19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अवाक

कथा सञ्जीव पौडेल February 3, 2026, 6:37 am
सञ्जीव पौडेल
सञ्जीव पौडेल

रवि र रञ्जना सानैदेखि चिरपरिचित थिए। एउटै गल्लीको धुलोमा खेलेका, एउटै विद्यालयको घण्टी सुनेका । एउटै कक्षामा बसेर भविष्यका सपना बुनेका। बाल्यकालमा उनीहरू साथी थिए । किशोर उमेरमा आत्मीय बने । समयसँगै त्यो आत्मीयता प्रेममा रूपान्तरण भयो । शान्त, गहिरो र शब्दभन्दा धेरै मौनमा बाँधिएको प्रेम ।
रवि धेरै बोल्दैनथे। बोल्नु परे पनि नापतौल गरेर, अड्कलेर बोल्थे। रञ्जना भने हँसमुख थिई। घरको अभाव, जीवनको कष्ट सबैलाई मुस्कानले छोप्ने स्वभावकी।
रवि भन्थे “हामीसँग धेरै छैन,” ऊ भन्थी, “तर हामीसँग एकअर्का त छौँ नि।”
परिवारको स्वीकृति पर्खने धैर्य उनीहरूसँग थिएन। प्रेमलाई अपराध ठान्ने समाजभन्दा अगाडि बढेर उनीहरूले आफ्नै संसार रोजे। छरीतो विवाह, सानो कोठा, सानो जागीर, सानो आम्दानी। तर ठूलो सपना।
जीवन सहज थिएन। बिहान–बेलुका जसोतसो चुलो बल्थ्यो। रवि सानो जागिर गर्थे, फुर्सदमा लेखन। कहिले कविता, कहिले लेख। त्यती बेला चर्तित सत्य घटनामा आधारित लेखहरु । सामाजिक सञ्जाल र आधुनिक मिडिया थिएन । थियो त कागजमा लेखिएका कथाहरु । बसमा बाटोमा “आयो सत्य घटना भन्ने मौखि प्रचार।” त्यसबाट आउने थोरै पैसाले घरखर्चमा सघाउँथ्यो। रञ्जना घर र काम दुवै सम्हाल्थी।
“दुःख त हुन्छ,” ऊ हाँस्दै भन्थी, “तर दुःखसँग डराएर बाँच्न त हुँदैन नि।”
समयले उनीहरूलाई अर्को मोडमा पु¥यायो। रञ्जनाको कोखमा जीवन पलायो।
“रवि,” रञ्जनले एक साँझ लजाउँदै भनिन्, “अब हामी तीन जना हुने भयौँ।”
रवि क्षणभर चुप लागे। अनि बिस्तारै भने, “सबै ठिक हुन्छ।”
त्यो ‘सबै ठिक हुन्छ’ भन्ने वाक्य जीवनभरि रञ्जनाको कानमा गुन्जिरह्यो।
नौ महिना पुग्न लाग्दा रञ्जनाको शरीर थाकिसकेको थियो। त्यो दिन दिउँसोदेखि नै पेट असहज थियो। मन पनि अनौठो डरले भरिएको।
“आज अलि गारो भएको छ,” उसले रविलाई भनिन्।
“सायद सामान्य होला,” रविले हतारमा उत्तर दिए, “आज मैले साथी पनि लिएर आएको आएको छू। खाना बनाउनु है ।”
साँझ प¥यो। सकिनसकी रञ्जनाले खाना बनाइन्। पाहुनालाई खुवाइन्। पेटभित्रको पीडा बढ्दै थियो, तर ऊ केही नबोली बसिरही।
“आराम गर्नु भाउजु ” रविको साथीले भने।
ऊ हल्का मुस्काइन्, “अलि बेरमा गर्छु।”
रात गहिरिँदै गयो। पीडा झन् तीव्र बन्दै गयो। रञ्जना ओछ्यानमा पल्टिएर छट्पटाउन थालिन्।
“रवि...” उसले बिस्तारै बोलाउन खोजिन्। अर्को कोठामा साथी सुतेको छ । धेरै हल्ला गर्न पनि भएन।
तर रवि थाकेका थिए। बिहानै काममा जानुपर्ने थियो। उनी गहिरो निद्रामा थिए। कुनै बेला यसो बोले जस्तो गर्थे।
रातभरि रञ्जनाले सास र पीडाबीच संघर्ष गरिन्। पसिनाले शरीर भिजेको थियो। पेट चिरिँदै थियो।
“हे भगवान्,” उसले मनमनै भनिन्, “आमालाई बोलाउन पाए हुन्थ्यो...।”
तर मोबाइल थिएन। फोन थिएन। मानिसमार्फत मानिसलाई खबर पठाउने जमाना थियो। तर यो रात, यो कोठा, यो पीडा सबैमा ऊ एक्लै थिई।
रञ्जनालाई विहान पख धmपक्क आँखा लागेछ । बिहान भयो। रवि हतारमा उठे। उनको कुनै कामले बाहिर जानु पर्ने। सुति रहेको साथीलाई पनि नभनी रवि निस्के घरबाट।
रञ्जनाले सुनि होली भनेर “म छिट्टै फर्किन्छु,” उनले भने।
रञ्जनाबाट कुनै शब्द निस्केन। ढोका बन्द भयो।
अब ऊ पूर्ण रूपमा एक्लै थिई।
फेरी ब्याथाले च्याप्यो । उ छटपटाउन थाली ।
पीडा असह्य हुँदै गयो। मुख सुक्यो। पानी खोज्ने आँखा वरिपरि घुमे तर कोही थिएन। छट्पटिँदै, कराउँदै, अन्ततः त्यो क्षण आयो।
एक चीत्कार, एक सास, एक जीवन ।
छोरो जन्मियो। तर त्यो क्षण कुनै उत्सव थिएन। न त ताली, न हाँसो।
आमा र छोरो भुइँमै थिए। सालनाल जोडिएको। रगतले भुइँ रंगिएको। अर्को कोठामा सुतेको मानिस कतिबेला उठेर गयो, उसले थाहा पाइन।
प्रश्रव पिडाको अशह्य पिडा हुँदा पनि छोरो अनुहार हेरेर आमाको मायाले पिडा विर्सिए जस्तो भयो ।
“रवि...” उसले कमजोर स्वरमा बोलिन्, “हेर न... छोरो...”
उत्तर आएन। रवि थिएनन् ।
छोराको अनुहार उसले नजिकबाट हेरिन् ठ्याक्कै रवि। आँखा रसाए।
“तिमी त उसकै जस्तै देखिन्छौ,” ऊ बिस्तारै बोली, “तर ऊ अहिले कहाँ होला?”
एक मनले रिस उठ्यो। उसले कल्पना पनि गरेकी थिएन । यस्तो एक्लो पीडामा मौन भएको समय पनि आउने छ भनेर।
“यही हो त प्रेम?”
जति रिस उठे पनि अर्को मनले आमाको ममताले समात्यो। उसले बच्चालाई छातीमा टाँसिन्।
त्यही बेला ढोका खुल्यो। ससुरा बुवा आकस्मिक रूपमा आइपुगे।
“के भयो बुहारी ?” बुवा हेरी रहे। के गर्नु बुवाले पनि ।
तर बुवाको पनि हात काँपिरहेको थियो।
संयोगवश, त्यही घडी रविको दिदी भेट्न आइपुगिन्। त्यो दृश्य देखेर ।
“हे भगवान्!” दिदी चिच्याइन्।
दिदीले तुरुन्तै रञ्जनालाई सम्हालिन। उनी सुँडेनी सम्बन्धी तालिम पनि लिएकी रहिछन्। सालनाल काटिन्। बच्चा सम्हालिन्। आमा–छोराको आन्द्रो छुट्टियो।
रञ्जनाले सकिनसकी भुइँ सफा गरिन्। छोराको जीउ पनि सफा गरिदिइन्। शरीर थाकेको थियो, मन चिरिएको।
“यो बेला रवि किन छैन?” उसले आँसुसँगै सोधी।
“हाम्रो प्रेम कमजोर थिएन,” उसले मनमनै भनिन्, “तर यस्तो बेला किन म एक्लै परेँ?”
बेलुका पाँच बजेतिर रवि घर आए।
ढोका खोल्दै उनले दृश्य देखे रगतको गन्ध, थकित रञ्जना, सुतिरहेको बच्चा।
“रञ्जना...?” ऊ चुप थिई
रञ्जना उठ्न सक्ने भए, सायद एक चड्कन गलामा दिन्थी।
तर शरीरले साथ दिएन, मनले पनि बोल्न मानेन।
अत्यधिक दुःखले मानिसलाई चिच्याउन होइन, अवाक बनाउन सक्छ भन्ने कुरा
रञ्जनाले त्यो दिन बुझिन्।

भरतपुर १०, चितवन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।