएर बसेका थिए। अगाडीको महेश इन्स्पेक्टरले समाउन पर्दैन भन्यो। ‘हतियार बोकेकी त छैनौ नि ?’ भद्दा, सस्तो, जता पनि पाइने नजर मेरा लेहेंगाबाट पुस्टियेका स्तनमा गाडेर बोल्यो। मैले सिर्फ उसलाई शुन्य तर सायद आक्रोसित तिम्रो नजरले हेरेँ । उसको जुँगा समेत हच्कियो। तिमि भए झगडा गर्न पुगी सक्थ्यौ। तिमि छैनौ र त यो कहानी बन्दै छ।
थानामा पुगेर बाथरुमको ऐनामा आँट गरेर आफुलाई हेरेपछि थाहा भयो इन्स्पेक्टर किन तर्सियेछ। एउटा आँखाबाट मात्रै गाजल पखालिएर गालामा पोतिएको, छिन्नभिन्न कपाल, लत्पतिएको लाली, र सबभन्दा स्पष्ट चाहिं उद्देश्यहीन दृष्टी। आरोप पत्र सुनेदेखि मेरो मनमा तिमि थियौ। अर्थात नभएको तिमि। मलाइ के आरोप लगाएर गयौ त्यो पनि अर्थहीन थियो।
थानाका केहि दिन त सपनाजस्तै भए। अरु कैदी आरोपीहरु जस्तै स्वचालित बाँचिरहें। तिमि एकतर्फी निर्णय गरेर कसरी नफर्किने बाटो जान सक्छौ - यो कुराले मलाइ एकदमै बिरामी बनाउने गरी सताई रह्यो। घरबाट फुंग उडेका, कहालियेका अनुहारहरु आए। मसंग उनीहरुलाई भन्ने कुनै चीज थिएन। हो प्रेम थियो कोहि अमुक ब्यक्तीसंग। एक बर्ष देखि प्रेम रहेन अब त्यो प्रेमी पनि रहेन। आमा आउन सक्नु भएन; आउनुभएको बाबाको आँखामा प्रश्नबाचक नैराश्यता, सबथोक गुमाएको हरुवा योद्धाको जस्तो निभेको अनुहार। तैंले के गरिस। केहि बिराइस कि। हामीलाई किन कुनै कुरा भनिनस। वा कस्तो बर्बाद भो। अब हामी कसरी रहने। केहि भन्नु भएन। नानी तँलाई केहि चाहिन्छ कि मात्रै भन्नु भयो। ठ्याक्कै यही बेला हो मलाइ मैले गरेका सम्पूर्ण वाहियात प्रेम र त्यसको अबसेशप्रति ग्लानी भएको। त्यस्तै विदेश जाने भनेर तम्सिनु भएको दाइ पनि आउनुभयो। सायद उनको त्यो प्रोजेक्ट पनि भताभुङ्ग भयो होला। म भन्दा दुई बर्षले कान्छी बैनी आउंछु भेट्न भन्थी रे दाइले रोकिदिनु भएछ। उसको पनि प्रेम छ एक जनासंग। अब यो कहानीले उसको प्रेममा समेत धाँजा पार्ने हो कि। मेरो त सम्पूर्ण परिवार नै ध्वस्त हुने भए। तिम्रै घरमा झन् के भैरहेको होला। घाँटीमा पासो लगाउंदै गर्दा तिमीले यी दूरगामी परिणामहरु पक्कै सोच्न सकेनौ।
थानामा त्यहाँका प्रहरी वा कर्मचारीहरुले अनेक कागजमा सही, ल्याप्चे गर्न लगाए। यो उहापोहको समयमा पनि मलाइ जान्न बेर लागेन कि यो जुंगे महेश अनुपयुक्त किसिमले मलाई हेर्छ। ल्याप्चे लगाउँदा मेरो औंला छोयो। तिमि भएको भए हेर्ने आँखा फोरिदिन्छु, छुने औंला भाँचीदिन्छु भन्थ्यौ होला। तिम्रो त्यो कमजोरी थियो कि, प्रेम थियो कि, आफ्नीलाई अरुबाट जोगाउनु पर्छ भन्ने पुरुष संस्कार थियो कि। अब भन है कसले जोगाउँछ। महेश इन्स्पेक्टरले तिम्रीको औंला च्याप्प समाएर नेपाली कागजमा थेची दियो। अर्की कसैको ल्याप्चे हानिरहेकी बिमला हवल्दार एक सासमा आइपुगिन् ।
‘मै गरुला यिनको पेपर’ उनले भनिन्।
महेशले असन्तुष्ट दृष्टि उनीमाथि र यताउती फ्याँक्यो। पदले उ सिनियर हो तर विमलाको अगाडी उ कम्जोर जस्तो देखिदै थियो।
मेरो दायाँ हातको ल्याप्चे सकेर महेश फन्केर हिंड्यो। बिमलाले देब्रे ल्याप्चे लिईन् । अनि फुस्फुसायेर बोलिन् - ‘यसको नजिक हुन थाल्यो भने बरबाद हुन्छन् मान्छे - मै जस्तो !’
कुरा मैले बुझें। मैले त्यो भ्यानमै बुझेको थिएँ।
‘बिमला म्याडम - - -’ एक्कासी मलाइ यिनीसंग सामिप्यता बढाउन मन लाग्यो।
‘दिदी भने हुन्छ।‘ पेपर फाइलमा राख्दै भनिन्। ‘तिमीले गर्यौ चाहिं के ?’
मैले टाउको हल्लाएँ मात्रै। फेरी बोलिन् ‘मसंग शेयर गर्दा हुन्छ। महेशसंग चाहिं नजिक नहुनु।’
बिमला म भन्दा बढी उमेरकी तर यौबनकै वृत्तभित्र रहेकी सुन्दर तर कठोर महिला थिईन्। मसंग भने नरम ब्यबहार गर्थिन्।
‘त्यो इन्स्पेक्टरसंग प्रेम गर्नुहुन्छ ?’ मैले सोधें - अनि अनाबश्यक लाग्यो त्यो आफ्नै प्रश्न।
‘तिमि आफ्नो चिन्ता गर। वकीलको बन्दोबस्त गर्न थाल।’
म झसंग भएँ। हो त। तिमि छैनौ भने पनि, मलाइ सुसाइड नोटमा बन्दी बनाए पनि म मुक्त हुन त पर्छ। राजा, तिमीले मलाइ यो थाना र जेलमा सडाउनकै लागि मेरो नाम त्यहाँ लेखेनौ होला नि ? कि तेस्तै हो ?
‘मेरो — मेरो वकील को होला र ?’ फेरी बाबाको दयनीय अनुहार याद आयो।
‘कोहि त चाहिन्छ। छिट्टै पेशी हुन्छ। राम्रो वकील भयो भने जमानत कम तोक्लान् अनि थानाबाट अदालत धाउनु नपर्ला।‘
यी कुरा त मैले कहाँ सोचेकी थिएँ र। खाली तिम्रो सुन्दर अनुहार थियो मनभरी या मेरा बाबा आमाको। कानुनको क पनि भोग्नु नपरेको मलाइ अब सिङ्गै वकील चाहिएको छ।
‘वकील त महंगा होलान ?’ मैले बोलेँ।
‘स्वयम्बरको दिन उठाउन पर्यो तिमीलाई। अब बिहे त हुदैन होला अहिले त ?’ बिमलाले चुरोट सल्काइन्। मैले मेरा बिहेका लागि जुटेका जे जति थिए त्यो अब बहिनीको लागि भनेर निर्णय लिई सकेको थिएँ। यिनलाई केहि भनिन।
‘चुरोट पिउनुहुन्छ तपाईं?’ बरु यो सोधें।
‘पिउँदिन थिएँ’ लामो सर्कोले उनलाई खोकी लगायो - सायद अझै नयाँ छिन चुरोटको लागि।
महेश यता आउंदै थियो। ‘म छु त। ‘ बिमलाले हकारेर भनिन्। यिनले पो हठात् एकपटक मेरो छातीमा नजर दौडाइन् । महेश अनुहार सोहोरेर फरक्कै फर्क्यो। अलिक कष्टकर रेखाहरु कोरिए विमलाको अनुहारमा। भनिन् ‘त्यो महेश तिमीलाई चाहन्छ। नाइँ - मैले उसलाई चाहेको जस्तो हैन। अर्कै। खराब।‘
अवाक भएर उनलाई हेरें। हिजो राती देखि मेरो डस्ना फेरिएको थियो - अलिक राम्रो। यहाँ आएको कति दिन भयो अब गिन्ती गर्न छोडिदिएको थिएँ। एकपटक तिमीले भनेका थियौ नि ? मसंग हुँदा समय छिटो जान्छ भनेर । हो त्यस्तै। यो थानाको समय झन् अर्कै किसिमको छ। यसमा छिटो ढीलो भन्ने हुँदैन। यहाँको समयको अन्तर्निहित गुण नै फरक छ। यस्तै मान्छे, महेश, बिमला, चेन र नेलको आवाज, पसीना गनाउने ओछ्यान, अनि जताततै फैलेका फोहोरी शब्दहरु यहाँको समय हो।
यस्तै यौटी घनघोरको समय एकजना ‘डन दिदि’ थिईन् - पुलिसले बराबर पक्डेर ल्याउने अरे। तिनको ओछ्यान मेरो भन्दा दुइ ओछ्यान पर। तिनको डस्ना शुरुदेखि नै लचकदार। यहाँ पनि डन नै थिईन् - कसैलाई टेर्दैन थिईन्। तिनी बोलिन् - घाँटीमा खकार अड्केको जस्तो आवाज थियो तिनको सँधै। ‘अनि बिम्ली, सौतालाई समातेर ल्याइछौ त। पातकीले के छोड्थ्यो यस्ती कल्कलाउँदीलाइ।’
सुन्यौ त ? कस्तो समयको बीचमा छोडेर गयौ ?
विमलाको आँखा हेर्दा मलाइ लाग्यो यिनलाई भुत्ल्याउँछिन्। तर हातको लौरो बिसाएर मुख छोपेर रुन पो थालिन्। रनभुल्ल भएँ म। यिनका प्रेम भनेको उही मुख मिठ्याउने रसिक प्रेम होला भन्ने सोचेको थिएँ। रुन मिल्ने प्रेम रहेछ।
‘नाटक। ‘ डन दिदी मुख खुम्च्याएर म तिर हेरिन्। ‘के हो ? गर्ने हो प्रेम त्यो इन्स्पेक्टरसंग ?’
मैले अहिलेसम्म कतै उल्लेख नभएको आवेगपूर्ण नजरले उनलाई हेरेँ।
‘यिनको दोष छैन।‘ बिमलाले नै सफाई दिईन्।
‘मलाइ था छ हवाल्दर्नी। सयकडा नब्बे केसमा हरामहरुको लिङ्ग उन्मत्त भैरबवाला हुन्छ। नत्र मेरो बेपार कसरी चल्छ। बिमली डार्लिङ्ग - तिम्रा खसम घरमा। नाठो थानामा। नाठोको आँखा अन्तै। तेस्को स्वास्नीले बच्चा पाई त ? उल्टो बसेको थियो रे हैन ?’
‘पाई रे अपरेशन गरेर।‘
‘बस्, त्यै भएर प्रेम गरी हिड्न खोज्छ साला। बरु मेरो कोठीमा पठाइदेउ। यो केटीलाइ छोयो भने धुलाई हुन्छ भन्देउ।‘
यी डन दिदी साँचै चाख लाग्दी हुँदै आइन्। काठमान्डूमा अनेक ठाउँमा ‘धन्धा’ को धन्धा पो छ रे। यिनको खातामा पांच छ वटा हिंशा हत्या, लूट, डकैती सब आरोप रहेछ। थाना मामाघर त यिनको पो रहेछ।
‘एता आऊ। ‘ अर्डर गरिन्। म पनि उनकै बेडमा बस्न गएँ। ‘उही लफडा रेछ हैन त ?’ सुर्ती गाँजाको गन्ध ह्वास्स आउने गरी साउती जस्तै गरेर भनिन्। ‘ब्रेक अप दिने नि उही। सताउने नि उही। अनि नर्क जाँदा तिम्लाई पोलेर जाने नि उही। बिहेको दिन पो गरेछ काण्ड हैन त ?’
म निसास्सियें। मैले यस्तो सुन्न पनि नहुने थियो। ‘यस्तो नभन्नु प्लीज। ‘ मेरा आँखा रसाए।
‘यी अझै छ है प्रेमको धन्ग्धंगी। सुन केटी, मर्दैमा पाप पखालिदैन। झन् पासो लाएर मर्नेको त मृत्यु पनि अपाङ्ग हुन्छ। जुँदो भए पाप पखाल्न प्रयास गर्न सक्थे।’
‘दिदी भैगो।’ हद भन्दा बढी हुन थाल्यो यिनको लगामहीन सत्य।
‘कुरा येत्ती हो – केरे तिम्रो नाम ? केहि पर्यो भने मलाइ भन। आजै थाहा पाएँ कि हामी अपराधीलाई पनि निर्दोषकै पक्ष लिन मन लाग्नी रेछ।। अनि सुन बिमली महेश —’ इशाराले घांटी रेटेको जस्तो गरेर चेतावनी दिन लगाइन्।
‘तपाईंलाई डर लाग्दैन ?’ मैले सोधें।
‘येहाँकाहरु संग लाग्दैन। बाहिरका आफूजस्तै संग मात्रै डर लाग्छ। ‘
मलाइ यिनी संग धेरै हिमचिम गर्न हुँदैन जस्तो लाग्यो। म पनि यस्तै हुँदै छु जस्तो लाग्यो।
बाबा आउनुभयो। झन् दुब्लो। झन् हतास। झन् बर्बाद। भन्नुभयो ‘एउटा वकील जुटायें। भगवानले हेरेको होलान्। पर्सी धेरै कुरा थाहा होला।’
मैले भन्न खोजेको थिएँ पर्दैन वकील। जे हुन्छ होस्। तर त्यसो भन्नु बाबालाई हिर्काउनु जस्तै हुनेछ। त्यो वकील आयो थानामै दुइ तीन पटक । यती अनिच्छुक मान्छे मैले देखेको थिईन। सोचें हामीसंग भएको पैसाले किन्न सकिने आत्मा यती नै होला।
मलाइ थाहा थियो पेशीमा लिएर जाने पुलिस महेश नै हुनेछ। अर्थात महेश र बिमला। हेर अमर, अब तिम्री शर्मी यता प्रेम त्रिकोणमा जबर्जस्ती कोरिंदै छे। तर त्यो मेरो इत्ती पनि समस्या हैन। समस्याले उता अदालतमा पर्खिरहेछ जस्तो लागिरहेछ। पहिलो पल्ट मलाइ आज भगवानको जरुरी परेको छ। तिमि भगवान मान्ने, म चाहिं नमान्ने। तर आज मलाइ केवल एक पटक जरुरी परेको छ - यत्ती भन्न कि देखिस तँ कसरी छैनस।
मुटु असफल पार्ने अदालतको परिदृश्य सायद निर्दोषको लागि झन् चुनौतीपूर्ण हुन्छ। तिमीले मलाइ आफ्ना परिवारसंग चिनाएको समेत थिएनौ। अब चिन्दै छु। सरकारी वकीलसंगै रवाफपूर्ण तर शोक र क्रोधले धप्प बलेको अनुहार लिएर बस्ने बिचरा तिम्रा बाबा होलान्। आमा देखिन। ओह, तिम्रै अनुहार झल्किने ती युवती तिम्रो दिदी होलिन्। मेरो मुटु ढक्क अडियो - सेतो कुर्ता सुरुवालमा बिना रातो टिका वा सिन्दूरमा तिम्री श्रीमती त होलिन् नि। केवल यिनको आँखामा मात्रै छ आँशु। जब मलाई हत्कडी सुद्धै बिमलाले डोर्याएर ल्याइन् बायाँ लहरमा बसेकी यौटी महिला गर्ल्याम्मै लडिन् बेहोश भयेर। मेरी आमा रहिछन्।
अब यो अदालतको लम्बेतान कहानी किन सुनाउँ। तिम्रो परिवारको पक्षको सरकारी वकील साँढेजस्तो जुध्न तयार थियो। बाबाले ब्यबस्था गरेका वकील सराद्दे भन्न आएका बुढा पुरेत जस्तो कनीकुथी भनाइ टुङ्ग्याये । बहु प्रतिक्षित तिम्रो पत्र पनि पढेर सुनाए कसैले। हाम्रा जुम्से वकीलले पनि भर्खर पो पढेका वा सुनेका अरे। तिम्रा परिवार पक्षकाले दिएनन् अरे पहिले। मैले केवल यत्ती बुझें कि तिमी म अरु कसैको भएको सहन सक्दैनौ; त्यसैले यो कदम चालेको। तिमि खुद अरुको भएको भुसुक्कै बिर्सेछौ। तिमीलाई म के भनूँ । केहि भन्दिन। मलाइ केहि भन्नु छ कि भनेर न्यायाधीशले सोधेका त थिए तर म त हाँसीछु। केवल अब कति महिनामा दोश्रो पेशी र जमानत नहुने निर्णय सुनाएपछि तिम्रा परिवारले चुनाब जितेको जस्तो नारा लगाए।
सोचें, शोकमा मान्छेको होश पनि त हुँदैन।
जब मलाइ उठ्न लगाए - पहिले त एक मुष्ट हल्ला त्यसपछि तिम्री दिदीको अप्रत्याशित आक्रमण आइपुग्यो। मेरो कपाल, लुगा, लुछेर मुक्कै मुक्काले हिर्काउन थालिन्। मेरो नजिक बसेकी बिमला एकछिन तर्सिन् त्यसपछि तिनले तिम्री दिदीको जगल्टा तानेर तीन मिटर पर फ्याँकी दिईन्।
तिम्रा पिताजी समेत उसै गरी बौलाउँदै थिए। औंलो ठड्याउँदै मुखबाट थुक उछिट्याऊँदै बोलेको मैले बिर्सिन्न होला ‘तँ बेश्या मेरो छोरोलाई फसाउन खोजेकी - सम्पतीमा आँखा गाडेकी - अब हेर् जिन्दगी जेलमा सडाइदिन्छु। के को दुरुत्साहन। हत्यामा जाकिदिन्छु। ‘ इत्यादी।
‘जाक्लास।’ बिमलाले बरु गाली हुर्याइन।
यताको बेन्चमा यस पटक मेरा बाबा पनि गर्ल्याम्म लडेछन। म यन्त्रवत् हिड्दै रहेँ र प्रहरी भ्यानमा बसें। तिम्रा परिवारप्रती मलाइ अझै दया थियो। तिमीलाई उनीहरुले पनि उत्तिकै गुमाएका हुन् जती मैले। र तिमि कति बिर्सन नसकिने हौ त्यो मलाइ थाहा छ। तर मप्रति तेत्रो हिंशात्मक क्रोध ? शोक छ, तर त्यो भन्दा पनि तिम्रो मृत्यु उनीहरुलाई इज्जतको सवाल भए जस्तो लाग्यो। बाबाको इगोमा घात परेछ। तिम्रो मृत्युको दोषी खोज्दैछन तिम्रा परिवार ता कि इज्जत जोगियोस।
बुझ्यौ? मर्नु त रोज्यौ तर त्यसपछिका परिणामहरु तिमीले सोचेको जसरी जाँदैन। यसरी मर्न रोज्ने जो कोहिलाई पनि ऐले नै भन्दिन्छु। जे उद्देश्य वा बदलाभाब लिएर पासो लाउँछौ, सल्फास निल्छौ, आगो लगाउँछौ - त्यहि बिन्दुदेखि परिणाम उल्टो हुन थाल्छ। तर अफ़सोश त्यो सच्याउनलाइ तिमि हुँदैनौ। कस्तो विलोम छ, बिडम्बना छ।
अब म खुदलाइ जेलमा सडाउने इच्छा त तिम्रो पनि हुँदैनथ्यो होला। कि हुन्थ्यो ?
त्यसपछि लगत्तैको कुनै एक दिन मेरा सारा परिवार आए, म आत्तिने गरी। को कस्तो शारीरिक मानसिक हुलियामा थिए त्यो के भन्नु। तर उनीहरुले गरेको योजना झन् भयानक। बाबाले यसरी शुरु गरे, ‘नानी सम्पती भनेको फेरी जोडौंला। देखिहाल्यौ उता कति पावरफुल परिवार। लर्तरो वकीलले हुँदैन रे। मैले मात्रै हैन - यी हामी सबले निर्णय गरेका छौं घर बेचिदिने। पैले पनि त डेरा मै थियौं - खुशी नै थियौं —-’
त्यही डेरामै हुँदा त मैले तिमीलाई भेटेको हो नि। खुशी थिएँ हगि म समेत ?
मैले आँशु पुछ्दै मेरा सबैलाई हेरेँ। खास संसार त मेरो यती चार त हो नि। अब तिमि नरहेसि। ‘नाइँ। ‘ मैले यत्ती मात्रै भन्न सकेँ। पहिलो पल्ट तिम्रो भगवानलाई प्रयोग गरेँ आफ्नो स्वार्थको लागि। ‘इश्वरको कसम त्यस्तो गर्नु भयो भने।’
अवाक भएका उनीहरुलाई छोडेर म फर्कें।
बेडमा पल्टिएँ। आँखा चिम्लंदा सेतो पहिरनमा भएकी तिम्रो श्रीमती आइन्। यार मलाइ डाहाड भो। म भन्दा अग्ली, राम्री, सेक्सी। यो बेला पनि यस्तो जेलसीले छोडेन मलाइ समेत। उता डन दिदी जमानतमा गइनन रे - मेरो नतीजा सुन्न बसेकी अरे। क्रोधित तर रसीला आँखा तिनका पनि थिए - खै मेरो कुराले हो कि वा अर्कै कुरा हो।
साँझमा बिमलालाई मैले महेश बोलाइदेउ भनें। आँखाको गेडीनै बाहिर आउला जसरी तिनले हेरिन्। तर पनि बोलाइदियिन्। यी बिमला अर्कै संसारकी प्रेमिका छिन्। तिमि हामीले बुझ्ने भन्दा माथी।
‘अमरकी श्रीमतीसंग एक्लै भेट्ने बन्दोबस्त मिलाइदिनुस।’ झन्डै आदेश जसरी बोलेँ मैले। महेशको मन्टो टेढियो, स्वचालित रुपले हात उसको होल्स्टरमा पुग्यो।
‘किन ? तेसकी दिदीको बदला उसंग लिने मन भयो ?’
‘नाइँ, केवल यौटा छोटो संदेश - म आफैले नै दिनु छ। मेरो अन्तिम अनुरोध। ‘ यो अन्तिम भन्ने शब्द कस्तो असरदार छ। तिमीलाई थाहै छ।
महेशको ड्युटी हुँदा विमलाको शिफ़्ट नभएको कमै हुन्थ्यो। तर त्यस्तै एक बिहान चाल मारेर आयो ऊ। अब तिमि नर्भस नहोउ यार मलाइ थाहा छ यो महेश के भन्ने वाला छ। भन्यो पनि। ‘तिमि जुन माग गर्दैछ्यौ त्यो लेभलको कुरा पैसाले पनि गराउन सक्दैन। ‘
‘पैसा भएको भए वकील नै किन्थें नि। ‘ मैले भनें।
‘तिनको नाम भावना हो। हाइ क्लासकी हुन् तिमीले धम्क्याउन सक्दिनौ । अहिले माइतीमा छिन्। ‘
‘भेटाइदिनुस - धर्म हुन्छ। ‘ अचेल म इश्वर, धर्म भटाभट बेच्न थालेको छु।
‘मलाइ धर्म चाहिएन। ‘ उसले भन्यो - सास बढ्दै थियो उसको।
एकछिन गौर गरेर हेरें। ऊ रातो हुँदै थियो। स्वाश बढ्दै थियो। मेरो सम्पूर्ण शरीरमा आँखा नचाउँदै थियो। यो सतही हरामीमा समेत फिदा हुने बिमली के भाकी होलिन्।
‘पाप चाहियो त ? तयार छु।‘ हे यार अमर। अब तिम्रो पालो सायद ममाथि जाइ लाग्ने। यो बाक्य बोल्दा तिम्रो बाबाको ठाउँमा तिमि औंलो ठड्याएर खनिएको दृश्य आयो।
अब त्यो दिनको कुरा पनि गरूँ है ? खासमा त्यही दिन त थियो नि तिमीले मलाइ त्यागेको। धेरै पछि ‘परिवारले मानेनन्’ भनेर औपचारिक उम्कियौ। तर तिम्रो मनमा हाम्रो पहिलो शारीरिक सम्पर्क पछि बिछोडको बिउ रोपिएको हो। तिम्रो आँखामा स्पष्टै थियो। म दुखित भएँ - तर मैले गर्न सक्ने मदत केहि थिएन। यसमा म बाद-प्रतिबाद केहि गर्न चाहन्नथें। बस यौटो प्रेम गरेको थिएँ। त्यसले तिमीलाई पुगेन। मैले स्वीकारें।
तर त्यो ‘पाप’ को लहरोले आज यो पहरो चर्केला भनेर सोचेको चाहिं थिईन।
मलाइ अस्पताल लैजाने बहानाले थानाबाट निस्क्यौं।
मलाइ अब गुमाउन सकिने कुरा केहि थिएन भन्ने भैसकेको थियो, तर पाउन सक्ने मेरो आफ्नै मुक्ती। आशा छ यसमा तिमी असहमत हुन्नौ । तिम्रो हलाहललाइ मैले अमृत बनाउन खोजेको मात्रै हो। महेशलाइ दिएको ‘घूष’ मैले गुमाएको होइन। तिम्रो राय बेग्लै हुन्थ्यो थाहा छ - तर तिमि नहुन रोज्यौ र त यो नौबत आयो।
बीर अस्पताल छेउको ओयो होटेलबाट हामी दुई फर्क्यौं; बिमला भ्यानमै थिईन् पछाडी सीटमा। जब म भ्यानमा पसें विमलाको तम्तमाएको, आँखामा धुवाँ छुटेको अनुहार, मुखभरी रगत र पछाडीको सिट टोकेर धुजा धुजा पारेको देखें। छारे रोगले जस्तो काम्दै थिईन्। ‘तर तिम्रो दोष छैन। मलाइ थाहा छ।‘ तिनले साउतीमा भनिन्।
तिम्री श्रीमतीको माइतीमा आज उनि एक्लै थिईन् - त्यही थाहा पाएर त महेशले यो योजना बनाएको हो। ढोका घचेडेर म भित्र पसें। उनि नुहाउन जान ठिक्क परेकी रहिछिन्। तर्सिन्। पुलिस बोलाउँछु भनिन्। मलाइ धेरै ड्रामा गर्नु थिएन। सिर्फ एउटा कागज टेबलमा राखिदिएँ। त्यसमा त्यस्तो जादुको मन्त्र केहि थिएन। केवल मेरो फेसबुक मेसेन्जरको पासवोर्ड थियो।
अमर, कम्तीमा मलाइ उनको नजरमा निर्दोष ठहरिनु थियो। भाड मे जाए अरु।
त्यसपछि महीनौ बिते। डन दिदी पनि गइन् - मलाइ एउटा नम्बर थमाएर। जमानत नहुने भएपछी जेलमा सारिदिए। हरामी महेशको अनुहार देख्दा मलाइ अस्मिता हस्मिताको सम्झना हुने होइन - केवल विमलामाथि धोखा गरेको जस्तो लाग्थ्यो।
‘जेलमा भेट्न आउंछु।‘ भनिन् बिमलाले। साँचै दिदी जस्तो लाग्नी। ‘पेशीको दिन तिमीलाई मै लैजान्छु जेलबाट पनि।‘
त्यो दिन पनि आयो। नभन्दै बिमला आइन्। साथमा अर्कै अफिसर थियो। बिमला खुशी देखिन्थिन्। ‘सालेलाई खुस्काईदिएँ। मैले बचाएर हो नि कति काण्डबाट जोगिएको। अब त्योसंग कुनै पंगा रहेन। भ्रम पनि ठुलो भ्रममा रहेछु।’
अदालतमा उस्तै दृश्य। एकातिर मेरा अरु दुब्लाएका परिवार। लोसे वकील त रहेछ मेरो तिर पनि। तिम्रा बाबाले जति डिङ्ग हाँके पनि दुरुत्साहन भन्दा बढी फसाउन त सक्दैनन् भन्ने मेरो सोचाइ रहेको थियो - यसैले वकील राख्दै नराख्ने निर्णयमा म थिएँ।
अर्को तिर तिम्रा उही रिसाएको अरिंगालको गोला जस्तो परिवार। तिम्री श्रीमती यसपटक हरियो कुर्तामा थिईन्। उत्तिकै राम्री, कामुक। म प्रतिको रोगी लगावमा यिनलाई कसरी इग्नोर गर्यौ यार। अन्याय यता भएको छ। मैले उनीसंग आँखा जुधाउन खोजेँ - सायद मैले दिएको स्रोतबाट केहि मन पग्लिन्छ कि भन्ने झीनो आशा थियो। मलाइ लाग्छ यिनी जानी जानी मेरो आँखाबाट भागी रहिछिन्।
मलाइ आरोपीको मेचमा बस्न भनियो; हत्कडी खोलियो। सरकारी वकीलले जोडदार बहस गरे - यसरी कि म सायद अपराधी नै हूँ कि जस्तो लाग्न थाल्यो। मेरो लोसे वकीलले मुश्किलले दुई मिनेट जो बोल्यो झन् मलाइ मै दोषी हूँ भन्ने लाग्यो। वा हत्यारा नै पो हूँ कि तानतुन गरेर ?
न्यायाधीशले तिम्री श्रीमतीलाइ जब साक्षीको कुर्सीमा बस्न बोलाए मेरो मुटु एकछिन थामियो अनि एकछिन जोडले हल्लियो। गीतामा हात राखेर कसम खाइन् तिनले। हे दैब। आवेगले गुलाबिएको उनको यो अनुहार देखेको भए तिमि मर्ने थिएनौ। शुरुमा अलि अश्रुपूर्ण कम्पन तर छिट्टै शक्तिपूर्ण आवाजमा उनि बोलिन्।
‘शुरुमा त जहाँ छौ शान्तिपूर्ण रहु।‘ त्यो तिमीलाई भनेकी हुन् याद राख। ‘श्रीमान’ त्यो तिमीलाई हैन, न्यायाधीशलाइ भनेकी हुन्।
‘अदालतको समयको ख्याल गरेर सान्दर्भिक कुरा मात्र राख्नुहोला।’ आदेश दिए न्यायाधीशले।
‘हो श्रीमान् ख्याल गरेको छु। दिबंगत आत्मा खराब थिए म भन्दिन तर सबै बाटो उनले सही हिंडे भनेर पनि म भन्दिन। यत्ती भन्छु कि यो आरोपीको मेचमा बसेकी शर्मिला आचार्य निर्दोष छिन्। यती मात्रै हैन यदी स्वीकार गर्छिन् भने यिनको पक्षबाट म बहस गर्न चाहन्छु।‘
उनीमाथी जुत्ताको झटारो हान्ने तिम्री दिदी हुनु पर्छ - हीलवाला कठोर जुत्ता थियो। तिम्रा बाबाको उही धन-रुपियाँको अश्त्र थियो - ‘हेर्लिस अंश भनेर कुच्चेको थाल पनि पाउन्नस। घरमै नागिन पालिराखेका रहेछौं।’
जब तिम्री दिदी न्यायाधीशको ‘अर्डर अर्डर’ लाइ नटेरेर उनि तर्फ बढिन् - बिमलाले सहन सकिनन् - पिस्तोल झिकेर अदालत त के भट्टी पसलमा पनि अश्लील लाग्ने गाली बर्साइन् र ‘एक कदम आगे’ आएर देखाउन चुनौती दिईन्।
‘प्रहरी महिलालाई पनि अदालतको मानहानीको चेतावनी दिन्छु।‘ न्यायाधीश बोले; यस पटक कि हथौडा कि टेबल चर्केको हुनुपर्छ। शान्ती छायो तर तिम्रो परिवारको बेन्चमा पानीको मुहान बन्द गरेको माछाको हुल जस्तो छटपटी थियो।
जुत्ताले नीलो हुने गरी टुटिलो उठाएछ भावनाको निधारमा। त्यो छाम्दै उनले फेरी उँचा स्वरमा बोलिन् ‘श्रीमान, मेरो अरु भन्नु केहि छैन। कुनै पक्षको वकीललाई केहि सोध्नु छ भने सोधे भयो।’
यसपाली सरकारी वकीलको बेलुन पनि फुटेको भान भयो। ‘अप्रत्याशित घटनाले गर्दा बहस स्थगित गर्न माग गर्छु। ‘ तिनले यसो पो भने।
भावनाले यसपटक सिधै मतिर हेरिन् अनि सब ठिक छ भन्ने इशारा गरिन्। म केटा हुन्थेँ भने यिनको दिवाना हुन्थेँ। यो प्रलायात्मक कथामा सबभन्दा ठुलो ट्राजेडी यही लाग्यो कि तिमि कसरी यिनको प्रेममा परेनौ। अनि यो हुन नदिने प्रत्यक्ष वा परोक्ष कारण मै रहेछु नि त। अहिलेसम्म जुन म निर्दोष हूँ जस्तो लाग्दै थियो - अब यो भ्रम एक किसिमले चकनाचुर भएको छ।
‘साली रेछिन् झांसी कि रानी। वकील पो रेछिन् ?‘ बिमलाले बिस्तारै भनिन्। उता तिम्रा बाबा इशाराले ‘घांटी रेट्ने’ धम्की दिंदै थिए। अदालत भित्रै।
‘डन दिदीलाइ फोन लगाउनुस।’ बिमलालाइ भनें। ‘भावनालाई सुरक्षा चाहिन्छ तेत्ति हो।’
भ्यानमा आएपछि म सुस्ताउन चाहेँ। सबभन्दा ठुलो जेलबाट मुक्त भएको छु। सरी अमर। एकछिन बेहोश हुन चाहन्छु। मलाइ लाग्छ म तिमि हुन खोज्दै छु। तिमि जुन पूर्ण हुन बाँकी थियौ मलाइ त्यो हुन मन लागेको छ।
मलाइ लाग्छ म तिम्री भावनासंग प्रेम गर्ने खतरामा छु।