साहित्यमा करिब ४१ वर्षको अनुभव बटुलिसकेका साहित्यकार, लेखक, कवि तथा अध्ययेता कृष्ण बजगाईंको २५ औं साहित्यिक कृति र छैटौ नियात्रा सङ्ग्रहको रुपमा ‘लन्डिनियम’ नामक कृति भर्खरै बजारमा आएको छ । साहित्यकार बजगार्ईंले नियात्रा, कथा, लघुकथा, कविता, हाइकु र बालसाहित्य जस्ता नेपाली भाषा वाङ्मयका विधामा ससक्त कलम चलाइरहेका छन् । उनका साहित्यिक कृति र नियात्राहरु नेपालका चारवटा प्रतिष्ठित विश्वविद्यालयको स्नातक तहमा नेपाली विषयको पाठ्यक्रममा समावेश छन् भने स्नातकोत्तर तहमा विद्यार्थीहरु र विश्वविद्यालयका अध्यापकहरुबाट सोधकार्य सम्पन्न भएका छन् ।
यस पुस्तकको नामाकरण इतिहासको आधारमा तय गरिएको पाइन्छ । दुई हजारवर्षअघि रोमन साम्राज्य अन्तर्गतको बेलायतमा रोमनहरुले राजधानीका रुपमा विकास गरेको लन्डिनियम क्षेत्र नै अहिलेको लन्डन शहर भएको इतिहासलाई नियात्राकार बजगाईंले खोजमुलक पुस्तक ‘लन्डिनियम’ मार्फत पुष्टी गरिदिएका छन् । लन्डिनियमले पाठकलाई युरोपका तीन देशको यात्रा आफै गरिरहेको र आफै घुमेको अनुभूती गराउँछ ।
‘लन्डिनियम’ नियात्रासंग्रह पढदै जाँदा जति पाना पल्टायो उति कौतुहलता र खुल्दुली जाग्छ । यस पुस्तकले युरोपका तीन देशका इतिहास, सस्कृति, विकासको चरम अवस्था, पठन संस्कृति र पुस्तकालय आदिका बारेमा रोचक जानकारी प्रदान गर्दछ । बाथ सहरको रोमान्चकता, शेक्सपियरको मन्दिर, नाङ्गै बस्ने गाउँ, लण्डनको पोएट्री फार्मेसी, बुकबार, कार्ल माक्र्सको दुःखद जीवनी, जर्मनी विभाजनको पीडा, हिटलरको क्रूर शासन, युद्व सङ्ग्राहालय, हाम्बर्गको इतिहास र वर्तमान, पाब्लो पिकासो, भान गोग जस्ता चित्रकारका बारेमा जानकारी, नेदरल्यान्डस्को हावा मिल, हेगको न्यायलय, लिटल भेनिस, लण्डनको पोएट्री वाक जस्ता विषयसूचीलाई पढ्दै जाँदा युरोपका यी शहरमा आफै घुमेर हेरिरहेको छु, त्यहाँको यात्रा म गरिरहेको छु, त्यहाँका कलात्मक चित्रहरुले मलाई स्पर्स गरिरहेको छ भन्ने आभाष गराउँछ ।
‘लन्डिनियम’ तिनै यात्राको जीवित दस्तावेज हो, जसमा पाठकले हरेक पृष्ठमा इतिहास र वर्तमानको संवाद महसुस गर्न सक्छन् । नेपाली साहित्यका शव्दसँग खेलाइएका विषयवस्तुमा नेपाली साहित्यकै सुगन्धले पाठकको दिमागमा उर्जा दिन्छ । प्राचीन सहरको खोजयात्राबाट पाइला चालेका नियात्राकार कृष्ण बजगाइले बेलायतका ऐतिहासिक स्थल, जर्मनीका सांस्कृतिक केन्द्र र नेदरल्यान्डका रमणीय सहरहरू घुमेका मात्र छैनन्, त्यहाँको यथार्थ वस्तुस्थितिलाई टपक्क टिपेर पाठकसामु मीठोगरी पस्किएका छन् । उनी गएका प्रत्येक ठाउँको इतिहास, कला, संस्कृति, सभ्यता र आधुनिक जीवनशैलीका रहस्यहरूलाई तथ्यपरक र ज्ञानवद्र्धक ढङ्गले प्रस्तुत गरेकाले पुस्तक पढ्दा बहुत आनन्द आउँछ ।
लेखकको दृष्टिमा विदेशमा बस्दा मातृभाषा, संस्कृति र पहिचानप्रति गहिरो आत्मचिन्तन जागृत हुन्छ । उनका अनुभवहरू विदेशी भूमिमा पनि नेपाली साहित्यलाई निरन्तरता दिने प्रवासी साहित्यिक आन्दोलनको सशक्त उदाहरण पनि यो पुस्तक हो । यो पुस्तक प्रवासी नेपाली साहित्यको दस्तावेज हो भन्न सकिन्छ । यसले नेपाली भाषाको अन्तर्राष्ट्रिय विस्तार, प्रविधिको युगमा लेखनको रुपान्तरण र मानवता केन्द्रित साहित्यिक दृष्टिकोणलाई उँचो बनाएको अनुभूति सहज हुन्छ ।
बजगाईंले यस पुस्तकको आत्मकथनको सुरुमै भनेका छन्—‘विभिन्न स्थानमा टेक्नु मात्र यात्रा होइन, गन्तव्यमा पुगेर सकुशल फर्किनु मात्र पनि यात्राको सफलता होइन ।
यो पुस्तकको पहिलो पाठ हो पानीमाथि तैरिरहेका शब्द । यो पहिलो पाठमा नियात्राकारले मानिसका भीडहरुमा संसारको अनुहार देखेका छन् । त्यही भीडमा उनले आफ्नै कविताका बिम्वहरु स्मरण गरेको पाइन्छ । लन्डनका गल्लीमा पाइला टेकेर लेखकले कविता र इतिहासलाई एकसाथ बुनेका छन् ।
.परदेशमा समयको पल भन्नु
घरदेशको एक टुक्रा सपना पनि हो ।
त्यही सपनामा जोडिएका हुन्छन्
बा, आमा, श्रीमती र छोराछोरीका खुशीहरु ।
उक्त कवितांशले अहिले पनि आधा करोडभन्दा बढी विदेशमा रहेका नेपालीहरुको स्पन्दनलाई छोएको छ । यसलाई नियात्राकारले कविताकै टुक्राको रुपमा यहाँ प्रस्तुत गरेका छन् । यसकासाथै कोभिडको बेला लन्डनका पुस्तक पसल र त्यहाँका पाठकको अनुभूति पनि यहाँ पढ्न पाइन्छ । कोभिड सर्ला भनेर अरुले छोएको पुस्तक छुन नमानेको र भर्चूअल विधि अपनाइएका कुरा कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।
दोस्रो पाठ लन्डनको पोएट्री फार्मेसी हो । यसमा पोएट्री फार्मेसीमा उपस्थित हुनुले पाठकलाई काव्यात्मक आनन्द मात्र दिँदैन, यसले एउटा बौद्धिक र मानसिक यात्राको प्रवेशद्वार पनि खुल्ला गरिदिएको छ ।
तेस्रो लिटल भेनिसमा रोमान्टिक मन हो । पानीमाथि तैरिएका हाउसबोटहरू, लिटल भेनिसको शान्त नहर, नहर किनारका फुटपाथमा हिँड्नुको आनन्द, हाउसबोटमा बसेर बियर र वाइनको लिँदै गरेका मानिसको सहजताका तमाम दृश्य मात्र नभएर नियात्राकारको आत्माले देखेका अनुभवका रूपक हुन् ।
चौथो शरणार्थी कार्ल मार्क्स पाइला पछ्याउँदाले माक्र्सवादी चिन्तकको जीवन र विचारको प्रतिबिम्ब झल्काएको छ । यसले पाठकको मनमा गहिरो छाप छोड्छ सफल भएको अनुभूत हुन्छ । यहाँ कार्ल मार्क्स को थिए, उनको दिनचर्या कस्तो थियो, अध्ययनलाई कसरी अघि बढाए, उनले विभिन्न दर्शन लेख्दाको अवस्था, पहिलो जागिर र पत्रकारिता लगायत विषयलाई मसिनो गरी केलाईएको छ । सन १८७१ मा पेरिस कम्युन असफल भएपछि फ्रान्सबाट भागेर शरणार्थीका रुपमा लन्डन पुगेका मार्क्सले दास क्यापिटल अर्थात ‘पूँजी’ भन्ने पुस्तक लेख्दा बसेको कुर्शी नं ७ को ब्याख्या गर्न समेत लेखकले भ्याएका छन् । पब र क्याफेहरू, जहाँ मार्क्स र एंगेल्सले आफ्ना क्रान्तिकारी योजना बनाएका थिए, ती स्थल मात्र होइनन्, विचारका केन्द्र हुन् । नियात्रामार्फत लेखकले इतिहास, विचार र जीवनको अन्तरसम्बन्ध, धर्म र कम्युनिष्ट विचको अन्तरविरोध बुझ्न सहज बनाइदिएका छन् । यसले नेपाली कम्युनिष्ट चिन्तक हौं भन्नेहरुलाई पनि निन्द्राबाट ब्यूझिँन पाठ सिकाएको छ ।
पाँचौ पाठ, लन्डनमा पोएट्री वाक र बुकवार शिर्षकको नियात्रामा लन्डनका पुराना घर र साँघुरा गल्लीहरूमा हिँड्दा नियात्राकारले केवल ढुङ्गा र इँटाको संरचना मात्र हेरेका छैनन् । उनले त्यहाँ बाँचिरहेका जीवनका संवेदनाहरूलाई पनि आफ्नो दृष्टिको क्यामरामा कैद गरेर पाठकसामु रिलिज गरेका छन् । त्यहाँ सहरको चराका गीत सुनिनुभन्दा गाडीको लगातार हल्ला र मानिसहरूको गुनगुनाहटमा लुकेका जीवनका कथाहरू सुनिन्छन् । हरेक झ्यालको पर्दामा, हरेक गल्लीको मोडमा, त्यहाँका सुरका ढुङ्गामा इतिहास र वर्तमानको सुस्पष्ट मिश्रण भेट्छन् ।
छैटौ पाठ नाङ्गा नाङ्गीहरुको गाउँमा, लेखकले दृश्य, इतिहास, प्रेम, असफलता, सांस्कृतिक शिक्षा र संवेदनालाई एकसाथ बुनेका छन् । समग्रमा नाङ्गाहरुको समाज नै एक किसिमले समानताको प्रतिक जस्तो देखिएको चित्रण गरिएको छ ।
सातौ कोर्स्बीमा नर्दन लाइट्स हो । यसमा सूर्यबाट निष्कने उर्जावान कण पृथ्वीको माथिल्लो वायुमण्डलमा ठोकिँदा नर्दन लाइट्स बन्छ, पृथ्वीको उत्तरी धु्रवमा देखिने प्रकाशको अनुपम लीलाको वर्णन यसमा गरिएको छ ।
आठौ पाठमा सेक्सपियरको मन्दिरको बारेमा बर्णन गरिएको छ । मन्दिरको छेउमा रहेको अर्धकदको डेविड ग्यारिकको प्रतिमा, मन्दिरमा पूजा नहुने रहस्यमय कारण लगायतका बारेमा लेखिएको छ ।
नवौ पाठ हो लन्डिनियममा कामुक सुन्दरी । हरेक पाठकमा अन्यौल भएको पुस्तकको नामबारेको खुल्दुलीले यहाँ पुगेपछि मेटिन्छ । जसमा भनिएको छ—‘सन् ४३ मा बेलायत आएका रोमनहरुले ३६७ वर्षसम्म शासन गरेका थिए । पछि बेलायतीहरुले नाम बिगारेर लन्डन बनाएको कुरा तथ्यपरक ढंगले नियात्राकारले खुलाइदिएका छन् । लन्डनले अहिलेसम्म पूर्खाका विरासत समालेर राखेको छ भन्दा यो पुस्तक पढ्ने हरेक नेपालीको दिमाग नेपालको नामेट हुँदै गएको इतिहास र आन्दोलन भएपिच्छे ध्वस्त पार्दै आएका भौतिक संरचनातर्फ फर्किन बाध्य हुन्छ । यस नियात्रामा एउटा कामुक मूर्ति जसले हरेक पल सेक्स अपिल गरिरहेको अनुभूत हुने कलात्मक आर्ट ग्यालरीभित्रको ‘जलपरीको’ वर्णन छ । सो जलपरीलाई क्लाइटीको मूर्ति भनिएको छ । यहाँसम्म आइपुग्दा नियात्राकारले केवल दृश्यको सतही वर्णन मात्र गरेका छैनन्, उनले पाठकलाई ती गल्लीहरूमा हिँडिरहेको अनुभव गराउँछन्, हरेक कदमसँगै इतिहासको गन्ध, साहित्यिक गहिराइ र मानव संवेदनाको धड्कन महसुस गराउन सफल भएको पाइन्छ ।
यसैगरी दशौ पाठमा बाथ शहरमा घामपानीको स्नान शीर्षकमा लेखिएको यात्रा स्मरणमा यो बाथ शहरको सुन्दरताको बारेमा वर्णन गरिएको छ । युनेस्कोको विश्व सम्पदा सूचीमा सुचिकृत भएको शहरको नाम हो बाथ । बेलायतको बाथ सहरको नियात्रामा मध्यकालीन सौन्दर्य र आधुनिक जीवनशैलीको अनुपम मिश्रण प्रस्तुत छ । नियात्राकारको दृष्टिमा त्यहाँको हावा मात्र होइन, समय आफैं गुनगुनाइरहेको छ, पुराना भवन र ढुङ्गाका बाटाहरूले प्राचीन गाथा सुनाइरहेका छन्, चर्च र संरचनाहरूले इतिहासका कथा बुनिरहेका छन् । वर्षभरि हुने विविध साङ्गीतिक कार्यक्रम, सडकमा घुमिरहेका मानिस र व्यस्त बजारको हलचलले पाठकलाई बाथ शहरको गतिशीलता महसुस गराउँछन् ।
यसैगरी अर्काे एघारौ पाठ हो हेगको न्यायालय यहाँ हेगले आफूलाई शान्ति र न्यायको अन्तर्राष्ट्रिय शहरको रुपमा परिचय दिएको वर्णन छ । यसमा नेदरल्यान्डको कृषि उत्पादन र बजारीकरणलाई हेरेर नेपाल कृषि प्रधान देश हो भनेर आफूले पढेको र अहिलेको पुस्तामा पनि त्यही पढाई भइरहेको देख्दा सरमको बोध भएको कुरा स्मरण गरिएको छ । यो विषयले मलाई पनि चसक्क छोयो ।
अर्को पाठ नेदरल्याण्डस्को बतासे हावा मिलका विभिन्न पाटाहरुको दृष्टि अध्ययनलाई कलात्मक रुपमा उतारिएको छ । यसमा धेरै विषयहरु समेटिएका छन् जसमध्ये मलाई चाहिँ पर्यटक लक्षित गरेर बिक्रिमा राखिएका आकर्षक काठका जुत्ता नियात्राकारले मूल्य सुनेर किन्न नसकेको प्रसङगले मन छोयो ।
अर्को तेह्रौ पाठ भान गोगलाई खोज्दै । आम्सटर्डाममा भान गोगले आफ्नो चित्रलाई सपनामा देखेको प्रसङग, भान गोगलाई फूल मन पर्दाको प्रसङ्ग, चित्रकारले आफ्नी प्रेमिकालाई आफ्नो कान काटेर उपहार दिने प्रसङ्गजस्ता धेरै विषयको समेत वर्णन गरिएको छ । नियात्राकारले भान गोगको जीवन संघर्षमा कला सम्बन्धि विचार र व्यक्तित्वको भावनात्मक सन्देशलाई ग्रहण गर्न पाएको र भान गोग म्यूजियममा बिताएको समयलाई जीवनको रंग र भावनालाई बुझ्ने एक अविष्मरणीय यात्रा भनेका छन् । भान गोगको अधुरो प्रेम, उनका पत्रमा झल्किएका असमर्थता र मनका पीडाहरू, उनका एकान्त र निराश भावनाहरू, यी सबै लेखकले यथार्थपरक र सजीव ढंगले उतारेका छन् । कलाकारको दृष्टिकोण, प्रेमको संवेदनशीलता र जीवनसँगको गहिरो लगाव जस्ता विषयले पाठकलाई लेखकको अनुभूतिको केन्द्र विन्दुमा पु¥याउँछ । अधुरो प्रेम र असफलताका पीडाले भान गोगलाई मात्र होइन, पाठकको हृदयलाई पनि छोएको महसुस हुन्छ । लेखकले भान गोगको चित्र अंकित एउटा कप किनेर साथै ल्याउन पाउँदा मनले पाएको खुशी र प्रफुल्ल भएको सन्तुष्टिलाई बिहानको घामझैँ पोखेको अविष्मरणीय क्षण पढ्न लायक छन् ।
अर्को रोचक पाठ छ, आम्सटर्डामको सडकमा बरालसिङ । यो विषयले पाठकलाई कौतुहलता जाग्नुका साथै अब के हुन्छ त ? भन्ने कुराले जागरुक पनि बनाउछ । यहाँ सेक्स म्यूजियमभित्र के देखियो त्यसलाई जस्ताको त्यस्तै पाठकको सामु पुर्याउन भरपूर प्रयास गरिएको छ । यहाँभित्रको क्याटबोट, गाजाको गन्ध, सेक्सका विभिन्न तरिका लगायत यौन, पैसा र त्यहाँभित्र भएका विवादहरुबारे कलात्मक चित्रण गरिएको छ ।
अर्को पन्द्रौ पाठ हो, जर्मनीका पाब्लो पिकासोसँग । यसमा स्पेनी मुर्तिकार तथा महान चित्रकार पाब्लो पिकासोले बनाएका मुर्ति र चित्रहरुको मसिनो गरी अध्यायन गरिएको कुरा उठाइएको छ । पाठकले समय, इतिहास र जीवनका छाँयाहरूलाई एउटै दृष्टिकोणबाट हेर्ने अवसर पाउँछन् ।
नियात्राको अर्को सोह्रौ पाठ हो बर्लिनमा भाइचारा चुम्बन । यहाँ विशेषत दुई जर्मनीलाई २८ वर्षसम्म विभाजित गरेको बर्लिनको पर्खाल र दोस्रो विश्वयुद्धपछिको बर्लिन खण्डहरहरु सहरमा कसरी बदलिए भन्ने विषयले उठानमा स्पेस पाएको छ । बर्लिन पर्खालमा भएको चुम्बनको चित्रलाई लेखकले कलात्मक रुपमा वर्णन गरेका छन् ।
पुस्तकको सत्रौ पाठ हो, हिटलरको यातना गृह । जसमा जाक्सनहाउजन कन्सन्ट्रेसन क्याम्प जुन हिटलरको नाजी सत्ताले स्थापना गरेको यातनागृह हो । यसैको बारेमा लेखिएको छ ।
नियात्रासङ्ग्रहको अन्तिम पाठ हाम्बर्गमा बिटल्सलाई खोज्दा । जर्मनीको हाम्बर्गमा बिटल्सलाई खोज्ने नियात्रामा, जलयात्रामा जहाजलाई दिइने सम्मानको दृश्य, र सार्वजनिक बसमा स्थापित पुस्तकालय केवल साधारण विवरण मात्र होइनन् यी सबै संस्कृति, इतिहास, र जीवनका शिक्षाका प्रतीकका रुपमा प्रस्तुत गरेको पाइन्छ ।
‘लन्डिनियम’ नियात्राका प्रत्येक रचनाले पाठकलाई भावनात्मक रूपमा आत्मसात गर्दै पुनः पाना पल्टाउँदै दोहोर्याई तेहर्याई पढ्न आकर्षित गर्छ । हरेक नियात्रा रचना भावनात्मक, साहित्यिक र ऐतिहासिक दृष्टिले समृद्ध छन् । यस सङ्ग्रहमा निहीत रचनाहरूले पाठकलाई केवल अवलोकनकर्ता मात्रै बनाउँदैन, अनुभवकर्ता र अनुसन्धानकर्ताको दर्जा दिन्छ । लेखकले दृश्य, इतिहास, संस्कृति, र संवेदनालाई रूपक र अलंकारमा परिणत गरी पाठकको हृदयमा अंकित गरेको अनुभूति सबै पाठकले सहज गर्न सकिन्छ ।
नियात्राहरूको सँगालो ‘लन्डिनियम’ १८८ पृष्ठको यो कृति भुँडीपुराण प्रकाशन, बागबजार काठमाण्डौंले प्रकाशन गरेको हो । यो कुनै साधारण तवरले निर्मित पुस्तक होइन । यहाँ लेखकको अपार लगनशिलता छ । मेहनत र खोजको उदाहरणीय विशेषता छ । अथक प्रयास र खोज पत्रकारिताको नमूना झल्किएको छ ।
डिजिटल प्रविधिको वर्तमानमा विश्व एउटा साँधुरो घेराभित्रको गाउँजस्तो बनेको छ । बजगार्र्ईंं इन्टरनेट र डिजिटल माध्यमले नेपाली साहित्यमा आएको परिवर्तनलाई च्याप्पै समात्न सफल स्रष्टा हुन् । उनी आफै विगत १९ वर्षदेखि नेपाली भाषाकोे साहित्यिक डिजिटल पत्रिका सञ्चालन गरिरहेका छन् ।
साहित्यकार बजगाईं नेपाली नियात्रा लेखनमा गन्तव्य क्षेत्रको चयनदेखि स्थानीय विषयवस्तुको जीवन्त चित्राङ्कनसम्म अत्यन्त सचेत बन्दै तथ्यपरकतालाई कलात्मकतामा रूपान्तरण गर्न सक्ने अद्भूत प्रतिभावान् नियात्राकार हुन् भन्न रतिभर पनि कन्जुस्याइँ गरिरहनु पर्ने छैन । बजगाईंको लन्डिनियम नियात्रासङ्ग्रह यात्राभित्रको शब्दचित्र हो । तीनै शब्दहरु यात्रा बनेर प्रस्तुत भएका छन् ।
दमक, झापा