पृष्ठभूमि:
नेपालबाट नेपालीहरुको पलायनको इतिहासको थालनी नेपालबाट नेपालीहरुको पलायनको इतिहासको थालनी सिद्धार्थ शाक्यमुनि (गौतम बुद्ध) बाट शुरु भएको भन्दा अतिशयोक्ती नहोला . गौतम बुद्धले जीवनको वास्तविक सत्य र दर्शन थाहा पाउन करिब २९ वर्षको उमेरमा (ईसा पूर्व करिब ५६३–५३४) राजदरबार छोडेर गएका थिए । भारतको अस्तित्व नहुँदा पनि नेपाल राष्ट्र थियो । त्यसैले नेपाललाई दक्षिण एशियाकै सबैभन्दा पुरानो देश मानिन्छ । नेपाल एउटा सिङ्गो राष्ट्र रहदा यसको सीमा पूर्वमा टिस्टादेखि पश्चिममा महाकालीसम्म फैलिएको इतिहासले देखाउँछ । बेलायतको आगमनअघि भारतवर्षलाई विभिन्न सयममा विभिन्न ग्रन्थ र सभ्यताका आधारमा विभिन्न नामले चिनिन्थ्यो । त्यसबेला गोर्खा साम्राज्य टिस्टा (हालको सिक्किम र बङ्गाल क्षेत्र) देखि सतलज सम्म (हालको हिमाचल प्रदेश क्षेत्र) सम्म फैलिएको थियो । सन् १६०८ मा बेलायतको ईस्ट ईण्डिया कम्पनी विलियम हँकिन्सको नेतृत्वमा हेक्टर नामको पानी जहाजबाट भारतको गुजरात राज्यको सुरत शहरमा छिरेर व्यापारको नाममा तत्कालिन भारतवर्षका विभिन्न राजारजौंटा रहेका राष्ट्रमा आफ्नो व्यापार विस्तार गर्दै जान्छन् । ईस्ट ईण्डिया कम्पनीले व्यापार विस्तारको नाममा आफ्नो अधिपत्य भारतवर्षभरी फैलाउन त्यहाँ रहेका राज्यमा आक्रमण गरेर आफ्नो अधिनमा पार्दै गई रहेको थियो । त्यसबेला पञ्जाब र मराठा जस्तै नेपाल साम्राज्य पनि धेरै बलियो राष्ट्रका रुपमा रहेको थियो । नेपाल साम्राज्यमाथि कम्पनीले बेलायती सेना बोलाएर १८१४ देखि नै युद्ध शुरु गरेको थियो । अक्टोबर १८१४ मा भएको नेपालसँगको युद्धमा ब्रिटिश कमांडर जनरल रॉबर्ट रोलो गिलेस्पीलाई काजी अमरसिंह थापाको नेतृत्वमा गएको गोर्खा सैनिकले नालापानी युद्धमा मारेपछि बेलायती सेनाले गोर्खा सैनिकको युद्ध कौशलता देखेर अन्त्यमा १८१६ मा सुगौली सन्धी गरेर युद्धको अन्त्य गरेको थियो । यस युद्धमा नेपालको हार नभएर बेलायतसँग सम्झौता भएको थियो । सुगौली सन्धिपछि नेपाल साम्राज्यको सीमा पूर्वमा मेचिदेखि पश्चिममा महाकालीसम्म सीमीत रहन गयो । सतलजदेखि महाकालीसम्म पश्चिमी क्षेत्र कुमाऊँ, गढवाल र देहरादुन, अनि टिस्टा नदीको पुर्वमा रहेको दार्जिलिङ्ग र सिक्किमको ठूलो र केही तराई क्षेत्रका भाग बेलायतको ईस्ट ईण्डिया कम्पनीको अधिनमा गयो । खलङ्गा (नालापनी) मा भएको युद्धमा गोर्खा सैनिकको बहादुरी र सैन्य क्षमता देखेर बेलायती ईस्ट ईण्डिया कम्पनीले सुगौली सन्धीपछि गोर्खा रेजिमेन्टको स्थापना गरेर नेपाली गोर्खा युवकलाई भर्ती गर्न शुरु गर्यो । यसरी १८५७ सम्ममा ईस्ट ईण्डिया कम्पनीलाई अगाडि राखेर बेलायती शासकले विस्तारै भारतभरी अधिपत्य जमाएपछि १९५७ मा कम्पनीलाई हटाएर १८५७ देखि १९४७ सम्म बेलायती राज चलाएको थियो । सुगौली सन्धिपछि पश्चिमी क्षेत्र कुमाऊँ, गढवाल र देहरादुनमा रहन बाध्य भएका नेपालीहरुले आफ्नो र नेपाली भाष–सँस्कृतिलाई आजको मितिसम्म जोगाएर राखेका छन् (भारतका रिटायर्ड कर्नेल तथा इतिहासविद् भूपेन्द्र सिंह क्षेत्रीले दिएको पोडकाष्ट) । यसरी सुगौंली सन्धीपछि नेपालीहरुको विचरण शुरु भएको अनुमान गर्न सकिन्छ ।
पलायनको थालनी र विस्तार
आज हामी नेपाली विश्वको हरेक देश, शहर, गाँउबाट लिएर कुनाकाप्चासम्म पुग्न सफल भएका छौं । प्राचीनकालमा नेपालका राजा र राजखलकहरुको विवाह हिन्दुस्तान, भुटान, तिब्बत, सिक्किममा हुने गरेको र विवाहसंग दाईजोमा जाने गरेको प्रजाको बथान किरात, मल्ल, शाह र राणाकालदेखि नै चल्दै आएको छ । नेपालको कारीगरी देखेर छिमेकी राष्ट्रले नेपाली कारीगर बोलाउने परम्परा प्राचीन समयदेखि नै रहँदै आएको छ । सन् १२६० मा अरनिको ८० जना कारिगर लिएर चिन पसेका थिए र त्यहीँ भासिए । तिब्बती लामा शामद्रुङ नगवङ नामग्यालले सन् १६२० मा आफ्नो बुवाको चाँदीको स्तुपा बनाउन नेपालका नेवारी कारीगरलाई भूटान बोलाएका थिए । यसरी भूटानमा नेपालीको आगमनको इतिहास शुरु भएको देखिन्छ । सन् १८१६ को सुगौली सन्धीपछि अंग्रेजले गोर्खा पल्टनको परम्परा शुरु गराएपछि यो परम्परा अहिलेसम्म पनि यथावत रुपमा चल्दै आएको छ । भारतको पंजाबका राजा रणजित सिंहले १८०१ मा सिख साम्राज्य स्थापना गरेपछि गोर्खा सैनिकको वीरताबाट प्रभावित भई गोर्खा सैनिकहरूलाई आफ्नो फौजमा भर्ती गरेको इतिहास छ। (लुडविग एफ स्टिलर - द राइज अफ द हाउस अफ गोर्खाु १९७३) । सन् १८३५ मा अंग्रेजले दार्जिलिङ्ग प्रान्तलाई सिक्किमसंग उपहारको रुपमा जबरजस्ती लिएपछि त्यहाँ सयजनाको मात्र जनसंख्या थियो (नेपालबाहिर नेपाली साहित्य र संस्कृति, दिल्लीराज शर्मा ) । अनि त्यहाँ विकास गराउन नेपालबाट नेपाली पल्टनसँगै उनका परिवार आएर काम गर्न थालेपछि त्यहीँका वासिन्दा बनेर बस्दै आएका छन् । सन् १८५३ मा इस्ट इन्डिया कम्पनीले नेपालबाट मानिसहरूलाई आसामको चिया बगानमा, खेती र दुग्ध उत्पादमा र डिग्बोईमा तेलको काममा लगाउन लान थालेपछि नेपालीहरु आसाममा फैलिदै जान थाले । १८१७ मा आठौं गोर्खा राईफल्सका ४ बटालियनका क्याप्टेन कालु थापाको नेतृत्वमा बर्माबाट चेरापुञ्जी हुँदै खासी पहाडबाट शिलाङ पुग्दा बेलायती अधिकृतले त्यो ठाउँ कस्तो छ र तपाईंले त्यहाँ के देख्नु भयो भनेर सोध्दा उनले त्यहाँ मुसा पनि नरहेको भनि जवाफ दिएका थिए। आठौं गोर्खा राईफल्सका सुबेदार जयचन ठाकुर १८२४ मा शिलाङ्गमा आएर बस्ती बसाल्ने काम शुरु गरे भने मणिपुरमा गोर्खाहरूको प्रवेश र तिनीहरूको बसोबास सन् १८१९ देखि भएको देखिन्छ (हिस्ट्री अफ द ८ गोर्खा राइफल्स – १८२४) १९४९, लेखक: हक्सफोर्ड, एच. जे., १९५२) । विगत १३९ वर्षदेखि फिजीमा नेपालीहरु बस्दै आएका छन् । फिजीको नेपाली समुदाय बेलायती औपनिवेशिक शासकहरूले ल्याएका करार श्रमिकहरूका सन्तान हुन्। अठारौं शताब्दीमा बेलायती साम्राज्यको जगजगी बढीरहेको बेला मजदुरी कामका लागि दक्षिण एशियाबाट श्रमिकहरु ल्याउने क्रममा नेपालीहरु पनि आएका थिए । फिजीमा उजुको खेतीका लागि लगिने श्रमिकहरुलाई गिर्मिट भनिन्थ्यो र आज पनि गिर्मिटीया भनेर चिनिन्छन् । त्यसबेला नेपाल सरकारले आफ्ना नागरिकहरूलाई करार श्रमिकका रूपमा भर्ती गर्ने बेलायती प्रयासको विरोध गरेको थियो। नेपालमा गाईवस्तु चराइरहेका युवाहरूलाई फिजीमा काम गरेर धेरै पैसा कमाउन सकिने प्रलोभन देखाएर भारतीय श्रमिकहरुसँगै नेपालीहरूलाई फिजी ल्याइयो। यी नेपालीहरु सन् १८७९ देखि १९२० सम्मको अवधिमा ल्याइएको मानिन्छ । धेरै नेपालीहरू यसरी गोप्य रूपमा भर्ती गरिएको हुनाले कतिपयले आफ्नो पहिचान लुकाउन नामसमेत परिवर्तन गरेको मानिन्छ। त्यसबेला बेलायती भर्तीकर्ताहरूले प्रायः अविवाहित पुरुषलाई प्राथमिकता दिए तापनि, केही विवाहित दम्पतीहरू पनि भर्ती गरिएका प्रमाण भेटिन्छन् । नेपालीहरू सुरुमा फिजीको राजधानी सुवामा बसोबास गरे, त्यसपछि टापुभरि सर्दै नवुआ जस्ता ठूला सहरहरूमा पुगे र अन्ततः कावानागासाउमा बसोबास गर्दै आएका छन् । यहाँ अहिले टापुहरूकै सबैभन्दा ठूलो नेपाली समुदाय बसोबास गर्छ। त्यहाँ अधिकांशले आफ्ना बाउबाजेको पाइला पछ्याउँदै किसानका रूपमा जीवनयापन गर्छन्। यहाँ आएका नेपालीमूलका व्यक्तिहरूले फिजीको सेवामा उल्लेखनीय योगदान दिएका छन्। फिजी सेना, फिजी प्रहरी बल, कृषि, इन्जिनियरिङ, खुद्रा व्यापार, निर्माण, सूचना प्रविधि, इलेक्ट्रोनिक्स, चिकित्सा तथा कानुनी क्षेत्रलगायत राष्ट्र निर्माणका विभिन्न क्षेत्रमा उनीहरूको योगदान रहेको छ। फिजीमा नेपालका मानिसहरूलाई सामान्यतया नेपाली नभनेर गोर्खा भनेर चिनिन्छन् । (फिजी टाईम्स् अप्रेल २३, २०१७ ः इतिहासको अर्को संस्करण फिजी नेपालीहरूको योगदानलाई श्रद्धांजलि)
अमेरिकामा प्रवेश गर्ने पहिलो नेपालीका रूपमा सन् १९०५ – १९०८ तिर भीमप्रसाद अधिकारी क्यालिफोर्निया क्षेत्रमा आएको अमेरिकी ईमिग्रेसन रेकार्डले देखाउँछ । त्यसपछि सन् १९२० तिर जापानबाट पद्मसुन्दर मल्ल इलेक्ट्रिकल इन्जिनियरिङ्गको उच्च अध्ययनका लागि अमेरिका आएका थिए । अध्ययनपछि उनले सन् १९२२ मा रिजर्भ अफिसर्स ट्रेनिङ कोर्पमा आवद्ध भएर काम गर्न थालेका थिए । उनी जापानबाट भारतको बाटो हुँदै ईलेक्ट्रिकल इन्जिनियरिङ्गको उच्च अध्ययनका लागि अमेरिका आएका थिए । त्यसपछि राजा जयपृथ्वी बहादुर सिंह सन् १९५० ताका अमेरिका पुगेका थिए । त्यसपछिका दिनहरूमा पनि उच्च अध्ययनको सिलसिलामा नेपालीहरू अमेरिका पुगेको तथ्य पाइन्छ । अमेरिका नेपालको दौत्यसम्वन्ध सन् १९४७ मा भएपछि आगमनको क्रम बढ्दै गएको थियो ।
क्यानडामा नेपालीहरुको आगमन ब्रिटिश गोर्खा सेनामा सेवा गरेका नेपाली सैनिकहरू , विशेष गरी रिटायर्ड भएका भारत, सिङ्गापुर वा हङकङबाट प्रायः १९५०–१९६० को दशकतिर क्यानडा आएको मानिन्छ । । रिटायर्ड गोर्खा सैनिक परिवारहरू (ब्रिटिश–इन्डियन र गोर्खा आर्मी) यहाँ आएको मानिन्छ । मैले पाएको जानकारी अनुसार सन् १९५६ मा दार्जिलिङ्गबाट आउनु भएका लादन दम्पत्तीलाई नै क्यानाडा आउने पहिलो नेपालीका रूपमा लिन सक्छौं । हुन त वहाँहरू भारतको दार्जिलिङ्ग राज्यबाट आए तापनि नेपाली समुदायको आगमनको थालनी वहाँहरूबाट भएकोमा नकार्न सकिदैन । त्यसपछि नोभेम्बर १९६१मा नेपालबाट क्यानाडा आगमन गर्ने राजजीत सिंह कट्टोज दम्पत्ती आउनु भएको देखिन्छ । वहाँले पनि आफुहरू (दम्पत्ती) क्यानाडा (टोरोन्टो) आउँदा यहाँ दार्जिलिङ्गबाट आउनु भएका नेपाली रहेको स्मरण सुनाउनु हुन्थ्यो । त्यस्तै नेपालबाट आउने पहिलो नेपालीका रूपमा आफुलाई परिचित गराउँदै श्रीमती सुरा हल (जङ्ग थापा) त्यसबेला अर्थात सन् १९६२ मा आफु आउँदा टोरोन्टोमा नेपालीहरू नरहेको बताउनु हुन्छ । त्यसपछि सन् १९६३ मा डा. सुर्यबहादुर बस्नेत क्यानाडा आउनु भएको देखिन्छ । चिकित्सकका रूपमा क्यानाडाको पश्चिमी क्षेत्र सास्काचुनको एउटा गाँउमा आएर मानवीय सेवा प्रदान गर्दै अवकासपछि वहाँ ब्रिटिस कोलम्बियाको भिक्टोरिया टापुमा आप्mनो अवकास जीवन बिताइरहनु भएको छ । अनि सत्तरीको दशकको आगमनसँगै उच्चशिक्षा हासिल गर्न विद्यार्थीका रूपमा नेपालीहरूको आगमन हुन थालेको देखिन्छ ।
बेलायतमा नेपालीहरुको आगमन इतिहासमा पनि बृटिश गोर्खा सेनामा सेवा गरेका नेपाली सैनिकहरू रिटायर्ड भएपछि भारत, सिङ्गापुर र हङकङमा विशेष गरेर सुरक्षा सेवामा कार्यरत भएर बसोबास गर्न थालेको बारे थाहा पाइन्छ । सन् १८१५ को सुगौली सन्धिपछि गोर्खा बृटिश सेनाको स्थापनापछि नेपालीहरुको बेलायत भ्रमण शुरु भएको देखिन्छ । सन् १८५० मा जङ्गबहादुर राणाको बेलायत यात्राको क्रममा लण्डनमा मोतीलाल सिंह भेटिएको र उनले नै द्ववेभाषी भएर सहयोग गरेको बारे मोतीलालको एउटा लेखमा पाइन्छ ( Some Account of the Nepaulese in London, Mutty Loll Sing, The New Monthly Magazine and Humorist July 1850) उक्त लेख १८ पृष्ठ लामो थियो र मोतीलालले आफ्नै अनुभव, लन्डनको जीवन, र सन् १८५० मा जङ्गबहादुर राणासँगको भेटबारे बिस्तृत रुपमा वर्णन गरेका थिए। लेखमा उनले आफ्नो नाम Mutty Loll Sing भनेर लेखेका थिए, जुन मोतीलाल सिंहको अंग्रेजी रूप हो। मोतीलाल सिंह नेपाल (भक्तपुर) मा जन्मिएका थिए र अंग्रेज नेपाली युद्ध (१८१४-१८१६) मा लडाइँमा भाग लिएका थिए । युद्धमा घाइते भएपछि १९ वर्षको उमेरमा अंग्रेजहरूले उनलाई ब्रिटिश सेनामा भर्ती गरे, जसले उनलाई अंग्रेजी भाषा सिक्न मद्दत गर्यो। पछि उनी भारत (कोलकाता) मा विवाह गरेर बसोबास गर्न थाले । तर एक अंग्रेज क्याप्टेनको प्रेरणाले बेलायत जाने निर्णय गरे। (कृष्ण अधिकारी– द फस्ट नेपाली ईन ईङ्गल्याण्ड : मोतीलाल सिंह एण्ड जङ्ग बहादुर राणा) । त्यसपछि बृटिश गोर्खा सेनामा सेवा गरेका नेपाली सैनिकहरू बेलायतसम्म पुगेका थिए । कालान्तरमा अवकास भएपछि बेलायतमा नै बसोबास गर्न थाले । त्यस्तै अन्यत्र कार्यरत बृटिश गोर्खा सैनिकहरु पनि अवकासपछि बेलायत जान थाले । सन् १९९७ को हङ्ककङ्ग चिनको अङ्ग बनेपछि हङ्ककङ्ग बृटिश क्याम्पमा कार्यरत गोर्खा बृटिश सेनाका परिवार बेलायत जान थालेको देखिन्छ ।
रुसमा पहिलोपटक पुग्ने नेपालीमा जयपृथ्वीबहादुर सिंहको नाम आउँछ । उनले सन् १९०८ मा रुसको यात्रा गरेका थिए । त्यसपछि सन् १९५७ देखि रुसमा अध्ययनार्थ विद्यार्थीहरु जान थालेपछि रुसलाईनै कार्यक्षेत्र बनाएर बस्नेहरुको संख्या बढ्दै जान थाल्यो । गैरआवासीय नेपाली सँघको बिजारोपण पनि रुसबाट भएको थियो । अनि अन्य मुलुकका आप्रवासीहरुसँगको परामर्शपछि २००३ मा बेलायतमा भएको पहिलो बैठकले एनआरएनए स्थापना भएको थियो ।
अन्य मुलुकमा नेपालीहरुको आगमनको इतिहास खोज्दा त्यहाँ धेरै वर्षदेखि बस्दै आएका नेपालीहरुबाट पाएको जानकारी अनुसार अफ्रिकामा सन् १९८० देखि, अस्ट्रेलियामा सन् १९७० देखि, पश्चिम एसिया, युरोप र उत्तर अफ्रिकामा पर्ने १७ वटा देशहरु समेटेको मध्यपूर्वमा सन् १९९० देखि, इजराईलमा २००३ देखि र जापानमा १९५७ देखि यी मुलुकहरुमा बस्दै आएका छन् । (स्मारिका–२०१९, एनआरएनए प्रथम अन्तर्राट्रिय नेपाली भाष–साहित्य सम्मेलन, २०१९) । यस बारे अझ राम्ररी अध्ययन अनुसन्धान गरेर प्रत्येक मुलुकमा नेपालीहरुको आगमनको इतिहास र त्यहाँको जन्संख्याका बारेमा दस्तावेज बनाएर राख्दै गयौं भने भोलीका दिनहरुमा नेपालीका बारेमा अध्ययन गर्नेहरुका लागि स्रोतको माध्यम बन्ने थियो । यस कार्यमा गैरआवासीय नेपाली संघ भनेर चिनिएको संस्थाले व्यापार बढाउन र पदका लागिमात्र हानाथाप गर्न छोडेर लाग्नु पर्ने जरुरी देखिन्छ ।
टोरन्टो