19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जराको शक्तिको आलोकमा अर्ग्यानिक निबन्ध ‘गनगन कि गुनगुन’

कृति/समीक्षा विश्वराज ढुङ्गाना March 1, 2026, 5:32 pm
विश्वराज ढुङ्गाना
विश्वराज ढुङ्गाना

उदयपुर जिल्लाको सुदूर पश्चिमोत्तरमा पर्ने विकट पहाडी भूगोलमा अवस्थित ताम्लिछा गाउँमा जन्मेर हुर्केर अन्यत्र गई उच्च शिक्षा आर्जन गरेका पुण्य कार्कीजी जिल्लाभित्रका उत्कृष्ट स्रष्टा हुन् । उनले शिक्षण कर्मलाई नै जीविकाको आधार बनाएका छन् । उनको कलम निबन्धको फाँटमा निर्वाध ढङ्गले अगाडि बढ्ने क्षमता राख्छ । अध्ययनशीलता र विचारको प्रस्टताले उनको लेखनीले पाँचओटा दाजु निबन्ध सङ्ग्रहपछि भाइको रूपमा २०८२ सालमा जन्माएको ’जराको शक्ति’ नाउँको निबन्ध सङ्ग्रहको किताब मैले उनीबाटै उपहार पाएँ । अनि आफूप्रति उच्च सद्भाव राख्‍ने लेखकको रचनाको प्रचारप्रसार पनि गर्ने नैतिक दायित्व निर्वाह गर्न अरू पाँचओटा किताब नगद दिएरै लिएँ ।

’जराको शक्ति’ भित्र अटाएका ४५ ओटा निबन्धहरूमध्ये ’जराको शक्ति’ शीर्षक भएको निबन्ध नै बढी भावसम्प्रेषक लागेर पुण्यजीले त्यसलाई बढी नै प्रेम गरेको हुनसक्छ । र त, उनले किताबको बौद्धिक भार वहन गर्ने जिम्मा त्यस शीर्षकलाई दिन उचित ठहराए । उनको कुरा ठीक बेठीक कस्तो भयो भन्नेतिर म खासै चासो राख्तिनँ । पुस्तकको नाउँ सम्बन्धमा मेरो पर्गेल्याइँ अलिक बेग्लै खालको छ । उनका पूर्वप्रकाशित निबन्ध सङ्ग्रहमा उल्लिखित विचार र विश्लेषण यस नयाँ सङग्रहका लागि पोषण तत्व जम्मा गर्ने कल्कलाउँदा जरा बनेका कुरामा लेखकको पनि विमति नहोला । म त ठोकुवा नै गर्छु, ती अनुभव, अनुभूति र ज्ञान समेटिएका पाँचओटा निबन्ध सङ्ग्रहले जराको स्थान ओगटेर नयाँ कृतिलाई जमिनमाथि खुला वातावरणमा वृक्षजस्तो बनेर उभिन सघाएका छन् । त्यसैले ती जराको हौसला र समर्थन पाएर नयाँ निबन्ध सङ्ग्रह अस्तित्वमा छ । त्यसैले यस निबन्ध सङ्ग्रहको नाउँ ’जराको शक्ति’ सार्थक ठान्छु । यो कुरा भन्न म दलगिर मान्दिनँ । मष्तिस्कले उत्पादन गर्ने तर्कले ज्ञानको पुञ्ज मानिएका गुरुलाई गधाभन्दा अयोग्य प्रमाणित गर्ने महाकवि लक्ष्मीप्रसाद देवकोटाको निबन्ध पढाउन लाज मानीमानी पनि गुरुहरू अघि सर्छन् । म थप तर्कको चौबाटामा घोत्लिरहन चाहन्नँ ।

ज्ञानसागरबाट रस ग्रहण गरेर निबन्धकार कार्कीजीले यस निबन्ध सङ्ग्रहमार्फत् पाठकवर्गको मथिङ्गललाई सकारात्मक रूपले खल्बल्याउँदै असल मान्छे हिँड्ने मार्ग देखाउने प्रयत्न पनि गरेका छन् । निबन्धकारलाई यस सुकर्मका लागि धन्यवाद दिँदै म ’जराको शक्ति’ बाट आफूले पाएको पोषण तत्वको शाब्दिक विवेचना गर्न अघि बढ्छु ।

‘जराको शक्ति’ का सबै निबन्धहरू पठनीय छन् । यति छोटो टिप्पणीले यस पुस्तकको गरिमाको उद्घाटन हुँदैन । यसमा मौरीको चाकामा रहेका खोपिल्टामा भरिएका स्वादिलो रसजस्तै विचारमन्थनका विविध परिकार भरिपूर्ण छन् । खान ढङ्ग जानिएन भने रस चुहेर भुइामा खस्ने र माटो भिजाउने खतरा रहन्छ ।

साहित्यमा अनुभवले सँगालेको सत्य नै पस्किन्छन् स्रष्टाहरू । सत्य लेख्‍नु कठिन मात्र हुँदैन, खतरनाक पनि हुन्छ । म विद्यार्थी छँदा विद्वान समालोचक तारानाथ शर्माले तत्कालीन राजा महेन्द्रका कवितालाई कसैको रचनाको अनुकरण भनेर लेखेबापत जेलको हावा खानु परेको थियो । पुण्य कार्कीजीका अनुभव र अनुभूतिका यी ४५ ओटा पुन्तुराहरू फुकाएर मनोयोगले पढ्ने सिलसिलामा कतै अल्झिएँ, कतै ठोक्किएँ त कतै हुत्तिएँ पनि । येनकेन छिचोलेँ । मैले ग्रहण गरेका पुस्तकका भावलाई चेतन मनले अचेतनमा लगेर थुपारिदियो । त्यसपछि केही दिन तिनलाई ओथाउन समय दिएँ । अनि एक दिन फुर्सदमा निबन्धकारको छैटौं इन्द्रियजस्तो निबन्ध कृतिरूपी सरितामा मिसिएका ससाना भङ्गालाका नाउँ के के हुन् त ? भनेर गम्न थालेँ । मट्ठै बिर्सेंछु । दुइटा भङ्गालाचाहिँ अघि सरेर भन्छन्, “तैँले हामी दुइटालाई चाहिँ विशेष ध्यान दिएर पढिस् । त्यसैले हामीले तँलाई बिर्सेका छैनौँ ।” म दाबी गर्छु, मैले उनीहरूलाई सम्झेको भनेर । कुरा त उल्टो पो परेछ ! उनीहरूले पो मलाई सम्झेका रहेछन् । ती भङ्गाला हुन्, ‘जराको शक्ति’ र ’गनगन कि गुनगुन’ ।

मैले ‘जराको शक्ति’ र ‘गनगन कि गुनगुन’ बाहेक अरू नपढेको भन्ने कुरा खसोखास होइन । तर, तिनको नाम बिर्सेकोचाहिँ सत्य हो । ‘जराको शक्ति’ बारे भन्नुपर्ने कुरा धेरै हुन्छ । आज चाहिँ म थोरै लेखेर झारा टार्छु । पढाइको जग दरिलो नभएको शिक्षकले पढाएको विद्यार्थीले कति बुझ्ला र ? पुस्तक र अनुभवरूपी जराबाट ज्ञानको शक्ति नबटुलेको शिक्षकप्रति विद्यार्थीको श्रद्धा पनि हुँदैन । त्यहीँबाट विकृति पैदा हुन्छ । त्यसैले ‘जराको शक्ति’ को महिमा शब्दले व्याख्या गरेर पार लाग्दैन । हजार जिब्रा भएका शेषनाग र ज्ञानकी देवी सरस्वती पनि ‘जराको शक्ति’ को महिमा बखान गर्न पर्याप्त हुँदैनन् । म बिचरो के लेखूँ ?

अब चर्चा गर्छु, निबन्ध ‘गनगन कि गुनगुन’ को बारेमा । यो शीर्षक नै अग्र्यानिक छ, प्राङ्गारिक छ । नेपाली भाषाले पचाउने वैकल्पिक शब्दचाहिँ ‘प्राङ्गारिक प्रदूषणमुक्त’ नै उपयुक्त हुन्छ कि ? भाषाविद् जे भन्छन्, त्यही मान्नु पर्ला । अग्र्यानिक खानेकुरा वा तरकारीमा न विषादीको प्रभाव हुन्छ न युरियाको कमाल । ‘गनगन कि गुनगुन’ भन्ने दुई शब्द नजानेको र नसुनेको त पटक्कै होइन । तर निबन्धकारबाट यी दुइटाको एकसाथ हुनगएको तुलनात्मक प्रस्तुतिले भावतरङ्गचाहिँ निकै फरकखाले सम्बोधन हुनगएको छ । पुण्य कार्कीजीका निबन्धहरूमध्ये ‘गनगन कि गुनगुन’ शीर्षकको मौलिकता र यसभित्र रहेको विषयगत सघनताले मेरो मनलाई तानेको हो । यस्तो रुचिकर शीर्षकमा ध्यान पु¥याउने निबन्धकारलाई धन्यवाद दिँदै उनका विचारलाई धेरैजसो सहमतिकै भाषामा चिरफार गर्छु ।

निबन्धको पहेली सुल्झाउने क्रममा मेरा मनमा निम्न भावना जागृत भएका छन्—
वास्तवमा गनगन निराशाको अम्‍लीय वर्षा हो भने गुनगुन सकारात्मकताको उद्घोष । गनगन टिम्मुर चपाउँदाको ¥याले रमरम हो भने गुनगुन फूलको सुवासको मगमग । गनगनमा आशक्तिको अतिरञ्जना छ भने गुनगुनमा सिर्जनाको उत्ताल तरङ्ग ।

मलाई विश्वास छ निबन्धकारका मानसपटलमा यिनै भावनाले घर बनाएका छन् । त्यसैले त उनलाई गनगनको फेरो पक्रेर बाँच्दा दुईतिहाइ जीवनकाल फुस्सामा बितेको आभास हुन्छ । निबन्धको मूल चुरो यही आभासमा छ । जसलाई आभास हुन्छ त्यसले अर्जुनले कृष्णबाट गीतामृत पाएजस्तो ज्ञान पाउँछ । निबन्धकारले रमाइलो पारामा गूढ कुरा बताउन खोजेका छन् । सर्वौषधीजस्तो सत्य लेख्‍न पनि साहस चाहिन्छ । सत्य लेख्‍ने हुँदा सलमान रुस्दी र तसलिमा नसरिन स्वदेशमा रमाउन पाएनन् । कैयौँ मान्छेहरू तीतो सत्य पचाउन सक्तैनन् । तर निबन्धकार शुरूमै आफूले अनुभूत गरेको सत्य उद्घाटन गरेर पाठकवर्गलाई पनि सर्सर्ती पढ्नुभन्दा विस्तारै पढेर मनन गर्न सुझाव दिन्छन् । उनी आफू गलत बाटोमा लागेकोमा पछुतो गर्दै झल्याँस्स ब्यूँझन्छन् र हामीलाई पनि ब्यूँझन उत्प्रेरित गर्छन् । उनको आग्रहमा बडप्पन छैन, सोझो इमानदारी छ ।

एउटा कुरोचाहिँ प्रारम्भमा नै भन्नु उचित होला । त्यो के हो भने निबन्धकारले जति फूलबुट्टा भरेर गुनगुनलाई गनगनको दाँजोमा श्रेष्ठ हो भनेर प्रमाणित गर्न खोजे पनि धर्तीका मानिसको झन्डैझन्डै शतप्रतिशत सङ्ख्या गनगन गर्न छाड्दैन । गनगन त गर्भको बच्चाको नाभीसँग सालनाल जोडिएझैँ सदा मानिसको जीवनसँग अभेद्य रूपमा रहेको हुन्छ । मात्रामा कमबेसी मात्र हो । मानिसको मनस्थितिलाई गनगनले जकडेर नै राखेको हुन्छ । यही जकड्याइँ अलिक खुकुलो पार्न सकिन्छ कि भनेर नै कलमजीवीहरू अघि सर्छन् । तर आफू बन्धनमा रहेको पत्तो पाउँदैन । यो कुराका अपवाद निबन्धकार होइनन् । त्यो कुरा उनले पहिलो अनुच्छेदमा नै लेखेर कबुलियतनामा गरिसकेका छन् । जो हारेँ भन्छ, उसलाई दुनियाँमा कसैले पनि हराउन सक्तैन ।

निबन्धकारले हातमुख जोडेर सन्तान पढाउनेभन्दा बढी काममा सम्पत्तिको उपयोग गर्न पाएका छैनन् । त्यसैले होला उनलाई धनवान्, ठूला जागिरे र उपल्लो तहका नेता गनगन गर्दैनन् होला भन्ने लाग्छ । जब उनीहरूसँग सम्पर्कमा आउँछन् र कुराकानी गर्छन् उनलाई प्रस्ट हुन्छ उनीहरूको त झन् बेहाल रहेछ । पढेरभन्दा अनुभवले नै सत्य थाहा पाउन सकिन्छ भन्ने साँचो हो । तलकाले माथिकाको धनको चुरीफुरी देख्ता उनीहरू त गनगन गर्दैनन् भन्ठान्लान् । कुरो त्यसो हुँदैन । उनीहरूको हृदयमा त बेचैनीले घरै बनाएको हुन्छ । उनीहरू त पेसागत धर्म नै ठान्छन्, गनगन गर्नु । थुप्रै मान्छेमा गनगनको प्रभुत्व कायम भएको देख्ता निबन्धकारलाई लाग्छ, ती सबै अभागी हुन् । उनी त गुनगुनसँग यति मोहित छन् कि उनका लागि गुनगुन सङ्गीतको लय नै हो । उनी जीवनलाई नै सङ्गीत ठान्छन् । जसले जीवनलाई सङ्गीतबाट अलग्ग्याएर हेर्छ, उसले त जीवनलाई क्याक्टसमात्र देख्छ । परीपरीका मान्छेका थरीथरीका विचार ! गुनगुनलाई अपनाउन नसक्ने सोच भएको मान्छे त भीरबाट लड्‍दै गरेको गाई हो जसलाई बचाउन भनेर काँध हाल्न सकिँदैन, रामराममात्र भन्न सकिन्छ ।
जीवन सुखी बनाउने केही सूत्र हुन्छन् । ती सूत्रले पनि आफैँ काम गर्दैनन् । तिनलाई पनि प्रयोग गर्न जान्नुपर्छ । गुनगुन सुखी जीवनको पोषक हो । गनगन अशान्त जीवनको आधार हो । तर गनगनसँग अभ्यस्त रहेको मान्छे गुनगुनले आनन्द दिन्छ भन्ने कुरा त्यसरी नै पत्तो पाउँदैन जसरी कस्तुरी मृगले बिनाको बास्ना आफ्नै नाभीबाट निस्केको हो भन्ने थाहा पाउँदैन । त्यसैले निबन्धकार सुझाव दिन्छन्, ए मान्छे हो ! गुनगुन गरेर मनमा सृजनाका छाल पैदा गर । त्यसैमा जीवनको रमिता छ । मान्छेलाई अर्काले भनेका भला कुरा सुन्ने फुर्सद नै छैन । ऊ त आफ्ना गनगन अरूलाई सुनाउन पाउँदा मात्र रमाउँछ । ऊ जति रमाउँछ उति उसको असन्तुष्टिरूपी घाउको पीडा टन्किन्छ ।

निबन्धकार चराको मीठो आवाजमा गुनगुनको महक पाउँछन् । खोज्दा जे भेटिन्छ त्यही खाएर चित्त बुझाउने चरो अघाएपछि भोलिलाई साँच्न आपाधापी गर्दैन । आनन्दले गुनगुनाउँदै रूखमा बसेर संसारको रमिता हेर्छ । उसलाई कुनै कुराको फिक्री हुँदैन । निबन्धकार चराको जीवनको लोभ गर्छन् ।

निबन्धकारलाई देवताका मन्दिर सुख प्रदान गर्नेजस्तो घर लाग्छ । तर त्यहाँ पनि देवताका अगाडि लम्पसार परेर माग्नेहरूको घुइँचो हुन्छ । बाहिर गेटमा बसेर माग्ने भीखारीलाई ती ठूला माग्नेको अवस्था देख्ता माया लाग्छ । ती सबै गनगनपीडित सम्पन्न व्यक्तिहरूको टिठलाग्दो अवस्था देख्ता बाहिरको भीखारी आफूलाई धन्य ठान्छ । अझ कतैबाट आएको खुट्टाविहीन अपाङ्गचाहिँ देवताका अगाडि उभिएर आफूलाई हात र मष्तिस्क दिने ईश्वरप्रति कृतज्ञता व्यक्त गर्छ । निबन्धकार यी तीनखाले मान्छेलाई एकै ठाउँमा राखेर आकर्षक विम्ब प्रस्तुत गर्छन् । उनी तिनीहरूको सोचलाई दाँज्छन् र निष्कर्षमा पुग्छन्— गनगनले हामीलाई कतै पु¥याउँदैन ! उनलाई दिव्य ज्ञान प्राप्त हुन्छ, प्रयत्नबाट प्राप्त भएको वस्तुमा रमाउनेले मात्र जीवनको वास्तविक आनन्द पाउँछ ।

निबन्धकारको अनुभव छ, हरेक आमाले शिशुलाई लोरी गीत गाउँदै गुनगुन गर्न सिकाएपछि ती शिशुमा भावका आँखा पैदा हुन्छन् । ती आँखाले संसारलाई उज्यालो देख्छन् । तर ती शिशु किशोरावस्थामा प्राप्त भएपछि अभावले पिरोलिन थाल्छन् । तिनीहरूका सुन्दर भावका आँखा टालिन्छन् । त्यसपछि अभावग्रस्त मन लिएर बाँच्ने क्रममा तिनीहरूको जीवनले शान्ति पाउँदैन । गनगनले तिनीहरूलाई कहिल्यै सान्त्वना दिँदैन । गनगनलाई पन्छाउन नसकेका आमाहरूले आफ्ना शिशुहरूलाई शैशवावस्थामा दिएको तालिम व्यर्थ हुन्छ !
गनगनवादीहरूका गतिविधि देखेर निबन्धकार आजित हुन्छन् । कुनै गनगनप्रेमीसँग भेट हुँदा उनी उसका विगतमा भएका कमजोरीको सेरोफेरोसँग केन्द्रित गनगन सुन्न बाध्य हुन्छन् । ऊ निबन्धकारसँग विगतका मात्र कुरा गर्छ । आगततिर उसको ध्यान हुँदैन । आगत उज्यालो पार्ने सोचलाई ऊ परै ठेल्छ । त्यस्तालाई कुन औषधीले काम गर्छ र ?

गुनगुनप्रतिको आशक्तिले निबन्धकारलाई एउटा सफल शिक्षक, परिपक्व प्रशासक र सिर्जनशील स्रष्टा बन्नका लागि आँट दिएको छ । त्यतिमात्र कहाँ हो र ? उनी असल सन्तानका पिता हुने थोरै सौभाग्यशालीमध्ये पनि एक बनेका छन् । त्यसैले त उनी गुनगुनको गुणगान गर्छन् । हुन त यी सबै कुरा उनले पनि एकैचोटि पाएका होइनन् । तर चरित्रले गर्दा क्रमशः पाउने मेलो त बसेको हो नि । जे होस्, गुनगुनले कुभलो गर्दैन भन्ने कुरामा उनलाई अटल विश्वास छ । यस्तो विश्वास सबकोहीले गर्दैनन् ।

गनगनप्रेमीको बारेमा मेरो पनि एउटा अनुभव छ । कुनै उच्च–मध्यम तहको जागिरेका पिताले मलाई भनेका थिए, “मेरो छोराले जागिर खाएर केही गर्न सकेन । काठमाडौंमा एउटा घडेरी पनि किनेको छैन ।” अर्को प्रसङ्गमा उनैले मलाई भने, “देशमा भ्रष्टाचार ज्यादै बढ्यो ! ... गाउँमा बस्ने ... सिडिओले पनि काठमाडौंमा घर बनाएछन् ।“ अर्को प्रसङ्ग, एकजना अलिक हुनेखाने जमिनवाला किसानले भनेको मलाई सम्झना छ, “हामी गाउँलेले बेच्ने धान, मकै र तोरीको भाउचाहिँ बढ्दैन । चिनी, मरमसला र लत्ताकपडाको भाउ बस्र्यौनि बढ्छ । कसरी बाँच्ने ?” यी दुवै भनाइ विरोधाभासी छन् । आफ्नाले कमाए भ्रष्टाचार नहुने, अरूले कमाए भ्रष्टाचार हुने । आफूले बेच्ने पैदाबारको भाउ बढोस् तर आफूले किनेर खाने चीजको भाउ नबढोस् । यस्तो डबल स्ट्याण्डर्ड गनगनवादीहरूको मूल मन्त्र हुन्छ ।

यस निबन्धमा निबन्धकारको टुङ्ग्याउनी के छ भने जीवनमा आफ्नो औकात र परिश्रमले जे पाउन सकिन्छ त्यसैमा रमाउन सिक्नु नै गुनगुनलाई आमन्त्रण गर्नु हो । मनमा शान्ति हुनेले नै गुनगुनलाई निम्ता गर्ने सामथ्र्य राख्छ । जो रातदिन अशान्तिमा डुबेर बस्छ उसले नबोलाए पनि गनगन उसका सामु उपस्थित हुन्छ र उसको जीवनलाई नै खल्लो बनाइदिन्छ । निबन्धकारले दिएका दुइटा उदाहरणबाट म पनि प्रभावित छु । पहिलो, हिन्दूधर्मावलम्बीहरूले भगवान् कृष्णलाई हृदयले नै श्रद्धा गर्छन् । त्यसरी श्रद्धा गर्ने कारणमध्ये एउटा हो, उनमा बाँसुरीबाट सुमधुर धुन पैदा गरेर गुनगुनाउने क्षमता हुनु । उनको त्यो धुन सुनेर गोपी जातिका भक्तिनीहरू त पूरै सम्मोहित नै हुन्थे । दोस्रो, देवी सरस्वती पनि वीणाको सुमधुर झङ्कारबाट अज्ञानीहरूको हृदयका तारलाई झङ्कृत गर्छिन् र ज्ञानमार्ग अवलम्बन गर्न उत्प्रेरित गर्छिन् । तिनको विशिष्ट कलालाई हाम्रा पूर्वजहरूले यति धेरै कदर गरे कि तिनी त ज्ञानको प्रतिमूर्ति नै मानिइन् । तिनको सन्देश के रहेको छ भने गुनगुनाउने मान्छे ज्ञानको सागरमा डुबुल्की मार्छ र गनगन गर्ने मान्छे मरुभूमिको बालुवामा पिरोलिन्छ ।
अन्तमा, निबन्धकार हामीलाई सचेत गराउँछन्, शान्तिपूर्ण जीवन बाँच्न चाहनेले गुनगुनाउन सिक्नुपर्छ । ज्यामन्तै होस् भन्ने हो भने नसिकी जानिने गनगन गर्ने कला साथैमा छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।