19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

वरिष्ठ समालोचक तथा स्रष्टा गङ्गाप्रसाद अधिकारीसँग कुराकानी

वार्ता अच्युत घिमिरे March 1, 2026, 5:54 pm
अच्युत घिमिरे
अच्युत घिमिरे

वि. सं. २०१७ जेठ ३१ गते इलाम जिल्लाको इरौंटार गाउँ पञ्चायत वडा नं. ६ (हाल रोङ गाउँपालिका) नाखोपा गाउँमा माता तुलसादेवी र पिता इन्द्रप्रसाद अधिकारीका ज्येष्ठ पुत्ररत्नका रूपमा जन्मिनुभएका गङ्गाप्रसाद अधिकारी नेपाली भाषा तथा साहित्यका क्षेत्रमा सुपरिचित हुनुहुन्छ । उहाँ नेपाली साहित्यमा समालोचक र अनुसन्धाताका रूपमा परिचित स्रष्टा मानिनुहुन्छ । प्रगतिवादी स्रष्टा अधिकारीका अभिवीक्षण (२०६५), अन्वेषण र विश्लेषण (२०६९), अवलोकन (२०६९) र केही भूमिका केही समीक्षा (२०७९) लगायतका कृतिहरू प्रकाशित छन् । उहाँका छाया (पाश्चात्य आख्यानको अनुवाद), नाखोपादेखि केल्बासम्म (यात्रा संस्मरण) प्रकाशोन्मुख छन् । प्रगतिवादी चेतसहितको खोज अनुसन्धानात्मक लेखनका कारण उहाँ अरुभन्दा निकै फरक र विशिष्ट लाग्नुहुन्छ । नेपाली समाजको गहिरो अध्ययन, तुलनात्मक, विश्लेषणात्मक क्षमता र निजीपनका कारण अधिकारी साहित्यको बजारमा छुट्टै पहिचान राख्न सफल हुनुहुन्छ । नेपाली साहित्यमा विशिष्ट योगदान गरेबापत उहाँ केही स्थानीय संस्थाहरूबाट सम्मानित र अभिनन्दित पनि हुनुहुन्छ । प्रस्तुत छ, ‘शब्द संयोजन’ साहित्यिक मासिकका लागि उहाँसँग स्रष्टा तथा साहित्यिक पत्रकार अच्युत घिमिरेले लिनुभएको अन्तर्वार्ता:

पछिल्लो समय सिर्जनात्मक कार्यमा कसरी लागिरहनुभएको छ ?
अहिले मुख्य रूपले म झापा जिल्लाको नेपाली साहित्यको ऐतिहासिक पक्षको खोजीमा छु । सङ्कलन र लेखन कार्य सँगसँगै अघि बढ्दै छ । साथमा समीक्षा, समालोचना, पुस्तकहरूको भूमिकालेखन, कृतिहरूको पाठसम्पादन, खोज–अन्वेषण आदि काम पनि भ्याउँदै छु । सिर्जना चाहिँ कहिले कहिले लहड चल्यो भने मात्रै हो । सिर्जनाभन्दा पनि प्राज्ञिक काममा नै मेरो मुख्य समय लागिरहेको छ ।

लेखनकार्यमा कहिलेदेखि किन लाग्नुभयो ?
सिर्जनामा चाहिँ म विद्यार्थी कालदेखि नै अभ्यास गर्न थालेको हुँ । धरान, पिण्डेश्वर विद्यापीठमा पढ्दा २०३८ सालमा मेरो पहिलो सिर्जना ‘दुनीको दाल’ भन्ने कथा प्रकाशित भएको हो, स्ववियुको लालीकिरण पत्रिकामा । अन्य प्राज्ञिक लेखनमा त स्नातकोत्तर पढ्दा शोध गर्नुपर्ने बाध्यताले तान्यो भन्नुपर्ला । त्यसअघि यता लाग्ने आँट पनि गरिएको थिएन । बाध्यता भएपछि आँट स्वतः आउँदो रहेछ । प्रकाशनका दृष्टिले चाहिँ २०४४ सालतिर जुहीमा छापिएको ‘नाटककार मोहनराज शर्मा’ नै मेरो पहिलो समीक्षात्मक लेख हो ।

तपाईं कुन घटनाले छोएपछि लेख्न थाल्नुहुन्छ ?
तपाईंको प्रश्नले सिर्जनाको कुरा गरेजस्तो लाग्यो । म खासमा अध्येता हुँ सर्जक होइन । सिर्जना त कहिलेकाहिँ लहड चलेका वेला लेखिटोपल्ने मात्र हो । कति नै प्रकाशित भए होला र अहिलेसम्ममा ? त्यही सबै गरी २०/२२ । जहाँसम्म घटनाको कुरा छ, कुनै मनमा बिझ्ने खालको संवेदनशील घटना घट्यो भने र लहड चल्यो भने लेख्ने हो ।

तपाईंको विचारमा समाज र साहित्यको सम्बन्ध कस्तो हुन्छ ?
हुनुपर्ने त नङ र मासुको जस्तै हो नि ! तर अचेल त्यस्तो कमै मात्र देखिन्छ । हिजोआज पठन संस्कृति नै बरालिएको छ । पढ्नेभन्दा गफ जोत्ने मान्छे गतिला छन् समाजमा । गफै जोतेर पुग्छ भने किन पढ्नुपर्यो । अहिले त साहित्यको ठाउँ टिकटक, रिल, युट्युब जस्ता सामाजिक सन्जालले पो लिइरहेको देख्छु । कसले पढ्ने साहित्य ? यस्तो स्थितिले साहित्यलाई समाजबाट टाढा पु¥याउँदै गरेजस्तो लाग्छ ।

आफ्ना र अरुका सिर्जनालाई कसरी तुलना गर्नुहुन्छ ?
भनिहालेँ, म सर्जक होइन । लहडमा यसो कहिलेकाहीँ लेख्ने मात्र हो । त्यसैले अरूका रचनासँग दाँजिने होलान् जस्तो लाग्दैन । अथवा यसो भनौं, अरूका रचनासँग तुलना गरिहेरेकै छैन ।

सिर्जनकर्म (साहित्य लेखन) र घरव्यवहारलाई कसरी सन्तुलनमा राख्नुभएको छ ?
साहित्य लेखन होइन, लेखन मात्र भन्नुपर्ला । त्यसो हुँदा मात्र तपाईंको प्रश्नको औचित्य मिल्छ । म घरव्यवहार गर्दिनँ । घरव्यवहार गर्ने त श्रीमती हुन् । म आफ्नो बौद्धिक–प्राज्ञिक–रचनात्मक कामलाई पहिलो प्राथमिकतामा राख्छु । घरको आर्थिक पाटो बाहेक मैले गर्ने भनेको श्रीमतीले ‘गरिदिनु ल ?’ भनेका कुरा मात्रै हो । परस्पर सघाउने कुरा भने बराबरै जस्तो हुन्छ । उनी मेरो कामका लागि पूरै समय स्वतन्त्र छोडेर मलाई सहयोग पु¥याउँछिन्, म भ्याएका वेला उनका काममा सरसहयोग पु¥याएर उनलाई सहयोग गर्छु बस् । यसरी नै सन्तुलन मिल्दै आएको छ २०४८ सालको माघ २ गतेदेखि ।

आफ्ना अनुसन्धानात्मक र समालोचनात्क रचनाहरूले समाजमा कस्तो प्रभाव पारेजस्तो लाग्छ ?
त्यतातिर पनि खासै ध्यान दिएको छैन । मलाई मेरा सामु फुक्र्याउनेको विश्वास लाग्दैन । पछाडि कसले के भन्छ के जान्नु र ? केही प्रभाव त पर्छ होला नै पढ्नेलाई । यस्ता कृतिहरू सर्वसाधारणले पढ्ने कुरा भएन, प्राज्ञिक नै पाठक हुनुप¥यो । हो, कसै कसैले भने आफ्नो लेखको सारभूत कुरा मेरो लेखबाट सारेर सन्दर्भ चाहिँ मेरो नदिई अरूअरूकै लेखबाट दिएको भेटेको छु । यसले भने सम्बद्ध व्यक्तिहरूलाई राम्रै प्रभाव पारेको रहेछ भन्ने नै लाग्छ ।

समालोचना केका लागि लेख्नुहुन्छ ?
सुरुमा बाध्यताले । विद्यार्थी हुँदा परीक्षाको प्रयोजनका लागि समालोचना गरियो । मैले भन्न खोजेको परीक्षामा लेखिएको उत्तर नै प्रारम्भिक समालोचना हो । अभ्यास त्यहीँबाट सुरु भयो । त्यसैले थालनी बाध्यताले गरियो । त्यसपछि शोधकार्यमा लाग्दा पनि त्यही बाध्यता हो । अलिअलि लेखनमा हात बसेपछि कसैले भूमिका लोखिदिन, कसैले पुस्तकको समीक्षा गरिदिन, कसैले समालोचना गरिदिन, कतै साहित्यिक समारोहहरूमा टिप्पणी गरिदिन आग्रह गर्न थाले । त्यसपछि हार्न नसकेर बाध्यताले नै लेखियो । अलि परिपक्व हुँदै गएपछि आफैंमा सिर्जना भएको कौतूहल र जिज्ञासाले अध्ययन र लेखनतिर पाइला बढाइयो । वास्तविक लेखन भनेको यही नै हो जस्तो लाग्छ । त्यसैले जिज्ञासा र कौतुहल मेट्न अध्ययन गर्छु त्यसलाई जीवन्त राख्न र आफ्ना कर्मलाई सार्वजनिक गर्न लेख्छु । यसको अर्थ के हुन्छ होला ? स्वान्तः सुखाय ? हो, पछिल्लो समयको मेरो अध्ययन र लेखन यसकै लागि हो ।

आफूले समालोचना गर्दा कस्तो कृतिलाई बढी प्राथमिकता दिनुहुन्छ ?
मेरो लेखन भनेको कृतिपरक समालोचना भन्दा पनि अहिले चाहिँ विषयपरक, सिद्धान्तपरक नै बढी हुन्छ । कृतिपरक समालोचना भनेको त अरूकै आग्रहमा लेख्ने हो । प्राथमिकता दिएर समालोचना लेख्ने भन्दा पनि कुन कृतिबारे वा को व्यक्तिबारे लेख्नुपर्ने हुन्छ त्यसमै लेख्ने हो । स्वतन्त्र ढङ्गले भने समाजपरक दृष्टिकोणबाट उत्तम लागेका कृतिको समालोचना गर्ने गर्छु ।

अनुसन्धानात्मक लेखनमा रुचि कसरी बढ्यो ?
त्यो पनि आवश्यकताले र बाध्यताले । पछिपछि जिज्ञासा र कुतूहल मेटाउन । यसबारे माथि नै प्रस्ट पारिसकेको छु ।

खोज–अनुसन्धानका क्षेत्रमा कलम चलाइरहनुभएको छ । साहित्यका कस्ता विषयलाई बढी प्राथमिकता दिनुहुन्छ ?
पहिले पहिले जे परिआउँछ, त्यसैमा कलम चलाउने गरियो । अहिले खास गरी विद्यावारिधिपछि भने पुराना कुराको खोजी, विशेषतः संस्कृत काव्यशास्त्रप्रति बढी लगाव छ । त्यसको अर्थ आधुनिक विषयलाई छोडेको भने होइन । खास गरी समाजपरक माक्र्सवादी, पाठकीय अनुक्रियापरक, साहित्येतिहासपरक, समाजशास्त्रीय आदि दृष्टिबाट पनि समालोचनाहरू लेखेकै छु । संस्कृत काव्यशास्त्रीय अध्ययनमा चाहिँ वैदिक संहितादेखि नै काव्यशास्त्रीय चिन्तनका के कस्ता प्रारूपहरू देखा पर्दै आए र त्यो परम्पराले कसरी काव्यशास्त्रीय रूप प्राप्त ग¥यो भन्ने विषयलाई केलाएको छु । संस्कृत काव्यशास्त्रीय परम्परामा आधुनिक ढङ्गको कुनै कृतिको कुनै पक्षविशेषमा समालोचना गर्ने परम्परा रहेको पाइन्न । भनौं, संस्कृत परम्परामा कुनै कृतिबारे गरिएको प्रायोगिक समालोचनाको नमुना पाइँदैन । जे जति काव्यशास्त्रीय चर्चाका क्रममा उदाहरणका रूपमा काव्यांश प्रस्तुत गरिएका छन् तिनैलाई व्यावहारिक समालोचना पनि मान्नुपर्ने स्थिति छ । त्यसैले म विशेषतः विद्यावारिधि गरेपछि यसतर्फ अध्ययन गर्न थालेको छु । विद्यावारिधिका क्रममा वक्रोक्तिपरक समालोचनाको प्रारूप तयार भएको छ भने त्यसपछि औचित्यपरक समालोचना, रसपरक, अलङ्कारपरक, ध्वनिपरक जस्ता काव्यशास्त्रीय सिद्धान्तलाई व्यावहारिक समालोचनाका मानदण्ड बनाउने काममा अघिल्ला अध्येताहरूका पदचापलाई पछ्याउँदै आफ्नो योगदान त्यस परम्परामा दिँदै आएको छु । मेरो पछिल्लो अध्ययनको परिधि यही हो ।

झापाको साहित्यिक इतिहास लेखनमा लाग्नुभएको छ । कृतिलाई गहकिलो, यथार्थपरक र प्रामाणिक बनाउन के – कसरी अगाडि बढ्दै हुनुहुन्छ ?
झापाको साहित्यिक इतिहास लेखनको कामले अहिले आएर अलिक गति बढाएको छ । डेढवर्ष जति क्याम्पसमा अनुसन्धान व्यवस्थापन एकाइको नेतृत्वमा रहनुपर्ने भएकाले अलमल भएको थियो । त्यताबाट मुक्त भएपछि मेरो मुख्य काम यही भएको छ । अब केही फिल्डको काम गर्नु छ, केही विश्लेषण पनि गर्नु छ । फिल्डबाट केही सामग्री अवश्य नै आउन्यै छन्, तिनलाई व्यवस्थित गरेपछि काम सकिन्छ । २०८३ को नववर्षको अवसर पारेर पुस्तक विमोचन गर्न सक्छु कि ? भन्ने लागेको छ । हेरौं । आर्थिक पक्ष पनि एउटा महत्त्वपूर्ण कुरा हुन्छ ।

पाठकले तपाईंलाई समालोचक र अनुसन्धाता भनेर संवोधन गर्दा कतिको गर्व लाग्छ ? बताइदिनुहोस् न ।
त्यो त पाठकले गरेको मेरो कामको मूल्याङ्कन हो । त्यो भूमिकामा मलाई पाठकले, अध्येताले स्विकारेको स्थिति हो । यस्तो कुराले गर्व लाग्नु स्वाभाविकै हो ।

हामी पाठक गङ्गाप्रसाद अधिकारीलाई विशिष्ट समालोचकका रूपमा नै चिन्छौँ । प्राध्यापकीय समालोचना (सूत्र समालोचना ) र स्वतन्त्र समालोचना बीचको अन्तर बताइदिनुहोस् न ।
त्यो त मलाई चिन्नेहरूको आआफ्नो दृष्टिकोण हो । तपाईं विशिष्ट भन्नुहोला, अर्कोले अशिष्ट भन्ला, यो सामान्य कुरा हो । तपाईंले उठाउनुभएको प्राध्यापकीय समालोचनाको कुरा चाहिँ अलि विशेष होला । के हो प्राध्यापकीय समालोचना ? यसको कुनै नयाँ सिद्धान्त पनि बनाइएको छ कि ? मलाई लाग्छ प्राध्यापकहरूले गर्ने समालोचनालाई प्राध्यापकीय समालोचना भनिएको हो । त्यसो भए प्राध्यापकहरू निकम्मा समालोचक हुन् त ? यस विषयमा म छोटोमा यति मात्र भन्छु सम्बद्ध विधाको सैद्धान्तिक आधारसमेत दिएर कृतिबाट साक्ष्य समेत लिएर गुणदोषको विवेचना गरेर निष्कर्ष निकाल्ने पद्धति नै निष्पक्ष समालोचनाको पद्धति हो र साँचो अर्थमा ‘सम्यक् आलोचना’ (विधिपूर्वक गरिने आलोचना) वा ‘सम आलोचना’ (गुणदोषमा बराबरी नजर लगाएर गरिने आलोचना) यही नै हो भन्छु म । आलोचकहरूले भन्ने गरेको प्राध्यापकीय समालोचना भनेको यही नै होला । विदेशी शब्दहरूको थुप्रो लगाएर कृतिको वास्तविकताभन्दा परका अनेक बिङ्गा लगाएर व्यक्तिगत प्रभावको आधारमा प्रभावपरक दृष्टिबाट गरिएको अध्ययनले कृतिको वास्तविक मूल्याङ्कन हुन सक्दैन । त्यस्तो त समीक्षा मात्र हुन्छ । सिद्धान्त र साक्ष्यका आधारमा कृतिको तटस्थ मूल्याङ्कन गर्नु नै साँचो अर्थमा समालोचना हो । के फरक छ भन्ने यतिमै स्पष्ट होला ।

तपाईंको विचारमा वास्तविक समालोचनाचाहिँ कुन हो ?
मैले माथि नै भनिसकेँ नि ! जसलाई प्राध्यापकीय समालोचना भनेर आलोचना गरिन्छ ।

अहिलेसम्म नेपाली साहित्यको समालोचना क्षेत्रमा एकाधबाहेक खाटी समालोचक नै छैनन् भन्छन् नि, तपाईं के भन्नुहुन्छ ?
गलत कुरा । केही टपर्टुइयाँलाई हेरेर यस्तो कुरा गर्नु गलत हो ।

चाकडी, चाप्लुसी र भनसुनका आधारमा गरिने समालोचनालाई के भन्नुहुन्छ ?
टपर्टुइयाँ । समालोचनाको फाँटलाई नै धमिल्याउँछन् तिनले ।

तपाईं आफूलाई कस्तो वर्गको समालोचक ठान्नुहुन्छ ?
प्राध्यापकीय समालोचनाकर्मी । एउटा प्राध्यापकको नाताले जे जे आइलाग्छ ।

नेपाली समालोचनाको आजको अवस्थालाई कुन रूपमा हेर्नुहुन्छ र यो कसरी अगाडि बढ्दैछ ? बताइदिनुहोस् न ।
शोधपरकताको अनिवार्यता आजको समालोचनामा देखिन थालेको छ । कुनै आग्रह पूर्वाग्रहबाट अप्रभावित रहेर वस्तुनिष्ठ ढङ्गले गरिने समालोचना नै वास्तविक समालोचना हो । शोधपरकताले समालोचनालाई निष्पक्ष र वस्तुनिष्ठ बनाउन सहयोग गर्छ । आज भनिने गरेको प्राध्यापकीय समालोचनाको रूप पनि यही हो । केही विसङ्गति पनि नेपाली समालोचनामा नभएका होइनन्, तर पनि नेपाली समालोचनाको आजको अवस्था यस दृष्टिले सकारात्मक छ ।

नेपाली साहित्यमा अनुसन्धानात्मक लेखनको अवस्था कस्तो छ ? बताइदिनुहोस् न ?
नेपाली साहित्यमा अनुसन्धान ? अलि प्रश्न नमिलेको हो कि ?
साहित्यको अनुसन्धानको सन्दर्भ हो भने हिजोआजको अवस्थामा अनुसन्धानका वैज्ञानिक विधिको अनिवार्यताले साँचो अर्थमा साहित्यको पनि अनुसन्धान कार्य अघि बढेको देख्छु म । हिजोआज बौद्धिक चोरीको नियन्त्रणमा प्रविधिले निकै बल पु¥याएको छ । यसले गर्दा अनुसन्धान कार्य विश्वसनीय पनि बन्दै गइरहेको छ । यो सकारात्मक कुरा हो ।

पाठकहरू गङ्गाप्रसाद अधिकारीको लेखन अरुको भन्दा फरक छ भन्छन् नि । तपाईंको लेखनमा भएका ती फरकपनाहरू चाहिँ के के हुन् ? बताइदिनुहोस् ।
यस्तो कुराको जवाफ म कसरी दिऊँ ? त्यो त जसले फरक देख्छ उसैले बताउने कुरा होइन र ?

सरकारी स्तरबाट (राज्य व्यवस्थाबाट) साहित्य र साहित्यकारलाई हेर्ने दृष्टिकोण कस्तो पाउनुभएको छ ? तपाईंको धारणा बताइदिनुहोस् न ।
अब यस्ता विकृतिका कुरा गरिनरहुँ जस्तो लाग्छ । यति मात्र भनौं, जसको पहुँच पुग्छ, त्यस्ता व्यक्ति टपर्टुइयाँ नै भए पनि सरकारको नजरमा परेको हुन्छ, अरू त गीतले भन्छ नि “हेरेको हेर्यै” । यही छ स्थिति । केही पाउनु छ भने हल्ला गर ! बस् !

समग्रमा आजको नेपाली साहित्यको अवस्था कस्तो देख्नुभएको छ ?
नेपाली साहित्यमा अश्लीलता, जातीय र लैङ्गिक विद्वेष बढ्दै गएको स्थिति देख्छु, यो चिन्ताको विषय हो । यसबाहेक अरू पक्ष त आशालाग्दो नै छ ।

साहित्यमा देखिएका विभिन्न गुट,उपगुटहरूबारे तपाईंलाई के भन्नु छ ?
यस विषयमा एउटा रमाइलो प्रसङ्ग कोट्याउँछु है त ! एक जना शतञ्जय भन्ने कविले राजाका सभामा आफ्नो जमानाका उत्कृष्ट कविहरू माघ, भारवि र कालिदासभन्दा म उत्तम हुँ भन्ने प्रमाणित गरेर राजाबाट स्याबासी र धन पाउने उद्देश्यले एउटा श्लोक लेखेर एउटा बालकलाई पठाएछन् । श्लोक यस्तो थियो ः “अपशब्द शतं माघे, भारवे च शतत्रयम् । कालिदासे न गण्यन्ते कविरेक शतञ्जयः ।” (अपशब्द (नराम्रा शब्द, अश्लील वा त्यस्तै शब्द) माघका काव्यमा सयवटा छन्, भारविकामा तीन सय छन्, कालिदासका काव्यमा त गनिसाध्य छैन, खाँटी कवि भनेको त शतञ्जय हो ।) राजद्वारतिर जाँदै गरेको त्यस बालकले बोकेको त्यो पद्यमा अशुद्धि छ भनेर अर्को कविले ‘अप’ लाई ‘आप’ बनाइदिएछ । बालकले त्यो श्लोक पढ्दा सभा हाँसोले गुञ्जायमान भयो । किन भने आपको अर्थ पानी हो । ‘अपशब्द’ का ठाउँमा ‘पानी शब्द’ राखिएपछि त्यो पद्य अर्थहीन र हास्यास्पद भयो । आजको नेपाली साहित्यमा तपाईंले भनेजस्तो गुटउपगुट छ भने त्यो यसैका लागि हो । अर्को कुनै कारण हुनसक्दैन ।

नेपाली साहित्यमा गुणात्मक लेखन लेखिरहेका स्रष्टाहरूका नाम लिनुपर्दा क–कस्को नाम लिनुहुन्छ र किन ?
गुणात्मक लेखन भनेको वजनदार लेखन हो । वर्तमान नेपाली राज्यव्यवस्था, समाज, व्यक्ति आदिमा देखिएका खराब कुरालाई हटाउन र समाजलाई सुमार्गमा डो¥याउन प्रयास गर्ने लेखन मेरो दृष्टिमा अहिलेको वजनदार लेखन हो । त्यस्ता सिर्जनारत लेखक थुप्रै छन् । कसको नाउँ लिनु र ? दुई चार मात्र नाउँ लिँदा अरूमाथि अन्याय होला । मैले माथि भनेका कुरामा जो जो लेखक उम्दा ठहर्छन् मेरा नजरमा ती सबै प्रशंस्य छन् ।

तपाईंको विचारमा स्रष्टा र द्रष्टाबीच के अन्तर छ ?
‘कवि करोति काव्यानि रसम् जानाति पण्डितः’ प्रसिद्ध छँदैछ नि ! स्रष्टाको काम सिर्जना गर्ने हो द्रष्टाको काम उसका सिर्जनाको पारख गर्ने र परेका वेला नाडी छाम्ने पनि हो ।

नयाँ पुस्ताका स्रष्टाहरूलाई के – कस्ता सल्लाह , सुझावहरू दिनुहुन्छ ?
आजको आवश्यकता मुलुकको समृद्धि हो, नागरिकको समुन्नति हो । त्यो कुरा हाम्रो मुलकुमा भएका विकृति विसङ्गतिलाई हटाएर र नागरिकलाई एकजुट पारेर मात्र सम्भव छ । त्यसका लागि सिर्जनाका फाँटबाट सबै स्रष्टाहरू लागिपर्नु आवश्यक छ । तर, त्यसो भन्दैमा विचारको कोरा नारातिर लागेर साहित्यको रूपपक्षमाथि अन्याय चाहिँ नहोस् किन भने पहिले साहित्य अनि मात्र त्यसको प्रयोजन ।

तपाईंले भन्नैपर्ने, मैले सोध्न छुटाएका साहित्यसम्बन्धी कुराहरू पक्कै छन् । त्यस्ता कुराहरू सङ्क्षेपमा बताइदिनुहोस् न ?
त्यस्तो भन्ने पर्ने खास केही छैन ।

पाठकलाई तपाईंका महत्त्वपूर्ण विचारहरू बुझ्ने अवसर दिनुभएकोमा यहाँप्रति आभारी छु ।
मलाई पनि पाठकसम्म आफूलाई प्रस्तुत गर्ने अवसर दिनुभयो । यसका लागि तपाईंलाई धन्यवाद छ ।
(शब्द संयोजनबाट)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।