कोटेस्वरमा बस रोकेको पनि १० मिनेट भै सक्यो, अझै बस रोकिइ रहेको छ । सूर्यविनायक कतिवेला पुग्ने हो ? अत्तोपत्तो छैन । बागबजारबाट १५ मिनेटमा लाग्ने बाटोलाई ४५ मिनेट भन्दा बढी लागि सक्यो । मान्छे चढाउने र ओराल्ने ठाउँमा त सार्वजनिक बस नरोकी भएन । पर्खेर बसेका यात्री चढे पछि त हिडाउनु पर्ने हो । आउने सम्भावित यात्रीलाई पनि पर्खेर बसेको छ ठाउँ ठाउँमा । विभिन्न ठाउँमा हुने जाममा बस रोकिनु बाध्यता भयो, बसको गती रोकिएको हो कि हिडेको हो ? थाहा नहुने गरी गुडिरहेको छ बस । चालकलाई चासो छैन यात्रीको मन आत्तियर छटपटिएको । स्वर न लयका, नबुझिने, मन नपर्ने, कर्कस हिन्दी गीतहरु चर्को चर्को गरी बजिरहेका छन् । मन परेन बन्द गर्नुहोस् न, भन्न पनि नसकिने, सानो आवाज भए पनि हुन्थ्यो नि ढ्वाङ फुके जस्तो चर्को चर्को । कानमा औला लागाएर थुन्न पनि नमिल्ने । जोडिएको सिटमा पोषाक लागाएका, भ्रखर एक निद्राबाट ब्युझिएका ख्योपो कलेजका विद्यार्थीलाई सोध्छु किन यति ढिला गरेको होला बसले ? उत्तर हुन्छ, यस्तै हो सधै । लाग्छ हामी नेपालीलाई समयको कुनै महत्व नै छैन, सार्वजनिक बसमा यात्रा गर्ने मान्छे समयमा गन्तव्यमा पुग्नु पर्ने यात्री होइनन् , यी त बसको चालकले जतिवेला पुर्याए पनि हुने सामग्री हुन । बागबजारबाट सूर्य विनायक पुग्ने यात्री एक निन्द्रा बसमा निधाउनु त सामन्य नै भायो । लामोरुटमा यात्र गर्दा ठाउँ ठाउँमा जाम त आजको नियमितता भै सक्यो । नारायणघाट देखि काठामाडौं पोखरा जाने, पोखरा, काठमाण्डौ, गोरखा, लम्जुङ लगाएतका स्थानबाट नारायणघाट हुदै जाने यात्रीलाई दिन दिन भरको जामले वाहिरी वातावरणको गर्मी त के कुरा मनको पोलाईले यात्रीलाई कस्तो छटपटी हुन्छ कस्ले बुझ्ने ? कस्लाई चासो हुने ? पछाडि गाडीको लामो पङ्ती छ, अगाडि बाटो खुला हुँदा हुदै पनि चालकले गाडी रोकी विपरित दिशाबाट आएको गाडिको चालकसंग हात मिलाउने र भलाकुसारी गर्ने कार्यले जाम माथिको पनि जाम ।
अधिकांस मानिसले यात्रा गर्ने यातायातको साधन सार्वजनिक बस हो । मःमको लागि काठमाण्डौ भित्रिने ट्रकमा लादिएका राँगा सरह लादिनु पर्ने मान्छे पनि । काठमाडौंका विभिन्न स्थानबाट रत्नपार्क जाने बस, मिनिबस र माइक्रो वसको बीच भागमा यात्री दुई तिर फर्काएर कोचिन्छ,थोरै खाली ठाउँ देखिए पनि कन्टक्टरले पटक पटक झ्यालमा आएर पछाडि सर्नुहोस्, उता फर्कनुहोस्, हात तल झार्नुहोस । लाग्छ सार्वजनिक यातायातमा यात्रा गर्ने यात्री पनि ट्रकमा पुच्छर समेत बाँधेर लादिएका राँगा सरहका हुन् । यात्रीको गन्तव्य, पुग्ने समय, चाहना, शारीरिक समस्या केही पनि ख्याल गरिदैन । जस्तो पनि सहन सक्ने, जतिवेला जाहाँपुर्याए पनि हुने, सहनसिल छन् यात्रीहरु । जसो गरेपनि र जति समयमा पुर्याए पनि हुने, केवल आफ्नो क्यू थाप्न जानु पर्यो भने मात्र कुदाउनु पर्ने । गन्तव्यको आधाबाटोमा पुगेर यात्रीलाई झारेर बस फर्केर यात्रीलाई अलपत्र पार्न पनि पाइने, सामान जस्तै अर्को बसका सहचालकलाई बेच्न पनि पाइने, यात्रीले कसैसंग गुनासो पोख्न नपाइने । हिसाव गर्ने हो भने नेपाल भरी चल्ने सवै सार्वजनिक यातायातको साधनमा नेपालीको महत्वपुर्ण कति समय खेर गएको होला ? मन छटपटाउदा छट्पटाउदै । ठ्याक्कै तोकिएको जिम्मेवारी त अरुलाई पन्छाउने हाम्रो समाजमा कसले ख्याल गर्ने कस्ले सुधारकोलागि पहल थाल्ने सार्वजनिक यातायातका साधन सुधारको लागि ।
कार्यक्रममा बोलाउदा ठीक ११ बजे भनेर भनिन्छ । ठीक ११ बजे पुग्यो भने अत्तोपत्तो हुदैन कार्यक्रम सुरु हुने । तोकिएको समयमा आयोजकनै पुगेको हुदैन । एक बज्दा पनि कार्यक्रम सुरु हुदैन । कुनै पनि कार्यक्रममा तोकिएको समय भन्दा एक डेढ घण्टा ढिला हुनु सामान्य भै सक्यो । कहिले त प्रमुख अतिथि र अन्य कारणले गर्दा दुई तीन घण्टा पनि ढिलाहुन सक्दछ । देश चलाउने मन्त्री समेत सार्वजनिक कार्यक्रममा तोएिको समय पुग्नु त कता हो कता ? विनाकाममा गफ गरेर, होटलमा अनावश्यक समय विताएर भए पनि तोकिएको सयम भन्दा ढिला पुग्नु पर्ने । कार्यक्रममा बोलाइएका एक दुई जना व्यक्तिको कारणले धेरै संख्याका मानिसहरुले समय खेर फाल्नु पर्ने । कार्यक्रम सुरु भए पछि आसनग्रहणको लामो सूची, सम्झी सम्झी कार्यक्रममा उपस्थित नभएका, ढिला आउनेलाई पनि आसानग्रहण । एक पटक कुर्चिमा बसिसकेका व्यक्तिलाई उठाएर आसनग्रहण गराउदा कहिलेकाँही त घण्टानै वित्ने । बक्तालाई बोल्न बोलायो बक्ताले पनि सवैलाई नविराइ सम्वोधन गर्नै पर्ने, कुनै बिर्सियो भने माफिमाग्दै पुन सम्वोधन । त्यतिका स्रोता र दर्शकको समयको ख्याल छैन, ढिला उपस्थित भएकोमा माफी माग्नु छैन, एक जनाको पदसोपान थोरै फरक पर्दा माफी । तोकिएको, स्रोताले अपेक्षा गरेको मुख्य विषयबस्तु राख्नसमय छैन सम्वोधनमा धेरै समय व्यतित । आयोजकले जानकारी दिनु पर्ने कुराहरुमा जानकारी दिइ सकेपछि पुन बक्ताले अनावश्यक पुनराबृत्ति, कार्यक्रमसंग छेउ टुप्पो सम्वन्ध नएको कुरामा पनि ब्यख्या र विश्लेषण । बक्ताले बोलेको कुारा पुन उद्घोषकले ब्याखा गर्न र फुँदा गास्न पनि छाड्नै नहुने । सान्दर्भिक भए पनि नभए पनि, जानेपनि नजाने पनि बक्ता हुनै पर्ने, कार्यक्रम सकिनै थाल्यो, कार्यक्रमको अन्तिममा बोल्नेले पनि कार्यक्रम सफलताको शुभकामना । बिचार सुन्नु पर्ने, कार्यक्रमको महत्वपुर्ण व्यक्ति बोल्ने बेलासम्म अधिकांश कुर्सी खाली । स्रोता नभए पछि मुख्य बक्ता बोल्नुको कुनै अर्थ नहुने, खाली कुर्सी, एकाद श्रोता भएको कारणले महत्वपुर्ण कुरा बोल्नै उत्साह नहुने ।
विद्यालयमा विद्यार्थीहरु शिक्षकलाई पर्खेर बसको छ, शिक्षक नै कक्षामा ढिला हुने, कक्षा ढिला सुरु भएपनि सकिने भने छिटै । विद्यालयमा मात्र होइन, आदर्श र मूल्य बाढ्ने विश्वविद्यालयमा शिक्षक आउलान् भनेर कुर्यो कुर्यो आउदैनन् मन अमिलो हुन्छ, कक्षा हुदैन, कति टाडाबाट आएको हो यातायातको भाढा र सयम विनाकाममा खर्च ।
विरामी भएर अस्पतालमा गयो लामो समय लाइन लाग्नु पर्ने । कतिवेला ढोका खुल्ला ? कतिवेला टिकट बाँढ्ने ? अत्तो पत्तो नहुने । फुकिढल बिरामी शरीर पनि उभ्याउनै पर्ने, घण्टौ लाइनमा बस्नु पर्ने, उभिन नसकेर लाइनमा नै बेहोस भएर ढल्नु समेत सामान्य हुने । अस्पताल पुग्नेलाई टोकन दिएर आरामसँग वस्न दिए पनि पालो पर्खन सजिलो, विरामीलाई उभिदा हुने सास्ती सहनु नपर्ने, लाइन लागाउनु आवश्यक नै नहुने यतातर्फ अस्पताल सञ्चालनको ध्यानै नजाने ।
सरकारी कार्यालयमा काम लिन सेवाग्राहीको रुपमा गयो, १० बजे पुग्दा कर्मचारी आएकै हुदैन, साडे दश बजिसक्यो कर्मचारी नपुग्ने, पुगे पछि सेवाग्राहीले लौन मेरो काम भन्यो भने, आउन भ्याएको छैन कामको हतार भन्ने उत्तर आउने । ढिलो अफिसमा आउने अनि भलाकुसारी र गफमा व्यस्तहुने । एक बज्न नपाउदै खाजाको समय, दुई बजे सम्म खाजा, चार बज्न नपाउदै आजको समय सकियो ,फलानो घरमा गै सक्नु भयो भोली आउनु, भोली पनि हालत उही । सेवाग्राहीको समय चौपट ।
अदालतमा गयो उस्तै । अन्यायमा परेर मुद्धा दिएको १०/ १२ बर्ष पुगीसक्यो फैसला तथा छिने फानो नहुने । मुद्धाको सुनाइको पालो आउदैन, आएको पालो वकिलले हटायो । वकिलले नहटाएको दिन आज भ्याइएन । एक महिना पछिको फलानो दिन पेशी तारिक । नुवारन गराइ पाऊँ भन्ने मुद्धा विवाहको उमेर सम्म छिनिदैन । कस्ले गुनासो गर्ने, सम्मानित न्यायालय र न्ययमूर्तीसंग, कतै तिर महत्व नभएको समयको बारेमा, उल्टै मानहानी लाग्ने डर ।
हुँदा हुँदा समाज परिवर्तनका मुद्दामा छलफल र बहर गर्न, जिम्मा लिएकालाई जवाफदेहि बनाउन आयोजित प्रवुद्ध नागरिक समाज र लेखकहरुको कार्यक्रम पनि एक डेढ घण्टा ढिला सुरु हुने, बसेका मान्छेलाई उठाएर उही आसनग्रहरण, अनि फेरी सम्वोधनको लामो सूची । समकालीन समयमा सामाजिक सञ्जालले कति युवा र वयस्कहरुको उत्पादशील समय खेर गएको होला ? यो त लेखाजोखा गरेर साध्य नै छैन । पारिवारिक र सामाजिक मूल्यमान्यता जान्नु पर्ने, भविष्यको लागि असल बानी निर्माण गर्नु पर्ने, जीवनोपयोगी सीप सिक्नु पर्ने बालबालिकालाई आमा बाबुले नै समाजिक सञ्जाल र कुनै किसिमको फाइदा नगर्ने शारीरिक र मानसिक दुबैदृष्टीले हानीकारक कार्टुन र भिडियोहरु देखाएर समयको वर्वादी । टोल टोलका चोकहरुमा र गाउँगाउँका बीचहरुमा एक हातमा तास र अर्को हातमा क्यारेमवोर्डको स्टाइगर लिएर दर्जनौं युवाहरु उभिएको देखिनु पनि सामान्य जस्तै हो । गफ भने ठूला ठूला, विदेशमा त्यस्तो नेपालमा भने यस्तो । के हामी नेपाली समय चेत नभएका प्राणी हौं ?
युरोपेली र अमेरिकीहरुलाई तोकिएको समय निकै महत्वपुर्ण हुने, तोकिएको समयमा तोकिएको कार्य गर्नै पर्ने, एसियाका पनि जापानीहरुले तोकिएको समय भन्दा एक दुई मिनेट छिटो पुग्नु पर्ने, एक मिनेट पनि ढिला हुँदा निकै लज्जित हुनु पर्ने, माफिमाग्नु पर्ने तोकिएकै समयमा कार्य गर्नु पर्ने, नेपालीकालागि भने तोकिएको समयको कुनै अर्थ नहुने । तोकिएको समयमा कोही उपस्थित भयो भने पनि झनै मुर्ख सावित हुनु पर्ने । परिस्थिति नबुझेको जस्तो हुनु पर्ने । अनावश्यक एक डेढ घण्टा खेर फाल्नु पर्ने । किन होला ? के नेपाली समय एकघण्टा ढिला नै हो त ? अरु एक मिनेट ढिला हुँदा लज्जित हुने, हामी एक घण्टालाई सामान्य नेपाली समय भन्ने हामी समयको महत्वनै नबुझ्ने पटमुर्ख हौ त ?
नेपालमा पनि “समय आउँछ पर्खिदैन, बगेको खोला फर्किदैन”, रात रहे अग्राख पलाउँछ भन्ने भनाइ प्रचलनमा नभएका पनि होइनन् । समयको महत्व बुझेका हाम्रै पूर्वजले चलाएका हुन यि उखानहरु पनि । समयको महत्व बुझेर जुन व्यक्ति, समाज, देशले सदुपयोग गर्दछ त्यसैले प्रगति गर्दछ, विकास गर्दछ । समय गतिशिल छ । समय कसैले रोकेर रोकिदैन, आज प्रयोग नभएको सयम भोली प्रयोग गर्दछु भनेर सकिदैन । हाम्रो समाज, देशले विकासमा पछि पर्नु, अरु उन्नतिको शिखरमा पुग्दा हामी फेदीमा नै लडखडाउनुको प्रमुख कारक समयको महत्व नबुझनु र धेरै कामकाजी व्यक्ति तथा उत्पादनशील जनशक्तिको समय विना उपलब्धि खेर जानु हो । थोपा थोपा पानी चुहिएको छ भने ठुलै गाग्राको पानी पनि रात भरिमा सकिन्छ भने थोपा थोपा थपिएको छ भने रातभरीमा रित्तो रोहोचे पनि भरिन्छ । हामी सवै नेपाली नागरिकको मिनेट मिनेटको सयम खेर नजाने र सदुपयोग हुने परम्परा बसाउन सक्ने हो भने सधै पछौटे देशका नागरिक भनि विश्वमा चिनिनु पर्ने थिएन कि । समयको विषयमा सम्वेदनशील हुने, सदुपयोग गर्ने, खेर नफाल्ने परम्परा बसाउन उच्च पदमा रहेका व्यक्तित्व, राजनितिक नेता, पेशाकर्मी, सचेत नगारिकले आझैबाट प्रयास थाल्नु पर्दछ । परिवर्तन गर्दा सुरुमा केही कठिनाइ आउनु स्वभाविकै हो अत अफ्ट्यारो नै परेपनि, मुर्ख सावित भए पनि ठीक समयमा तोकिएको काम सम्पानद गर्ने प्रयास गरौं । जहिले पनि जहाँ पनि ढिलो हुने नेपाली पहिचान होइन । हाम्रो व्यवहारमा सुधार गरौं, सोचमा परिवर्तन गरौं । विश्वमा बाहादुरहरु अर्को किसिमबाट भन्दा मुर्खको देश भन्ने भाष्यलाई परिवर्तन गरी समयको विषयमा सवै भन्दा सम्वेदनशील, सिर्जनात्क क्षमता भएका नागरिक बस्ने देश नेपाल हो भनि पहिचालनाई स्थापित गरौं । हाम्रो देश नेपाल र हामी नेपालीको भलो यसैमा छ ।