कोही नौनी झिक्तैनन् अर्थात् कोही दही मथ्न तयार छैनन् । केवल अर्काले पारिदिएको मोही पिएर मुख बिगार्नेहरु छन् । अनि “कत्ति अमिलो मोही !” भनेर मोहीको विषयमा नाटिकुटी गर्नेहरु छन् । आफू भैँसी नपाल्ने, आफू भैँसीलाई घाँस काट्न अल्छी गर्ने, दूध दुहुने, दही जमाउने र मोही पार्ने काममा अल्छी गर्ने अनि अरुले पारेको मोही माग्न लुसुक्क ढुङ्ग्रो बोकेर अरुको ढोका चियाउने, मोही पाएपछि मोहीको विषयमा नकारात्मक टिकाटिप्पणी गर्ने, यसै प्रक्रियाबाट गुज्रिएका छौँ हामी । हाम्रो मनोविज्ञानको रचना यसै किसिमले भएको छ ।
राम्रो कुरा गर्न आउँदैन, नराम्रो नराम्रो कुरा गर्न मात्र आउँछ । राम्रो कुरा सुन्दा भत्भत मुटु पोल्छ । अर्काको नराम्रो कुरा सुन्दा सञ्च हुन्छ हामीलाई । आफू काम नगर्ने, अरुले गरेको काममा खोट देखाउन सिपालु हामी । असल, मिहनेती र पौरखी मानिसले त मोही पार्ने आँट गर्छ, नौनी झिक्ने र नौनी खाने चाह राख्छ, र त्यही बाटोमा आफूलाई अग्रसर गराउँछ । न त उसलाई अरुले पारेको मोही माग्नुको दरकार छ, न त मोही पिएर त्यही मोहीको विषयमा टिकाटिप्पणी गर्ने फुर्सद छ । उसलाई त आफ्नो भैँसी घस्याउँनुमा, भैँसीका फाँचो पगार्नुमा, दुध तताउनुमा, दही मथ्नुमा, नौनी झिक्नुमा, त्यसलाई खार्नुमा नै उसलाई फुर्सद छैन ।
अर्काले बनाइदिएको बाटोमा यात्रा गर्नु जस्तो सजिलो कुरा केही छैन । गाह्रो त नयाँ बाटो बनाउँदै हिँड्नुमा छ । अर्काले खनेको बाटोको बारेमा अनेकन् टिकाटिप्पणी गर्न सकिन्छ । खोटहरु खुट्याउन सकिन्छ । तर आफ्नोलागि आफैँले हातमा कोदाली बोकेर गोरेटो कोर्नु कति चुनौतिपूर्ण काम छ, कत्ति जोखिमपूर्ण काम छ ? अर्काले फाँडिदिएको बाटोमा कुनै समस्या हुँदैनन् । कुनै चुनौती र अबरोधहरु हुँदैनन् । त्यहाँ हिड्नु यसर्थ सजिलो छ, हामीले सिर्फ गोडा चालिदिए पुग्छ । अन्य श्रम र कसरतको दरकार पर्दैन । तर बाटै नभएको ठाउँमा नयाँ नयाँ बाटो निकालेर यात्रीहरुको यात्रालाई सुगम पारिदिनु कत्ति सकसपूर्ण काम छ ? काँढैकाँढ।ले ढाकिएको झोरजंगलमा, भिरपहरा र चट्टानले ढाकिएको ठाउँमा गोरेटो कप्नुमा कत्ति कष्ट छ । जीवन जोखिममा राखेर गैँची चलाउनुपर्छ । अनेकन अबरोधले श्रमलाई विश्राम गर्न खोज्छन् । तर म त्यो जोखिममा आनन्दका रेखाहरु भेट्छु । संघर्षबाट, साधनाबाट प्राप्त हुने सुखमा जीवनको उत्कृष्ट आनन्द लुकेको हुन्छ । त्यसैले चुनौतीसित खेल्नुमा एक मजा छ ।
जीवन चुनौतीरहित भयो भने त्यो जीवन बिकम्मा बन्छ । जीवनका सारा अवयवहरु सुस्त र पङ्गु बन्छन् । मलाई त चुनौतीका नयाँ नयाँ बादल मडारिएको आकाश हेर्न मन पर्छ । किनकि चुनौतीका बादलमै आनन्दको वर्षात् छ । त्यो वर्षामा रुझ्न भिज्न मन पराउँछु । त्यो वर्षात्लाई पिउन र चाख्न हर्दम लालायित बन्छु ।
समाजको फलकमा दुईखाले मान्छे हुन्छन् । पहिलो खालका मानिस दही मथ्ने र नौनी झिक्ने खालका हुन्छन् । दोस्रो खालका मानिस आफू केही नगर्ने अरुले पारिदिएको मोही पिएर मोहीको विषयमा नाटीकुटी गर्ने । मोही पार्नेलाई त अरुको नाटीकुटी गरिरहन फुर्सतै हुन्न नि । जो अर्काले सिर्जना गरिदिएको बस्तुको सुताहा उपभोक्ता बन्छ, ऊ आलोचनामा माहिर हुन्छ । गुणदोष छुट्याउने पण्डित बन्छ ।
कतै पढेको थिएँ, एकचोटि फ्रान्समा एउटा चित्रकारले साह्रै राम्रो चित्र बनायो । आफूलाई राम्रो लागेपनि चित्रमा के कस्ता कमीकमजोरीहरु रहे, उसलाई थाहा पाउन मन लाग्यो । उसले त्यो चित्र एउटा चौबाटोमा लगेर टाँसिदियो । त्यसको छेउमै कलम र कागजपनि छोडिदियो । उसले चित्र मुनि लेखेको थियो –“कृपया ! यो चित्र हेरेर, यस चित्रमा के के कमी कमजोरी रहेका छन् ? औल्याइदिनु होला ।” उसले कापी कागज त्यसकै लागि छोडिदिएको थियो । त्यो चित्र हेर्ने मानिसले हजारौँ गल्ती कमी कमजोरी देखाएर टिप्पणीहरु लेखिदिए ।
हप्तादिनपछि उसको चित्रमा हजारौँ खोट देखाउने मानिसको लर्काे लाग्यो । अर्काे हप्ता त्यो चित्रकारले पुनः त्यस चित्रमुनि यस्तो कुरा लेख्यो –“कृपया ! यो चित्र सुन्दर नबन्नुमा केले बाधा पु¥याएको छ, अनि चित्रमा के अधुरो छ जसले चित्रलाई उत्कृष्ट बन्न बाधा हालेको छ ? त्यसलाई सच्याइदिनु होला । रङ, ब्रस र कुचीको व्यवस्था गरेको छु ।” उसले त्यहीँ रङ, ब्रस र कुची राखिदियो । हप्तादिन त के ? महिना दिनसम्म प्रतिक्षा गर्दा पनि त्यो चित्र सच्याउन कोही आएनन् । सूचना पढ्थे, रङ, ब्रस र कुची नछोई त्यहाँबाट हिँड्थे । चित्रकारलाई ताज्जुब लाग्यो । यस कुराबाट उसले मानव मनोविज्ञानभित्रको विचित्र कुरा थाहा पायो । कुनै चिजको दोष र त्रुटी देखाउन, केलाउन मानिस सक्षम हुन्छ तर दोष त्रुटि सच्याउन चाहिँ सक्तैन । अर्काको खोट खुट्याउन मान्छे जति माहिर छ, अर्काको दुर्वलता देखाउन मान्छे जति माहिर छ । ती दुर्बलता र कमजोरीहरु हटाउन चाहिँ कायर छ । अर्काले सिर्जना गरेको चिजमा नाटीकुटी देखाउन जति सजिलो छ, आफैँले नाटीकुटी गरेको चिज सुधार्न पनि त्यत्तिकै गाह्रो छ ।
ठेकोभित्र दही मथेर नौनी झिक्नेहरुलाई, र झोर जंगल अनि आटव्य चट्टानले घेरिएको ठाउँमा आफू हिँड्ने बाटो आफैँ तयार गर्ने पथिकहरुलाई न त अरुको निन्दा गर्न समय हुन्छ, न त अरुको खिसी टिउरी र नाटीकुटीमा लाग्ने फुर्सतै हुन्छ । यस्ता मानिसलाई न त अरुले पारिदिएको मही पिएर ‘अमिलो र’छ ।’ भनी मुख नमीठो पारी प्रतिक्रिया पोख्नमा समय हुन्छ । न त अरुले खनिदिएको बाटोमा सयर गर्ने शौख र रुचि हुन्छ । उनीहरुलाई त पहरा कप्नमा अकथनीय आनन्दको आभास हुन्छ । आफैंले नौनी मथ्नुमा, घिउ खानुमा सर्वाेच्च सुखसौन्दर्य छल्किएको हुन्छ ।
आफैंभित्रको रङ निचोरेर, आफ्नै औँलाका टुप्पाहरुले चित्रकारिताको अनुपम सौन्दर्य रचना गर्नेहरुलाई अर्काको चित्रको खोट देखाउन, खिसीटिउरीको भाषा बोल्न आउँदैन । निन्दा बोल्न त तिनलाई मात्र आउँछ जसले सृजनाका सर्गहरु रच्न सक्तैन । पौरखका अखेटाहरु कप्न सक्तैन । आफ्ना रङ, ब्रस र कुचीहरु मुसाको आहारा बनाएर अरुको चित्रमा अनन्त निन्दा बोल्ने उपर दयाको भाव उठ्छ । सृजनको साधनापथमा पसिना पोख्ने मनुवा जीवनका हर चुनौतीहरुसित सिंगौरी खेल्ने आँट गर्छ । समस्याहरुमा समाधानका सूत्रहरु पहिल्याउँछ । समस्याका अप्ठ्यारा चट्टान ढिस्काहरुलाई समाधानका सिँढी कुँदेर ऊध्र्वगामी यात्रालाई सहज तुल्याउँछ । ऊभित्र सपनाका पहाडहरु शृङ्खला बनेर उभिएका हुन्छन् । सृजनको कहिल्यै ननिभ्ने ज्योतिशिखा हुरीहरुलाई झेलेर पनि बलिरहेको हुन्छ ।
हाम्रो सामाजिक सतहमा नौनी मथ्नेहरुको संख्या कम छ, अरुले पारिदिएको मोही पिउनेहरुको संख्या बढी छ । आफू हिँड्ने बाटो आफैँ बनाउनेहरुको संख्या कम छ, अरुले बनाएको बाटोमा यात्रा गर्नहरुको संख्या बढी छ । आफूलाई उत्खनन् गरेर आफ्नो निर्माण गर्नेहरुको संख्या कम छ अरुको निर्माणमा रमिता हेर्ने र तिनलाई अर्तिउपदेश गर्नेहरुको संख्या बढी छ । यही अवस्थाले हाम्रो चेतनाको उचाइ देखाउछ, यही कुराले हाम्रो भौतिक तथा चैतनिक समृद्धि निर्धारण गर्दछ ।
यस सन्दर्भमा मलाई दूधको घ्याम्पामा डुब्ने भ्यागुताहरुको कथाको विम्ब सम्झिन मन लाग्छ । कथा संकेतमा बोल्छ, एकचोटि दुइटा भ्यागुता अलग अलग दूूधका घ्याम्पामा खसेछन् । सुगम पथमा हिँडिरहेका भ्यागुताहरु दूधका घ्याम्पामा डुबेपछि बिचल्नीमा पर्छन् । उनीहरु अत्तालिन थाल्छन् । भ्यागुताहरु त्यतिसारो अत्तालिनुको कारण के थियो भने घ्याम्पोमा डुब्ने बित्तिकै दुुईटै घ्याम्पोका बिर्काे बन्द भएका थिए । ती भ्यागुताहरु उपायविहीन भएर छट्पटाउन थाले । उनीहरुको बाहिर निस्किने बाटो बन्द भएको थियो ।
पहिलो भ्यागुताले सोच्यो– आखिर मर्ने नै भैयो, मर्नु नै छ भने पनि आखिर केही न केही उपाय गरेर केहीबेर भए पनि किन नबाँच्ने ? यो सोचेर त्यो भ्यागुतो पौडिखेल्न थाल्यो । पौडी खेलेरै बाँच्ने निधो गरेपछि उसलाई त्यसमै मजा आउन थाल्यो । केही घण्टापछि दूधमा पौडी खेल्दाखेल्दै नौनीको डल्लो तयार हुन्छ । अब ऊ त्यही नौनीको डल्लामाथि बसेर आरामले आफू मुक्त हुने समयको प्रतिक्षा गर्न थाल्छ । नभन्दै एकदिन बिर्काे खुल्छ र त्यहाँबाट निस्किन सफल हुन्छ । अर्काे भ्यागुतोले चाहिँ घ्याम्पोमा जीवित हुने आशाहरु खरानी बनाउँछ । ऊ मृत्युको अगाडि लम्पसार आत्मसमर्पण गर्छ । आफ्ना हातखुट्टा चलाउनु त के चलमल नगरी दूधको अतल गहिराइृमा डुब्छ केही क्षणमा ऊ मर्छ ।
समस्याको पोखरीमा डुबेर नौनी झिक्ने भ्यागुतो हामी कहिले बन्छौँ होला । अरुले पारिदिएको मोही पिउन छोडेर आफैँ हामी कहिले दही मथ्छौँ होला । अरुले खनीखोस्रिदिएको बाटोलाई इन्कार गरेर आफ्नो यात्राको निम्ति गोरेटो नै सही, त्यो बाटो कहिले कोर्छौं होला । त्यो दिनको बारेमा सोचिरहेछु । त्यस्ता मानिसहरुको बारेमा सम्झिरहेछु ।