19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सारिकाको सिउँदो

कथा विमल लामिछाने February 20, 2026, 3:47 pm
विमल लामिछाने
विमल लामिछाने

अस्पतालको आइसीयू बेडमा वार कि पार जस्तै थिईन् सारिका । उनका शून्य आँखाले छत हेर्दै वरिपरी गर्दै थिए । टाउकोमा गहिरो चोट, शरीरमा थकाइ, र मनमा पहाडजस्तो बोझ । गुम्सिएर निसास्सिएका भावनाहरु कसैसँग शियर गर्ने मौका नै थिएन ।

उनी एक हप्ता अघिसम्म बिराटनगरको एउटा कलेजमा समाजशास्त्र पढाउँथिन् । उच्च चेहरा भएकी, गोरी र आकर्षक थिइन् सारिका । दिमागपनि निकै तेज, पढाउने कला पनि अरुभन्दा पृथक भएको अनुभव साटिरहेका थिए, कलेजको अघिल्पट्टीको चौरीमा बसेका उनका समकक्षीहरु । परिवर्तनकी सम्बाहक हुन् । मान्छेलाई मोटिवेशन गर्न सिपालु र कडा छिन् । चिया पसलसम्म उनको प्रशंसा पनि सुनिन्थ्यो ।

गौरव नाम गरेका साथीसँग उनको निकट सम्बन्ध थियो । उनका साथी गौरव सामाजिक अभियन्ता पनि हुन् । उनीजस्तै हक्की र निडर थिए गौरव । गौरवसँग कलेज पढ्दादेखिनै बसेको गाढा प्रेमलाई बैवाहिक जीवनमा परिणत गरेको वर्षदिनमात्रै कट्तै थियो । वैवाहिक जीवनमा बाँधिएर दुईबसन्त पनि बिताउन नपाउँदै विछोडिनु पर्यो । जेन–जी आन्दोलनले गौरवलाई सारिकासँग चुँडेर लग्यो ।

काठमाण्डौमा जेन–जी आन्दोलनको अभियान चलाउने क्रममा उग्र भीडको विच आक्रमणमा परे गौरव । भिडका विचमा बतासिएर आएको बन्दुकको गोली छात्तीमै लाग्यो । ऐइया पनि भन्न पाएनन् । उनी ठाउँको ठाउँ त्यहीँ ढले । सारिका बचिन्, तर घाइते भएर । रक्तम्य थियो उनको शरीर । शरिभरी घाउ र मनमा अनगिन्ती चोट बोकेर अस्पतालको बेडमा अईया... अईया...को मन्द आवाज आइरहेको थियो ।

सारिकाको पेटमा आठ महिनाको गर्भ थियो । अस्पतालको बेडमा सारिकालाई स्याहार गरिरहेका थिए डा. आर्यन । युवावस्था पार गरिरहेका, अनुभवी, शान्त स्वभावका, तर आँखामा गहिरो अनुभूति बोकेका उनले सारिकाको घाइते शरिरको उपचारमा बहुत मेहनत गरिरहको आभाष हुन्थ्यो । उपचारमा मात्र होइन, मानसिक पुनर्बहालीमा पनि विशेष ध्यान दिइरहेका थिए ।

सारिकाको छेउमा एककोहोरो जस्ती निरीह भएर उभिएकी थिइन् उनकी सासूआमा जानकी देवी । “हे भगवान ! छोरालाई त खोसिहाल्यौ, अब बुहारी र यो जन्मनलागेकी नातिनीलाई त बचाइदेउ ! बरु मलाई चुँडाए हुन्छ, अब मेरो काम छैन ।” उनी बर्वराउँदै बोल्थिन् । सक्छौ भने भगवान बाँचेकाहरूको लागि केही कृपा गर !

करिव दुईहप्ताको उपचार पछि सारिका अस्पताल नजिकै डेरा सरिन् । डा. आर्यनको डेरापनि सरिकाको डेराभन्दा दुई कोष टाढा मात्र थियो । अलिदिनपछि सारिका सुत्केरी भइन् । डा. आर्यनकै सहयोगमा उनले छोरीको जन्म दिइन् । दिनहरु वित्तै गए । डाक्टरी सेवा बाहेक सामाजिक न्याय र महिला अधिकारका क्षेत्रमा काम गर्ने आर्यन आफैं पनि अनाथ आश्रममा हुर्किएका ब्याक्ति थिए । त्यसैले सारिकाको पीडा उनले आत्मीय रूपमा अनुभूति गरेका थिए ।

एकदिन जानकी देवीसँग उनले सोधे, ‘आमा, म सारिकाको जीवनमा साथी बन्न सकूँ भन्ने चाहना राख्छु । तर तपाईंको अनुमतिमा मात्र अघि बढ्न चाहन्छु ।’

जानकीको मन हलचल भयो । केही बोलिनन् । प्रतिउत्तर पनि गरिनन् । उनले मनमनै सोचिन, विचरो गौरव जस्तै लाग्ने । अहा कति माया गर्छ सारिकालाई ....। फेरि उता सम्झिन्छिन् यो कुरा सुन्दा सारिकाको मन अझ बेचैन हुने पो हो कि ? कसरी सुनाउँ उनलाई, होस बरु अहिलेलाई नबोल्दै जितिएला ।

डा.आर्यन केही दिनपछि महिला सशक्तिकरण दिवसको दिन पारेर सारिकालाई भेट्न गए । जुस, मिठाई, फलफूल र एउटा किताब लिएर । त्यो किताबको कभरमा लेखिएको थियो ‘जेन जी पुस्ता र महिला पुनर्जागरण’ । सारिकालाई आर्यनले हातमा थमाइदिए । एकछिन बसे, सन्चो विसन्चो सोधे, औषधी भए नभएको सोधे, समय मिलाएर खान र बच्चा र आफ्नो स्वास्थ्यको ख्याल राख्न भनेर बाहिरिए ।

दुईदिनपछि सारिकाले किताव पढ्ने इच्छा राखेर खोलिन । किताबको पाना बीचमा एउटा चिठी रहेछ... ।

प्रिय सारिका,
म तपाईंलाई एक्लै लड्न नपरोस् भन्ने चाहन्छु । जसरी तपाईंले समाज रूपान्तरणको सपना देख्नुभयो, म पनि तपाईंको जीवनमा सहयात्रीको सपना देख्छु । तपाईंको जीवनमा विगतको तिक्तताले होइन, भविष्यको हर्षले परिभाषित गरोस् । म तपाईंको हिजो होइन, आज र भोलि बनेर साथ दिन चाहन्छु । ... उही डा.आर्यन ।

सारिकाको मुटु हल्लियो । केही बोल्न सकिनन् । निशब्द भयो, उनको गला अड्कियो । मनमा कुरा खेलिइरहे । एकपछि अर्को छाल बनेर भक्कानियो मुटु ।

भोलीपल्ट आर्यन चिया समयमा सारिकाको डेरा छिरेकामात्र थिए । उनले एकैपटक आर्यनमाथि शब्दको वर्षावाँण गरिन् । “डा. साब ! मैले आन्दोलनमा लड्न पाएकोमा आफूलाई भाग्यमानी सम्झेकी छु, मुलुक परिवर्तन गर्ने यो महान यात्रामा जो केही चाहेर पनि सामेल हुन सक्दैन । श्रीमान गुमाएकी छु, तर सहिदको कोटा चुक्ता गरेकोमा म गौरवलाई स्यावासी दिन्छु । सहिद हुनुपनि अजम्मरी हुनु नै हो ।

तपाइको सेवालाई मैले एउटा डाक्टरको पेशा र कर्तब्यमात्रै ठानेकी हुँ । मैले मायाको भिख मागेकी होइन । मेरो सिउँदो रित्तिएको हो, त्यो भरिनै पर्दैन । म आजिवन गौरवकी हूँ । म सहिद गौरवकी धर्मपत्नीको परिचय मेटाउन चाहन्न ।

डा. आर्यनले भने, ठीकै छ, मैले जवरजस्ती गर्न चाहेको पनि होइन । तर तपाईँ समाजसास्त्रको विद्यार्थी भएकाले समाज बुझ्नुभयो अब, बदल्ने दायित्व पनि तपाईकै काँधमा छ । म निरीह विधवा नारी भएर होइन, तपाइँलाई परिवर्तनको संवाहक साहसी नारी भएर बाँचेको हेर्न चाहन्छु । तपाईँको जो विचार । म अहिले गएँ ।

सासू जानकीले पनि दुबैतर्फका कुरा सुनिन् । समय वित्तै गयो । केही समय मौन भइन् । समयसँगै उनको मौनताको घडी समाप्त भएको उनले देखिन् कि उनकी नातिनी (सारिकाको छोरी) आर्यनकै भरथेगमा हुर्किरहेकी छन् । अलि ठूली भएपछि दिनभरि आर्यनकै पछाडि लाग्ने गर्थीन् । तर उनले आर्यनलाई अंकल कहिलै भनिनन् । ‘आर्यन बाबा’ भनेर बोलाउन थालिसकेकी थिईन् ।

एक साँझ ठूलो आँधीसहित पानी आयो । बिजुली चम्किएको बेला सारिका झ्याल बन्द गर्न उठेकी थिइन् । बाहिर बाटोमा आर्यन भिजिरहेको देखिन् । सारिकाको हृदयको कुण्ठा फुट्यो । ‘आर्यन, किन भिज्नुभएको ज्वरो आउँछ । झरी बतासमा बाहिर बसेर यस्तो गर्नुहुन्न । माया गर्नु भनेको सास्ती त हैन नि ! खरक्क भित्र आउनु ।

आर्यनको चाहना पूरा गर्न नै आँधी आएजस्तै भयो । उनी केही नबोली सारिकाको तर्फ लागे । सारिकाले भिजेको लुगा फेर्न भनिन् । र तातो पानी, सुप बनएर खुवाइन् । एकैछिन मौनता छायो, बोलेनन् दुवै । तर आँखाका तरेलीहरु दुवैले एक अर्कालाई पहिल्याईरहेका थिए । सारिकाले मुख खोलिनः ‘मलाई पनि त्यो सास्तीमा तपाईंको साथ चाहिएको थियो । अब टाढा हुन सकिँन ।’ आर्यन मुस्कुराए ।

त्यही साँझ, जानकी देवीले आर्यनको हातमा फूलमाला र सिन्दुरको डब्बा थमाउँदै भनिन्, ‘म समाजको नियमभन्दा तपाईंको माया ठूलो मान्छु । मेरो बुहारीको जीवन फेरिन तपाईको हात र साथ दुवैको भूमिका छ, अब जीवनभर साथ दिनुहोस् बाबू ।’

आर्यनले सारिकाको सिउँदो रंगाए । सारिकाको सिउँदोले दोस्रो पटक रंगिनशान्ति पाएको छ । त्यो सिउँदो अब समाजको मजाक होइन, समानताको प्रतीक बन्यो । अन्यायमा ठगिएको सारिकाको जीवनले न्याय पाएको महशुस भयो ।

सारिका र आर्यनले मिलेर एउटा ‘सशक्त नारी केन्द्र’ स्थापना गरे, जसले जेन–जी आन्दोलनको भावनालाई विस्तार ग¥यो । जहाँ विधवा, पिडित, अपांगता भएका र शोषित महिलाहरूले नयाँ जीवन पाउँछन् । त्यो सिउँदो, जसलाई समाजले विधवाको ‘शोक’ मानेको थियो, आज स्वाभिमानको ‘शान’ बनेको छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।