मलाई यात्रा गर्न खुब मनपर्छ। त्यसैले कुनै अवसर जुर्यो भने त्यसै जान दिन्न। देशका विभिन्न राज्यको भ्रमणसँगै नेपालका पनि पूर्वदेखि सुदूरपश्चिमसम्मका प्रदेशहरूको भ्रमणमा धेरैपटक पुगियो। तर, धेरैजसो साहित्यिक भ्रमण थिए ती सबै। पहिलेबाटै धेरैचोटी पुगेको पूर्वोत्तर भारतको असम राज्य यसपटक पहिलोपटक भारत सरकारको पत्र सूचना कार्यालय (पीआईबी), असमद्वारा आयोजित ‘प्रेस टुर’-मा जाने अवसर थियो। सिक्किम सरकारको खेलकुद विभागबाट 31 जनवरीदेखि 5 फरवरी 2002-मा पञ्जाब गएपछिको यो नै पहिलो सरकारी भ्रमण गरेको थियो मेरो।
पीआईबी गान्तोकको संयोजनमा पीआईबी असमले आयोजन गरिरहेको यो प्रेस टुरमा यसपटक ‘हिमाली बेला’-बाट म स्वयंको साथमा सिक्किम एक्सप्रेसबाट पेमा वाङ्छेन लामा, हाम्रो प्रजाशक्तिबाट ठाकुरप्रसाद सुवेदी र समिट टाइम्सबाट बोबोहोरिम राई थिए। हाम्रो टोलीलाई आकाशवाणी गान्तोकका समाचार सम्पादक तथा पीआईबी गान्तोकको सञ्चालन अधिकारी मैनाक च्याटर्जीले नेतृत्व गरिरहेका थिए।
19 जनवरी 2026ः गान्तोकदेखि गुवाहाटीसम्म
राङ्काबाट तादोङ गैरीगाउँ अघिबाटै तोकिएको समय बिहान 4ः00 बजी पुगिसकेको थिएँ। अन्तिम क्षणमा कुनै समस्या नहोस भनेर त्यसो गरेको थिएँ, नभए समय परिवर्तन गरेर 4ः20 बजी तय गरिएको थियो। पहिल्यैबाट बनाइएको हाम्रो ह्वाट्सएप ग्रुपमा मैनाकज्यूले घरीघरी अपडेट दिइरहेका थिए। गैरीगाउँ पुगेर साथीहरूलाई फोन लगाएँ। वाङ्छेन भने गान्तोकको बिहानीपख हुने चिसोलाई सम्झेर अघिल्लो दिनै सिलगढ़ी पुगिसकेका थिए।
गैरीगाउँबाट बोबोहोरिम र म पेम्बा छिरिङको एसके01टीए1549 स्वीफ्ट डिजायरमा चढ्यौँ, मैनाकजी र ठाकुरजी राजु भाइको डब्ल्यूबी76बी0185 इनोभामा। सेवक रोडको रेलगेट पुगेर ब्रेकफास्ट गर्न ‘चासुम’ पस्यौँ। चासुमले खाना मिठो त दियो, तर समय एक घण्टाजति नै लगाइदियो। त्यसै पनि हामी 9ः00 बजीभन्दा पहिले नै पुगेका थियौँ बागडोगरा अन्तरराष्ट्रिय हवाईअड्डा। बोर्डिङ गरिसक्दा आइपुगे वाङ्छेन। हाम्रो फ्लाइट 11ः20 को थियो। निक्कै गाह्रो भएको थियो सबैलाई समय काट्न।
हाम्रो स्पाइसजेडले ‘लोकप्रिय गोपिनाथ बोर्दोलोइ अन्तरराष्ट्रिय हवाईअड्डा’-मा अवतरण गरेपछि हवाईअड्डाबाट हामी बाहिरिँदा दिनको लगभग 12ः30 बजीसकेको थियो। त्यहाँ हामीलाई लिन एएस01जेसी1878 लिएर पर्खिरहेका थिए मुमिनजी। हामी सिधै पुग्यौँ होटल ‘किरणश्री ग्राण्ड’। पत्रकारहरूका लागि पीआईबीले प्रबन्ध मिलाएको यो होटल साँच्चै आलिशान थियो। थोरै आराम गर्यौँ। नुहाइधुवाइ भयो। फ्रेस भयौँ। खाजा खायौँ।
ब्रह्मपुत्र रिभरसाइड-
भोलिदेखि बिहान 7ः00 बजीदेखि बेलुकी 7-8ः00 बजीसम्म व्यस्त कार्यक्रम थियो। त्यसैले साँझमा घुम्न निस्कियौँ ‘ब्रह्मपुत्र रिभरसाइड’। यति बेलासम्म त्रिपुरा र मेघालयका पत्रकारहरू पनि आइसकेका थिए। तीनै राज्यलाई पीआईबी गान्तोकले नेतृत्व गरिरहेको थियो। लगभग 20 मिनट लाग्यो पुग्न। प्रवेश शुल्क लिइएन, तर लागु तथा मादक पदार्थ मात्रै होइन बाहिरबाट खाद्य सामग्री केही पनि लान नपाइँदो रहेछ। बाहिरबाट त्यस्तो खासै नलाग्ने। भित्र प्रवेश गरिसकेपछि धेरै आनन्दित तुल्याउने स्थान रहेछ। दिनभरिको थकान मेट्न सकिने। रमाइलो गर्न सकिने। बालक-बालिकाहरू ढुक्कले ख्ल्न पाउने। तन्नेरी-तरुणीहरू निर्धक्क घुमफिर गर्नसक्ने। बिजुलीबत्तीको झिलिमिलीले त्यसै-त्यसै रमाइलो। बुढापाकाहरूका लागि पैदल हिँड्न आरामदायी बनाइएको पदमार्ग, धुलो-मैलो नलाग्ने। ठाउँ-ठाउँमा सुन्दर फूलहरूले सजिएको। छेउभित्ताहुँदी हिँड्ने मार्ग। माझमा सङ्गीतमा रुचि हुनेहरूका लागि वाद्यवादनका अनेक साधन राखिएका, जोकोहीले पनि बजाउँदै हिँड़न मिल्ने। कतै बसेर गफिनसक्ने हावाघर, चौतारो। दिशा खुट्याउन गाह्रो थियो, तर तलतिर बगिरहेकी थिइन् ब्रह्मपुत्र नदी। नदीमा तैरिरहेका थिए क्रुजहरू। क्रुजमा कुनै विवाह-पार्टीजस्तै लाग्ने बाजागाजा बजिरहेका। अँध्यारोले नदीको दृश्यावलोकन गरेर रमाउने नसके पनि झलिमिली बत्तीसहितको क्रुजले रमाइलो देखिने। हामीसित अनुमानित 40 मिनटको समय थियो यहाँ घुम्ने। झण्डै आधीघण्टा एकोहोरो हिँड़ेपछि फर्किने सङ्केत गरेका थिए मैनाकजीले, अनि फर्कियौँ।
20 जनवरी 2026- भ्रमणको पहिलो दिनः
पाँचदिने यात्राका तीन दिन विभिन्न स्थान र संस्थानको भ्रमण गर्नु थियो। आज भ्रमणको पहिलो दिन। बिहानको खाजा खाएर 7ः30 बजी यात्रा शुरु गर्नु थियो। झण्डै 9ः00 बजे छ निस्कँदा। होटलदेखि 42 किलोमिटर टाढ़ा पर्दोरहेछ ‘सिल्क भिलेज’ भनेर प्रसिद्ध सुअलकुची, जहाँ रेशमको धागोबाट बनाइने वस्त्रको बुनाइकेन्द्र प्रत्येकजसो घरमा रहेछ। त्यसैले सुअलकुचीलाई असम तथा पूर्वोत्तर क्षेत्रकै ‘रेशमको बुनाइ केन्द्र’ भनेर चिनिँदो रहेछ। सुअलकुचीमा बोरो जनजातिहरू रहेको बताइन्छ। यद्यपि, कुनै एकल जनजातिको मात्र प्रभुत्व नरहेर असमी समुदायहरूसँगै असमी वैश्य समुदाय (प्रायः परम्परागत बुनाइसँग सम्बन्धित) को प्रभुत्व रहेको पाइन्छ। भ्रमणको क्रममा हामी पुगेका थियौँ जुगल भारली परिवारद्वारा स्थापित ‘मार्भेला- एसेन्स एफ नेचर’ रेशम बुनाइ केन्द्र। यहाँ रेशमबाट बनिने मुगा, एरी, तसर र मल्बेरीको कपड़ा उत्पादन र यसको विधि तथा प्रक्रियाबारे मार्भेल्लाका सहसंस्थापकसम्म रहेका जुगल भारालीले विस्तृतमा जानकारी गराएका थिए भने उनका सहयोगिहरूको सहायतमा व्यवहारिक प्रक्रियाबारे प्रदर्शन पनि गराएका थिए। भारलीअनुसार मार्भेल्लाको वार्षित निर्यात 90 लाखसम्म हुँदोरहेछ। शहरको भिड़भाड़देखि विशुद्ध ग्रामिण भेगमा रहेको मार्भेल्लामा रेशमबारे अध्ययनका लागि आउनेहरू पनि त्यतिकै हुँदारहेछन्। यहाँसम्मको यात्रामा नेरामेककी सहायक प्रबन्धक नम्रता दासको सहयोग बिर्सन सकिन्न।
उत्तर पूर्वी क्षेत्रीय कृषि विपणन निगम लिमिटेड (नेरामेक) कार्यालयको निरीक्षण पनि हाम्रो लागि निक्कै महत्त्वपूर्ण बन्यो। पूर्वोत्तर क्षेत्र विकास मन्त्रालय (डोनर), भारत सरकार अधिनस्त नेरामेकको कार्यालय प्रवेश गरिरहँदा कुनै तीनतारे होटल प्रवेश गरिरहेझैँ भान हुने। हामी पुग्दा सभाकक्षमा नेरामेकसँगै डोनरअधिनस्त उत्तर पूर्वी विकास वित्त निगम लिमिटेड (नेडफी) र पूर्वोत्तर हस्तशिल्प एवं हस्तकर्घा विकास निगम लिमिटेड (एनईएचएचडीसीएल)-का अधिकारीहरू हाम्रो प्रतीक्षामा थिए। यहाँ पुगेपछि लाग्यो हाम्रो राज्यमा पनि नेरामेकलाई सक्रिय लगाउन सके यहाँका कृषकवर्गले धेरै फाइदा उठाउन सक्ने थिए। सरकारी नोकरी कै पछि नलागेर कृषि उत्पादनमा पनि राम्रो आयआर्जन गर्न सक्नेरहेछन्।
धेरैलाई लाग्नसक्छ, पत्रकारहरूलाई सबैकुरा थाहा हुन्छ। वास्तवमा त्यस्तो हुँदैन। आफू पत्रकारितामै संलग्न रहेर पनि नेडफीबारे त्यस्तो जानकारी थिएन, जो यहाँ पुगेर थाहा भयो। कोही पनि शिक्षित बेरोजगारले कुनै प्रकारको उद्यम गर्न चाहेको खण्डमा नेडफीमार्फत धेरै फाइदा उठाउन सकिँदो रहेछ। त्यसो त कृषकवर्गका लागि पनि नेडफी निक्कै लाभकारी रहेछ भन्ने बुझियो। नेडफीबाट सिक्किममा 4826 लाभार्थी रहेका र 588.93 करोड़ सब्सिडी प्राप्त रहेको पनि यतिबेला नै अवगत भएको हो। नेडफीले विशेष पूर्वोत्तर राज्यहरूमा कृषिक्षेत्रमा विशेष सहयोग पुर्याइरहेको रहेछ।
हस्तशिल्प एवं हस्तकर्घाबारे सिक्किममा धेरैपटक रिपोर्टिङ नै गरिएको हो। कसरी काम हुन्छ, के-कस्ता सामग्रीहरूको उत्पादन हुनसक्छ भन्नेकुरा हेरिएको पनि हो। गुवाहाटी पुगेर यस विषय पनि थप जानकारी प्राप्त गर्न सकियो। पूर्वोत्तरमा वर्तमानमा पनि हस्तशिल्प तथा हस्तकर्घाको छुट्टै महत्व रहेको बुझियो। एनईएचएचडीसीएलले यसको विकासमा धेरै महत्त्वपूर्ण योगदान दिइरहेको रहेछ।
नेरामेक कार्यालयको सभाकक्षमा नेरामेक, नेडफी र एनएचएचडीसीएलबारे चर्चा-परिचर्चा तथा पावर पोइण्ट प्रस्तुति भइरहँदा नेरामेकका प्रबन्धन निर्देशक भास्कर बरुवा, नेडफीका कार्यकारी निर्देशक लेम्ली लोयी, नेरामेककी सह-प्रबन्धक नम्रता दास तथा अन्य वरिष्ठ अधिकारीवर्गको उपस्थिति रहेको थियो।
त्यसपछि झण्डै 3ः40 मा बिहानदेखि लगभग 90 किलोमिटरको यात्रा तय गर्दै सूचना भवन, पीआईबी, पूर्वाञ्चल कार्यालय पुगेका थियौँ, जहाँ हामीले पीआईबी गुवाहाटीका अतिरिक्क महाप्रबन्धक कृपा शङ्कर यादवसँग अन्तरक्रिया गरेका थियौँ। साथमा पीआईबी गुवाहाटीका संयुक्त निर्देशक पाउनी गुप्त, मिडिया तथा सञ्चार अधिकारीद्वय सुचरिता साहु र स्मिता साइकिया अनि जीत साइकियाको पनि उपस्थिति रहेको थियो। सूचना भवन परिसरमा आकाशवाणी र दूरदर्शनको पूर्वोत्तर क्षेत्रको प्रशासन एवं सञ्चालन अपर महानिर्देशक र अन्य अधिकारीको कार्यालय र वेतन एवं लेखा कार्यालय पनि रहेछ।
21 जनवरी 2025 : भ्रमणको दोस्रो दिनः
सुचरिता साहु, मैनाक च्याटर्जी र जीत सैकियाको अगुवाइमा बिहान 11.30 मा हाम्रो टोली मायोङ मोरीगाउँमा रहेको पोबितोरा वन्यजीव अभयारण्य पुगेको थियो। सन् 1987 मा स्थापित यस अभयारण्यसम्म पुग्नलाई बोरझारस्थित नयाँ हवाइअड्डादेखि लगभग 70 किलोमिटरको यात्रा गय गर्नु परेको थियो। हामी पुग्ने सूचना पहिलेबाटै दिइएको हुनाले कार्यालयमा वन अधिकारीहरू अघिबाटै उपस्थित थिए। वन अधिकारीले आवश्यक सामान्य जानकारी दिइसकेपछि टिकट लिएर दुईवटा जिपमा हामी जङ्गलतिर लाग्यौँ। पुरानो जिप्सीलाई जङ्गल सफारीयोग्य बनाइएको रहेछ। दुवै जिपमा एक-एकजना विभागीय अधिकारी सुरक्षाका लागि हतियारसँगै थिए। पोबितोरा वन्यजीव अभयारण्य 38.81 वर्गकिलोमिटर क्षेत्रफल फैलिएको रहेछ। तीमध्ये 16 वर्गकिलोमिटरमा बस्दारहेछनेे एकसिङ्गे गैँड़ा, जसको सङ्ख्या 22 मार्च 2022 को गणनाअनुसार 107 गै़ँडा रहेछ। एकसिङ्गे गैँड़ाको यो सङ्ख्या असमकै सर्वाधिक सङ्ख्या पनि रहेछ। यसबाहेक पानीभैँसी, हात्तीलगायतका वन्य पशुहरूसँगै बाज तथा अन्य पक्षीहरू रहेका छन्। एकसिङ्गे गैँड़ाको लागि प्रसिद्ध यो अभायरण्यमा सन् 2026-मा मात्रै 21 जनवरीसम्मको रेकर्डअनुसार 19,483 पर्यटक आइसकेका रहेछन्। तीमध्ये 224 विदेशी पर्यटक रहेको बताइएको छ। बेलाबखत एकसिङ्गे गैँड़ाको सिङ तस्करी हुने अनि यसमा स्थानीयहरूले साथ दिने कुराले भने नरमाइलो लाग्यो। अचम्मको कुरा के भने जसले तस्करी गर्छ उसको आफ्नो न त परिवार छ न बस्ने घर नै छ। केवल पैसाको लागि तस्कर गर्ने कुराले निक्कै अचम्भित पारेको थियो। अँ, यहाँको जङ्गल सफारी गरिरहँदा त्रिपुराकी पत्रकार सालोमीले जानकारी गराइरहेकी थिइन्, “यहाँ कुनै समय ‘काला जादु’ खुब हुन्थ्यो। त्ययैको लागि यो स्थान प्रसिद्ध थियो।”
दिउँसो 2 बजीतिर हामी पुगेका थियौँ पाण्डु बन्दरगाह (पोर्ट पाण्डु), जहाँ ब्रह्मपुत्र नदीको किनारमा भारतीय अन्तर्देशीय जलमार्ग प्राधीकरण (भाअजपा अर्थात आईडब्ल्यूएआई), गुवहटीको कार्यालय अवस्थित रहेछ। पोत परिवहन एवं जलमार्ग मन्त्रालय, भारत सरकार अधिनस्त आईडब्ल्यूएआईको स्थापना 1986 मा भएको रहेछ। अन्तर्देशीय जलमार्गको विकास साथै इन्धन तथा पर्यावरण-अनुकूल परिवहनको विकास यसको मुख्य उद्देश्य हो, जसकोमुख्यालय नोयडामा रहेको छ। निर्देशक प्रवीण बोराले आईडब्ल्यूएआईको वर्तमान गतिविधि, उपलब्धि तथा सम्भावनाहरूबारे पावर पोइन्ट प्रस्तुतिमार्फत विस्तृत जानकारी गराए। टोलीले ब्रह्मपुत्रमा क्रुज सवारको पनि आनन्द लिएको थियो। क्रुज सवारको समय क्रुजले कसरी आफ्नो यात्रा तय गर्छ, कसरी सञ्चालन (ओपरेट) गरिन्छ आदिको पनि अधिकारीवर्गले व्यवहारिक जानकारी प्रदान गरेका थिए, जो हाम्रो लागि निक्कै अविस्मरणीय बनेको छ।
‘लोकप्रिय गोपीनाथ बोर्दोलोइ अन्तरराष्ट्रिय हवाइअड्डा’ (एलजीबीआईए)- लगभग निर्माण कार्य पूरा भइसकेको यो हवाइअड्डाले असमलगायत पूर्वोत्तर राज्यहरूका लागि निक्कै लाभ पुर्याउने रहेछ। उसो त यही नाममा अघिबाटै पुरानो हवाइअड्डा सञ्चालनमा छ। यद्यपि, नयाँ हवाइअड्डाले थप सेवा पुर्याउने छ। 21 जनवरीको साँझमा पुगेका थियौँ हामी। आधिकारिक पुष्टि हुन नसकेपनि गएवर्ष नै प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा उद्घाटित यस हवाइअड्डाको घरेलु उड़ान यही फरवरी अथवा मार्च महिनादेखि सञ्चालनमा आउने रहेछ। विदेशी उड़ानको लागि 6 महिना थप समय लाग्नसक्ने रहेछ।
एक करोड़को मरम्मति कोषसहित जम्मा 6 करोड़को लागतमा अम्बानी ग्रुप अफ कन्स्ट्रक्सनद्वारा निर्माण कार्य भइरहेको यस हवाइअड्डालाई असमको लोकसंस्कृतिसँग धेरै नजिक राखिने प्रयास गरिएको रहेछ। यहाँ अरुणाचल र नागाल्याण्डमा मात्रै पाइने एक प्रजातिको बाँस प्रयोग गरेर विजुलीबत्तीको समिश्रणसहित खुसै सुन्दर ढङ्गमा सजाइएको छ। ब्रह्मपुत्रको छाल एवं तरङ्ग, काजीरङ्गा राष्ट्रिय उद्यानको प्रतीकात्मक स्वरूपले जो-कोहीलाई निक्कै आकर्शित गराउँछ। यसका साथै पूरा हवाइअड्डा तथा हवाइजहाज नियन्त्रणका लागि विश्वकै वर्तमान अत्याधुनिक तक्निकीको प्रयोग गरिएको बताइएको छ।
22 जनवरी 2026ः भ्रमणको तेस्रो दिनः
2017-मा पूर्वोत्तर क्षेत्रमा चिकित्सा शिक्षा साथै स्वास्थ्य सेवाको बढ़ोत्तरीको उद्देश्य राखेर शुरु गरिएको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एआईआईएमएस अर्थात एम्स) पूर्वोत्तर भारतको लागि अर्को उपलब्धी मान्न सकिन्छ। विशेष स्वास्थ्य चिकित्सा तथा अध्ययन गर्न चाहनेहरूका लागि केन्द्र सरकारको यो पहल सराहनीय छ, जहाँ असम सरकारसितको सहकार्य रहेको छ। एआईआईएमएस, गुवाहाटीका कार्यकारी निर्देशक प्रो (डा.) अशोक पुरानिकका साथै विभिन्न विभाग प्रमुखादिको उपस्थितिमा एआईआईएमएस स्थापनादेखि अहिलेसम्मा प्राप्त सफलता, चुनौति र समस्याहरूसितै विभिन्न विषयमाथि चर्चा गरिएको थियो। यहाँ कतिपय पूर्वाधार विकास तथा जड़ानका कामहरू भइसकेका छन् भने चिकित्सा क्षेत्र चञ्चालनमा रहेको छ। यसका साथै नर्सिङ त एमबीबीएस अध्ययन पनि चलिरहेको छ। 750 पलङयुक्त यस अस्पतालमा देशका अन्य ठूला अस्पतालहरूको तुलनामा कम खर्चमा यहाँ उपचार गराउन सकिन्छ। यसका साथै केन्द्र सरकारको आयुश्मान भारत योजना र राष्ट्रिय बाल स्वास्थ्य कार्यक्रमको सञ्चालनमा छ, जसले मानिसहरूलाई निशुल्क उपचार दिइरहेको छ। यसरी नै ‘जन औषधि केन्द्र’पनि सञ्चालनमा छ।
सन् 2022 देखि टेलीमेडिशनसम्मको सुविधा उपलब्ध गराइरहेको एआईआईएमएस गुवाहाटीमा क्यान्सर, किड्नी, मुटुका रोगीहरूसम्मले यहाँबाट चिकित्सा सुविधा प्राप्त गर्न सक्ने भए पनि सरकार तथा प्रशासनपक्षले कतिपय विशेषज्ञहरूको आपूर्तिमा केन्द्रित रहनुपर्ने देखिएको छ।
राष्ट्रिय न्यायालयिक विज्ञान विश्वविद्यालय (एनएफएसयू)- पूर्वोत्तर राज्यको शैक्षिक विकासका लागि यसलाई निक्कै महत्वपूर्ण उपलब्धी मान्नसकिने रहेछ। पीआईबी गुवाहाटीका अतिरिक्त महानिर्देशक कृपा शङ्कर यादव र मिडिया एण्ड कम्युनिकेशन अफिसर स्मिता साइकियाको साथमा हाम्रो टोलीले एनएफएसयूको अध्ययान भ्रमण गरिसकेपछि हामीले यस्तै अनुभव गर्यौँ। गुवाहाटीमा भ्रमण गरेका अन्य स्थान अथवा संस्थानहरूको तुलनामा एनएफएसयू निक्कै उचाइँमा रहेछ, जसको छेवैमा निस्क्रिय अवस्थामा ठिङ्ग उभिएको छ दूरदर्शनको टावर। त्यो टावरले यता गान्तोकमा यतिबेला भत्काइँदै गरेको टावरको सम्झना गरायो।
भारत सरकारद्वारा 25 मई 2023 देखि शुरु गरिएको यस संस्थानले पूर्वोत्तरमा फरेन्सिक विज्ञान शिक्षा तथा प्रशिक्षणलाई विकसित गराउनुमा निक्कै महत्वपूर्ण योगदान पुर्याइरहेको रहेछ। यतिबेला यहाँ 125 जना विद्यार्थी अध्ययनरत रहेको एनएफएसयू गुवाहाटीका क्याम्पस निर्देशक प्रो. (डा.) प्रशान्जित मयतीले जानकारी गराएका थिए।
एनएफएसयूले पूर्वोत्तरमा विभिन्न हत्या, हिंसा तथा ब्याङ्क डकैत लगायतका विभिन्न आपराधिक घटनाहरूमा पुलिस तथा सम्बन्धित निकायलाई सहयोग पुर्याउँदै आइरहेको छ। यद्यपि, एनएफएससीसँग सीमित परिसरको रहेको हुनाले धेरै समस्या झेलिरहेको पनि जान्न पाइयो।
23 जनवरी 2026ः गुवाहाटीदेखि गान्तोक-
कतिपय कारणवश 21 जनवरीको बेलुकी होटल फेर्नु परेको थियो। नजिकैको ‘असम प्यालेस’ बसाइँ सरेका हामी 22 जनवरीमा पुनः किरणश्री ग्राण्ड’ पुगेका थियौँ। यात्राको अन्तिम दिन 23 जनवरीको बिहान 9 बजीको फ्लाइट थियो बागडोग्राको लागि। होटलबाटै ब्रेकफास्ट प्याकिङ लिएर 7 बजी निस्कियौँ। हवाइअड्डा पुगेर बोर्डिङ पास लिइसकेपछि मात्रै हामीलाई खबर दिइयो, हाम्रो फ्लाइट अढ़ाइघण्टा ढिलो रहेछ। ‘आकाश एयर’सितको पहिलो अनुभव तीक्त बन्यो। तर, पर्खिनुको विकल्प कहाँ थियो र हामीसित। पर्खियौँ।
दिनको 12ः45 बजी बागडोग्रा हवाइअड्डाबाट बाहिरसक्दा हाम्रो वाहन अघिबाटै आइसकेको थियो। पीआईबीद्वारा आयोजत पाँच दिवसयी गुवाहाटी यात्राको मिठो सम्झना बोकेर म ठ्याक्क आठबजी राङ्का आइपुगेको थिएँ।