19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

चुनावको बेला

लघुकथा ईश्वर पोखरेल March 1, 2026, 5:38 pm
ईश्वर पोखरेल
ईश्वर पोखरेल

गाउँमा चुनाव लागेको छ ।

रङ्गनाथ र रमण बाबु–छोरा नै फरकफरक पार्टीका कार्यकर्ता । दुवै आआफ्नो पार्टीको चुनाव प्रचारमा व्यस्त ।

बाबु रङ्गनाथ घरमा आइपुग्दा छोरो हुँदैन; छोरो आइपुग्दा बाबु चैको अत्तोपत्तो लाग्दैन । दुबै घरमा छन् भने पटक्कै कुरा मिल्दैन । छोरो एकथरी कुरा गर्छ; बाबु अर्कैतिर बाउँडिन्छन् ।

खाना पकायो : एउटा हुन्छ; अर्को हुँदैन । कसलाई पर्खिनु! कतिबेर पर्खिनु!!

यी सबै कुराको पिरलो चै दमयन्तीलाई ।

दमयन्तीले जुक्ति निकालिन् । भनिन्– “आज पाँचे साहिँलाको घरमा खसी काटेका छन् । मासु ल्याएर पकाउँछु । दश बजेर पन्ध्र मिनेटमा भान्सा तयार हुन्छ । दश बजेर सत्र मिनेटमा पस्किन थाल्छु ।"

उनले विचार गरेरै मासुमा ठीकै र अचारमा नुन अलिक चर्को पारिदिइन् ।

लौ; आज त दुबैजना दश बजे नै घरमा हाजिर!

भान्सामा रमणले भन्यो– “अचार कस्तो चर्को!"

रङ्गनाथले थप्यो– “आज अचारमा नुन दुईचोटि हाल्यौ क्यारे !"

लौ; कुरा पनि मिल्यो!

चुनावको बेलामा यति मिल्नु चानचुन कुरा हो! दमयन्ती मुसुक्क मुस्कुराइन् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।