मेरो हातमा साहित्यकारद्वय पुष्कर अथक रेग्मी र राजेन्द्र गोपाल सिँहद्वारा संयुक्त रूपमा लेखिएको अत्यन्त महत्त्वपूर्ण कृति“ पाल्पामा नेपाल भाषा साहित्यको इतिहास" नाम गरेको सुन्दर कृति छ । म निकै तन्मयका साथ यो पुस्तक अध्ययन गरिरहेको छु । पाल्पा नामसँग मेरो पूरानो र आत्मिय सम्बन्ध छ । त्यसैले पनि यो कृतिले मलाई चुम्बकले फलामलाई तानिरहे जस्तै तानिरहेको छ । किनकि मैले पनि चालिसको दशक ताका आफ्नो जिन्दगीको उर्वर उमेरमा लगभग आठ दश वर्ष जति पाल्पाको पानी पिएको थिएँ । पाल्पाको परिचय नेपालको एक जिल्ला मात्र भनेर पूर्ण हुँदैन । पाल्पा शिक्षा, स्वास्थ्य, कला, संस्कृति, साहित्य र भाषाका दृष्टिकोणले पनि अत्यन्त संवृद्धशाली र ऐतिहासिक स्थल हो । यिनै विषयमा मलाई पाल्पाले अनगिन्ती महत्त्वपूर्ण कुराहरू दिएको छ । तानसेनको धवल पुस्तकालय र ताहूँ स्थित तत्कालीन नवज्योति वाचनालय र रम्भा वाचनालयलाई म जीवनभर भुल्न सक्दिन ।
“पाल्पामा नेपाल भाषा साहित्यको इतिहास" कृतिको आवरणमा तानसेन दरबार, तानसेन शहर, तानसेनमा सम्पन्न नेपाल भाषा सम्बन्धी गोष्ठी लगायत अन्य केही ऐतिहासिक तस्बिरहरूको संयोजन गरिएकोले कृति सुन्दर देखिएको छ । लव जोशी, शान्ता शाक्य,नीलम गोङ्गल श्रेष्ठ,प्रमी श्रेष्ठ, विनय शाक्य, जीवन श्रेष्ठ र शैलजा श्रेष्ठले संयुक्त रूपमा कृति प्रकाशनको जिम्मेवारी लिएको देखिन्छ भने कृति वितरणको जिम्मा पाल्पा साहित्य समाजले लिएको छ । समग्रमा जम्मा ७२ पृष्ठको कृतिमा सायद प्रकाशन संस्थाको कमिकमजोरीका कारण मसँग प्राप्त भएको कृतिमा केही पृष्ठहरू खाली छन् । हुनसक्छ कृतिको भूमिका र प्रकाशकीय यिनै खाली पृष्ठमा हुनुपर्छ । जेहोस् पाल्पामा नेपाल भाषाको इतिहास अध्ययन गर्न कुनै बाधा उत्पन्न भएन । लेखकद्वयले प्रस्तुत कृति लेखनका क्रममा लिएको सन्दर्भ सामाग्रीको सूची निकै लामो भएकोले कृतिलाई अनेकौँ ग्रन्थहरूको सारका रूपमा लिन सकिन्छ र लेखकहरूले निकै मेहनतका साथ कृति तयार गरेको बुझिन्छ । उपसंहार सहित १५ वटा शीर्षक अन्तर्गतका विविध सामाग्रीहरू सङ्ग्रहित गरिएको कृतिले पाल्पामा नेपाल भाषा साहित्य सन्दर्भमा महत्त्वपूर्ण कुरा बोलेको छ । इतिहास लेखनकार्य सहज विषय होइन । इतिहास लेख्दा अनुमानका भरमा, कल्पनामा डुबेर, भावनामा बगेर लेखिएको सामाग्रीबाट इतिहास बन्दैन । इतिहासले यथार्थ बोलेको हुनुपर्छ र इतिहास सधैँ सत्यको नजिक हुनुपर्छ । लेखकद्वयले यसलाई आत्मसात् गरेर कृति तयार गरेका छन् ।
“नेपाल शब्दको उत्पत्ति र मान्यता" शीर्षकको आलेखमा नेपाल नाम रहनुका पौराणिक र अन्य विविध तर्कहरू सहितको लामै सूची पेश गरिएको छ । कृतिमा नेवार समुदाय उपत्यकाका आदिवासी एवं भूमिपुत्र भएको र नेवार शब्द नेपाल शब्दकै समानार्थी शब्द भएको बलियो तर्क प्रस्तुत गरिएको छ । नेपाल भाषा अर्थात् नेवारी भाषा गोपाली र महिषपालीहरूले बोल्ने गरेको आभिर भाषा र किराँतीहरूको भाषा सम्मिलन गरी एक नयाँ भाषा नेपाल भाषाको सृजना गरिएको रहस्योद्घाटन समेत गरिएको छ । लेखकहरूले कृतिमा वैशालीबाट पलायन भएर प्रवेश गरेका लिच्छविहरूले समेत यिनै किराँत र नेवारहरूको भाषा बोल्दै नेवारी संस्कृति र समुदायमा विलय भएको उल्लेख गरेका छन् । यस बाहेक जयस्थिति मल्लको पालादेखि तत्कालीन समयका केही चर्चित ग्रन्थहरू नेवारी भाषामा अनुवाद गर्न आरम्भ गरिएको कुरा समेत पुस्तकना सगौरव उल्लेख गरिएको छ । यसै सिलसिलामा “विचित्र कौटुक, हरमेखला, नारद संहिता,अमरकोष र पञ्चतन्त्राख्यान हरूको उल्लेख गरिएको छ । यसरी लेखकद्वयले पाँचौँ शीर्षकसम्म समग्र मुलुकको नेपाल भाषाको इतिहास सम्बन्धमा प्रकाश पारेका छन् भने छैठौँ अध्याय देखि “पाल्पामा नेवारहरूको आगमन " का बारेमा स्पष्ट सँग वर्णन गरिएको छ । जस अनुसार वि सं १८३४ को राजा प्रतापसिंहको एक ऐतिहासिक पत्रमा उल्लेख गरिए अनुसार त्यति बेला पनि पाल्पामा नेवारहरू रहेको देखिएकोले पाल्पाका राजा मुकुन्द सेन द्वितीयको समयमा नै पाल्पामा नेवारहरू प्रवेश गरेको अनुमान गरिएको छ ।
यसैगरी कृतिमा पाल्पाका नेवारहरूले बोल्ने भाषा, आदिम परम्परा, गुठी संस्कार, कला संस्कृति र पाल्पाका नेवारहरूले मनाउने महत्त्वपूर्ण र अनगिन्ती चाडपर्वका सन्दर्भमा विस्तारमा वर्णन गरिएको छ । यसैगरी पाल्पामा नेपाल भाषाको विकास , विस्तार र उन्नयनका लागि पाल्पाली भाषाविद् , समाजसेवी र साहित्यकारहरूले दिएको महत्त्वपूर्ण योगदानको विषयमा पनि कृतिले स्पष्ट पारेको छ । यसैगरी नेवारी भाषा र भेषभूषाको संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएका पाल्पाका केही नेवारी भजन मण्डली, पुस्तक पढ्ने दलान, विहारहरू, संघ संस्था र गुठी हरूको विषयमा समेत विशेष चर्चा गरिएकोले कृति निकै सुन्दर बनेको छ ।
कृतिले पछिल्लो समयमा नेपाल भाषामा कृतिहरू प्रकाशन गर्ने पाल्पाका अयोध्या प्रसाद प्रधान, भिक्षु शाक्यानन्द महास्थवीर, भिक्षु डा. अमृतानन्द महास्थवीर, भिक्षु चुन्दशास्त्री महास्थवीर लगायत पछिलो पुस्ताकी अर्चना शाक्यद्वारा लेखिएको “ख्वबि व लायलामा" सम्मको उल्लेख गरिएको छ । यतिमात्र होइन, नेपाल भाषामा फुटकर लेख रचना प्रकाशित गर्ने स्रष्टाको नालीबेलीले कृति उच्चकोटीको बनेको छ । इतिहास लेखनका क्रममा लेखकद्वयलाई यति ले मात्र चित्त बुझेन, उनीहरूले नेपाल भाषा साहित्यको विधागत अवस्थालाई समेत निकै सुन्दर ढङ्गले चिरफार गरिदिएर आफ्ना सह्रृदयी पाठकहरूलाई ठूलो गुन लगाएका छन् । जस अनुसार चिनाखँ अर्थात् काव्य, आख्यान, प्याखँ अर्थात् नाटक, च्वसु अर्थात् निबन्धका विषयमा कसले , कहिले र कुन विषयमा लेखेको हो सम्पूर्ण विधा सहित खुलाएर वर्णन गरिएको छ ।
अन्तमा उपसंहार मार्फत नेवार समुदायले भाषा, साहित्य र संस्कृतिको संरक्षण सम्वर्द्धन र प्रवर्द्धनका क्षेत्रमा अझै थप योगदान दिनुपर्ने उल्लेख्य सुझावहरू समेत दिइएको छ । यसैगरी कृतिको परिशिष्ट अन्तर्गत “छायाँ छविमा सन्दर्भ प्रसङ्ग" शीर्षकमा नेपाल भाषासँग सम्बन्धित विभिन्न लेख रचना तथा तस्बिरहरू समावेश गरी कृतिलाई थप ओजिलो बनाइएको छ । यस कृतिमा पाल्पा जिल्लाका अन्य स्थानका नेपाल भाषा बोल्ने र नेवारी संस्कृतिमा हुर्किएकाहरूको पनि केही सामान्य गतिविधिहरू र अन्य जानकारी समावेश गरिदिएको भए प्रस्तुत कृति अझै रोचक र गहकिलो हुने थियो । जे होस् पाल्पामा नेपाल भाषा साहित्यको क्षेत्रमा भए गरेका उल्लेख्य कार्यहरू र त्यसको इतिहासका बारेमा जानकारी लिन खोज्ने सामान्य पाठक, विद्यार्थी, शोधार्थी र अनुसन्धाताहरूले लागि प्रस्तुत कृति अत्यन्त उपयोगी बनेको छ । कृति पठनीय र सङ्ग्रहणीय छ ।
इतिहास जस्तो गम्भीर विषयमा लेखकद्वयले यथार्थ मूलक सामाग्रीहरूको दस्तावेजका रूपमा निकै मेहनतका साथ “पाल्पामा नेपाल भाषाको इतिहास" जस्तो महत्वपूर्ण र अमूल्य कृति प्रकाशन गरेकोमा लेखकद्वय लगायत प्रकाशकहरू र वितरण संस्था पाल्पा साहित्य समाजप्रति हार्दिक शुभकामना व्यक्त गर्दछु ।
चितवन ।