अजर–अमर कोही छैन !
जीवन किन यति क्षणिक,
तर मनमा मोहको जाल।
सासैमा अनित्य बस्छ,
तर किन गर्वको भाल?
जगत जिते महानहरू,
अन्त्यमा शून्यैमा ढले।
अलेक्जान्डर, चंगेज़ पनि
समयको मौनमा मिले।
अजर–अमर कोही छैन,
यो सत्य अनादि, अटल।
मृत्यु अगाडि सबै समान,
शक्ति सबै हुन्छ विफल।
अहंकारको धूलोभित्र
चेतनाको दीप बन्छ म्लान।
हिंसाले जिते जस्तो लागे,
आत्मा रहन्छ अधुरै जान।
शान्ति नै सत्यको स्वरूप,
मनको गहिरो पहिचान।
करुणाले मात्र खुल्छ यहाँ
मानवताको साँचो ज्ञान।
समय बगिरहन्छ मौनमै,
कसैका लागि नथामिन्छ।
जसले पीडा बुझ्न सिक्छ,
उही मनुष्य कहलिन्छ।
त्यसैले छोडौँ अन्धकार,
अहंकारको भारी बोझ।
शान्तिको उज्यालोतिर
हिँड्नु नै चेतनाको खोज।
अमेरिका