19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

विद्रोह

लघुकथा नन्दलाल आचार्य February 15, 2026, 6:11 pm
नन्दलाल आचार्य
नन्दलाल आचार्य

​"के यो खरानीले तिम्रो भोक मेट्छ, अघोरी ?"

​बस्तीको छेउमा रहेको बूढो बरको फेदमा बसिरहेका ती अघोरी विद्रोही युवकको प्रश्न सुनेर मुसुक्क हाँसे । उनको जटामा अड्किएका शीतका थोपाहरू जूनको उज्यालोमा टल्किरहेका थिए । वरिपरि कोलाहल थियो, अन्यायको राँको दन्किरहेको थियो, तर उनी भने पत्थरझैँ शान्त थिए ।

​"भोक पेटको होइन, न्यायको हो वत्स !" उनले आफ्नो त्रिशूल भुइँमा ठोके । त्रिशूल र ढुङ्गा ठोकिँदा निस्किएका झिल्काहरू अँध्यारो आकाशमा ताराझैँ बिलाए ।

​बस्ती त्रसित थियो । टाढा दरबारका पर्खालहरू झन्-झन् अग्ला हुँदै गएका थिए, जहाँ गरिबको पसिनाको मूल्यमा मदिरा बग्थ्यो । अघोरीले आफ्नो कण्ठ सुम्सुम्याए, जुन कालकुट विषले अझै नीलो देखिन्थ्यो । उनको डमरूको ताल बिस्तारै बढ्न थाल्यो- डम्... डम्... डम्...।

​"तिमी अझै किन चुप ? हेर, यहाँ मानवता निसास्सिरहेको छ !" फेरि उही विद्रोही स्वर गुन्जियो ।

​अघोरीले बिस्तारै आँखा खोले । उनका आँखामा एउटा अनौठो रक्तिम चमक थियो । उनले भुइँबाट एक मुठी खरानी उठाएर हावामा उडाए । खरानीका कणहरू अनौठो गरी सलबलाउन थाले, मानौँ ती प्रत्येक कणभित्र एउटा क्रान्तिकारी योद्धा लुकेको छ ।

​"संहार नभई नयाँ अङ्कुरण कहाँ सम्भव छ र?" उनले गम्भीर हुँदै भने ।

​ठ्याक्कै त्यति नै बेला, सहरका शासकहरूले उनलाई 'पागल' सम्झेर हतकडी लगाउन अघि बढे । अघोरीले झट्का दिएर आफ्ना जटा फुकाए । एक्कासि आकाश गर्जिएर बतासले रगतको गन्ध बोकेर ल्याएजस्तो वातावरण भयो ।

​उनले आफ्नो झोलाबाट एउटा धारिलो हँसिया निकाले र मुस्कुराउँदै भने, "आज कैलाश होइन, यो जमिनको मालिक बदलिने पालो हो ।"

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।