14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

दोश्रो कथा

कथा अनिल पौडेल December 18, 2008, 8:30 pm

एउटा मान्छे छ, अचम्मको । म उसँग बोलेकी छैन । झगडासगडा केही पनि परेको छैन । तर उसको बोली सुन्नासाथ एलर्जी हुन्छ । बाटोमा भेटियो भने निहुरिएर पर्स खोतल्न थाल्छु, कि चप्पलको फित्ता मिलाउन थाल्छु । जब ऊ कट्छ अनि अक्सिजनले फोक्सो भरेर अघि बढ्छु ।

सबै उसलाई सागर भन्छन् । त्यस्तो बिगे्रको क्यासेटजस्तो भोलुम घटाउँदै बढाउँदै बोल्नेलाई के सागर भनेका होलान् । नाम सुन्दा पनि रीस उठ्छ ।

मैले त सुटुक्क सुँगुर भन्ने गरेकी छु ।

एक्लै पनि उसलाई सुँगुर भन्न पाउँदा आफूलाई आनन्द आउँछ । तर बिचराले मेरो कुनै पिँडालुबारी फाँडीदिएको छैन ।

शनिवार बिहानै बाथरूमबाट निस्केकी थिएँ, सेलको घण्टी बज्यो -

ऊँ जय जगदीश हरे''।

मलाई यो धुन खुब मनपर्छ । सन्जुले हालिदिएकी । झन् बिहानै बज्दा त कस्तो आनन्द आउँछ । त्यहि धुन सुन्नलाई पनि कहिलेकाहीँ लेण्डलाइनबाट रीङ् गर्छर्

सेलको घण्टी बज्नासाथ नम्बर हेरेँ । अहँ, सेभ गरेको मान्छे होइन । एकछिन् धुन सुनिरहेँ । लगातार बजिरहेपछि सासुमुआँ कराउन थाल्नुभयो -

हैन, मैया कहाँ गई ? फोनले खोजेकोखोज्यै छ ।

हतार-हतार उठाएँ । उताबाट भाले आवाज बास्यो -

हेलो

परिचितजस्तो लागेन । त्यसैले उसलाई सोधेँ -

को बोल्नुभयो होला ?

कथाकार बहिनी बोल्नु भएको हो ? नमस्कार । अहिले राजधानीबाट छापिएको पत्रिकामा तपाइँको कथा पढेँ । बधाई दिन गरेको ।

ला, उही सुँगुरको आवाज रहेछ । मैले केही भन्न पाइनँ । उसले फेरि लाइन मार्यो-

सुन्न त सुनेको थिएँ तपाइँ छुपेरूस्तम हुनुहुन्छ अरे भनेर । तर पढ्न पाएको थिइनँ । वाह ! क्या जमाउनुहुँदो रहेछ ।

धन्यवाद ।

मैले शिष्टता व्यक्त गरेँ । उसले फेरि पगार लगायो -

बहिनी, तपाइँको नारी मनोविज्ञान बेजोड रहेछ । बाहिर बाहिर लज्जावती, भित्रभित्रै भगवती ।

म केही बोलिनँ । कस्तो मज्जाको विश्लेषण । त्यत्रो लोग्ने मान्छेलाई 'काँढाको मन भएका कौरवहरू द्रौपदीको बजार थापिरहेछन्' भनेर हान्दा पनि मेरै प्रशंसा पो गर्यो ।

बल्ल उसले कुराको बिट् मार्यो -

सरी ! यहाँलाई मैले डिर्स्र्टव गरेँ । भेट हुँदा आभार व्यक्त गरूँला ।

तातो फलामलाई घनले हानेजस्तै भएँ म । के भन्नु र ! 'स्वागतम्' भनीदिएँ ।

कोसँग बोलेकी यति लामू ?

सासुमुआँलाई ननिध्याई हुँदैन । बोलेको मान्छेको फोटै बनाएर देखाईदिनु पर्छ ।

ब्रि्रेको क्यासेटसँग ।

मैले फ्याट्ट जवाफ दिएँ, फेरि सेल बज्यो -

ऊँ जय जगदीश हरे''।।

कवि परिवर्तन रहेछन् ।

दाइ ! नमस्कार ।

ले पालो मिचेँ ।

नमस्कार कथाकारज्यू , यहाँलाई बधाई दिऊँ भनेर ।

उनले लेघ्रो ताने ।

किन, के भयो र दाइ ?

मैले अनभिज्ञता प्रकट गरेँ ।

त्यही कथाको बारेमा क्या । तपाइँले एक्काइसौँ शताब्दीमा पुरुषहरू नयाँ खेलौना हुनेछन् भनेर लेख्नुभएछ नी, खुब मजा लाग्यो । आजसम्म पुरुषले दबाए, लुटे भन्नुहुन्थ्यो, अब हामीलाई दबाउने, लुट्ने हुनुभएछ । ठीक छ, नाङ्गै, मुडुलै भयौँ भने प्रतिकार गरौँला, नसके बधु शिक्षाका ठाउँमा मधु शिक्षा लेखौँला ।

उनको बर्बराहटले मेरो फ्यूज उड्यो । सहन नसकेर करेण्ट बगाईदिएँ -

हेर्नुस् कविजी ! तपाइँले कवितामा राज्य माग्दा मैले केही भनिनँ । एउटा कथाबाट अधिकार माग्दा ज्वरो आयो - तपाइँ स्रष्टा बोल्दैहुनुहुन्छ कि पुरुष ?

के भो ? के भो ? किन बाझेकी ? को हो त्यो मान्छे ? मलाई देखा, त्यसका नलिखुट्टा भाँचिदिन्छु ।

ट्वाल्ल परेर मेरो मुखमा हेरिरहनु भएकी सासुमुआँ कराउन थाल्नुभयो । मैले फोन काटीदिएँ । बाथरूममा नुहाएर राखेका चिसा लुगा सुकाउन गएँ ।

ऊँ जय जगदीश हरे''।

फेरि रिङ् आयो । दौडिँदै भित्र पसेँ । पोखराबाट वसन्तले गरेको रहेछ ।

'भन'

मैले चिमोटेँ ।

बधाइ छ है कथाकार ।

वसन्तको व्यङ्ग्य बुझिहालेँ । आखिर मेरो लोग्ने पनि पुरुषै त हो । मन दुखाएछ क्यार भनेर मल्हम दलेँ -

के छ लोग्ने मान्छे ? आइमाईलाई शासन गर्न आउँदैनौ -

हेर न, तिम्रो कथा पढेर हाकिम त बमबम भयो । उल्टै मलाई पो सिकाइस् भन्छ । दशैँमा घर जाँदा स्वास्नीलाई उचालेर आइस् भनेर मार्न आँट्यो ।

वसन्तले बल्ल सास फेर्यो ।

तिम्रो हाकिम आइमाई कि लोग्ने मान्छे ?

मैले हाँस्तै सोधेँ ।

लोग्ने मान्छे नि । वृद्घ भत्ता खान आँटेको । आमाचाहिँ पैँसठ्ठी वर्षपुग्यो भन्छिन् । नागरिकतामा जन्म मिति सच्याएको अरे । भरखर पैँतालीस भएँ भन्छ ।

उनी बोले ।

लाटा ! तिम्रो हाकिम लोग्ने मान्छे, तिमी लोग्ने मान्छे, मेरो कथा छाप्ने सम्पादक लोग्ने मान्छे । यो कथा छापिनुमा म दोषि कि तिमीहरू ?

मैले नागबेली पाराको जवाफ दिएँ । उनले लाचारी व्यक्त गरे -

त्यसो भए त आमा पनि आइमाई नै हुन् नी । हाकिमकी आमा पनि आइमाई ।

मैले चोरी औँला तिखारेर नाकैमा पुग्नेगरी भनेँ -

हेर वसन्त, म त्रि्री स्वास्नी भएपनि छोराछोरीकी आमा हुँ । भन्देउ त्रि्रा हाकिमलाई, उसकी श्रीमती सुत्केरी भइन भने ऊ कसरी बाबु हुन्छ अरे ।

वसन्त एकछिन् मौन भयो । अनि टाटा भनेर फोन राख्यो ।

मलाई वसन्तले बोलेको सुन्दा श्रीमान्भित्र लोग्नेमान्छे जिउँदै हुँदोरहेछ जस्तो लाग्यो ।

'छ्या ˜˜ लोग्ने मान्छे । जस्तो जन्मियो त्यस्तै हुर्किन्छ । आइमाईले भोटो सिलाएर छोपिदिनुपर्छ । हुर्किएपछि ऊ दाह्री पालेर महिला मन्त्रालयमा बस्छ । थोरै बच्चा पाउने सल्लाह दिएर महिलालाई परिवार नियोजनका साधन बाँड्छ ।'

मैले फेरि दोश्रो कथाको पहिलो अनुच्छेद लेखेँ । यो कथामा के के दिनुपर्ला भनेर सोच्दै थिएँ ? कोक्रामा निदाएको सानो छोरा व्युँझेर चिच्यायो -

ओहाँ, ओहाँ ˜˜˜˜

कथाको क्यानभास भत्कियो । म कलम फालेर बर्बराउँदै उठेँ -

पख पुरुष पख ।

२०६४ मोरङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।