19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कवयित्री पवित्रा लामासँग साहित्यिक कुराकानी

वार्ता बैद्यनाथ उपाध्याय February 14, 2026, 12:28 am
बैद्यनाथ उपाध्याय
बैद्यनाथ उपाध्याय

पवित्रा लामा भारतीय नेपाली साहित्यकी एक विशिष्ट र प्रयोगशील कवयित्री हुन्। पिता ललित लामा र माता श्रीमती लघु लामाकी सुपुत्री पवित्राले एम.ए. तथा बी.एड. सम्मको अध्ययन सम्पन्न गरेकी छन्। पेशाले उनी पश्चिम बङ्गाल सरकार अन्तर्गत म्याजिस्ट्रेट (उच्च अधिकारी) का रूपमा कार्यरत छिन्। प्रशासनिक व्यस्तताका बाबजुद पनि साहित्यप्रतिको उनको गहिरो समर्पण र मोहले उनलाई सृजनात्मक यात्रामा निरन्तर सक्रिय राखेको छ। उनका प्रकाशित कृतिहरूमध्ये “सभ्यताका पेण्डुलमहरु” (२०१६) र “म देह रातो रङ्गिन्छु” कविता सङ्ग्रहका रूपमा चर्चित छन्। यस बाहेक “काली केटी” र “म देह रातो रङ्गिन्छु” (काव्य एल्बम) तथा “महुवा” (उपन्यास, २०२२) ले उनको सृजनात्मक विस्तारलाई थप पुष्टि गरेका छन्। पवित्रा लामाका कविताहरू नवीन शैली, बिम्बात्मकता र भाव-सूक्ष्मताले भरिपूर्ण छन्। उनका कविताहरू गीतझैँ सलल बग्ने, दृश्यात्मकता र संवेदनाको गहिराइले ओतप्रोत देखिन्छन्। यसैले उनका सिर्जनाहरूलाई साना चलचित्रका रूपमा रूपान्तरण गर्न सकिने सामर्थ्य राख्छन्—र उनले स्वयं पनि यस्तो प्रयोग सफलतापूर्वक गरिसकेकी छन्। अभिनय र सङ्गीतलाई समेटेर कविता वाचन गर्ने उनको विशिष्ट शैलीलाई ‘अभिसङ्गी कविता’ नामले चिनिन्छ। भारतीय नेपाली कवितामा घट्दै गएका श्रोताहरूलाई पुनः आकर्षित गर्न यो परिपाटिले महत्वपूर्ण भूमिका खेलेको मानिन्छ। विशेषतः नारी समस्याकेन्द्रित उनका कविताहरू उच्च वैचारिक स्तर र भावात्मक प्रखरताले सम्पन्न छन्। भावको सूक्ष्मता र बौद्धिक गहिराइको सुन्दर संयोजन उनका काव्यको विशिष्ट चिन्ह हो। यही कारण उनका कृतिहरूले सर्वभारतीय स्तरमा सम्मान प्राप्त गरेका छन्। उनले “कविता धमारी पुरस्कार” (२०१५), “साहित्य तृष्णा पुरस्कार” (२०१९), “दार्जिलिङ लिट फेस्ट पुरस्कार” (२०१९, श्रव्य–दृश्य कविताका लागि) तथा “शोभाकान्ति थेगिम लेप्चा स्मृति पुरस्कार” (२०२२) प्राप्त गरेकी छन्। समग्रमा, पवित्रा लामा प्रशासनिक उत्तरदायित्व र सृजनात्मक उत्कटताको सन्तुलित संगम हुन्। कविताप्रतिको उनको अनवरत मोह नै उनको सृजनाशक्तिको मूल स्रोत हो। उनले भारतीय नेपाली कवितालाई नयाँ अभिव्यक्ति, नयाँ स्वर र नयाँ दर्शक प्रदान गर्दै आफूलाई समकालीन साहित्यको अग्रपंक्तिमा स्थापित गरेकी छन्। प्रस्तुत छ उनीसँग गरिएको साहित्यिक कुराकानी-

वैद्यनाथ उपाध्यायः तपाईँको बाल्यकाल वा प्रारम्भिक जीवनका कुन घटनाहरूले तपाईँलाई साहित्यतर्फ उन्मुख गरायो ?
पवित्रा लामाः मेरो बाल्यकाल तथा प्रारम्भिक जीवनका केही महत्वपूर्ण घटनाहरूले मलाई साहित्यतर्फ उन्मुख गराएको हो। बाल्यकालमै घरमा साहित्यिक-साङ्गीतिक-सांस्कृतिक वातावरण थियो । घरमा वरिष्ठ लेखक, कविहरूका निरन्तर आगमन अनि उनीहरूसितको संसर्गले म बाल्यकालदेखि नै साहित्यतर्फ आकर्षित बनेँ। विद्यालय जीवनमा शिक्षकहरूले कविता र निबन्ध लेख्न प्रोत्साहन गर्नुभयो, जसबाट लेखनप्रति आत्मविश्वास बढ्यो। साथै जीवनका सुख–दुःख, समाजमा देखिएका असमानता र सङ्घर्षहरूले मन छोए र ती भावनाहरू शब्दमार्फत व्यक्त गर्न चाहना जाग्यो। यिनै अनुभव र घटनाहरूले मलाई साहित्यलाई आत्म अभिव्यक्तिको माध्यमका रूपमा रोज्न प्रेरित गरे।

वैद्यनाथ उपाध्यायः आजको पवित्रा लामालाई निर्माण गर्न सबैभन्दा निर्णायक प्रभाव कसको वा केको रह्यो?
पवित्रा लामाः आजको पवित्रा लामालाई निर्माण गर्ने श्रेय मेरा माता पिता, मेरा साहित्यिक अग्रजहरू, मेरा गुरुजन अनि बाल्यकालको साहित्यिक वातावरणलाई नै जान्छ।
वैद्यनाथ उपाध्यायः तपाईको कविता वाचनमा एउटा छुट्टै पहिचान छ। यो शैली कसरी विकसित भयो उद्देश्य शैलीगत प्रयोग हो कि आन्तरिक अभिव्यक्तिको स्वाभाविक रूप ?
पवित्रा लामाः म मेरो काव्य प्रस्तुतिको शैलीलाई अभिसङ्गी कविता भन्ने गर्छु। यस प्रकारको प्रस्तुतिमा सङ्गीत अनि अभिनयको मुख्य भूमिका रहेको हुन्छ। कवितालाई प्रस्तुत गर्दा भिन्नै प्रकारले प्रस्तुत गर्ने शैली मैले धेरै अघिदेखि नै सुरु गरेकी हुँ। सिलगडी साहित्य संस्थानले आयोजना गरेको कविता धमारी प्रतियोगिता २०१५ मा प्रथमचोटी मैले यो शैलीलाई मञ्चमा प्रस्तुत गरेँ। यस शैलीलाई धेरै दर्शकहरूले मन पराए। कविताको यस किसिमको प्रस्तुति यति प्रसिद्ध भयो, धेरै कविहरूले यस शैलीलाई अपनाए। यस शैलीलाई के नाम दिनुपर्ने हो भन्ने धेरै विचार विमर्श पछि आदरणीय समालोचक कवि जय क्याक्टसले जुराएको नाम “अभिसङ्गी कविता” उपयुक्त लाग्यो। यसरी यस प्रकारको प्रस्तुति आज पर्यन्त गर्दै आइरहेकी छु। यो एक प्रकारको शैलीगत प्रयोग नै हो। पहिले पहिले नाटकहरूमा यस्तो शैली प्रयुक्त हुने गर्थ्यो जसले दर्शकहरूलाई अन्तसम्मै बाँधेर राख्ने गर्थ्यो। कविताको पाठक कम भइरहेको समयमा कवितालाई लोकप्रियता दिन यसले ठूलो सहयोग प्रदान गर्‍यो। यस्तो किसिमको प्रयोग सुरु गर्नमा अर्को कारण पनि छ। धेरै वर्ष म नृत्यकलासँग पनि सम्बन्धित थिएँ। घरमा साङ्गीतिक वातावरण थियो। सङ्गीत र नृत्यको यो समागम कहीँ न कहीँ मेरो हृदयमा अङ्कित थियो। यही नृत्य र सङ्गीतको समागम कवितामा प्रकट हुनु एकप्रकारले आन्तरिक अभिव्यक्तिको रूपमा लिन सकिन्छ।

वैद्यनाथ उपाध्यायः साहित्यले समाज बदल्छ भन्ने धारणा तपाईंका अनुभवमा कति सत्य अनि कति मिथक?
पवित्रा लामाः “साहित्यले समाज बदल्छ” भन्ने धारणा मेरो अनुभवमा केही सत्य र आंशिक रूपमा सीमित देखिन्छ। साहित्यले मानिसको सोच, चेतना र संवेदनशीलतामा गहिरो प्रभाव पार्छ। असल साहित्यले समाजका विकृति, अन्याय, विभेद र पीडालाई उद्घाटन गर्छ, जसले पाठकलाई विचार गर्न बाध्य बनाउँछ। यही सोच र चेतनाबाट सामाजिक परिवर्तनको बीज रोपिन्छ। धेरै सामाजिक आन्दोलन, सुधारका आवाज र परिवर्तनका चेतनाहरू साहित्यबाटै सुरु भएका उदाहरणहरू पाइन्छन्। यस अर्थमा साहित्य समाज परिवर्तन गर्नसक्ने शक्तिशाली माध्यम हो तर साहित्यले एक्लै र तुरुन्तै समाज परिवर्तन गर्छ भन्ने सोच भने सीमित छ। समाज परिवर्तनका लागि राजनैतिक, आर्थिक, शैक्षिक र सामाजिक संरचनाको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ। साहित्यले मार्ग देखाउँछ, चेतना जगाउँछ, तर त्यसलाई व्यवहारमा उतार्ने काम समाजका अन्य शक्तिहरूले गर्नुपर्छ। त्यसैले साहित्य समाज बदल्ने प्रत्यक्ष हतियारभन्दा चेतना जलाउने दीयो हो। यसले मानिसको मन परिवर्तन गर्छ र मन परिवर्तन भएपछि मात्र समाज परिवर्तनको पनि बाटो खुल्छ।

वैद्यनाथ उपाध्यायः आजको युवा पुस्ताको मानसिकता र जिज्ञासा तपाईको लेखनमा कसरी प्रवेश गर्छ?
पवित्रा लामाः आजको युवा पुस्ताको मानसिकता र जिज्ञासाले मेरो लेखनमा गहिरो र सक्रिय प्रभाव पारेको छ। आजका युवाहरू प्रश्न गर्ने, तर्क गर्ने र स्थापित मान्यतालाई चुनौती दिने स्वभावका छन्। उनीहरूका यही खोजी र असन्तोषले मलाई पनि लेखनमा नयाँ विषय, नयाँ दृष्टिकोण र फरक प्रयोग गर्न प्रेरित गर्छ। युवा पुस्ता केवल भावनात्मक होइन, सचेत र व्यावहारिक पनि छ। उनीहरूको सपना, सङ्घर्ष, पहिचानको खोज, प्रेम, असफलता, प्रविधिसँगको सम्बन्ध र भविष्यप्रतिको चिन्ताले मेरा कविताहरूलाई समसामयिक बनाउँछ। सामाजिक सञ्जाल र डिजिटल संस्कृतिले उनीहरूको सोचाइ निरन्तर परिवर्तन भइरहेको छ, जसले लेखनलाई पनि छोटो, प्रभावकारी अनि सरल बनाउने चुनौती दिन्छ। युवा पुस्ताका जिज्ञासाले मलाई सधैं आत्मसमीक्षा गर्न बाध्य बनाउँछ। के मेरो लेखन आजको समयसँग संवाद गर्न सक्छ? के यसले उनीहरूको आवाज बोकेको छ? यही प्रश्नहरूले मेरो लेखनलाई जड हुन नदिई निरन्तर जीवित र सान्दर्भिक बनाइराख्न सहयोग पुर्‍याएको छ।

वैद्यनाथ उपाध्यायः मजिस्ट्रेटको रूपमा दिनदिनै कानुन, न्याय र अनुशासनसँग काम गर्नुहुन्छ। यसले साहित्यकार पवित्रा लामालाई कसरी बदल्छ?
पवित्रा लामाः साहित्य समाजसँग सम्बन्धित हुन्छ। हामी साहित्यमा समाजकै कुराहरूलाई कलात्मक रूपमा लेखिरहेका हुन्छौ। मजिस्ट्रेटको काम पनि समाजसँगै सम्बन्धित हुन्छ। मानिसहरूसँग निरन्तर अन्तर्क्रिया गर्नुपर्ने हुनाले मानिसहरूका समस्यालाई अझ सुक्ष्म रूपले बुझ्ने, त्यसलाई समाधान गर्ने मौका प्राप्त हुन्छ। यसरी मानिसहरूका समस्या हेर्ने, अवलोकन गर्ने अनि समाधान गर्ने प्रक्रियामा साहित्यलाई आवश्यक सामग्री पनि प्राप्त हुने गर्छन्। साहित्यलाई समय निकाल्न धेरै गाह्रो परे पनि जसो तसो साहित्यिक वातावरण प्राप्त गरिरहेकी छु।

वैद्यनाथ उपाध्यायः राज्य संरचनाभित्र बसेर समाजका पीडाहरू नजिकबाट देख्दा, साहित्यमा आउने कथावस्तुमा कस्तो परिवर्तन देखिन्छ?
पवित्रा लामाः प्रशासनिक प्रक्रिया, कानुनी जटिलता, पहुँच भएका र नभएकाबीचको असमानता, तथा सामान्य नागरिकको मौन पीडा अनि प्रत्यक्ष भोगाइ र साक्षी बनेका पीडाहरू सहज रूपमा कथावस्तुको केन्द्रमा आउँछ। यसले साहित्यलाई भावुक मात्र होइन, दस्तावेजी र साक्ष्यपूर्ण बनाउँछ। त्यसैगरी, राज्यभित्र बसेर हेर्दा दोष र पीडा केवल व्यक्तिमा होइन, संरचनामा पनि निहित हुन्छ भन्ने बुझाइ विकसित हुन्छ। त्यसैले साहित्य लेखन व्यक्ति दोषारोपणभन्दा प्रणालीगत असमानता, नीतिगत कमजोरी र संवेदनाहीनतामाथि केन्द्रित हुन थाल्छन्। भाषाशैली पनि बढी संयमित, गम्भीर र तथ्यसँग नजिक हुन्छ। यसरी, राज्य संरचनाभित्रको अनुभवले साहित्यलाई आक्रोशभन्दा सचेत आलोचनातर्फ, भावुकताभन्दा गहिरो यथार्थतर्फ, र मनोरञ्जनभन्दा सामाजिक उत्तरदायित्वतर्फ अग्रसर गराउँछ।

वैद्यनाथ उपाध्यायः एक साहित्यकारको रूपमा तपाईंलाई सबैभन्दा ठुलो जिम्मेवारी के लाग्छ- सत्य बोल्ने? मानवीय संवेदनालाई उजागर गर्ने कि अरू केही?
पवित्रा लामाः सत्य बोल्नु साहित्यको मेरुदण्ड हो। तर त्यो सत्य सधैं नाङ्गो तथ्य मात्र हुँदैन; कहिलेकाहीँ प्रतीक, रूपक र कथाभित्र लुकेको सत्य अझ शक्तिशाली हुन्छ। सत्य बोल्नु भनेको सत्ता, समाज वा स्वयम् आफ्ना कमजोरीसँग पनि आँखामा आँखा हालेर लेख्नु हो। मानवीय संवेदनालाई उजागर गर्नु साहित्यको आत्मा हो। मानिसको दुःख, डर, प्रेम, एक्लोपन, आशा र विद्रोहलाई शब्दमा उतार्न नसके साहित्य केवल बौद्धिक अभ्यास मात्र बन्छ। संवेदनाले पाठकलाई जोड्छ, र यही जोडबाट परिवर्तनको चेतना जन्मिन्छ। यी दुईभन्दा पर, मलाई लाग्छ साहित्यकारको अर्को ठूलो जिम्मेवारी मौन आवाजलाई बोल्ने बनाउनु हो- जो बोल्न सक्दैनन्, सुन्ने मान्छे नपाएका छन्, वा इतिहासको किनारामा धकेलिएका छन् साथै समयसँग संवाद गर्नु, प्रश्न उठाउनु र पाठकलाई असहज तर आवश्यक सोचतर्फ धकेल्नु पनि साहित्यकारको दायित्व हो।

वैद्यनाथ उपाध्यायः महिला साहित्यकारका रूपमा तपाईंले भोगेका चुनौती र अवसरहरू के कस्ता थिए?
पवित्रा लामाः महिला साहित्यकारका रूपमा मैले भोगेका चुनौती र अवसर दुवै गहिरो र विरोधाभासी छ। चुनौतीका हिसाबले हेर्दा, सबैभन्दा पहिले आवाजको स्वीकृति नै ठूलो प्रश्न बन्यो। महिलाले लेखेको साहित्यलाई भावुक, व्यक्तिगत वा सीमित अनुभवमा मात्र बाँधेर हेर्ने प्रवृत्ति अझै बलियो छ। गम्भीर सामाजिक, राजनीतिक वा दार्शनिक विषयमा लेख्दा पनि “महिला दृष्टिकोण” भनेर सानो घेरामा राखिने अनुभव पीडादायक हुन्छ। नारीहरूलाई समय, पारिवारिक जिम्मेवारी, सामाजिक अपेक्षा र आत्मसन्देहले लेखनलाई निरन्तर चुनौती दिने गर्छन् तर यी चुनौतीसँगै अवसर पनि प्रशस्त हुने गर्छन्। महिला हुनु नै मेरो लेखनको विशेष दृष्टिकोण बन्यो। समाजले बेवास्ता गरेका अनुभव, घरभित्रका मौन पीडा, शरीर र पहिचानका प्रश्न, मातृत्व, श्रम, दमन र प्रतिरोध आदि सबै मेरा लेखनका विषयवस्तु बने। यही फरक अनुभूतिले मेरो लेखनलाई छुट्टै आवाज र पहिचान दियो। समयसँगै महिला साहित्यकारप्रति पाठकको चासो र स्वीकार्यता पनि बढ्दै गएको महसुस भयो। महिला अनुभवलाई साहित्यको केन्द्रमा ल्याउने अवसरले लेखनलाई अझ साहसी र इमानदार बनायो। त्यसैले भन्नुपर्दा, महिला साहित्यकारका रूपमा यात्रा सजिलो थिएन, तर चुनौतीहरूले नै लेखनलाई धारिलो बनायो, अवसरहरूले आफूलाई साहित्यमा दृढतापूर्वक उभ्याउने आत्मविश्वास प्रदान गर्‍यो।

वैद्यनाथ उपाध्यायः आजको नेपाली साहित्यमा महिलाको आवाज कति समावेशी र कति प्रभावकारी छ भन्ने तपाईंको मूल्याङ्कन छ ?
पवित्रा लामाः आजको नेपाली साहित्यमा महिलाको आवाज पहिलेको तुलनामा धेरै समावेशी र स्पष्ट रूपमा उपस्थित छ तर पूर्ण रूपमा प्रभावकारी भइसकेको भन्नु अतिशयोक्ति हुन्छ। समावेशीताको दृष्टिले हेर्दा, महिलाहरू अब केवल विषय होइनन्, वक्ताका रूपमा देखा परेका छन्। कथा, कविता, निबन्ध, आत्मकथा र समालोचनामा महिलाका अनुभव, दृष्टिकोण र प्रश्नहरू सशक्त रूपमा उठिरहेका छन्। जात, वर्ग, भूगोल, यौन र पहिचानका विविध तहबाट आएका महिला आवाजहरूले नेपाली साहित्यलाई बहुआयामिक बनाइरहेका छन्। प्रभावकारिताको कुरा गर्दा भने अझै केही सीमाहरू छन्। धेरै महिला साहित्यकारका कृतिहरूले प्रशंसा त पाउँछन्, तर नीति, पाठ्यक्रम, मुख्यधारका समालोचना र साहित्यिक सत्ता संरचनामा उनीहरूको प्रभाव अपेक्षाकृत कम देखिन्छ। महिलाको लेखनलाई अझै पनि “विशेष कोटि” मा राख्ने प्रवृत्तिले त्यसको समग्र प्रभाव घटाइरहेको छ। सकारात्मक पक्ष के छ भने, महिलाको आवाज अब दबेको अवस्थामा छैन। उनीहरू प्रश्न गरिरहेका छन्, असहज सत्यहरू लेखिरहेका छन् र साहित्यलाई नयाँ संवेदना र भाषाशैली दिइरहेका छन्। यही निरन्तरताले निकट भविष्यमा महिलाको साहित्यिक आवाजलाई समावेशी मात्र होइन, निर्णायक र परिवर्तनकारी बनाउने आधार तयार गरिरहेको छ।

वैद्यनाथ उपाध्यायः अन्तमा जीवन र साहित्यको यात्रामा आफैँलाई कुन प्रश्न अझै अनुत्तरित महसूस गर्नुहुन्छ?
पवित्रा लामाः जीवन र साहित्यको यात्रामा म अझै पनि केही प्रश्नहरूलाई अनुत्तरित तर आवश्यक रूपमा बोकेर हिँडिरहेकी छु। के म लेखिरहेको सत्य साँच्चै समयको साक्षी बन्न सक्छ, कि केवल मेरो निजी अनुभूतिको अभिव्यक्ति मात्रै हो? के मेरा शब्दहरूले कसैको पीडालाई हल्का बनाउँछन्, कि केवल त्यसलाई सुन्दर भाषामा सजाउँछन्? के म बोल्न नसक्नेहरूका लागि पर्याप्त इमानदारीका साथ बोलिरहेकी छु, कि आफ्नै सीमाभित्र सुरक्षित बसिरहेकी छु? यस्तै अर्को गहिरो प्रश्न यो पनि छ—लेखनले मलाई स्वतन्त्र बनायो, कि म लेखनकै अपेक्षा र पहिचानमा बाँधिँदै गएकी छु? अन्ततः, जब शब्द सकिन्छन्, मौन बाँकी रहँदा, के त्यो मौन पनि साहित्यकै अंश हुन सक्छ? यी प्रश्नहरूको स्पष्ट उत्तर सायद कहिल्यै नआउलान्। तर मलाई लाग्छ, यिनै अनुत्तरित प्रश्नहरूले जीवन र साहित्य दुबै यात्रालाई जीवित, इमानदार र अर्थपूर्ण बनाइरहेका छन्।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।