बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका वार्ड नं. १४ नारायणस्थान बलेवामा बि. सं. २००४ सालमा माता पञ्चकला शर्मा र पिता पं नीलकण्ठ शर्माका पुत्ररत्नको रूपमा जन्मिएका लक्ष्मीकान्त शर्मा पौडेल साहित्यको फाँटमा लकाश शर्माका नामले सुप्रसिद्ध छन् । हाल उनी भरतपुर नगर पालिका १० दीपेन्द्रचोकमा बसोबास गर्दै आइरहेका छन् ।
उनका पद्याञ्जलि (कवितासङ्ग्रह २०७०) भावाञ्जलि (कवितासङ्ग्रह २०७०), गीताञ्जलि (सूक्तिकाव्य २०७०), शौर्यगाथा (महाकाव्य–२०७१), बहरका लहरहरू (गजलसङ्ग्रह–२०७१) फेसबुक सन्देश (मुक्तकसङ्ग्रह), हिमालयदेखि कन्याकुमारीसम्म (यात्रासंस्मरण– २०७२), विनियोग (कवितासङ्ग्रह–२०७४), बाजीकरण (कथासङ्ग्रह–२०७४), सुरालय (रुवाईसंग्रह–२०७५) र यो अपाला (महाकाव्य –२०७७) लगायतका कृतिहरू नेपाली साहित्यका चर्चित कृतिहरू हुन् । विभिन्न साहित्यिक संस्थाहरूबाट पुरस्कृत र सम्मानित भइसकेका शर्मा अनगिन्ती सामाजिक संघसंस्थाहरूमा समेत संलग्न रहँदै आएका छन् ।
‘अपाला' महाकाव्य उनको दोस्रो महाकाव्य हो । यस अघिनै उनले ‘शौर्यगाथा ' नामको सुन्दर महाकाव्य प्रकाशन गरिसकेका छन् । महाकाव्यीय सिद्धान्त अनुसार काव्य साधक लकाश पौडेलले यस महाकाव्यको प्रथम सर्गको आरम्भमा महाकाव्य लेखनमा कुनै बाधा व्यवधान नआओस् भन्दै आत्मतत्वलाई सम्बोधन गरिएको मङ्गलाचरण प्रस्तुत गरेका छन् । महाकाव्यीय सिद्धान्तमा मङ्गलाचरणलाई महत्त्वपूर्ण अङ्गका रूपमा लिने गरिएको छ । महाकविले छैटौँ श्लोकबाट विषय प्रवेश गरिएको उल्लेख गरेका छन् । जसमा अपालाको जन्मदेखि पयोष्णी नदी तटमा रहेको अत्रि ऋषिको आश्रमस्थलको सुन्दर प्रकृति वर्णन गरिएको छ । कविले गरेको प्रकृति वर्णनमा पाठक स्वयं सुन्दर तपोवनमा रहेको फलफूल र विभिन्न जाति प्रजातिका फूल फुलेको वाटिका परिसरमा, यज्ञशाला, योगशाला र गौशालासँगै रहेर कथाको रसास्वादन गरिरहेको अनूभूति गर्न सकिन्छ । यो सर्गमा भुजङ्गप्रयात , मालिनी, वसन्ततिलका,द्रुता, उपजाति, कुसुमविचित्रा, सुन्दरी छन्दको प्रयोग गरिएका सुन्दर श्लोकहरू छन् भने महाकाव्यीय सिद्धान्त बमोजिम मालिनी छन्दको प्रयोग गरेर सर्गलाई विश्राम दिइएको छ । यस सर्गलाई एकहत्तर श्लोकहरूले बाँधिएको छ ।
द्वितीय सर्गमा अपालाको ज्ञान र विद्रोहका विषयमा विशद् रूपमा व्याख्या गरिएको छ । वेदाध्यायन, होम, जप र योगकालागि पुरुष सरहको हक अधिकार र मनुस्मृतिमा उल्लेखित भेदभावका विषयमा समेत उनले औँला उठाएको प्रसङ्ग उल्लेख गरिएको छ भने अनुष्टुप,उपजाति (वंशस्थ + इन्द्रवंशा) , उपजाति (इन्द्रवज्रा+ उपेन्द्वज्रा) र सर्गान्तमा मालिनी छन्दको प्रयोग गरिएको छ । यस सर्गमा जम्मा ६७ श्लोकहरू समावेश छन् ।
तृतीय सर्गमा सृष्टि र चेतना शीर्षक दिएर महाकविले कथानकलाई अघि बढाउँदै आफ्नो कवित्व चेतको भरपुर प्रयोग गर्दै वैदिक दर्शन र आत्म चिन्तनका माध्यमबाट आफ्ना भावक पाठकलाई वैदिक ज्ञान प्रदान गरेका छन् भने यस सर्गमा कविले आफ्नो दर्शन समेत प्रस्तुत गरेका छन् । यस सर्गमा भुजङ्गप्रयात, स्रग्धरा, पञ्चचामर, स्रग्विणी, प्रहर्षिणी छन्दको प्रयोग गरिएको छ भने सर्गान्तमा मालिनी छन्दकै प्रयोग गरिएको छ । यस सर्गमा कूल ५८ लोक समावेश गरिएको छ । यसै सर्गको यो सुन्दर श्लोक प्रस्तुत छ -
सुकेर पात झर्नुझैँ छ जिन्दगी यथार्थ यो
अझै हुरी उडाउने कताकता अनर्थ भो
हराभरा छ बोट ता सजीव बुझ्नु अर्थ यो
जसै चुँडेर खस्छ यो बुझिन्छ देह व्यर्थ गो ।।
चतुर्थ श्लोक अन्तर्गत अपालाको बाल्यकाल, किशोरावस्था र यौवनकालको चर्चा निकै लोभलाग्दो तरिकाले गरिएको छ । पूर्व स्मृतिका कुराहरू,नामाकरणको प्रसङ्ग र वसन्तपञ्चमीको शुभमुहुर्तमा अपालालाई अक्षरारम्भ गराइएको र गणेश मन्त्रसँगै उनको विद्यारम्भ गरिएको प्रसङ्ग र उनी समग्र ध्वनी र श्रुतीशास्त्रको अध्ययन गरेको वर्णनको साथै उनको रूप र गुणको वर्णन यस सर्गमा गरिएको छ । तलाउमा स्नान गर्दा त्वचामा देखिएको दागबाट अत्रि दम्पती चिन्तित भएको लगायत अन्य प्रसङ्गहरू समेत जोडिएको छ । अनुष्टुप, उपजाति (इन्द्रवज्रा+ उपेन्द्रवज्रा), इन्दिरा र स्वागता छन्दको प्रयोगले सर्ग अत्यन्त रोचक बनेको छ भने सर्गान्तमा मालिनी छन्दको प्रयोग गरिएको छ ।
पञ्चम सर्गमा ‘रतिभाव र यौन उत्सुकता' शीर्षक दिइएको छ । यही सर्गमा अपालाले कामशास्त्रको अध्ययन गरेको र फलस्वरूप उनमा रतिराग उत्पन्न भएको विषयलाई कविले वर्णन गरेका छन् । एकजना उमेर भरिएकी युवतिको मनका भावनाहरू छताछुल्ल पोखिएको वर्णन निकै कलात्मक ढङ्गले गरिएको छ । कामोन्मत्त बनेकी अपालाको मनोदशा व्यक्त गर्दै महाकवि लेख्छन् -
मनोरोगीसरी कैल्हे यसैयसै टोलाउँछु
चञ्चले मृगको पाठो काख राखी भुलाउँछु ।
यसरी कविले यो सर्गका सम्पूर्ण श्लोकहरू अपालाको यौन भावनामा खर्चिएका छन् । यस सर्गमा अनुष्टुप, उपजाति र दिक्पाल छन्दका थुँगाहरू टिपेर आकर्षक माला बनाइएको छ । सर्गान्तमा भने यहाँ पनि मालिनी छन्दको प्रयोगबाट नै बिट मारिएको छ । यसमा ५६ वटा श्लोकहरू समावेश गरिएका छन् ।
छैटौँ सर्गमा विवाह प्रसङ्गलाई निकै सरलता पूर्वक वर्णन गरिएको छ । असल गुण भएकी पुत्रीलाई सुयोग्य वर खोज्नु पर्ने र आफूले वर खोज्नुभन्दा कन्यार्थीले मागि दिए उचित हुने छलफल चलिरहेको समयमा इक्ष्वाकु कुलका राजर्षि बर्हणाश्व पुत्र कृशाश्व आइपुगेको र स्वयं अपालाले स्वागत गरेको प्रसङ्गलाई महाकविले अत्यन्त मनोरम वर्णन गरेका छन् । अनुष्टुप, चम्पकमाला र इन्दिरा छन्दको प्रयोग गरिएको यस सर्गको अन्त्य पनि मालिनी छन्दबाट नै गरिएको छ । यस सर्गमा ६७ श्लोकहरू छन् ।
सप्तम् सर्ग अन्तर्गत ‘अपाला- कृशाश्व उद्वाह' शीर्षकमा अपालाले गर्ने भनिएको विवाहपछिको चिन्ताका विषयमा विस्तृत चर्चा गरिएको छ । यसैगरी विवाहको समयमा वरियाँत आएको, वरवधुको पोशाकको वर्णन गरिएको, यज्ञशालामा विवाह कार्यक्रम सम्पन्न भएको, कन्यादान गरिएको र बिदाइका समयमा अपालाले माता पिताप्रति कृतज्ञता जाहेर गरेको, बाजागाजा सहित अपाला वधु बनेपछि वरसँगै प्रस्थान गरेको प्रसङ्ग निकै ह्रृदयस्पर्सी छ । शिखरिणी, मालिनी, भुजङ्गप्रयात, अनुष्टुप, मन्दाक्रान्ता, शार्दूलविक्रीडित, उपजाति र विधाता छन्दहरूले सजाइएको यस सर्गको सर्गान्तमा पनि मालिनी छन्दकै प्रयोग गरिएको छ । कूल ६८ वटा मार्मिक श्लोकहरूबाट सिँगारपटार गरिएको यो सर्ग सर्वाधिक सुन्दर छ ।
अष्टम सर्गमा ‘अनुराग र घृणा' शीर्षक दिइएको छ भने यस सर्गमा अपालाको नयाँ घर परिवारको वर्णन, नवदम्पत्ति रतिक्रीडामा रमाएको प्रसङ्ग , पुनः उनको शरीरमा स्वेतकुष्ठ देखापरेको र उनले इन्द्रको ध्यान र पूजा आराधना गर्न आरम्भ गरेको प्रसङ्गलाई समावेश गरिएको छ । स्रग्विणी, वियोगिनी, स्रग्धरा, मालिनी, उपजाति, शिखरिणी, शार्दूलविक्रीडित, मन्दाक्रान्ता, भुजङ्गप्रयात ,शालिनी र पृथ्वी छन्द मार्फत श्लोकहरू लेखिएका छन् भने मालिनी छन्दले सर्गान्त गरिएको छ । यस सर्गमा कूल ६८ श्लोकहरू छन् ।
नवम सर्ग ‘व्याधि, चिकित्सा र पुनर्मिलन' शीर्षकमा लेखिएको छ । अपालाले नित्य स्नान , जप गर्दै सोमलताको रस अर्पण गरेर इन्द्रको पूजा गरेको, स्वेत कुष्ठ निको पारिदिन वरदान मागेको र इन्द्रबाट वरदान प्राप्त गरेको, अपालाले आफ्नो पतिलाई क्षमा दिएको प्रसङ्ग यो सर्गमा वर्णित छ । यस सर्गमा अनुष्टुप र वसन्ततिलका छन्दको प्रयोगमा नै सर्ग समाप्त हुन्छ भने सर्गको समापनमा पनि मालिनी छन्दको प्रयोग गरिएको छ । सर्गमा कूल ५२ थान श्लोकहरू छन् ।
महाकाव्यको ‘उपसंहार' शीर्षक दिइएको दशम सर्गमा महाकविले वेदाध्यायको अधिकार पुरुषहरूलाई मात्र नभएर नारीले पनि वेद अध्ययन गर्न पाउनु पर्ने अधिकारका लागि अपालाको महत्त्वपूर्ण योगदान रहेको पुष्टि गरेका छन् । अनुष्टुप, तोटक र द्रुतविलम्बित छन्दले रङ भरिएको प्रस्तुत सर्गमा पनि मालिनी छन्दबाट नै सर्गान्त गरिएको छ भने यो अन्तिम सर्गमा जम्मा ४० श्लोकहरू रहेका छन् । यसै सर्गद्वारा सम्पूर्ण महाकाव्यको समापन गरिएको छ ।
समग्रमा ‘अपाला' वैदिककालको कथा हो तर यो नयाँ युगको साहित्यको विस्तारित रूप बनेर प्रस्तुत भएको छ । यहाँ कथाले गति लिएको छ । यहाँ चरैवतीको दर्शन छ । चरैवती शाश्वत रूपमा समाहित छ । वैदिक युगको कथा भए पनि ‘अपाला' महाकाव्यमा सबै कुरा ताजा छन्, केही पनि बासी छैनन् । ताजा हुँदाहुँदै पनि कथानकको वास्तविक 'स्वरूप' एकदमै सुरक्षित छ । यसरी विभिन्न छन्दका माध्यमबाट धारा प्रवाह रूपमा, आफ्ना भावक पाठक समक्ष कथानकलाई अघि बढाउनु वास्तवमै चुनौतीपूर्ण कार्य थियो तर विज्ञ कविले त्यसलाई निकै सहज ढङ्गले पूर्ण गरेका छन् । यस महान कार्यका लागी महाकविलाई हार्दिक बधाई दिन चाहान्छु ।
महाकाव्यमा, धिरोदात्त नायिका अपालाले वाचन गरेको वेदका ऋचाहरूको झङ्कार सुन्न सकिन्छ । यहाँ अपालाको प्रेमप्रतिको गुनासो छैन, बरू नारी विद्रोहको आवाज घन्किएको छ । हजारौँ वर्षपछिका नारीहरूको हक र अधिकार वैदिककालमै सुरक्षित गरिएको इतिहासका गाथा पढ्न पाइन्छ । अपाला कमजोर र एउटा सामान्य नारीमात्र भैदिएको भए कृतिमा स्वैत कुष्ठले थलिएकी एउटी अवोध नारीको वाध्यता र विवसताको कथा पढ्नु पर्ने हुनसक्थ्यो, उनको आँखाबाट बग्ने आँसुको धाराले भिजेको कथा पढ्नु पर्थ्यो तर यहाँ भने एकजना वेद विज्ञ , विदुषी, स्वाभिमानी र बहादुर नारी योद्धाका विषयमा पढ्न पाइएको छ । यतिमात्र होइन, अपालालाई तार्किक र अत्यन्त बुद्धिमानी नारीको भूमिकामा प्रस्तुत गरिएको छ ।
‘अपाला' महाकाव्यमा हुनुपर्ने सबै गुण र तत्वहरू समावेश गरिएका छन् । महाकाव्यकारले हरेक प्रकारका रोगीले प्रयोग गर्न मिल्नेगरी खुराक बनाएर पस्किएकोले यो निकै पथ्य बनेको छ । यसभित्र अपालाको मेधावी छवि, कुशाग्र बुद्धि र उनको धीरता र सारा भावनाहरू अङ्कुरित हुँदै पल्लवित भएका छन् र सुरभि छरपस्ट बनेर पोखिएको छ । कविले महाकाव्यको जलपान गर्न खोज्ने सबैलाई अमृतपान गराइदिएका छन् । कृति पठनीय र सङ्ग्रहणीय बनेको छ । संसारको सबैभन्दा पूरानो र जीवित साँस्कृतिक परम्परा मध्येको सबैभन्दा पहिलो ऋग्वेदकी मन्त्रद्रष्टा मध्येकी एकजना विदूषी अपालाका विषयमा यति सुन्दर महाकाव्य रचना गर्नुहुने महाकवि लकाश शर्मा पौडेललाई हार्दिक शुभकामना ।
चितवन ।