19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कर्णालीका कहर बोल्ने नियात्रा सङ्ग्रह 'भेरीका छालहरू'

कृति/समीक्षा पूर्ण ओली February 20, 2026, 2:30 pm
पूर्ण ओली
पूर्ण ओली

सफल नियात्राकार भेषराज रिजालको चौथो नियात्रा कृति 'भेरीका छालहरू' प्रकाशन भएको छ। आधा दर्जनभन्दा बढी कृतिका सर्जक रिजालले यस नियात्रा कृतिमार्फत कर्णालीका कुनाकुनामा फैलिएको कठिन जीवन र कठिन भूगोललाई जस्ताको तस्तै उतार्नुभएको छ।

भेषराज रिजालको सङ्क्षिप्त रूप 'भेरी' हुने भएकाले यस कृतिमा उठेका छालहरू केवल कर्णालीका मात्र होइनन्, लेखकका आफ्नै अनुभूति, संघर्ष र चेतनाका छालहरू पनि हुन्। कृतिमा भेरी र कर्णाली नदी केवल प्राकृतिक तत्त्वका रूपमा होइन, जीवन, साहस, निष्पक्षता र निरन्तरताका प्रतीकका रूपमा उभिएका छन्।

लेखकले नेपालका कुनाकन्दरा र कर्णाली-भेरी क्षेत्रका गाउँहरूको यथार्थ जीवन नजिकैबाट नियाल्नुभएको छ। उहाँले अशिक्षा, गरिबी, बेथिति, ठगी र राज्यको पहुँच नपुगेको पीडालाई नियात्रात्मक संवेदनासहित प्रस्तुत गर्नुभएको छ। कागजी किर्ते र अनुदान अपचलनका कारण सोझा गाउँलेहरू पीडित भएको यथार्थले लेखकलाई गहिरो आत्मसंघर्ष र प्रश्नहरूतर्फ डोर्याएको छ- नागरिक सचेतना, प्रतिनिधिको दायित्व र नैतिक जिम्मेवारीका प्रश्नतर्फ।

यस कृतिमा प्रकृतिको सौन्दर्य, गाउँको सरलता, नदीहरूको मिलन र रातको नीरवता हुँदै लेखक जीवन-यात्रा, संघर्ष र आशाको दर्शनमा पुग्नुहुन्छ। पीडा र सौन्दर्य, आक्रोश र करुणा, निराशा र आशाबीचको सन्तुलित अनुभूति कृतिको उल्लेखनीय विशेषता हो।

गाउँलेको पीडा, ठगी र निरीहता देखेर लेखकहृदय गहिरो मानवीय संवेदनाले छोइएको छ। रिजालले पीडालाई सनसनी होइन, करुणा र आत्ममन्थनको दृष्टिले प्रस्तुत गर्नुभएको छ। राज्यको असफलता र प्रतिनिधिको गैरजिम्मेवारी औँल्याउने साहस हुँदाहुँदै पनि कृतिमा आरोपभन्दा बढी समाधानमुखी चिन्तन बढी देखिन्छ।

नदी, यात्रा, अँध्यारो, उज्यालो र मौनताजस्ता प्रतीकमार्फत जीवन र संघर्षको दार्शनिक व्याख्या प्रस्तुत गर्नु रिजालको सशक्त लेखकीय विशेषता हो। दुर्गम, गरिबी र पीडाबीच पनि प्रकृतिको सौन्दर्य देख्न सक्ने दृष्टि र प्रकृति-मानव सम्बन्धलाई एकअर्कासँग गाँसिएको रूपमा हेर्ने चेतना कृतिमा स्पष्ट छ।

भेरीका छालहरू केवल यात्रावृत्तान्तको सङ्ग्रह होइन यो नागरिक चेतना, सामाजिक न्याय र नैतिक जागरणको सशक्त आह्वान हो।

उहाँको लेखनशिल्प अत्यन्त सुन्दर र छाँटिएको हुन्छ। पाठक उहाँको लेखमा छिर्‍यो भने सजिलै उम्कन पाउँदैन। पाठकलाई जीवन, जगत र आफ्नै मनका कुनाकन्दरा घुमाएर विविध अनुभूति दिलाएर मात्र छुट्कारा दिनुहुन्छ। उहाँको जाँगर नमनीय छ। उहाँको कौशल स्तुत्य छ। समाजका दही जस्ता पाटाहरुमा पसेर नौनी निकाल्न खप्पिस हुनुहुन्छ रिजाल।
महासागर भेट्ने लक्ष्यसाथ विशाल आयतनमा शान्तसँग अविरल बगिरहने साहित्यकार 'भेरी' (भेषराज रिजाल) लाई अनेकौँ बधाई तथा शुभकामना।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।