19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

उसको मृत्युमा

कविता मातृका पोख्रेल December 19, 2008, 8:11 pm

देशको मानचित्र बोकेर

गाउँगाउँ घुमी हिँड्ने

हामीले सधैं देखिरहेको

हाम्रै चेतनाको बारीमा

घाम रोपेर हिँड्ने एउटा मान्छे

तिमीले देख्यौ कि देखेनौ ?

एउटा असल मान्छे मर्यो

उसको मृत्युमा

शोकले निन्याउरा भए

झुप्राहरू

नियास्रोले सुस्ताए

दलानहरू

अनुहारहरू फुङ्ग उठाएर

बेहोसझैं भए

गाउँका गोरेटाहरू

सहयात्रीहरूको एक हुल झैं

शिखर चढेको बेला तिर्खाएर

टुकुचाको नालीमा फालनहालेको

चेतनाको माछापुच्छ्रे

अस्तिमात्र ढल्यो

तिमीले देख्यौ कि देखेनौ ?

एउटा असल मान्छे मर्यो ।

सुनेको थिएँ–

माटोको मायामा जून फल्छ

विवेकको छातीमा घाम उदाउँछ

इतिहास लेख्न सकुन्जेल

जून मर्दैन

घाम मर्दैन

मैले सुनेकै थिएँ

माटोको माया गर्ने मान्छे

मृत्युपछि पनि बास आउँछ

घाम र जूनमा रूपान्तर भएर

सृजनाको एउटा बोत्री

अस्तिमात्र निभ्यो

तिमीले देख्यौ कि देखेनौ ?

एउटा असल मान्छे मर्यो ।

हाम्रो एकता, वर्ष १, अङ्क २, ०६१ असोज

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।