19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

धमिराको देवलभित्र

कृति/समीक्षा होमशंकर बास्तोला February 11, 2026, 1:29 pm
होमशंकर बास्तोला
होमशंकर बास्तोला

‘धमिराको देवल’ निबन्धसङ्ग्रह निबन्धकार बोधराज पौडेलको तेश्रो मौलिक कृति हो । नेपाली भाषा र साहित्यिमा सक्रिय कवि, निबन्धकार एवम् पत्रकार पौडेल सामाजिक जीवनमा घटेका नवीनतम र समकालीन विषयबस्तुलाई जस्ताको तस्तै कलात्मक रुपमा प्रस्तुत गर्ने निबन्धकार हुन् । उनका यसअघि बगर र काँसहरू (कवितासङ्ग्रह–२०७५), सोकेसको ऐना (निबन्धसङ्ग्रह–२०७८) र धमिराको देवल (निबन्धसङ्गह–२०८२) प्रकाशित कृति हुन् । साहित्य लेखनमा मात्र संलग्न नभई सम्पादनमा समेत संलग्न उनी पूर्वको पशुपति, अन्तर्बोध साहित्यिक पत्रिका, प्रकाश साप्ताहिक, जलश्रोत डटकम, अर्थविश्लेषण डटकम, हलेसीजस्ता पत्रिकाहरूको सम्पादनसमेत गरेको अनुभव उनीसँग छ । हाल प्रकाशन भएको ‘धमिराको देवल’ (निबन्धसङ्ग्रह–२०८२) मा २२ वटा निबन्धहरू सङ्गृहीत रहेका छन् । सङ्गृहीत निबन्धहरू सामाजिक परिवेश र आफ्नै माटोमा उम्रिएका भावनाहरू सुन्दर रुपमा उनिएका छन् । आफ्नो माटो, बाटोघाटो, गाउँघर, बोटविरुवा, सामाजिक घटना र त्यहाँ घटेका दृष्यहरू निबन्धभित्र पस्किएका छन् । सङ्गहभित्रका अधिकांश निबन्धहरूले वर्तमान सामाजिक परिवेश उतार्दै राजनैतिक समस्याहरूको कलात्मक रुपमा उजागर गरिएको देखिन्छ ।

धमिराले माटोको ढिस्कोमा प्वालैप्वाल सहितको देवल बनाउँछ र त्यहाँ छिचिमिराहरू देवलबाट निस्किएर उड्छन् । उड्दै गर्दा प्वाँख झरेर मर्छन् । हामी मानिसजस्तै धमिरा काम चोर हुँदैनन् । उनीहरू लागेपछि लागेको लाग्यै देवल ठड्याउँछन् । तर खानेबेला धमिरा दर्जा बिर्सन्छ तर नेताहरू खानेबेला आफ्नो दर्जा ठानेर खान सम्झन्छन् । छिचिमिरा निस्किएपछि माटो उर्वर बन्दछ । छिचिमिराको देवलमा वर्षामा उम्रिएको च्याउ अन्यन्त आकर्षक रुपले उम्रिने र खाँदा अति मिठो हुने हुन्छ । धमिराको देवलमा उम्रिएका च्याउ खाँदाको सम्झना आइरहेको छ मलाई पनि । हो आफ्नो सुन्दर घर, दरवार निर्माण गरे पनि छिचिमिराहरू मर्छन् र उक्त उर्वर माटोमा बिज रोपेर मान्छे अन्न उर्माछ । गाउँको वास्तविक प्राकृतिक परिवेश, घटना र मानव जीवनलाई समेत जोडेर हेरिएको उक्त निबन्ध धमिराकै जस्तो श्रम र सिप प्रयोग गरेमा हरेक योजना सफल हुने सन्देश दिन्छ ‘धमिराको गुँडमा छिचिमिराको साम्राज्य’ निबन्धले । ‘धमिराको देवल’ निबन्धको मूल सन्देश नै यही हो भन्दा फरक नपर्ने देखिन्छ यस सङ्ग्रहमा ।

‘शीतविन्दुमा मोतीको चमक’ निबन्धमा शीतमा खाली खुट्टा हिँड्दाको पीडा र शीतको चिसोमा कठाङ्ग्रिएका जीवनका चित्रहरू भेटिन्छन् । चिसोमा गुडुल्किएर सुतिरहेका भरियाको जीवनचर्या र अभावमा पिल्सिएका मान्छेको पीडा पनि हो यो निबन्ध ।

यात्रामा भेटिएको माग्ने भिखारीले एक रुपैया माग्दा दश रुपैया दिदाको सम्भाना हो यो निबन्ध । भिखारीले मुर्ख मान्छे एक रुपैया माग्दा दश रुपैया दिन्छौ, मनलाई बढी भार राखेर अशान्त पार्छै, लिने र दिने दुवै अशान्तमय बन्नु हुँदैन भन्ने ‘लुप्त मनले उधारिएको पीडा’ निबन्धको भाव हो । सम्बन्ध हरेक कुरामा रहन्छ । ढ्याङ्ग्रो बजाउन गजो चाहिन्छ । गजो विना न ढ्याङ्ग्रो बज्छ । त्यसर्थ ढ्याङ्ग्रो र गजोको अपार सम्बन्ध हुन्छ । चाकासँग मौरीको सम्बन्ध छ । काँससँग खोलाको सम्बन्ध छ । हतियारसँग धारको सम्बन्ध छ । रुखको बोक्रासँग सम्बन्ध छ । सम्बन्धमा दरार आएमा माया, स्नेह, सद्भाव र जीवनको यात्रा बिग्रने ‘सम्बन्ध’ निबन्धले सन्देश दिन्छ ।

‘गर्भमा गर्भको बोध’ निबन्ध एउटा बुढो कुकुरको पीडा व्यक्त गरिएको निबन्ध हो । कुकुरले भोकका कारण हरक्षण मान्छेको मुख ताक्नु पर्नेर र मान्छेको आदेशमा चल्नुपर्ने हुन्छ । मान्छेको सेवा गर्दा गर्दै दुर्भाग्य ढहरिनु वा मालिक मालिक्नीको हातबाट खाना खान नपाउनु दुखद् घटना हो कुकुरको । घरपालुवा जनवारमा प्रेमले छोएर लेखिएको निबन्ध हो ‘गर्भमा गर्भको बोध’ निबन्ध ।

हरेक निबन्धमा विविधता र नयाँपन भेटिन्छ । कोरोना निबन्धले आफ्नै परिवारका सदस्यलाई समेत हेर्न, छुन नहुने बनायो । अनाहकमा मान्छेले मृत्युवरण गर्नुपर्‍यो । आफ्नै अगाडि आफन्तको मृत्यु देख्दा हुने पीडा यस निबन्धमा व्यक्त भएको भेटिन्छ । कोरोनाबाट नै मान्छेले जुम मार्फत मिटिङ, डिजिटल युग एवम् अनलाइनबाट पढाइसमेत सुरु भएको दृष्टान्त निबन्धमा उल्लेख भएको पाइन्छ । कोरोना महामारी पीडा र भय यस निबन्धमा अभिव्यक्त भएको छ ।

देश, राष्ट्र र समाजको निम्ति उच्च कार्य गर्ने व्यक्तिको सालिक निर्माण गरिन्छ र गर्नुपर्दछ । तर यहाँ त जोसुकैको सालिक बनाएर उपहास गरिदैछ । गणतन्त्र आएपछि राज्यको योगदान गर्नेको सालिक ढालेर आफ्नै अनुहारका सालिक बनाउँदैछ भन्ने ब्यङ्ग्य प्रहार गरिएको निबन्ध हो ‘सालिकको बकपत्र’ निबन्ध । ‘जीवनको भोग’ निबन्धले जीवनमा गर्वले बाँच्न सक्नुपर्दछ भन्ने सिकाउँदछ । एउटालाई नोक्सान र अफ्ठ्यारो पुर्‍याउने सोच वा विचार गर्दा त्यसको असर कहाँ र ककसलाई पर्छ भन्ने कुरा सोच्नुपर्ने ‘जीवनको भोग’ निबन्धको सन्देश हो ।
जिन्दगीका घाऊ, पीडा, दर्दका खतहरूले पारेको जीवनको आयामलाई ‘निस्सार भागदौड’ निबन्धले उजागर पारेको छ । तर हरेक निबन्धका पात्रहरू हुन् वा समाजमा महिलालाई भन्दा पुरुष जीवनलाई मात्र मूल्य दिएको सामाजिक जीवनको चित्र यस निबन्धमा भेटिन्छ । मानिस सधैँ उचाइ चाहन्छ । तल परेको सहन र तल झरेको मन पराउँदैन । मान्छेको मनोदसा चित्रित गरिएको निबन्ध हो ‘निस्सार भागदौड’ ।

हो यी र यस्तै निबन्धका विचारले निबन्धकार बोधराज पौडेलको निबन्धसङ्ग्रह ‘धमिराको देवल’ले समसामयिक जीवनका यावत आयामहरूलाई दुरुस्तै उतार्न खोजिएको भेटिन्छ । वर्तमान सामाजिक सञ्जालको समयमा सहरको विषयबस्तुले बढी महत्व पाइरहेको छ । त्यसको कारण हो सहरमा बस्ने मानिस बढी प्रविधिको पहुँचमा छन् र त्यही विषय बढी उजागर गर्दछन् । तर बोधराज पौडेलले ग्रमीण र स्थानीय परिवेशलाई केन्द्रित गर्दै निबन्धहरू रोचक बनाएका छन् । यति सुन्दर निबन्ध कृतिका लागि निबन्धकार बोधराज पौडेललाई र्हािदक बधाई दिदै आगामी दिनमा यस्तै निबन्धहरू पढ्न पाइयोस् भन्ने शुभकामना दिन चाहन्छु ।

कृति : धमिराको देवल (निबन्धसङ्ग्रह)
निबन्धकार : बोधराज पौडेल
प्रकाशक : परिबोध मिडिया प्रा. लि.
प्रकाशन : २०८२
मूल्य : रु. ४५०/–

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।