भारतीय नेपाली साहित्यमा आफ्नो छुट्टै पहिचान बनाइसकेका साहित्य साधक हुन प्रा. नवीन पौड़्याल। शैक्षिक सामाजिक र साहित्यिक क्षेत्रमा समानान्तर सहभागिता दिँदै आए तपनि साहित्यिक क्षेत्रको यिनको गतिशीलता, लगनशीलता र दायित्वबोध बढी गम्भीर प्रतीत हुँदछ। कैंयौ प्रकाशित निबन्ध, समीक्षा, लेख तथा अनुसन्धानमूलक रचनाहरूले यिनको साहित्य साधनालाई नित-निरन्तर माथिल्लो तहमा उभ्याउन सकेको दृष्टिगोचर हुँदछ। आजसम्म प्रकाशित नवीनका समालोचनात्मक कृतिहरू क्रमैले ‘नेपाली कथा समीक्षा’, (२००4), ‘आख्यान अनुशीलन’(२0११),‘साहित्य अनुशीलन’(२०१४), ‘साहित्य सन्धान’(२०१८),‘कृति सन्धान’(२०२०) विशेष उल्लेखयोग्य पाइन्छ। दार्जिलिङ, सिक्किम, असम र नेपालका विभिन्न पत्र-पत्रिकाहरूमा यिनको समालोचनात्मक लेखहरू सयाधिक सङ्ख्यामा प्रकाशित पाइन्छन् भने ‘समकालीन साहित्य’, ‘नेपाली पोस्ट’, ‘साहित्य पोस्ट’, ‘स्पन्दन’, ‘नेपाली साहित्य घर’, ‘साहित्यमित्र’ आदिजस्ता अनलाइन पत्र- पत्रिकामा तीसभन्दा बढी लेखहरू प्रकाशित भेटिन्छन्। साहित्यको गद्यात्मक पक्षलाई नै आत्मसात गरेर सक्रिय रहने नवीनले आजसम्म केही समालोचनामक कृतिहरूको सुसम्पादन गरेको पनि देखिन्छ। ‘कविता विमर्श’(२०१४)- कवि जयन्तकृष्ण शर्माका कविताहरूको विभिन्न लेखकहरूले गरेको अध्ययनलाई नै सम्पादन गर्दै कविबारे र तिनको कविताकारिताबारे आफ्नो धारणाहरू प्रस्तुत गरेको भेटिन्छ। ‘कविता आलोकन’ (२०१५) पुस्तकमा कवि होमबहादुर छेत्रीका कविताहरूको विस्तृत र गम्भीर अवलोकन गर्दै समकालीन नेपाली कविताका सन्दर्भमा तिनको कविताप्रतिभाको समीक्षा र मूल्याङ्कनसमेत गरिएको पाइन्छ। यसरी नै ‘उत्तर दक्खिन पूर्व पश्चिम’ पुस्तकको सम्पादन गर्दै नगेन्द्र शर्माका नियात्रा लेखहरूलाई यात्रा साहित्यको सैद्धान्तिक मान्यताको कसीबाट पर्गेल्ने काम गरेको भेटिन्छ। ‘साहित्य अकादमी एवम् पच्चीस वर्षको नेपाली साहित्य’ पनि यिनको सम्पादनको उल्लेखनीय पुस्तक रहको छ। यी पुस्तकहरूका अतिरिक्त समालोचक नवीनले सन् २००५ देखि अनसन्धानमूलक पत्रिका ‘सन्धान’को सम्पादन गर्दै आइरहेका छन्। यीबाहेक अघिबाटै यिनले ‘सुमार्ग’ हस्तलिखित र ‘बाडुली’ साहित्यिक पत्रिकाको पनि सम्पादन कार्य गरेक देखिन्छन्। उल्लेखनीय कुरा के भने समालोचक नवीनले आफ्नो साहित्यिक यात्रामा समालोचनात्मक गद्यसाहित्यलाई नै बढी आत्मसात गरेर अग्रसर भएको देखिन्छ। समग्रमा नेपाली साहित्यमाथि नै आफन् मौलिक मननपूर्ण समालोचना दृष्टिगोचर प्रक्षेपण गर्न नवीन अग्रणी रहेको देखिन्छ।
यसै क्रममा भारतीय नेपाली समालोचक सन्दर्भिकाको नवनिर्माण नवीनको दीर्घ प्रतीक्षित साधनाको प्रतिफल मान्न सकिन्छ। यो सन्दर्भिका कृति यिनले भनेझैं डा कुमारप्रसाद कोइरालाद्वारा प्रस्तुत ‘प्रज्ञा नेपाली समालोचक सन्दर्भिका’को अभिप्रेरणाकै परिणाम हो। नेपाली समालोचनाको आरम्भविन्दु मोतीराम भट्टदेखि लिएर अहिलसम्मका भारतीय भूमिको सम्पूर्ण समालोचकहरूको परिचय प्रतीति दर्शाउने अभिप्रायले यस सन्दर्भिकाको निर्माण गरिएको छ। छुट्टै भारतीय नेपाली साहित्यमा समालोचकहरू सक्रियता उपलब्धि र तिनको योगदानको भूमिकालाई चिनाउन खोज्ने सत्प्रयास यो कृतिको पहिलो प्राथमिकता हो, मात्रै होइन यो कार्य नै भारतबाट गरिएको समालोचक नवीन पहिलो सह्राहनीय पदक्षेप पनि हो। यस अघि यस प्रकारको समालोचना सन्दर्भिकाको प्रकल्पना कसैले गरेका छन् भने पनि त्यो आजसम्म साकार रूपमा देख्न पाइएको छैन। नवीनले यो कार्य भारतमा प्रथमोप्रथम गरेको प्रमाणित हुन्छ। यस प्रकारको आवश्यकताबोधको परिकल्पना भारतीय नेपाली साहित्यका प्रत्येक विधामाथि नै हुन सक्ने र हुन पर्ने प्रबल सम्भावना रहेको छ।त्यसका लागि कि त नवीन नै कि त अरू नै उद्यमी विधागत, साहित्यको सर्वाङ्गीन जानकारको तत्परता आवश्यक पर्दछ। भारतीय नेपाली समालोचनाले आफ्नो विधागत तय गरेको यात्रा नेपाली साहित्यका इतिहास लेखकहरूमा भारतीय विद्वानहरू डा. कुमार प्रधान, असीत राई, डा. घनश्याम नेपाल, गुमानसिंह चामलिङ, डा जीवन नामदुङ, मेघनाथ छेत्री, डा खेमराज नेपाल, शान्तिराज शर्मा आदिले आ-आफ्नो पुस्तकहरूमा विशेष रूपले उल्लेख गरेका छन्। समालोचनाको स्वरूप, प्रकार तथा सैद्धान्तिक र व्यावहारिक मान्यताको परिचय दिने कार्यसँगै यी लेखकहरूले धारागत र प्रवृत्तिगत पक्षहरूको चर्चा गरेको पनि पाइन्छ। तर नवीनको यस पुस्तकले भारतीय नेपाली समालोचना- साहित्यमा सामान्यदेखि विशिष्ट योगदान दिनेहरू सबैलाई समानुपातमा प्रविष्टि दिएको देखिन्छ। जस जसले एउटै मात्र भए पनि समालोचनाको पुस्तक प्रकाशित गर्नेलाई यहाँ प्रविष्टि दिइएको पाइन्छ। यद्यपि यहाँ पुस्तक नभए पनि एउटा पुस्तक तयार गर्न सकिने एक दर्जनभन्दा बढी सङ्ख्यामा लेखहरू पत्र-पत्रिकातिर प्रकाशित छन् भने पनि स्थान दिइएको छ। उनीहरूको समालोचकीय दृष्टिलाई परख गर्दै तिनका मूल्य र मान्यतालाई चिनाउने सह्राहनीय काम यो सन्दर्भिकामा सम्पन्न भएको छ। समालोचक नवीनले समालोचना लेखनप्रति आग्रही पक्षधरहरूलाई अक्षरानुक्रम सजाएर यो सन्दर्भिका-कृति तयार पारिएको पाइन्छ। यस दृष्टिले प्रस्तुत भारतीय नेपाली समालोचक सन्दर्भिका- भारतीय क्षेत्रको आफ्नै मौलिक परिचय बोकेको विशिष्ट कृति बन्नपुगेको छ।
भारतीय नेपाली साहित्यमा विधागत रूपमा देख्न पाइने समालोचनाक्षेत्रको यो सन्दर्भिका कृतिले विगतदेखि वर्तमानसम्मको तथ्यहरूलाई समेटेर एउटा ठुलो अन्तराललाई नै परिपूर्ति गरेको मान्न सकिन्छ। शुरूदेखि अद्यतन भारतीय नेपाली समालोचना र समालोचकको आवश्यक उपस्थिति बुझ्न पाइनु यस कृतिको थप महत्त्वमय विशेषता अवगत हुन आउँछ। कृतिकार नवीनले निकै लामो परिश्रमपछि यस प्रकारको कार्य सम्पन्न गरेर केवल समालोचना क्षेत्रको मात्र यस्तो कार्य नभएर अन्य साहित्यिक विधाहरू-कथा कविता, नाटक, निबन्ध आदिको पनि यस प्रकारको सन्दर्भिका-स्वरूपको कार्य सम्पादन हुनसक्ने प्रशस्त सम्भावनामा क्षितिजलाई उघारिदिएको अनुभव हुन्छ। नेपाली समालोचनामा धेरै लेखेर आफ्नो स्थान सुरक्षित राख्ने त छन् नै, थोरै लेखेर पनि समालोचनाको गुणवत्ता निर्क्यौल हुनसक्छ भन्नेहरूलाई यो समालोचक सन्दर्भिकाले न्याय दिएको अनुभव हुन्छ। भारतीय नेपाली समालोचनामा आफ्नो व्यावहारिक समालोचना लेखनले निकै माथि उक्लिसकेका नवीनले सन्दर्भिका-निर्माणतर्फको यो कार्यले यिनलाई अझ उचाइँ थपेको कुरा निसन्देह सत्य मान्न सकिन्छ। भारतीय नेपाली साहित्यमा नै सर्वप्रथम विधागत सन्दर्भिका-निर्माणको यो पदक्षेप सर्वथा नवीन पदक्षेप हो। समालोचक नवीनले यस प्रकारको महत्त्वपूर्ण कार्य सम्पादन गरेर भारतीय नेपाली समालोचकहरूलाई ऋणी बनाएका छन्। अतः यो स्तुत्य कार्यको सफलताले आफ्नै अलग्गै गतिचिह्न राखोस् भनी कामना गर्दै सन्दर्भिका लेखक नवीनको भलो चिताउँदै मेरा यी सामान्य कुराहरूहरूलाई यहीँ विश्राम दिँदछु।