19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

स्निग्ध स्वप्न

कविता कृष्ण उपाध्याय February 23, 2026, 2:46 pm
कृष्ण उपाध्याय
कृष्ण उपाध्याय

ज्ञानयोनि ज्ञेय हौ अपौरुषेय हौ तिमी
दृश्य दृस्ट श्रव्य कर्म जान्दछौ सवै तिमी।
जान्दछौ तथापि भन्छु कौशिकी म सर्वदा
अङ्गना शुभाङ्गना सुमंगला कथासुधा ।।

माघे संक्रान्ति हो आज भन्दै सखी वटुल्दछिन्।
कुद्दै पुगेर कोशीमा सवै गोता लगाउदछन्।।

हाँस्छन् खेल्छन् सवै वाला दौडिदै घर पुग्दछन्।
लड्डु कन्दमूल खान्छन् दौडिदै चौर पुग्दछन् ।।

सखीहरु सवै नाच्छन् गाउँछन् मृदु भावमा।
बटुल्दै वाँसका टुक्रा बनाउछन् वेदी छेउमा ।।

ढल्किन्छीन् अङ्गना त्यहाँ सिरानी चै छ वाँसको।
उभिएका अरु सारा वोकेर भाव त्रासको।।

आँखा चिम्लेर अङ्गना गाउँछिन् मृदु भावमा ।
उभिएका अरु सारा सुन्दछन् प्रेम भावमा :

ढलक्क ढल्किई लडें लरक्क लट्किई रहेँ
लडेर युद्ध भूमिमा मरेका ति हेरी रहेँ।
मरौं भने सुती यहाँ तथापि पर्खिनै रहेँ
म कुर्छु लौ न मृत्यु त्यो बनोस उत्सवै भनेँ।।

लमक्क लम्किए यतै थचक्क भुँइमा बसे
उतप्त तप्त आँशु चै रुदैं रुदैं सवै पुछे ।
अजस्र प्रेमनै थियो थियो पिरै बिछोडको
कुटुक्क भो मनै जसै परै तिरै अडिन गो ।।

पुगेछ ध्यान अन्तनै जहाँ पुरंदरै थिए
मुसुक्क मुस्कुराउदै फनक्क फर्किदै थिए।
अगाध प्रेम दृष्टिले दया असीम झार्दथे
अनन्त कीर्तिमूर्ति ती असीम प्रेम पोख्दथे ।।

डुबाइ चित्त बेस्सरी ति प्रेमको समुद्रमा
गएँ, बसेँ, लडें, डुबें अनन्त प्रेम भावमा।
न भोक शोक छन् कुनै न मोह आश नै कुनै
बिमुक्त भै पुगेँ म प्राप्य प्राच्य पद्मपादनै ।।

अहा! ति प्रेम शिष्ट छन् ति क्लिष्ट छन् विशिष्ट छन्
उनी मलाई जिताएर वाजि आँफु हार्दछन्।
उनै त् हुन् नि प्रेमदीप दीप्त स्निग्ध उज्ज्वल
उनै त हुन् नि प्रेमपुष्प पद्मका ति प्राञ्जल ।।
(प्रकाशोन्मुख "अपौरुषेय")

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।