19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बजगाईंको नग्न स्वप्न

कृति/समीक्षा अरुणबहादुर खत्री “नदी” March 1, 2026, 6:12 pm
अरुणबहादुर खत्री “नदी”
अरुणबहादुर खत्री “नदी”

लघुुकथाकार कृृष्ण बजगाईंको नग्न स्वप्न नामक लघुकथासङ्ग्रह २०८० मा प्रकाशित भएको छ । यस कृतिभित्र उनले लेखेका समयबोध, बाध्यता, महासंयोग, फन्दा, पहिचान, अपमृत्यु, भिसा, नासो लगायत विभिन्न शीर्षकका ६१ वटा लघुकथाहरु राखिएका छन् । यसमा सङ्गृहीत ६१ वटै लघुकथा पाठकलाई प्रभावकारी रुपमा आकर्षित गर्न सक्षम रहेका छन् । यस सङ्ग्रहभित्रको समयबोध शीर्षकको पहिलो लघुकथामा ल यो औषधी खानोस् ! भविष्यमा तपाईको रोग निको हुनेछ । औषधीका चक्की बिरामीलाई दिदै नर्सले मुसुक्क हाँस्दै भनिन् । नर्सले त्यसो भन्नासाथ बिरामी मान्छे झसङ्ग भयो । अनि तुरुन्त ऊ वर्तमानमा फर्कियो ।

महासंयोग शीर्षकको लघुकथामा निम्ता दिएअनुसारका मानिसहरु उपस्थित भएनन् । आउनुपर्ने नजिकका आफन्त र घनिष्ट साथीहरु पनि आएनन् । आउँदैनन् होला भन्ने ठानेर औपचारिकताका लागि निम्ता गरेका मेरा प्रतिस्पर्धी र केही अदृष्य शत्रुहरुचाहिँ आएका थिए । नबोलाएका मानिसहरु पनि देखेँ भनिएको छ ।

भरोसा शीर्षकको लघुकथामा अचानक खुसीहरु हतारिँदै निस्के । तर चिन्ता, पीडा र संवेदनाहरुले उसलाई छाडेनन् । ऊ एक्लो हुन पाएन भनिएको छ । अलिकति भोगाइ, अलिकति सुनेको अलिकति देखेको घटनाले मनमा जगाएको विभिन्न किसिमका भावनालाई बजगाईंले अक्षरमा उन्दै गएका छन् । कथाकार बजगाईंले प्रायः लघुकथामा आकार र प्रभावकारितालाई ध्यान दिएका छन् । उनको विशेषता हो कुनै विषय वा घटना देख्नासाथ त्यसलाई लघुकथाको विषय बनाइहाल्नु । कथाकार बजगाईँले ससाना घटना भोगाइ र सन्दर्भलाई लघुकथामा उतारेका छन् । त्यस्ता विषयलाई उनी सरल र सीधा संरचनामा प्रस्तुत गर्छन् ।

लघुकथा भन्ने शब्दले छोटो कथा भन्ने अर्थ दिन्छ तर अंग्रेजी साहित्यमा भने जति लामो कथालाई पनि सर्ट स्टोरी भन्ने चलन छ । लघुकथाका सम्बन्धमा विविध परिभाषा, बिचार र दृष्टिकोणहरु छन् । जे भए पनि नेपाली साहित्यमा लघुकथाले आफ्नो अलग स्वरुप र विधा ग्रहण गरिसकेको छ । यसै सन्दर्भमा नेपाली समाजको यथार्थ भोगाइहरु यसभित्र लेखिएका लघुकथामा खारिएका, माझिएका र टलक्क टल्किएका छन् । थोरै लेखेर पनि गुणस्तरमा ध्यान दिन सके कृतिको महत्व बढ्नेछ । यस तथ्यलाई लघुकथाकार बजगाईंले मनन गरेका छन् । विषयवस्तुका हिसाबले बहुमुखी छन् । भाषा सरल छ । कसिएको छ । प्रस्तुुति मिठो छ । सुुरम्य छ । लघुत्व छ । सङ्क्षिप्त छ । पढ्दा निकै आनन्द आउँछ ।

यस सङ्ग्रहभित्रको भ्रान्ति शीर्षकको लघुकथामा हृदय मेरो शरीरमा छैन । त्यसैका लागि जँचाउन आएको हुँ डाक्टरसाहेब । बिरामीले हृदयरोग विशेषज्ञ डाक्टरलाई आफ्नो समस्या बताउँछन् । उनको कुरा सुनेर डाक्टरस मुसुक्क हाँस्छन् । भाइरल शीर्षकको लघुकथामा डाक्टरले बिरामीको सम्पूर्ण शरीर जाँचे । ब्लड टेष्टको रिजल्ट हेरेँ । अन्त्यमा भने डराउँनुपर्दैन । तपाईलाई भाइरल ज्वरो आएको रहेछ । दुईचारदिन पछि ठिक हुन्छ । श्रीमान् श्रीमतीको भाइरल एक–अर्कालाई सर्ला नि । अलि सचेत रहनुहोला भनेर लेखिएको छ ।

यसभित्र लेखिएका लघुकथा खारिएका, माझिएका र टलक्क टल्किएका छन् । थोरै लेखेर पनि गुणस्तरमा ध्यान दिन सके कृतिको महत्व बढ्नेछ । यस तथ्यलाई लघुकथाकार बजगाईँले मनन गरेका छन् । सङ्ग्रहभित्रका पात्र, परिवेश र घटना हाम्रै समाजमा देखिएका सुनिएका र भोगिएका छन् । मान्छेका प्रवृत्ति र उसले बिर्सदै गएको आफ्नो धरातल तथा हराइरहेको मानविय संवेदनालाई पनि यस कृतिले आफ्नो विषय बनाएको छ । आशावादी भएर समाजका विकृतिलाई निर्मूल पारेर एउटा सुन्दर समाज निर्माण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि यस सङ्ग्रहभित्रका कथा सक्षम छन्् । कथा आफैमा पूर्ण भएजस्तै लघुकथा पनि स्वयम्मा पूर्ण हुन्छ । अर्थात् लघुकथा कथाको संक्षेपीकरण होइन ।

रुपान्तर शीर्षकको लघुकथाभित्र गणतन्त्र दिवस भव्यताका साथ मनाउन एउटा पार्टी आयोजना गरिएको थियो । त्यहाँ सुरा र सुन्दरीको अनुपम जमघट थियो । यो गणतन्त्र महिलाहरुका लागि आएको रहेछ । उनीहरुलाई फापेको देखियो भनिएको छ । यस सङ्ग्रहभित्रको डब्लुडब्लुडब्लु् डटकम शीर्षकको लघुकथामा डब्लुडब्लुडब्लु र डटकम प्रेमी तथा प्रेमीका थिए । उनीहरु संसारभरको हरेक कुराको लागि जानकारी राख्थे । आफूले थाहा पाएका कुराहरु उनीहरु एकआपसलाई सुनाउँथे भनिएको छ ।

लघुकथा आख्यानको लघुतम वा सूक्ष्म विधा हो । लघुकथा छोटो हुन्छ तर पूर्ण हुन्छ । छोटो आयाममा जीवन र जगत्लाई समेट्नु लघुकथाको विशेषता हो । लघुकथा लोकप्रिय भएकै कारण यसप्रति लेखनको आकर्षण बढ्दै गइरहेको छ । अन्त्यमा लघुकथाकार बजगाईँको अन्य कृतिहरु पनि प्रकाशित भएर हामीहरुले पढ््न पाउने बाचा गरेको छु ।

कृतिः नग्न स्वप्न
प्रकाशकः भुँडीपुराण प्रकाशन, बागबजार ।
संस्करणः प्रथम, वि.सं. २०८० चैत
मूूल्यः रु.२५०।–
पृष्ठः ११७

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।