“टाउको दुखे— फेटा; गानो दुखे— पटुका; जाडो चढे— गलफन; गर्मी चढे— ओछ्यान; के हो ?" भनेर गाउँखाने कथाको ढाँचामा कसैले प्रश्न गरे अब के भन्नु हुन्छ ? सोच्नोस् । पहिले चाहिँ 'लुङ्गी’ भनिदिए हुन्थ्यो ।
एक समय लुङ्गी सर्वेसर्वा थियो; पतलुङको कालखण्डपछि र फुलपैन्टको साम्राज्य देखापर्नुअघि लुङ्गीले एकलौटी राज गर्यो । यसको सर्वस्वीकार्यता यति स्थापित भयो : नयाँ लुङ्गी लगाएर बरियात जाने जन्ती पनि देखिए; ससुराल जाने ज्वाइँ पनि धेरै भए । हो; कछाड बाँध्नेको कछाड र धोती लगाउनेको धोतीसंग लुङ्गीको केही लागेन; बाँकी सबैसंग कम्तीमा एक थान लुङ्गी हुन्थ्यो ।
लुङ्गी थियो र लुङ्गी नै एउटा यस्तो वस्त्र थियो : जुन दाजुको भाइलाई र भाइको दाजुलाई मात्र होइन; ज्वाइँको जेठानलाई र जेठानको ज्वाइँलाई मात्र पनि होइन; बाजेको नातिलाई र नातिको बाजेलाई पनि चल्थ्यो ।
पहिरिने सवालमा लुङ्गी सजिलो पनि कति सजिलो भने– न टाँक, न इजार; न तुना, न खिप; न खुट्टा उचाल्नु परोस्; न 'कुर्कुच्चा छिराउन साँगुरो भयो’ भन्नु परोस् । लामो पारेर लगाए पनि हुने, दोबारेर लगाए पनि हुने; साह्रै हतार छ भने, बेरबार मात्र पारे पनि— लौ ! न छेकाउनु पर्ने; न नापजाँच गर्नु पर्ने । छेउ सिलाए पनि— 'नो कमेन्ट’; नसिलाए पनि— 'नो कमेन्ट’ । लुङ्गीको लोकप्रियताको के कुरा गर्नु; तरुण वयको बटुवाको झोलामा टुथब्रस हुन्थ्यो, हुँदैनथ्यो; लुङ्गी हुन्थ्यो ।
लुङ्गीलाई कसैले नाम्लो बनाए; कसैले बरियो । यसलाई कसैले झोलुङ्गो बनाए; कसैले झोलुङ्गाको डोरी । कसैले कुम्लोमा लुङ्गी बोके; कसैले लुङ्गीलाई कुम्लो बनाए । मौकाअनुसार कतिले लुङ्गीले मुख पुछे र लुङ्गीलाई रूमालको दर्जा दिए; कतिले लुङ्गीलाई झटपटमा पर्दा बनाएर टाँगे; कसैले लुङ्गीलाई काँधमा गम्छा जसरी राखे; लुङ्गी तन्ना, तौलिया, नाम्लो र झोलुङ्गो पनि हुन्थ्यो । पाखो बारीमा हलो जोत्दाजोत्दै कसैलाई उतैबाट मिटिङ्गमा जानु छ; मिटिङ्गपछि 'इटिङ्ग’ सकेर 'म्यारिज– फिटिङ्ग’मा नारिनु छ र म्यारिजमा टट्टीटाँट भएर फेरि पाखो बारीको मेलोमा फर्किनु छ भने उसलाई सुहाउने पहिरनै लुङ्गी थियो ।
एक पटकको घटना सम्झना छ : जगरमान काकालाई कसैले नपत्याउने । यो कुरा सबैभन्दा बढी जगरमान काकालाई नै थाहा थियो । कसैले केही नदिए पनि जगरमान काका केही पाउने आशामा जिम्दारको घरमा जान नचुक्ने । जिम्दार सधै यताउताको कुरा गरेर भुलाउने । एक दिन जिम्दार्नीलाई कुन्नि कसरी दया पलाएछ । भनिन्— “कनिका छ; लिएर जा, साहिँला!"
जगरमान काका दयाको यस्तो वृष्टि सामना गर्ने तयारीसहित गएका थिएनन् । अचानक भएको यो करुणाको वर्षा थेग्ने साधन जगरमानको दिमागमा झ्वाट्ट आएनछ । उनले झट्पट् लुङ्गी फुकाएर बिछ्याए । भित्र लगौंटी मात्र रहेछ– त्यो पनि प्वाल परेको! (पटकौंपटक चुनाव जितेर, सरकारमा गएर लोकतन्त्रप्रतिको प्रतिवद्धता र आफ्नो विश्वसनीयता पूरै गुमाएर यतिखेर फेरि ङिच्च–ङिच्च हाँस्दै, हात जोड्दै, गोडामै ढोगौंला झै गर्दै भोट माग्दै घरगाउँमा जगरमान काकाकै झल्को मेटाउने गरी जो भौतारिदै हुनुहुन्छ; आशा गरौं— भित्री वस्त्रका बारेमा सजग हुनुहुन्छ र जगरमान काकाको हबिगतमा पुग्नु हुने छैन ।)
तर लुङ्गीको रजगज सधै रहेन ।
नेपालको कपडा बजारमा चाइनिज उत्पादनको बाहुल्यतापछि हाफपैन्ट, फुलपैन्ट र टाउजर मैदानमा आयो; अनि नेपालको राजनीतिक सत्तामा “कहिले 'उदारवाद र समाजवाद’को पालो; कहिले 'सुखी नेपाली; संमृद्ध नेपाल'को पालो" भने झै लुङ्गी सर्वेसर्वाको स्थितिबाट भलादमी पारामा छेउ लाग्यो । खोज्ने नै हो भने पहाडका सहरबजारमा अचेल बरु कछाड भेटिएला; ख्याल गर्ने हो भने प्रजातन्त्रको पुर्नस्थापनापछि राजनीतिमा लागेर लोकतन्त्रको संस्थागत विकास गर्नका लागि पटकपटक मन्त्री भएका जगरमान काकाहरूलाई टेस्ला कारको कालो सिसाभित्रबाट डोकामा स्कुस बेच्न शहर आएकी डिम्पलको नितम्बमा दृष्टि खोपी रहेको अवस्थामा भेटिएला; लुङ्गी भेटिदैन ।
अब लुङ्गी भेट्न हाट लाग्ने दिन पारेर तराईका बजारमा पुग्नु पर्छ ।