19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पीडा कवितासङ्ग्रहको अनुशीलन

कृति/समीक्षा सदानन्द अभागी February 5, 2026, 5:30 pm
सदानन्द अभागी
सदानन्द अभागी

परिचय–
यो इन्द्रराज पौडेलको प्रथम कवितासङ्ग्रह हो । विभिन्न पत्रपत्रिकामा कविताहरू प्रकाशन भए पनि पीडा कवितासङ्ग्रह (२०६२)ले उनलाई कृतिकारको रूपमा परिचय गराएको छ । आवरण पृष्ठ,बर्दियाली साहित्य समाजका अध्यक्ष राजेन्द्रप्रसाद धितालको प्रकाशकीय, भेरी साहित्य समाज (.बाँके)का सल्लाहकार नन्दरामको मन्तत्व साथै इन्द्रराज पौडेलका दुईशब्द र १८ ओटा कविताहरू यस कृतिमा सङ्ग्रृहीत छन् । यसको प्रकाशन बर्दियाली साहित्य समाज, बर्दियाले गरेको छ । मूल्य रु १५÷– राखिएको छ । यस कृतिका कविताले के भन्न चाहेका छन् त्यसप्रति जाने अनुमति चाहान्छु ।
बन्दना – यो प्रथम कविता हो । यस कवितामा भगवान शङ्करको सादाजीवनको वर्णन गरिएको छ । भगवान शिवसँग के र्नै माग गर्ने स्वयम् भिक्षाटन गर्ने, भाङ धतुरो खाएर पद्यमासनमा बस्ने, गणमा बस्दछन् र ताण्डव नृत्य गर्दछन्, ज्यूमा खरानी घस्ने, अर्धचन्द्र, जटामा पवित्र नदी गंगा धारण, घाँटीमा सर्पका माला, नीलकण्ठ, देब्रे हातमा त्रिशूल र त्रिशूलमाथि डमरु बाघको छालाको आसन, उहाँको दायाँ हातमा कमण्डलु, पानीको भाँडो रुद्राक्षको मालाको धारण लेपिएको त्रिनेत्र धारी यस्ता भगवानसँग के नै माग्ने ? बस्त्र मागौं आफै निर्वस्त्र, वाहन मागौं आफै बुढा बयलमा सवारी गर्ने, गहना मागे आफै सर्पको माला लगाउँछन्, स्वार्थी भएर धनधान्य के माग्ने,आफै भिक्षुक छन् आदि धारणा सहित कविले यस प्रकारको माग गर्ने धारणा राख्दछन् –
मागौं शान्त बिचार दीर्घ दिलमा माया दया मान जो
सादा शक्ति उदात्त श्रेय मनमा मागा महाज्ञान पो ।
ज्ञानी शंकर आशुतोष भगवान दाता उनै सन्तमा
मागौं धैर्य बनूून उदार करुणा, आशक्त कल्याणको ।
पृष्ठ १, श्लोक ३
पीडा – यो दोस्रो कविता हो र यस कृतिको नामाकरण पनि यसै कविताबाट गरिएको छ । मानव जीवन सुख दुःख, हाँसो रोदन, आदि बाट गुज्रेको हुन्छ । पीडा भन्नासाथ यो अप्रिय, संवेदनशील र भावनात्मक अनुभूति हो । पीडा क्षणिक र दीर्घकालीन हुन सक्छ । पीडाको परिभाषा सहज छैन । वैज्ञानिक दृष्टिकोणबाट हेर्दा यसमा स्नायु, मेरुदण्ड र मस्तिष्क बीचको जटिल अन्तरक्रिया सँग सम्बन्धित हुन्छ । यो मनो वैज्ञानिक भावनात्मक र सामाजिक कारक बाट प्रभावित हुन सक्छ । हेरौ यसमा कविका धारणा कस्तो छ –
पीडा दिन्छ प्रहार भित्र तनमा छाँयाँसरी टाँसिदै
पीडा कोप्छ दुखाइ चुस्स मुटुमा काँढा भई भासिदै ।
पीडा पोख्छ निशा सुचारु शशिमा जीवन्त आशा हरी
पीडा भर्छ उदाश भित्र सुरमा सन्क्याई हावा हुरी ।।१।।
श्लोक १, पृष्ठ २
पीडाको जान्म कसरी हुन्छ भन्ने सम्बन्धमा कविले मनमा पीडाका जरा परिवेशबाट जन्मिन्छन् । यो धेरै कष्टदायी हुन्छ । मनिसले यो पीडालाई सहन नसकी आत्तिन्छ । पीडाकै कारणबाट मुलुकका श्रृङ्गार, शोभा र प्रभा उजाडित भएका छन् । पीडा मुटुको ,प्रवेग छहरो हो । यसले वेहाल पार्छ ।
कविले पीडाले देशमा के असर पारेको छ । अर्थात देश पीडाबाट मुक्त छ त ? भन्ने तर्कमा हिमाल, लेक, वनको सौन्दर्य सबै पीडामा रहेको र यस्तो वेहालको कारणले जताततै न्यास्रो मात्रै बढेको छ । आज गास, बास, कपासको
बालकह प्राप्त गर्न नसकेको पीडाको कारणले ठिटाहरू मुग्लान पसेका छन् भन्ने धारणाहरू आएका छन् कवितामा ।
समस्या–तेस्रो कविता, यसकवितामा कविले देशका बहुमुखी समस्यालाई उठाएका छन् । कुनबाटो अवलम्वन गरेर ओजिला भएर माथि चढ्न सकिन्छ भन्ने कविको सोचाई छ । बालकरूपी कोपिलालाई विकासमा लम्काएर भुँडी पाल्ने विकास मार्ग कुन हो ? हातमा ठेला उठ्ने गरी काम गर्दा पनि खान नपुग्नुले गर्दा बन्दुक उठाउन थाले, सनक चढ्न गयो, मात बढ्यो, फोस्रा भाषणको नतिजाले सास्ती निम्त्यायो, दिललाई चिरा पा¥यो, राज्यले जनतालाई अमन चैन दिनु पर्ने राज्य नै भारी हुन पुग्यो, राज्यले नाङ्गाअङ्ग ढाक्न कपडा, भोकालाई खाना, आवास, बाधा बिध्नमा सुरक्षा को व्यवस्थापन हुनु पर्ने हो तर सबै नारामा नै सीमित भएकोले कविको धारणा यसरी आएको छ –
भट्केका जनभाव ल्केश भरिदै सद्भाव रित्तो भयो
खस्क्यो मानवता उदार दिलको विश्वास टाढा भयो ।
थामीसक्नु भएन ल्केश भरिदा तातो खुनै उम्लिंदा
हाम्रा हर्ष सबै लुटो समयले बाटो झुटो पक्रिंदा ।।६।।
श्लोक ६, पृष्ठ ६
देशमा द्वन्द्वकालमा छोरा जङ्गलमा, पिता पिरलोमा, आमा रुँदै, मानिस मारिदै आदि धारणालाई कविले यसरी प्रस्तुत गरेका छन् –
खस्क्यो बुयिुवा विनाशतिर गो विध्वंशतामा बल
आफ्नै भाइ लद्ध डाइ जन्म–थलमा रक्ताताम्य उर्लो भल ।
मान्छे वाल्ल परेर हेर्छ बिचरा यो देशको दुर्दशा
साह्रै चोट सहेर मर्म मनको छाती दुखेको व्यथा ।।८।।
श्लोक ८, पृष्ठ ६
द्वन्द्वकालको साह्रै कहाली लाउँदो अवस्थालाई कविले अति सरल रूपमा उतारेका छन् । त्यती वेला गाउँ वेहाल अवस्थामा भएको, वनिताको सुहाग लुटिएको, अनाथ टुहुराको आश्रय दिनेवाला कोही नभएको,चारैतिर डर र त्रास, देशभर अभाव, गरिबी, धोखाधडी, गोलीको वर्षा आदिले गर्दा आजै हो कि भरे मसान घाटतिर पुगिने हो भन्ने डर, आदि धारणा सहित कविले त्यस समयको यथार्थतालाई यसरी पस्केका छन् –
साहै्र हालत विग्रदो छ अब ता छोरा लडी मर्दछन्
रोगी बृद्ध अशक्त मात्र घरमा अन्त्येष्ठिमा व्यस्त छन् ।
साह्रै त्रास बढ्यो कतै करबलै रेटिन्छ घाँटी डर
मात्रै बाँच्नु भयो रहेन गरिमा बाँचेर पो के छ र ? ।।११।।
श्लोक ११, पृष्ठ ७
दुखेको दशैं– यो चौथो कविता हो । यस कवितामा कविले दशैं नेपालीको ठूलो चाड भए पनि यसले निम्त्याउने आर्थिक भारलाई प्रष्ट्याउने प्रयास गरेका छन् । दशै शरद ऋतुको आगमनसँगै आउँछ । स्वच्छ आकाश, हिमालको गमिलो मुस्कान, वर्षाको विदाइ, ताराहरूको चम्कन, चकोरको आभा छराई आदि रमणीयताले मुटु नै छुन्छ । यति रमणीयता हुँदाहुँदै पनि दशैंको अर्को पाटोको अवस्थालाई कविले यसरी प्रस्तुत गरेका छन् –
आयो चाड दशै अशक्त जनको बन्दै मुटुको किलो
अत्तालिन्छ दरो कमाइ नहुने देखी दशा खर्चिलो ।
निर्धाका जमरा भिजाइ गहका आँसु खसी भल्भल
के आयो नि दशैं दशा मनभरी शोका कुलै भो घर ।।२।।
श्लोक २, पृष्ठ ८
गरिबको घरमा खाना नभएर भोक भोकै बस्न पर्ने अवस्था, सबैले नयाँ नयाँ कपडा लगाउन चलन, गरिबको आर्थिक अभावले छाती दुख्ने, आँसु झर्ने,वर्षैपिछे दोहोरिएर आउने, धनीहरू लागि बाह्रै महिना बसन्त आउँछ जस्ता धारणा सहित कविले धनी गरिब बीचको अवस्थालाई यसरी पस्केका छन् –
बाह्रै मास बसन्त हुन्छ धनले ऐयास मीठो मन
छाती थाप्छ अभाव दुख दिनहुँ निर्धाे हुँदा जीवन ।
रित्ता छन् अनुराग हेय कर छन् कम्जोर त्यो निर्धन
सच्चा निश्छल त्यो उदार दिलको हो कोमल त्यो मन ।।५।।
पृष्ठ ८
कविताले गरिबको लागि कसैको आशा, गुहार केही छैन तर दशैलाई टार्नै पर्छ, सामन्ती को भरमा पर्नु पर्ने , सौदागरैका घरमा पसिना अडना राखेर, जाँगर विक्रि गरेर, इमान धर्म थाती राखेर दशै र तिहार रूपी चाड मनाउनु पर्ने भन्ने धारण पस्केका छन् कविले ।
हाम्रो प्रजातन्त्र –यो पाँचौ कविता हो । प्रजातन्त्रमा को खुसी हुँदैन ? सबैको मन रमाउँछ । मुटुमा पुष्पमुना पलाउँछ । हर्षको भेल बग्यो, जोशिला भेल उर्लिएर आए, जीवनमा आशा पलायो । हतकडी पल्टिए ,जञ्जिर उल्टिए, खुट्टाका नेल छुटे, प्रपञ्च नाङ्गिदै गए, खलका खाका उदाङ्ग भए, कैदी छुटे, शहीदको रगतमा उर्ले जोश, अहंका चुली भक्ते, कर्णलीका लहरा स्वतन्त्र बग्दा हाँसो फुट्यो, अर्थात प्रकृति पनि रमाएको थियो, हिमालका चुचुरा बादलसँग खेले, गुराँसपूmल लेकमा हाँस्दा नेपाल नै हाँस्यो, छातीमा नवसिर्जनाहरू उछलिएर नयाँ सन्देश प्रवाह भए ,नाच गान दीपावली गर्ने काम भयो, हाम्रा हर्ष बढे तर यो उमङ्ग धेरै टिकेन । धेरै वर्ष लडेर ल्याएको यो अमनचयन खरानीमा परिणत भयो । यो अभिशाप भइदियो भन्दै कवि पस्कन्छन् आफ्ना यस्ता धारणा –
हाम्रा शङ्खध्वनि सहस्र मुटुको चर्को व्यथा भै दियो
नाना जात बिजात पुष्पफलमा नौलो कुरा सन्कियो
आफ्नै तन्त्र भएर दुष्ट निठुरी ठोक्यो मुटुमा किलो
रक्ताम्मै नगरी भयो नि यसरी कालो उडाई धुलो ।।६।।
पृष्ठ ११,

यसरी कविले प्रजातन्त्रमा प्रहार भएर हाम्रा अमनचयन सबै लुटिएका धारणा आएका छन् ।
मुटुको दर्द – यो छैटौं कविता हो । यस कवितामा कविले द्वन्द्वको कारणले गर्दा मुटु दुख्यो, पीडा बढ्यो अमनचयन लुटिए, युवाहरूको रगतले माटो मुछियो, कलिला मगजमा राँको बनी सल्कियो जस्ता धारणा राख्दै, कवि भन्छन् –
हाम्रा भाइ रुँदा पिताहरु रुँदा छोरी रुदा छन् बरा
मच्चिदो कुरु क्षेत्रको रण थलो नेपाल हाम्रो धरा ।
मेची रुन्छ हिमाल रुन्छ झरना काली रुँदैछन् कठै
हाम्रा सिर्जनका गुमान गहना विक्री हुँदै छन् कतै ।।२।।
पृष्ठ १२,
यो पवित्र पार्वतीको पिंडीको रुपमा रहेको देश कुरुक्षेत्र बन्नु, उदार दिलको दीयो निभ्न थाल्नु, वेथिति बढ्नु, उद्योगहरू गुम्नु, नेपालका सन्तती विदेशमा गएर दर्वान कुल्ली बन्नु, चेलीका सुहाग र घरका सबै गौरव लुटिनु, बालबालिकाका पिता, पिताको माया ममता वैभव र आश्रय लुटिनु, नव सिर्जना नबन्ने भएर कुतन्त्र छलले राँको बनी सल्किनु, विवेकहीन भएर आफ्नै खुसी मास्ने नास्ने आदि धारणा सहित कविले हाम्रो पहिचान यसरी गराएका छन्–
हामी सैनिक हौ हिमाल शिरका नेपालका सन्तती
हाम्रो मर्म स्वतन्त्र शान्त छवि हो छैनौ कतै बन्दकी ।।५।।
मानिसको दिल कोमल हुनु पर्ने तर पत्थर भयो, रगत बग्ने काम बन्द हुनुपर्ने भएन । त्यसो हुँदा यस्तो चुनौतीको घडीमा युवाहरू उठेर, अगाडी बढेर शान्ति र कान्ति प्राप्त गर्नुपर्छ र स्वतन्त्र रूपमा घरमा बस्न पाउनु पर्छ भन्ने धारणा आएको छ कवितामा ।
चोट – यो सातौं कविता हो । यस कवितामा नेपालका नेतृत्व वर्गको अर्थ आर्जन गर्ने कर्ममा प्रकाश पारिएको छ । खानपानको लागि गाह्रो थियो, गोडामा थोत्रा चप्पल थिए, परालको छानो भएको घर थियो यस्ता नेताले नियतिबस पजेरो चढ्ने वर पाए र आफ्नो स्वार्थ सिद्ध गर्नका लागि धेरैका घर जलाए भन्दै कविले नेताको कर्तुतको वर्णन यसरी गर्दछन् –
नेपाली ढुकुटी पिपासुहरूका ऐयासमा खर्चिए
नेताका सब केन्द्रमा अति ठूला अट्टलिका अग्लिए ।
बिर्से ख्याल शहीदका सपथको कर्तव्ज्य बिर्से अनि
फुर्कुी सिंह बनेर गर्जन दिए बिर्से थियौं को भनी ।।२।।
पृष्ठ १३, श्लोक २
जनताले उज्यालो दिन आउला कि भनी धेरै दिन सहे तथा पर्खे तर फोस्रा भाषण र आश्वासन बाहेक केही पाएनन्। यिनको भरमा पर्दा देश भत्कन गया,े जनता विथातमा परे । यसरी आस्था जर्जर हुँदा जोश जागेर आयो, अभए भै जनलहर उठ्यो किन भन्ने कारणा सहित कवि यसरी प्रस्तुत भएका छन् –
लुछिए ढुकुटी किसान गरिमा सङ्घारका अस्मिता
लुटिए बलजप्mती ग्रामपुरका बस्तीहरुमा सीता ।
सोझा निर्वल झन् अशक्त निमुखा भोका र नाङ्गा हुँदै
जाँदैछन् घरबास छोडी बिचरा मुग्लानमा भड्किदै ।।४।।
अमनचयनको गति अवरोध भएको छ । जनता बोल्न सक्दै नन् । यसरी मुर्दा शान्ति छाएको छ । मुकाम केन्द्रमा मात्र पहरा हुन्छन् । गाउँ बस्ती भरी ज्यादती छाएको छ । हस्ती हुम् भन्नेहरूको पनि सातो उड्यो । यस्तो समरमा कोही टिक्न सकेनन् । बस्तीमा सास्ती बढ्यो जस्ता धारणा सहित कवि भन्दछन् –
गोलीबाट हुँदै गयो मनपरी सङ्घारमा बेसरी
चर्को घाउ जताततै नगरमा बाचौँ हेर ! के गरी ।
साझा संरचना जलेर पुरका धावा भए कोतमा
लाखौं वीर बली भए नि रणमा यो देशका चोटमा ।।६।।
पृष्ठ १४
बेचीदिए अस्मिता –आठौं कविता हो । यस देशका युवाहरूले अस्मिता बेचेको धारणालाई कविले सविस्तार प्रस्ट्याएका छन् । आज देशमा एन्जियो हरूको काम गर्ने शैलीमा यस देशका ठिटाहरूले एन्जियोहरूमा काम गर्ने, गोष्ठी गर्न पर्दा होटेलमा गर्ने , यसरी जोश र जाँगर बदलिएर नौलो आभास पाउन थालियो । मासु रक्सी चुरोट खाने, फोस्रा पूmर्ती लगाउने, व्यङ्ग कस्ने, मगजमा सन्की र अहंता बोक्ने, सुद्धी गोल हुनु, डलरमा आँखा गाड्ने, दुनियालाई बिकास गर्न भन्दै गुलियो आशा जगाउने, पुल्क्याई ,उल्क्याई, होहल्ला, हडताल सन्काई चारै तिर,जातीय विभाजन, उच्च निच, समय अनुकुलका प्लेकार्ड बनाई नारा जुलुस्, वर्णशंकरको प्रचार प्रसार, वैलरको पालन, खाटी दूध नपाइने, चक्काजाम, धराप, ध्वस्त नगर, बन्दको कारणले घरभित्रै निसासिनु, राष्ट्रियता र आफ्नो पना गुमाउनु, नेपाली भावनालाई परदेशका पहलमा साट्नु, जस्ता धारणालाई कविले प्रष्ट्याउँदै अस्मिताप्रति कविको धारणा यसरी आएको छ –
बढ्दा शोख रवाफ तास तमसा विग्रिगयो सङ्गत
छोडे नैतिकता उदण्डसुरमा बिग्¥यो नि युवा लत
आफै फस्न गई अधीन अरुका पासो परेका युवा
चास्नीमा महुरी सरी भुलपरी बेची दिए अस्मिता ।।७।।
पृष्ठ १६,
म आउँदै छु आमा ! – यो नवौं कविता हो । यस कवितामा कविले विदेशीएका नेपालीहरूले भोग्न परेको असहजतालाई पस्केका छन् । विदेश गएको एउटा छोराले आमसँग भन्छ । म विदेशबाट कर्तव्यको खातिर घर आउँदै छु । नेपाल जर्जर भएको कारण परदेशको सेवा छोडेर फर्कन्छु । म विदेशमा आफ्नै खुन बेचेर भोक मेटाउन गएको हो । त्यहाँको दासत्वले मन कोक्याएको छ । बास्तवमा नेपालीहरू बहादुरमा कहलाएका हुन् । सच्चा बहादुरी हराउँदै गयों र गरिबीको कारणले गर्दा दामको लागि रोगी भयौं । गार्गी( गर्ग ऋषिकी पुत्री, प्रसिद्ध विदूषी), शक्ति (दैविक शक्ति भएकी अर्थात देवी), सती (शिवकी जेठी पत्नी या सतीदेवी)जस्ता नारी आज कता हराए ? अनन्तलासहरू, रक्ताम्य नदीहरू,अमुल्य रचनाहरू, प्रबुद्ध घरमा ल्केश बढ्नु, आमालाई नरुने र छोरा देश बनाउन बलियो विचार लिएर गहिरो चिन्ता चाहना बोकेर कर्तव्य निष्ठ हुन घर फर्कने, आमाको दूधको भारा तिर्न सैनिक बनेर, दैनिक ज्यान अर्पण गरेर खट्ने, पानीमात्र पिएर रणमा लड्न शक्ति बोकेर,‘आमा पीर नल्यौ म दिन्छु बलिदान कर्तव्यका खातिर’, पुर्खाको इतिहास आफ्नो बल लगाएर थाम्ने,बुद्ध, जनकका सुधा सन्तती भएकोले हाम्रो धैर्य नेपालको उन्नतिको लागि रहने छ जस्ता भावनालाई पोख्दै कवि भन्छन् –
माया छैन ममा कुपुत्रहरु ती आमा रुवाउनेसित
आफ्नै भाइ परम्प।रा स्वजनमा माया डढाउनेसित ।
आत्म अस्त हुँदैन वीरहरूको उत्रेर युद्धस्थल
हामीले रणमा सहादत दिने आयो यहाँ औसर ।।७।।
पृष्ठ १८,
नियतिको ज्यादती – यो दशौं कविता हो । यस कवितामा विविधताले सजिएका १४ ओटा श्लोक छन् । जब नेताका नीति बाझिन थाल्छन् जनताका चाहनाहरू ओइलाउँछन् । सौहार्दका छाती भत्किएमा मन भावनाहरू भाँडिन्छन् । यस्ता विविध भावनाहरू यहाँ समेटिएका छन् । यहाँ द्वन्द्व, सत्ताको मोह, मन्त्री बन्ने चाहना, भोकका सपना, अमूल्य सम्पदाको लुटाई, देशले व्यहोरेका खति, सेनाको गोलीबाट आतड्ढी मारिनु , बस्तीका सुराकीहरु, जनयातना, परोपकार गर्नेवाला हराउनु, अतिथि सत्कारमा कमी आदि महन्त्वपूर्ण सन्देशले भरिएका छन् श्लोक । उदाहरणको लागि हेरौं –
हावामा बारुदी गन्ध धमिलो मूल पानीको
बोली छन् बाणझंै तीखा न्याए छ मनमानको ।।१३।।
हाल्यो बादले घुम्टो छोपियो चान्द्रको कला ।
मुर्झाए मर्मका माया अबरुद्ध भए गला ।।१४।।
पृष्ठ २०,
जीवन– यो एघार्रां कविता हो । यस कवितामा जीवनका विविध भोगाइ सम्बन्धी ११ श्लोक छन् । समय अमूल्य छ यसरी नै आयु पनि नरोकिएर सकिन्छ । मानिस जन्मिन्छ । बालापनबाट यौवनमा पुग्छ । यस अवस्थामा रमितामा रमाउँछ । मीठो खाने, छिटो गन्तव्यमा जाने, लोभी लोचनले छेउ छाउमा हेर्ने आदि कर्मम रमाउने काम हुन्छ । बढ्दै जाँदा मानिस प्रौढ अवस्थामा पुग्दछ र कर्तव्यको बोध हुन्छ । समय हो प्रौढबाट बृद्ध अवस्थामा जान्छ । यस अवस्थामा मानिसको गति शिथिल भएर आउँछ । लौरो नै साथी बन्न जान्छ । लोलाहरू काम्न थाल्छन् । नेत्र ज्योति कम भएर जान्छ । शरीरका छालाहरू चाउरिन थाल्छन् । नशाहरू देखिन थाल्छन् । कविले बुढ्यौली अवस्थालाई यसरी वर्णन गरेका छन् –
सुस्केरा श्वाँसमा आयो पीडा भो अंग–अंगमा ।
सुस्तायो तनको जोश अस्तायो सब अंगमा ।। ९।।
पृष्ठ २१
जीवनको अन्तिम क्षण हुँदासम्म पनि मानिस काम करतरीमा रम्छ, रामको नाम लिन पनि भ्याउँदैन तर कालको घरी आउँदा पछुताउँछ । त्यसो हुँदा भूतको चिन्ता गर्नु पर्दैन । वर्तमानलाई बनाउन सुर्तामा रहने मानिसले मात्र जीवनलाई सार्थक पार्छ भन्ने कविको धारयणा छ ।
चुनौती – यो बाह्रौं कविता हो । मानिसका धेरै चुनौती छन् । ती चुनौतीप्रति कवि यसरी प्रस्तुत भएका छन्–
ल्यायो नियतिले विधान बदली न्यूतो चुनौती दिन
वेलाले मुटुमा प्रकार बदल्यो मान्छे बनौटी हुन ।
नेताले नबुझी व्यथा समयको आफै खने भँड्खरा
ल्यायो नियतीले उभ्याउन उनै नौला सगुन् कठ्घरा ।।१।।
कविले यस कवितामा धेर्रै सन्देशहरू पस्केका छन् । पुराना पुलाहरूका कुरा, पुरैपुर फर्केका कुरा, गतिले शान राख्न नसकेका कुरा, उपाय लगाएर खनिएका खाडल पुर्नु पर्ने भएका कुरा, गर्त गहिरिदै गएका कुरा, मान्छे बेच्ने बजारको खोजेर बेचिएका कुरा, मति डलरमा गएका कुरा, साथै कवि भन्छन् –‘गुम्बा मन्दिरका गुमान गहना श्रृङ्गार सङ्घारका, बेचिन्छन् घरका अमूल्य रचना आलोक संसारका’ । अगवुवाहरू ध्वंस विचारतिर आफ्नै घर बिध्वंस पार्न फर्कनु,आफ्नै वंश बिनास पार्न पनि नडराउने अवस्थालाई हामीले वाल्ल परेर कसरी हेर्नु । त्यसो हुँदा युद्धको लागि हिक्मतरूपी हतियार लिएर कर्तव्यलाई अवसर ठानेर तत्पर हौं भन्दै कविले आह्वान गरेका छन् । अगुवा राम्रो हुनु पर्छ । तर कविले यहाँ कालो अगुवा, अधम प्रकृतिको जस्ले कलिला मुनाहरूलाई ठुग्छ त्यसलाई युवाहरूले गहन सर्जरी गर्नै पर्छ । दासताको जन्जीरलाई तोड्नै पर्छ र नेपाललाई सुस्थिर बनाउने शान्ति सुवास सूत्रलाई दिल लगाएर खोज्नु पर्छ धार।णा सहित भन्छन
आई खड्ग उठाऊ वीरहरूले स्रष्टा लिउन लेखनी
माटो दुख्छ कठै ! उपाय गर क्यै त्यसको गरौं खोजनी ।
आमाको मुटुमा व्यथा छ गहिरो देखेर यो दुर्दशा
नेपाली मनमा बढ्यो नि पिरलो झेल्दा सधैं कर्कसा ।।६।।
पृष्ठ २३
कविले यस कविताको अन्तिम श्लोकमा नगरी नै सन्नाटाले भरिएको छ दुनिया विथात छ र लासको गन्ध छ । यस्तो अवस्थालाई मानिसले वाल्ल परेर वर्वादका तस्विर हेरिरहेका छन् । नगरमा जडता र मुर्खता बढेको हुँदा नेपाली मुटुमा विव्ेक भर्ने सुशिक्षा खोजौं भन्ने धारणा पस्केका छन् कविले ।
अखबार–यो तेह्रौं कविता हो । अखबारले द्वन्द्व उकेल्नेमात्र हैन यसले साँचो सत्य शुद्धतामा उक्लेर समचारको लेखन गर्नु पर्छ । यसरी लेखिएका खवरहरू पछि गएर इतिहास बन्न जान्छन् र सबैले पढ्छन् । कविले अखवारले के दिन्छ भन्ने धारणा यसरी राखेका छन् –
तीतो सत्य उकेल्छ त्यो खवरले कुर्लेर मैदानमा
खाली उम्लनु मात्र हैन बुझ त्यो विश्वासका ढालमा ।
झुक्दैनन् अखबार लेख रचना कीर्ति गुमाइ रुन
सक्तैनन् रचना निस्वार्थ मनमा शङ्का चुनौती दिन ।।२।।
पृष्ठ २४
अखबारले सदाचारका, उत्कृष्ट, समाचार लेख्नु पर्छ । लेख्ने धर्म रुमलिन हुँर्दैन र लोभ लतमा लाग्न हुँदैन । आजको संसारमा मानिसले मानिसको रगतले मुख धुन्छ, लोभले अरुको सम्पत्ति लुटेर बङ्गला खडा गर्छ । समचारले यस्ता खबरहरू को साथै सबैका इच्छा अनुसारका लेख , विज्ञापन, सहरमा मात्र नभएर झुप्रा भित्रका खवर पनि लेख्नु पर्छ । अखबार पढदा दिक्क लाग्ने खालका खवर लेख्न हुँदैन । पाठकले सिर्जनाहरू श्रृङ्गार भएका, दिलमा शान्ति दिने, श्रेय बढाउने खालका चाहान्छन् । पीत रचना लेख्नु, आगो ओकेल्नु जस्ता लेख रचना लेख्नु, परदेशी गरिमा टल्काइ दिने खालका लेख लेख्नु धर्म होइन भन्ने कविको ठहर छ । कविको कथन छ –
हैनन् कुलधर्म लेखहरूका त्यो हुलमा टाँसिनु
आफ्नै मात्र सुधार गर्न घरमा संकीर्णमा गाँसिनु ।
चाल्दा मार्ग बिचार गैर अगुवा ज्यूँदै म¥यो पत्रिका
बेची आत्म उसै विसर्जन हुने पासा हुँदै शक्तिका ।।९।।
पृष्ठ २५
निर्धाका पुकार – यो चौधौं कविता हो । निर्धा थिचो मिचोमा पर्ने, उनको आँसुका भेल कसैले नदेख्ने, छातीभरीका व्यथाको गुहार कसैले नसुन्ने, जस्ता धारणा कविले यस कवितामा पस्केका छन् । आजको समयमा सच्चा धर्म, इमान, मानवपना सबै दण्डित हुन गए र मानवको आदर्श पनि मर्न गयो । निर्धालाई थिचो मिचो गरिन्छ र निर्धालाई नै ढाल बनाइन्छ । यदी कोही योद्धा हो भने त्यसको यस्तो मति हुन नहुने, पाखण्डी, दया, मया हीन हुन नहुने, मानिसका मनमा क्लेस हुन नहुने, जस्ता धारणा राख्दै कवि भन्छन् –
यी टाटा खुनका र दर्द दिलका बर्बादका तस्बिर
आँसुका भल यी अशक्तहरुका दस्तानका जञ्जिर
निर्धाहरूको बाध्यतालाई र्र कारुणिक अवस्थालाई कविले यसरी पस्केका छन् –
निर्धा छौ धनमा कवोल अडना ज्यूँनै प¥यो जिन्दगी
खाली छौं धनले दिनै विवस छौ.पुर्खापुरीको धुरी ।
तानी नाथ घिसारिदै समरमा तानेर लाने भए
खट्दा रक्षक छन् मुकाम पहरा हाम्रा नहेर्ने भए ।।३।।
पृष्ठ २६
निर्धा ऋण खान बाध्य छन् । ऋणलाई तिर्न सक्ने अवस्था रहदैन । तिनलाई धरापमा परिन्छ । थातीथलो सबै सुम्पेर मनले नमाने पनि हिड्न बाध्य हुनु पर्दा दिलमा पिडा हुन्छ र कतै निवेदन गर्ने ठाउँ नभएको धारणा कवितामा आएको छ ।
नेपालको छवि– यो पन्ध्रौ कविता हो । यस कवितामा कविले नेपालको प्रकृतिको वर्णन गरेका छन् । नेपाल प्रकृतिले सिङ्गारेको एउट सुन्दर देश हो । यसको सौन्दर्यतालाई कविले दिल खोलेर यसरी वर्णन गरेका छन्–
धर्तीकै रसिला हिमाल लहरी सौरङ्गका मञ्जरी
सारङ्गी स्वरका मिठास ध्वनिमा मालाहरू लस्करी ।
पक्रेका तरुझैं लता लहरिँदै छाँगा र पाखाभरी
सल्कन्छन् पर्देशीका दिलभरी हेर्ने रहर ।।१।।
पृष्ठ २७
हाँसेका झर्ना जलमा झुमेर मोतीको रूप लिएर झलमल देखिन्छन् भने पहरालाई गिजाउँदै उर्लेर बग्दै तल झर्दछन् । डाँडा पर्वतमा यिनको, सुरिलो सुसाई, ।यिनबाट सिर्जित सुरिलो हावा, रमणीय प्रकृति, बादलले बोकेर ल्याएको जलरासी (जलधि) लाई हिमालले हेर्दा कैलाशका चुलबुलीले मनलाई आकर्षण गर्दछ । बादल हिमालमा ठोकिएर वर्षा गराउँछ जस्ता धारणा राख्दै नेपाल कस्तो छ भनी कविले यसरी वर्णन गरेका छन् –
नेपाल शिरविन्दु श्वेत हिमको श्रीपेच संसारको
सीता गौतमको उदार गहना सन्देश सङ्घारको ।
द्यौराली, वन, फाँट, खोच दुन नै नेपाल हो वास्तव
नेपाली पनको पवित्र रचना पाखा भरी हाँस्त छ ।। ५।।
पृष्ठ २८
दशा –यो सोह्रौं कविता हो । दशा शब्दको अर्थ विविध भए सरह यस कवितामा कविका भावना विविध रूपमै प्रस्फुटन भएको देखिन्छ । हेरौं पहिलो श्लोक –
विग्रे खेल अनेक झेल झमला पासा कता पल्टिए
आफ्नो अग्रगति गुमाई पथमा ठक्कर लिदै गुल्टिए ।
नारीमा करकापले कहर यी बोकाइने बन्दुक
लाचारी नवयौवनै वितिगयो बेच्ँदा बरा मज्बुर ।।१।।
पृष्ठ २९,
नाना काण्ड र प्रकाण्डले मनमा आगो बल्नु, यो आगो प्रचण्ड रापका साथै अझै सल्किनु, नेपालको दुर्दशालाई इतिहासले बताउने कुरा, दान, दया, उदार करुणाका कुरा, दुःख सुनाउने ठाउँ एञ्जियो भएको, देश दुहुने दलालका कुरा, यिनले आमाको मुटु लुछेका कुरा, यिनलाई नेपाल दुखोस् या जे होस् डलर पाए पुग्ने कुरा, आफ्नो स्वार्थ पुरा गर्ने कुरा, छोरा दामका भोका, देशलाई नै दाग दिने अन्धा ज्ञानका, घर छाडेर विदेशमा दर्मान कुल्ली हुन र विदेशमा तातो रगत अर्पनको लागि जाने कुरा, दङ्गा काम गरेर स्वदेशमै मरेका कुरा, देशका कुपुत्रको कारणले नेपाली आमा रोएका कुरा, दुई नंबरी काम गर्नेहरूका कुरा, नेपालको विकास कसरी हुन्छ भनेर को सँग सोधनी गर्ने, शिक्षा, स्वास्थ विकास मार्ग कुन हो भनेर को सँग सोधने ? मान्छे शोषित,ढाँटेर खाने, मन चिरा परेर चर्किएका कुरा, विदेशीका गौरव फैलिएका कुरा, होटेल गोष्ठीहरूमा स्वार्थ बाडिने कुराहरू जस्ता धारणा कविताले समेटेको छ ।
गाउँको हालत– यो यस कृतिको सत्रौं कविता हो । यस कवितामा कविले गाउँको पीडादायी अवस्थालाई समेट्ने प्रयास गरेका छन् । गाउँ हेर्दा बरगत हराएको, पाखाहरू निर्जन भएको, भोका रुग्ण, अपाङ्ग टुहुरा, खुलाआकाश मुनी थर्थरी काप्ने अवस्थाका, तिनैका पसिना लुटिने, द्वन्द्वको कारणले गर्दा हातपाउमा घाउ भएर पाकेर पिपिदै झिगा बसेर भन्केका, बारुदका छिर्काले दिएको कष्ट, गोला फुट्दाको कारणले मानिस बहिरा लंडा भएर बस्दाको पीडा, विषाणु बल्झनु, जस्ता ग्रामिण भेगका द्वन्द्वका समयका दोहोरो भिडण्तका कारुणिक चित्रलाई कविले उतारेका छन् । उनको कथन छ –
मारी भाइ लडाइ घोर सुरमा मारेर आफ्नाहरू
यो के रोश घमण्ड तुच्छ मतिको भाँडेर मान्छेहरू ।
दोहोरा करकाप मार दुनिया बाटो कतै उम्कन
खोज्दाछन् तर त्यो गयो परपरै हाम्रा पुरीको मन ।।४।।
पृष्ठ ३२,
द्वन्द्वकालमा यस्तो परिस्थितिको सिर्जना भयो कि गाउँमा हार गुहार सबै मेटियो,आपूmले आर्जन गरेका सबै सुवासको गला रेटियो । गउँबासीका शान्त स्वभाव, शौर्य छविमा दुष्टको छाया प¥यो । गैह्रो चोटलाई सहन नसकी मुटुमा पीडा भयो । हाम्रा माया दया मेटिएको आदि धारणालाई कवितामा पस्किएको छ ।
पीडान्त – यो सङ्ग्रहको अठारौं कविता हो । यस कवितासङ्ग्रहको सबै भन्दा लामो कविता हो यो । मानिस जति बुढो भए पनि शरीर अचल अवस्थामा रहे पनि जिउने इच्छ्या भने रहिरहन्छ । जति बुढ्यो हुँदै जान्छ सुद्धि हराउँदै जान्छ, चैतन्य दुर्बल हुन्छ, श्वासप्रश्वास बढ्छ , फोक्सो निर्बल भएर जान्छ , कण्ठ तलमा हलचल बढ्छ,, मुटुले भट–भट हान्न थाल्छ ,ख्याङ् ख्याङ्खु« खुङु् हुन्छ, तीखो छुधाले अठ्याउँछ, बुता हराउँछ, उच नीच सबै भोगी सकें, त्यसो हुँदा नपाल भो भन्दै ईश्वर सम्झदै कविले भन्छन् –
थोत्रो जीर्ण अशक्त रुग्ण तनमा पालेर बाँचौं कति
बाँच्नेमात्र अनेक शोच सुरमा भोगेर तीता खती ।
छक्कै पर्छु म ता बुझेर पनि यो बुझ्नै नसक्ने गति
जानै पर्छ नगै हुँदैन पुर त्यो फर्की नसक्ने गरी ।। ४।।
पृष्ठ ३२,
मानिसको प्राणान्त हुने समयको पीडालाई सहन नसकी ऊ आक्रान्त हुन्छ ,। उसका नाडी सुस्ताउँदै जान्छन् । शैया नै संसार बन्न जान्छ र अन्त्यमा शव चितामा पुग्छ ।
छोरालाई पालन पोषण गर्नु पिण्डपानीको आश रहनु, छोरा छोरी पालन गर्ने कर्तव्यलाई सम्झनु, र पुरा गर्नु जस्ता धारणालाई पस्कदै कविले आफ्नो बालक कालका बालसुलभ दिनको यादगार, यौवन अवस्था हर्षरस आदिलाई सम्झेर रुन मन लाग्नु, बुढेस कालको मार्मिक अवस्थालाई कविले यसरी पस्केका तछन् –
झुल्के घाम अनन्त अस्तचलका जीवन्तका सङ्गत
यौवनका मधुमास रास सकिए ज्युनै भयो झञ्झट ।
अर्कैबाट दया लिएर जिउँदा डाहा भयो जीवन
आफैबाट बरो बनेर जिउँदा पीडा बढ्यो मर्ममा ।।१२।।
पृष्ठ ३५,
कविको कथन छ मान्छेले सिद्ध भान्छे हुने ओखती आज सम्म खोज्न सकेका छैनन् । विधिको विधानमा जन्मे र मर्ने गति परिवर्तन हुन सकेको छैन । अन्तिम अवस्थामा मानिसको सुद्धि सक्किन थाल्छ तर छातीभित्र कथा र व्यथा जो छ त्यसलाई पोख्न सक्दैन जस्ता जीवनदर्शनका विविध पक्षमा वकालत गर्दै तलका कश्लोक सहित यो कवितासङ्ग्रहको बिट मारिएको छ –
चिन्ता मुक्त म चेतना रहित छु चोला वित्यो भयो अल्झन ।
साथीभाइ छिमेक टोल घरमा जे जे दिएँ सम्झना ।
आगोबाट चिता जलेर लपटा काला धुवाँका संगै
गाथाका गुनगान क्यै दिन हुँदै बिर्से जालान् सबै ।।१५।।
पृष्ठ ३६,
भाषा शैली –भाषा सरल छ । साधारण पाठकदेखि बौद्धिक खुराकको रूपमा अध्ययन कर्ताको लागि पनि पठन योग्व्य छन् कविता । छन्दमा लेखिएको हुँदा लयात्मक र गायन योग्य छन् ।
शीर्षक – यस कवितासङ्ग्रहमा धेरै कवितामा पीडाको सन्देश प्रवाह भएको छ । पीडादेखि पीडान्त शीर्षकसम्म पीडाहरू मुखरित भएका छन् । यसो हुँदा शीर्षक सार्थक छ ।
निस्कर्ष –
यस कृतिले दिन चााहेको सन्देशको भावसारलाई विस्तृत रूपमा मैले माथि नै पस्किसकेको छु । यसमा समावेश गरेका प्रत्येक कवितामा कविले एकरूपतामा नभएर विविधतालाई समाएका छन् । यो कविको आफ्नै किसिमको विशिष्टता हो । कवितामा बिम्बको प्रयोग प्रचुरमात्रामा भएको देखिन्छ । कविताको महत्वपूर्ण अंश भनेको माओवादी शब्दको उच्चारण नगरी त्यस युद्धले सामाजिक, आर्थिक र राजनीति क्षेत्रमा पु¥याएको राष्ट्रिय क्षती हो भन्ने लाग्छ मलाई । पीडा र द्वन्द्व कवितालाई केलाउँदा यसलाई द्वन्द्वको दस्ताबेजको रूपमा लिन सकिन्छ । कवितामा कविले भौतिक र आध्यात्मिकतालाई समान रूपमा उठाएका छन् । राष्ट्रियता र राष्ट्रप्रेमका भावनाहरू पनि यहाँ गहनरूपमा उठाइएका छन् । मानिस भए पछि आफ्नो दायित्व, मानिसमा हुने मानवता, जीवनमा आइपर्ने विविध बाधा अड्चन, ती बाधा अड्चनबाट मुक्तिको चाहना, सन्तानप्रतिको धारणा र सन्तानले जीवनको अन्तिम क्षणमा निभाउन पर्ने कर्तव्यलाई कविले मार्गदर्शनका रूपमा उठाएका छन् । समग्ररूपमा काव्य गहन छ , पठन योग्य छ र प्रशंसनीय छ । कविको दीर्घायु, सुस्वास्थको साथै सिर्जन्शीलता बढ्दै जाओस् भन्ने कामना सहित विदा चाहान्छु ।

कावासोती नवलपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।