एउटा मान्छे छ, अचम्मको । म उसँग बोलेकी छैन । झगडासगडा केही पनि परेको छैन । तर उसको बोली सुन्नासाथ एलर्जी हुन्छ । बाटोमा भेटियो भने निहुरिएर पर्स खोतल्न थाल्छु, कि चप्पलको फित्ता मिलाउन थाल्छु । जब ऊ कट्छ अनि अक्सिजनले फोक्सो भरेर अघि बढ्छु ।
सबै उसलाई सागर भन्छन् । त्यस्तो बिगे्रको क्यासेटजस्तो भोलुम घटाउँदै बढाउँदै बोल्नेलाई के सागर भनेका होलान् । नाम सुन्दा पनि रीस उठ्छ ।
मैले त सुटुक्क सुँगुर भन्ने गरेकी छु ।
एक्लै पनि उसलाई सुँगुर भन्न पाउँदा आफूलाई आनन्द आउँछ । तर बिचराले मेरो कुनै पिँडालुबारी फाँडीदिएको छैन ।
शनिवार बिहानै बाथरूमबाट निस्केकी थिएँ, सेलको घण्टी बज्यो -
ऊँ जय जगदीश हरे''।
मलाई यो धुन खुब मनपर्छ । सन्जुले हालिदिएकी । झन् बिहानै बज्दा त कस्तो आनन्द आउँछ । त्यहि धुन सुन्नलाई पनि कहिलेकाहीँ लेण्डलाइनबाट रीङ् गर्छर्
सेलको घण्टी बज्नासाथ नम्बर हेरेँ । अहँ, सेभ गरेको मान्छे होइन । एकछिन् धुन सुनिरहेँ । लगातार बजिरहेपछि सासुमुआँ कराउन थाल्नुभयो -
हैन, मैया कहाँ गई ? फोनले खोजेकोखोज्यै छ ।
हतार-हतार उठाएँ । उताबाट भाले आवाज बास्यो -
हेलो
परिचितजस्तो लागेन । त्यसैले उसलाई सोधेँ -
को बोल्नुभयो होला ?
कथाकार बहिनी बोल्नु भएको हो ? नमस्कार । अहिले राजधानीबाट छापिएको पत्रिकामा तपाइँको कथा पढेँ । बधाई दिन गरेको ।
ला, उही सुँगुरको आवाज रहेछ । मैले केही भन्न पाइनँ । उसले फेरि लाइन मार्यो-
सुन्न त सुनेको थिएँ तपाइँ छुपेरूस्तम हुनुहुन्छ अरे भनेर । तर पढ्न पाएको थिइनँ । वाह ! क्या जमाउनुहुँदो रहेछ ।
धन्यवाद ।
मैले शिष्टता व्यक्त गरेँ । उसले फेरि पगार लगायो -
बहिनी, तपाइँको नारी मनोविज्ञान बेजोड रहेछ । बाहिर बाहिर लज्जावती, भित्रभित्रै भगवती ।
म केही बोलिनँ । कस्तो मज्जाको विश्लेषण । त्यत्रो लोग्ने मान्छेलाई 'काँढाको मन भएका कौरवहरू द्रौपदीको बजार थापिरहेछन्' भनेर हान्दा पनि मेरै प्रशंसा पो गर्यो ।
बल्ल उसले कुराको बिट् मार्यो -
सरी ! यहाँलाई मैले डिर्स्र्टव गरेँ । भेट हुँदा आभार व्यक्त गरूँला ।
तातो फलामलाई घनले हानेजस्तै भएँ म । के भन्नु र ! 'स्वागतम्' भनीदिएँ ।
कोसँग बोलेकी यति लामू ?
सासुमुआँलाई ननिध्याई हुँदैन । बोलेको मान्छेको फोटै बनाएर देखाईदिनु पर्छ ।
ब्रि्रेको क्यासेटसँग ।
मैले फ्याट्ट जवाफ दिएँ, फेरि सेल बज्यो -
ऊँ जय जगदीश हरे''।।
कवि परिवर्तन रहेछन् ।
दाइ ! नमस्कार ।
ले पालो मिचेँ ।
नमस्कार कथाकारज्यू , यहाँलाई बधाई दिऊँ भनेर ।
उनले लेघ्रो ताने ।
किन, के भयो र दाइ ?
मैले अनभिज्ञता प्रकट गरेँ ।
त्यही कथाको बारेमा क्या । तपाइँले एक्काइसौँ शताब्दीमा पुरुषहरू नयाँ खेलौना हुनेछन् भनेर लेख्नुभएछ नी, खुब मजा लाग्यो । आजसम्म पुरुषले दबाए, लुटे भन्नुहुन्थ्यो, अब हामीलाई दबाउने, लुट्ने हुनुभएछ । ठीक छ, नाङ्गै, मुडुलै भयौँ भने प्रतिकार गरौँला, नसके बधु शिक्षाका ठाउँमा मधु शिक्षा लेखौँला ।
उनको बर्बराहटले मेरो फ्यूज उड्यो । सहन नसकेर करेण्ट बगाईदिएँ -
हेर्नुस् कविजी ! तपाइँले कवितामा राज्य माग्दा मैले केही भनिनँ । एउटा कथाबाट अधिकार माग्दा ज्वरो आयो - तपाइँ स्रष्टा बोल्दैहुनुहुन्छ कि पुरुष ?
के भो ? के भो ? किन बाझेकी ? को हो त्यो मान्छे ? मलाई देखा, त्यसका नलिखुट्टा भाँचिदिन्छु ।
ट्वाल्ल परेर मेरो मुखमा हेरिरहनु भएकी सासुमुआँ कराउन थाल्नुभयो । मैले फोन काटीदिएँ । बाथरूममा नुहाएर राखेका चिसा लुगा सुकाउन गएँ ।
ऊँ जय जगदीश हरे''।
फेरि रिङ् आयो । दौडिँदै भित्र पसेँ । पोखराबाट वसन्तले गरेको रहेछ ।
'भन'
मैले चिमोटेँ ।
बधाइ छ है कथाकार ।
वसन्तको व्यङ्ग्य बुझिहालेँ । आखिर मेरो लोग्ने पनि पुरुषै त हो । मन दुखाएछ क्यार भनेर मल्हम दलेँ -
के छ लोग्ने मान्छे ? आइमाईलाई शासन गर्न आउँदैनौ -
हेर न, तिम्रो कथा पढेर हाकिम त बमबम भयो । उल्टै मलाई पो सिकाइस् भन्छ । दशैँमा घर जाँदा स्वास्नीलाई उचालेर आइस् भनेर मार्न आँट्यो ।
वसन्तले बल्ल सास फेर्यो ।
तिम्रो हाकिम आइमाई कि लोग्ने मान्छे ?
मैले हाँस्तै सोधेँ ।
लोग्ने मान्छे नि । वृद्घ भत्ता खान आँटेको । आमाचाहिँ पैँसठ्ठी वर्षपुग्यो भन्छिन् । नागरिकतामा जन्म मिति सच्याएको अरे । भरखर पैँतालीस भएँ भन्छ ।
उनी बोले ।
लाटा ! तिम्रो हाकिम लोग्ने मान्छे, तिमी लोग्ने मान्छे, मेरो कथा छाप्ने सम्पादक लोग्ने मान्छे । यो कथा छापिनुमा म दोषि कि तिमीहरू ?
मैले नागबेली पाराको जवाफ दिएँ । उनले लाचारी व्यक्त गरे -
त्यसो भए त आमा पनि आइमाई नै हुन् नी । हाकिमकी आमा पनि आइमाई ।
मैले चोरी औँला तिखारेर नाकैमा पुग्नेगरी भनेँ -
हेर वसन्त, म त्रि्री स्वास्नी भएपनि छोराछोरीकी आमा हुँ । भन्देउ त्रि्रा हाकिमलाई, उसकी श्रीमती सुत्केरी भइन भने ऊ कसरी बाबु हुन्छ अरे ।
वसन्त एकछिन् मौन भयो । अनि टाटा भनेर फोन राख्यो ।
मलाई वसन्तले बोलेको सुन्दा श्रीमान्भित्र लोग्नेमान्छे जिउँदै हुँदोरहेछ जस्तो लाग्यो ।
'छ्या ˜˜ लोग्ने मान्छे । जस्तो जन्मियो त्यस्तै हुर्किन्छ । आइमाईले भोटो सिलाएर छोपिदिनुपर्छ । हुर्किएपछि ऊ दाह्री पालेर महिला मन्त्रालयमा बस्छ । थोरै बच्चा पाउने सल्लाह दिएर महिलालाई परिवार नियोजनका साधन बाँड्छ ।'
मैले फेरि दोश्रो कथाको पहिलो अनुच्छेद लेखेँ । यो कथामा के के दिनुपर्ला भनेर सोच्दै थिएँ ? कोक्रामा निदाएको सानो छोरा व्युँझेर चिच्यायो -
ओहाँ, ओहाँ ˜˜˜˜
कथाको क्यानभास भत्कियो । म कलम फालेर बर्बराउँदै उठेँ -
पख पुरुष पख ।
२०६४ मोरङ