अमृत रुपी वाणीहरु बर्षाउन
कठिन ओठका मुखाबृन्दबाट
कठिन परिस्थिति जुध्न नपाउँदै
बादल झैं रुप फेर्दै जाने तिमी
महान यौद्धा भै जन्मिएका पुरुष ।
रसाउन नसकेका ती आँखाका
ज्योतिमा हराउन मन लाग्छ
मैन झैं नपग्लने हृदयभित्रभित्र
चेतनाको कलात्मक ढोखा रोज्न
अपार स्नेह सल्बलाउने हृदयमा
प्रेमका तरङ्गहरु बग्दै गरेको पाऊ
मुटुका धमनीमा ममत्वको छाया
हो तिनै तिम्रा बलिष्ठ छातीभित्र
विशाल पहाड तेर्साए अटल प्रेम खोज्न ।
साँचै कति शीतल छहारी दिईरहेछ
हेरिरहँदा ती आँखामा देखियो मेरै तस्वीर
ती गुन्गुनाउने गीतमा छल्कियो मेरै प्रित
अझैं विश्वासले भर्दै झल्कियो मेरै सङ्गित ।
खै के पढेयौं यी आँखामा अचेल
नारीत्वको कोमल मनमस्तिष्क
सुन्दर अनुहारमा रसाएका नयन
अटल आवेगहरुमा देख्ने अमिट स्वाद
शक्ति भक्ति अनि रतिरागका स्पर्श ।
म कलकल बगेको कञ्चन पानी हुँ
झरना बन्दै हिमालका फेदीबाट झर्दैछु
भू रेखाका हजार सिमा पार गर्दै
क्षितिजका किनारा समाउँदै बगिरहेछु
अनन्त महासागरलाई भेट्न चाहमा
समुद्रका गर्भमा मोति भई बास लिन ।